कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द ग्यालरीको कथा

दीपक परियार

(पोखरा) — दसैंअघि सामूहिक चित्रकला प्रदर्शनी गर्न पोखराको बुद्धिज एट्लियरले ठाउँ खोज्यो । ७ महिला कलाकारको चित्र प्रदर्शनीमा राख्न ग्यालरी भेटिएन । महेन्द्रपुलमा भएको एकमात्र सार्वजनिक ग्यालरीमा विगत एक वर्षदेखि ताला लागेपछि पृथ्वीचोकको एक सपिङ मलमा असोज १२ र १३ मा चित्रकला प्रदर्शनी भयो ।

बन्द ग्यालरीको कथा

‘भएको एउटा ग्यालरी पनि सञ्चालनमा नहुँदा प्रदर्शनी स्थलको अभाव भएको छ,’ बुद्धिज एट्लियरकी कला संयोजक हेमकान्ति गुरुङले भनिन्, ‘ग्यालरीकै अभावले गतिविधि शून्य छ ।’


सिर्जनशील कलाकार समूहले व्यवस्थान गरिरहेको ग्यालरी पोखरा महानगरपालिकाले हाल भइरहेको ठाउँबाट सार्ने निर्णय गरेपछि बन्द छ । गत वर्षको चैतमा महानगरपालिकाको कार्यपालिका बैठकले भवन जीर्ण भएको, पार्किङको सुविधा नभएको लगायत कारण देखाउँदै ग्यालरी र महेन्द्रपुलमै रहेको सार्वजनिक पुस्तकालय सार्ने निर्णय गरेको थियो । नयाँबजारमा रहेको प्रदेश संग्रहालय परिसरमा भवन बनाएर ग्यालरी र पुस्तकालय राख्ने महानगरको योजना छ । तर ग्यालरी र पुस्तकालय राख्ने जग्गा महानगरलाई उपलब्ध गराउने सम्बन्धमा प्रदेश सरकारले हालसम्म कुनै निर्णय गरेको छैन । संग्रहालय व्यवस्थापनले आफू मातहत आए मात्रै ग्यालरी र पुस्तकालय राख्न दिने अडान लिएको छ ।


लामो समयदेखि सिर्जनशील कलाकार समूहको दर्ता नवीकरण भएको छैन । पछिल्लोपल्ट समूहका अध्यक्ष सूर्य बराइलीले राजीनामा बुझाएर विदेश गएपछि नगेनसिंह ठकुरीको संयोजकत्वमा बनेको समितिले समेत संस्था नवीकरण गरेन । उक्त समिति भंग भएर पुन: दुर्गा बराल ‘वात्स्यायन’ को संयोजकत्वमा तदर्थ समिति बनिसकेको छ । हाल ग्यालरीमा गतिविधि गर्न मिल्ने भए पनि संस्था निष्क्रियजस्तै छ ।


संस्थाको गतिविधि ठप्प भएकाले पनि ग्यालरी सञ्चालनमा नआएको कलाकार झवीन्द्र गुरुङ बताउँछन् । ‘नगरपालिकाले पुरानो भवन भत्काउने भनेर खाली छोडियो,’ उनले भने, ‘न त अहिलेसम्म भवन भत्कियो, न त अरू गतिविधि नै भए ।’ भवन बन्द हुँदा एकल र सामूहिक चित्रकला प्रदर्शनी हुन नपाएको गुनासो उनले गरे । ‘संस्थाले हरेक ३/३ महिनामा गर्ने कला कार्यशाला पनि हुन सकेको छैन,’ उनले भने, ‘संस्थामा कलाकारभन्दा अरू हाबी भए ।’ उनका अनुसार पोखराका सहित काठमाडौं र विदेशबाट आउने कलाकारले चित्रकला प्रदर्शनी गर्ने ग्यालरी त्यहीं एउटा हो ।


२०२८ मा नेपाल ललित कला संस्थानको गण्डकी अञ्चल शाखा पोखरामा खुल्यो । विधानअनुसार तत्कालीन अञ्चलाधीश शंकरराज पाठक स्वत: शाखाको अध्यक्ष भए । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ सचिव बने । हरेक कुरा सोध्नुपर्ने, स्वीकृति लिनुपर्ने भएपछि त्यतिखेर काम गर्न अप्ठेरो भएको वात्स्यायन सुनाउँछन् । ०३५ तिर संस्थान विगठन भयो । वात्स्यायनको अध्यक्षतामा शिल्पी कलाकार समूह गठन भयो । तर संस्था दर्ता हुन सकेन । ०४६ पछि संस्थालाई पोखरा कलाकार समूहको नाम दिइयो । कलाकार बुद्धि गुरुङ अध्यक्ष भए । त्यति बेला पनि संस्था दर्ता हुन सकेन । ०५६ मा उक्त संस्थाको नाम परिवर्तन भई सिर्जनशील कलाकार समूह बन्यो । पुन: वात्स्यायन अध्यक्ष भए । संस्था दर्ता भयो । त्यहीं वर्ष तत्कालीन पोखरा उपमहानगरपालिकाले महेन्द्रपुलमा रहेको भवनको माथिल्लो तल्लामा सार्वजनिक ग्यालरी स्थापना गर्‍यो । समूहले ग्यालरीको व्यवस्थान गर्‍यो ।


जीर्ण भइसकेको भवनमा त्यसअघि सार्वजनिक पुस्ताकालय थियो । पुस्तकालयलाई पारिपट्टि अर्को भवनमा सारेर ग्यालरीका लागि उपलब्ध गराइएको थियो । समूहले जीर्णोद्वार गरी भवन प्रयोग गरेको हो । ग्यालरी निर्माणपछि कलासम्बन्धी गतिविधि ह्वात्तै बढे । कलाकारको सामूहिक र एकल चित्रकला प्रदर्शनी हुन थाले । बेलाबेलामा कला कार्यशाला हुन थाल्यो । वात्स्यायनपछि किरण रञ्जित, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, पदम घले र सूर्य बराइलीले समूहको नेतृत्व सम्हाले ।


पुरानो भवन जीर्ण भएपछि ५ वर्षअघि त्यहीं भवनको अर्कोपट्टि छतमा समूहले ग्यालरी बनायो । ललितकला प्रज्ञा प्रतिष्ठानको ८ लाख रुपैयाँ र विभिन्न संघसंस्था, कलाकारसँग सहयोग संकलन गरेर नयाँ ग्यालरी बन्यो । १५ लाख रुपैयाँको लागतमा ग्यालरी निर्माण सकियो । पुरानो ग्यालरी स्टोरको रूपमा प्रयोग भयो । नयाँमा प्रदर्शनी र कार्यशाला हुन थाल्यो । महानगरले वार्षिक ५० हजार रुपैयाँ ग्यालरी सञ्चालनको लागि समूहलाई उपलब्ध गराउँछ । एकल चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनीको भाडा र कलाकारको चित्र बिक्रीबाट आउने २० प्रतिशत रकमबाट ग्यालरी चल्दै आएको थियो ।


बराइली विदेश गएपछि नगेनसिंह ठकुरीको संयोजकत्वमा तदर्थ समिति बन्यो । समितिले जम्मा ४ महिना काम गर्‍यो । पछि समिति भंग भयो । पुन: वात्स्यायनकै संयोजकत्वमा तदर्थ समिति बनेको छ । समितिमा कवि तीर्थ श्रेष्ठ, कलाकार मिलन शेरचन, किरण रञ्जित र विश्व पराजुली सदस्य छन् ।


संयोजक वात्स्यायन ५ वर्षअघि मिहिनेत गरेर बनाएको भवन भत्किने भनेपछि कलाकारमा नैराश्यता छाएको बताउँछन् । संस्था नवीकरण नभएको र कलाकार सुस्ताएकोले गतिविधि हुन नसकेको उनी स्विकार्छन् । कसैले चाहेको खण्डमा भने अहिले पनि ग्यालरीमा कार्यक्रम गर्न सक्ने उनले बताए । ‘सहरको बीच भागमा थोत्रो संरचना नराख्ने भन्ने महानगरले निर्णय गर्‍यो,’ उनी भन्छन्, ‘पार्किङ पनि छैन । दर्शक पसल काटेर हेर्न आउनुपर्छ । ग्यालरीको लागि यो ठाउँ अनुपयुक्त भयो । अर्को राम्रो विकल्प पाए ठीक छ भनेर भनियो तर अहिलेसम्म केही सुरसार छैन । महानगरले हुँदै छ भनिरहेको छ ।’ संस्थाका सम्बन्धमा भने जरिवाना तिरेर नवीकरण गर्ने वा नाम परिर्वतन गरेर नयाँ बनाउने भन्नेमा छलफल चलिरहेको उनले सुनाए ।


पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले ग्यालरी र पुस्तकालय सार्ने भनिएको संग्रहालयको जग्गा प्रदेश मातहत भएकोले संवाद चलिरहेको दाबी गरे । ‘संग्रहालय, पुस्तकालय र आर्ट ग्यालरी एउटै पर्खालभित्र हुँदा पर्यटकीय आकर्षण पनि हुन्छ,’ उनले भने, ‘एक–दुई हप्ताभित्र यसरी जान सकिन्छ भन्ने परिस्थिति बन्छ ।’ संग्रहालय परिसरमा २३ रोपनी जग्गा छ । उक्त जग्गाभित्रै पुस्तकालय र ग्यालरीको भवन बनाउने महानगरको योजना छ । संग्रहालयमा बहुसांस्कृतिक ग्राम बनाउन महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने निर्णय गरेको प्रवक्ता नेपालीले बताए ।

प्रकाशित : आश्विन २९, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?