फिल्म समीक्षा : “छक्का पन्जा” कै परिष्कृत रूप

सुशील पौडेल

काठमाडौँ — तेस्रो विश्वयुद्ध भयो भने पानीका लागि हुन्छ भनिन्छ । पानीको संकट विश्वव्यापी रूपमा बढिरहँदा जलस्रोतको धनी देश मानिने नेपालमा यसको असर कत्तिको होला ? झिसमिसेमा नै गाग्री बोकेर घण्टौं टाढाको पँधेरामा जान बाध्य गाउँलेलाई मात्र हैन, दशकौंदेखि मेलम्चीको पानी कुरेर बसिरहेका काठमाडौंवासीले समेत पानी संकटको पीडा भोग्दै आइरहेका छन् ।

कञ्चनपुर गोदावरी गाविसको घडेरी गाउँका बासिन्दालाई पिउने पानी अभावको पीडा उस्तै छ । २०४५ सालको भुइँचालोले मुहान सुकाएपछि गाउँले काकाकुल बनेका छन् । हरेक चुनावमा यही गाउँको मत उम्मेदवार जिताउनका लागि निर्णायक त बन्दै आएको छ । गाउँलेले जनप्रतिनिधि चुनाएर पठाइरहे पनि पानी ल्याउन भने सकिरहेका छैनन् । पानीकै समस्या विकराल बन्दै जाँदा घडेरी गाउँमा बिहेबारी गरेर छोरीचेली पठाउन कोही तयार छैनन् । युवाहरू छिप्पिसक्दा पनि घरजम बसाउन पाइरहेका छैनन् ।
उमेरले ४२ पार भइसकेको बीपी पौडेल (दीपक) को हालत पनि उही हो । बूढी आमा बुहारी आउली र हातेसारो होला भन्ने आशामा छिन् । तर बीपीको उद्देश्य घरमा नानी भित्र्याउनुअघि गाउँमा पानी ल्याउन चाहन्छ । अझ उसको बुबा (प्रकाश) जो विगतमा सशस्त्र आन्दोलनसमेत गरेर आएको एक निष्ठावान् क्रान्तिकारी कार्यकर्ता, छोरालाई घरजममा भन्दा राजनीतिमा लाग्न र आफ्नो विरासत धान्न स्कुलिङ गरिरहन्छ । पढाइमा अब्बल छँदाछँदै पनि बीपी पार्टीको झोला बोकेर राजनीतिकै आडमा गाउँमा पानी ल्याउने सपना साँचिरहेको छ । यही कथाव्यथामा आधारित छ, फिल्म ‘छ माया छपक्कै’ ।

दीपेन्द्र लामाले आफ्नै कथामा निर्देशन गरेको उक्त फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा छ । लामाको कप्तानीमा जोडिएका छन्, यसअघि ‘छक्का पन्जा’ सिरिजबाट मनग्गे दर्शक कमाइसकेको दीपक–दीपासहितको टिम । हास्यप्रधान फिल्मबाट आफूलाई स्थापित गराइसकेका दीपक–दीपा यतिबेला ‘छ माया छपक्कै’ मार्फत् सामाजिक मुद्दामा अझ बढी केन्द्रीकृत भएका छन् । फिल्म पानीको दु:ख, राजनीतिक वितृष्णा र माया मोहमा अन्तरसम्बन्धित छ ।

पानीमाथिको राजनीतिमा विश्वमा धेरै फिल्म बनेका छन् । सन् १९२१ मै ल्यामबर्ट हिलयरको ‘थ्री वर्ड ब्रान्ड’ होस् वा रोबर्ट ब्राटबरीको सन् १९३३ को ‘राइडर्स अफ डेस्टिनी’ । अथवा, जोसेफ कानको सन् १९३६ को ‘किङ अफ द पिकस’, डिक क्लेमेन्टको ‘वाटर’ सबै फिल्मको केन्द्रीय द्वन्द्व पानीमा नै केन्द्रित छन् । पानी संकट र यसमाथिको राजनीति नयाँ पनि हैन र पुरानो भएको पनि छैन । सन् २०१० मै द हग्स ब्रदर्सले बनाएको फिल्म ‘द बुक अफ इली’ को मुख्य कथा पनि पानीमाथिको स्वामित्व लडाइँलाई नै लिएर छ । ‘क्वान्टम अफ सोलेस’ वा ‘ब्याटम्यान बिगिन्स’ ले पनि कतै न कतै पानीकै कथालाई उठाएको पाइन्छ । नेपालमा भने बलिउडको धङधङीबाट माथि उठेर फिल्ममा बल्ल सामाजिक मुद्दा उठ्न थालेका छन् । ‘छ माया छपक्कै’ पछिल्लो उदाहरण हो ।

फिल्मले घडेरी गाउँको विशेष समस्यालाई समग्र देशको राजनीतिक, सामाजिक परिदृश्यमा सामान्यीकरण गर्ने प्रयास गरेको छ । कम्युनिस्ट राजनीतिलाई नै मूल कर्म बनाएर दत्तचित्त लागेको एक बाबु, छोरालाई पनि क्रान्तिकारी बनाउन चाहन्छ । उता, छिमेकी टोड्के गाउँसँग राजनीतिक दुश्मनी चर्को छ । तर त्यही गाउँकी अध्यक्षकी छोरी जल (केकी) बीपीको जीवनमा मायाको अर्को युद्ध लिएर छिर्छे । बाबुले पानीका लागि राजनीतिको सहारा लिइरहँदा बीपीको उद्देश्य पनि गाउँमा पानी ल्याउने नै छ तर यसका लागि घृणा र द्वन्द्वको सट्टा छिमेकीसँग प्रेमको हतियार प्रयोग गर्छ ।

‘छक्का पन्जा’ सिरिजमा पनि कहिले वैदेशिक रोजगारी त कहिले डिपेन्डेन्ट भिसामा बिदेसिनेका कथा नभनिएका हैनन् । तर ती फिल्मको हास्य प्रस्तुतिको ओझेलमा परे । अथवा, ती फिल्म विषयप्रधान भन्दा हास्यप्रधान भइदिए । यस सिरिजका अधिकांश दर्शकले पनि ‘छक्का पन्जा’ लाई पनि यसैगरी बुझ्दै आएका छन् । तर त्यही बुझाइमा ‘छ माया छपक्कै’ हेर्न गएमा हाँसोको पारो त्यही तहमा नपाउन सक्छन् । सोझै भन्दा, ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरिसकेका दीपेन्द्रको प्रवेशको असर पनि हुन सक्छ, यसपटक जबरजस्ती हसाउनकै लागि अनुप्रास मिलाइएका र टुक्का जोडिएका संवादको उतिसारो प्रयोग गरिएको छैन । उसो त पटकथा दीपकले नै तयार पारेका हुन् । यस अर्थमा, दीपक समूहले पनि आफूलाई परिपक्व बनाउँदै लगेको छनक पाइन्छ ।

फिल्मले राजनीतिलाई पूर्णत: नकारात्मक दृष्टिकोणबाट व्याख्या गर्छ । दीपेन्द्र निर्देशित फिल्मले गाउँमा चलिरहेको दलीय राजनीतिको बदख्वाइँ गर्दै गाउँ विकासमा दलको भर पर्न नहुने सन्देश दिन्छ । जानेर वा नजानेरै फिल्मले एक दलीय पञ्चायती व्यवस्थाको पक्षपोषण गरेको भान हुन्छ । अर्कोतर्फ, ‘छक्का पन्जा’ सिरिजमा महिलामाथि कटाक्ष गरेको भन्दै चर्को विरोध झेल्दै आएका दीपक–दीपा समूहले यसपटक ‘छ माया छपक्कै’ मा सायद त्यसको सामना गर्नुपर्ने छैन । बरु धेरथोर महिला पात्रलाई सकारात्मक रूपमै उभ्याएका छन् ।

सामाजिक र सामयिक कथा उठान गरेको फिल्मले पटकथाको मूल द्वन्द्वमा पानी संकटलाई त प्रस्तुत गरिएको छ नै, द्वन्द्वलाई चर्काउने सहायक कथाहरूलाई मजबुत बनाउन समय खर्चिएको छैन । बीपीकै दलबाट बारम्बार नेता चुनिएर गएपनि घडेरी गाउँको पानी समस्याप्रतिको उसको उदासिनता र चुनावमा सोही गाउँका मतदाताको अहंभूमिकाबीचको रस्साकसीलाई सतहमा मात्रै उठाएर मायामोहको चक्करमा बढी ढल्कन पुगेको छ । फिल्मका कतिपय दृश्य ‘क्लिसे’ र पात्रहरू फजुल लाग्छन् । बीपीका जँड्याहा काका, जलका दाजु, बुबा, प्रवीण (जितु) र उसकी प्रेमिकाको भूमिकालाई थप मजबुत बनाउन सकेको भए सुनमा सुगन्ध हुन सक्ने थियो ।

‘छ माया छपक्कै’ दीपक–दीपाको ‘छक्का पन्जा’ सिरिजको परिष्कृत रूप हो । तर अझै पनि यसका कलाकार दीपक, जितु वा केदारले आफ्ना चरित्र चित्रणमा नयाँपन दिन सकिरहेका छैनन् । गीत, संगीत फिल्मको धारअनुकूल बन्न र ‘प्लेसिङ’ उचित हुन सकेको छैन ।

छ माया छपक्कै
निर्देशक :दीपेन्द्र लामा
कलाकार :दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा
थपलिया, अनुराग कुँवर, सविन बाँस्तोला, शिशिर वाङ्देल

प्रकाशित : आश्विन २५, २०७६ ०९:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अहिंसाको बाटोमा सत्याकृत

संगीतलाई शक्तिको एक किरण मान्ने सत्याकृत ब्यान्डले अध्यात्मलाई मूल शक्तिको बाटो मान्छ । यस ब्यान्डले दसैंअघि सार्वजनिक गरेको गीत ॅएन्टी बलि...’ चर्चित बनेको छ ।
सुशील पौडेल

 फूलपातीका दिन शनिबार हिन्दु धर्मावलम्बीका घर–घरमा फूलपाती भित्र्याइँदै छ  । यसै दिन गोरखा दरबारबाट बाजागाजासहित ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याएपछि दसैंको खास रौनक सुरु हुन्छ  ।

फूलपातीपछि पशु बलि पनि सुरु हुन्छ । पछिल्लो समय धर्मका आडमा दिइने पशु बलिको विरोध बढ्दै गइरहेको छ । सांगीतिक ब्यान्ड सत्याकृतले पनि दसैंको मुखमा नयाँ गीत ‘एन्टी बलि...’ ल्याएको छ ।
श्री हजुरको रचनामा सत्याकृतले नै संगीत भरेको उक्त गीतलाई सूर साधु र प्रजित लामाले गाएका हुन् । गीतले मठ मन्दिरमा भावको फूल चढाएर पशु बलि हटाउन अनुरोध गरेको छ । गीतले भन्छ,
काम, क्रोध, लोभ, मोह, अहंकार हुन् पञ्च बलि
नमारौं न निर्दोष पशु आफ्नै आत्मा छली
दिव्य जन्म मानव चोला बुझौं है सबैले
हटाऔं हटाऔं बलि हटाऔं
खासगरी आध्यात्मिक शैलीका गीत निकाल्दै आएको सत्याकृत झन्डै चार वर्षअघि विजय गौतमलगायतको पहलमा स्थापना भएको थियो । ब्यान्डमा आधा दर्जन पूर्णकालीन सदस्यसहित थुप्रै स्वतन्त्र संगीतकर्मी आबद्ध छन् । गैरव्यावसायिक ब्यान्डका रूपमा चलिरहेको सत्याकृतमा अन्य काम गरेर फुर्सदको समय संगीतकर्ममा लाग्नेहरू आबद्ध छन् । प्रायः सदस्यहरू गीतमा व्यक्तिगत पहिचान खुलाउन लुकाउँदैनन् ।
रचनाकारका रूपमा राखिएको श्री हजुरलाई पनि ब्यान्डले एउटा शक्तिका रूपमा व्याख्या गर्छ । सत्याकृतका संस्थापक, व्यवस्थापक विजय गौतमले यसो गर्नुमा कुनै व्यक्तिको परिचयमा अल्झिने भन्दा पनि भाव बुझियोस् भन्ने चाह रहेको बताए । सत्याकृत गीत, संगीत क्षेत्रमा केही पृथक् पहिचान बोकेको ब्यान्डभन्दा फरक पर्दैन । यसका सदस्यहरू झट्ट हेर्दै साधुसन्त लाग्छन् । लवाई, खवाई मात्र नभई विचार पनि आध्यात्मिक छन् । जसको प्रतिबिम्ब गीतहरूमा देखिन्छ ।
‘सनातन धर्मलाई सम्मान गर्छौं । प्रत्येकको गुरु, सम्प्रदाय, आस्थालाई पनि उत्तिकै सम्मान गर्छौं,’ गौतमले भने, ‘जुनसुकै भावले ईश्वरलाई मानौं, प्रत्येकभित्रको सकारात्मक चीज बाहिर निस्किनुपर्छ । यही धर्तीबाट अमृत पनि निस्कन्छ र विष पनि । मानवभित्र पनि राम्रा, नराम्रा दुवै कुरा छन् । आफूभित्र भएका राम्रा कुरा निकाल्ने र नराम्रा कुरा चिन्ने अनि त्यसलाई फ्याँक्ने प्रयत्न हो । हाम्रो समाजमा आफ्नो भित्री कुरा भुलेर वा नचिनेर बाहिरी देखावटको जिन्दगी बाँचिरहेको छ ।’
२०७४ मा आयोजित हिट्स एफएम म्युजिक अवार्डमा गणेश भजनले उत्कृष्ट गीतको अवार्ड जितेपछि सत्याकृत सांगीतिक क्षेत्रमा बढी चिनिएको हो । संगीतलाई शक्तिको एक किरण मान्ने यस ब्यान्डले अध्यात्मलाई मूल शक्तिको बाटो मान्छ ।
संगीतमार्फत शान्ति फैलाउने बाटोमा अग्रसर सत्याकृतका संस्थापक गौतमले थपे, ‘हाम्रा शब्द, भाव यसै पोख्नभन्दा संगीतमार्फत व्यक्त गर्दा प्रभावकारी हुन्छ । अध्यात्मिक प्रवचन सुन्न साधारणतया कोही तयार छैनन् । तर शान्ति सबैलाई चाहिएको छ । सत्याकृतले संगीतमार्फत शान्ति दिन खोजिरहेको मात्रै हो ।’ उनले शान्ति प्राप्ति आफ्नै हातमा हुने बताउँदै दृष्टिकोण बदलेर सकारात्मक सोच ल्याउन सके पनि शान्ति मिल्ने तर्क गर्छन् ।
ललितकला क्याम्पसमा संगीतमा बीएफए पढ्दै गर्दा विदुर न्यौपाने सत्याकृतमा गायक, किबोडिस्टका रूपमा आबद्ध भए । लामो कपाल र दाह्री पालेका न्यौपाने संगीत र आध्यात्मलाई एकअर्काका परिपूरक मान्छन् । उनी दुवैबाट आनन्द मिल्ने बताउँछन् । सत्याकृतबाट संगीत र आध्यात्म दुवै पाएकोमा उनी झन् सन्तुष्ट रहेछन् । ब्यान्डमा अमेरिकादेखि भारतसम्मका संगीतकर्मीले काम गरिसकेका छन् । गौतम सत्याकृतलाई एउटा सांगीतिक प्लेटफर्मका रूपमा विकास गर्न चाहन्छन् । भन्छन्, ‘यो खुला प्लेटफर्म त हो । तर यसका आफ्नै परिधि पनि छन् । जससँग ब्यान्डको भाइब्स मिल्छ, ऊ आबद्ध हुन सक्छ ।’
कुनै पनि कुराको अन्तिम सत्य रूप नै सत्याकृत हो । सनातन धर्म मान्ने यस ब्यान्डका सदस्यले गीतमा पनि धर्म, जीवन, दर्शन सबै पक्ष समेटेर गाउन रुचाउँछन् । ‘रूखलाई बाँच्नका लागि हरेक कुरा चाहिन्छ । फल दिन्छ तर त्यो रूख आफैंले खाँदैन । प्रकृतिमा सबैले एक–अर्काको सेवा गरिरहेको छ भने हामी मानव अरूको सेवा गर्ने बुद्ध पुरुष हुन सकिरहेका छैनौं,’ गौतमले जिकिर गरे, ‘हामी कर्म गर्दै कोसिस गरिरहेका छौं । यस्तै भाव भएकाहरूलाई सत्याकृत सांगीतिक प्लेटफर्म हो । तर संगीतको सौख भएर मात्रै हामी यहाँ राख्दैनौं । पहिले ब्यान्डको भाइब्ससँग मिल्नुपर्‍यो । फिल गर्न सक्नुपर्‍यो ।’
सुन्दा बढी नै आध्यात्मिक लागे पनि सत्याकृतले प्रेम, जीवन र जगत्का गीत पनि गाएको छ । लोकदेखि पप, आधुनिक, क्लासिकल र फ्युजन गीतहरू निकाल्दै आएको छ । गौतमले आफूहरू प्रेम, विवाहको विरुद्धमा नभएको र नेपालमा अलगखाले विधाका गीत पनि आओस् भन्ने चाहना राखेर नै काम गरिरहेको बताउँछन् । सत्याकृतकै गीत ‘तिम्रै भक्तिको चन्दन लगाई...’ को हिन्दी भर्सनमा भारतीय गायक कैलाश खेरले समेत गाएका छन् ।
‘एन्टी बलि...’ दसैंको मुखमा ल्याउनुको आशय दसैंमा गरिने क्रियाकलाप र मनाउने ढंगको विरोध गरेको मात्रै नभई वर्षैभरि विभिन्न बहानामा विश्वभर शक्तिपीठ, कुल पूजामा दिइने बलिको विरोध रहेको ब्यान्ड बताउँछ । गीतले पनि धर्मको नाममा गरिने पशु हत्या (बलि) लाई रोक्न अनुरोध गरेको छ ।
आफूलाई १७ वर्षको उमेरमै बुद्धत्वको खोजीमा हिँडेको बताउने गौतम सात्विक आहारले शान्त स्वभावतर्फ लैजाने बताउँछन् । भन्छन्, ‘तामसिक आहारले विकृत खालको शक्तितर्फ लैजान्छ । हामीले मांसहारी नहुनु भनेका हैनौं र हुनु पनि भनेका छैनौं । सकेसम्म त प्राणीको हत्या नगरेकै राम्रो हो । मांसहार मानव शरीर अनुकूल पनि छैन । गीतमार्फत हामीले यो अनुरोध मात्रै गरेका हौं । एन्टी बलि अहिंसा प्रदायक गीत हो ।’ उनले आफ्ना गीत सुनेरै, हेरेरै पनि शाकाहारी बनेका केही उदाहरण सुनाए ।

sushilapaudel2@gmail.com

प्रकाशित : आश्विन १७, २०७६ ११:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT