वर्ल्ड नेपाली म्युजिक अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय नेपाली गीत–संगीतको आयाम विश्वव्यापी बन्दै गइरहेको छ । प्रविधिको सहजता र सामाजिक सञ्जालले यसलाई सघाइदिएकै छ । यसमाथि मुलुकबाहिरका नेपाली समुदायले खोज्न थालेको सांस्कृतिक अपनत्व उत्तिकै उत्प्रेरक मानिन्छ ।

यही उत्प्ररेणामा टेक्दै अमेरिकामा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड–२०१९’ हुँदै छ । नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने उद्देश्यले विविध विधाका नेपाली गीतसंगीत र स्रष्टा समेट्दै न्युयोर्कमा अवार्ड हुन लागेको आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

वर्ल्ड कनेक्सन यूएसले आउँदो नोभेम्बर २३ तारिखमा गर्न लागेको अवार्डका लागि १८ विधाका उत्कृष्ट १० लाई छनोट गरिएको पत्रकार सम्मेलनमा जनाइयो । विश्वभरि नेपाली छरिएर बसेको नेपाली लक्ष्यित गरि अवार्ड हुन लागेको वर्ल्ड कनेक्सनका उपाध्यक्ष दावा शेर्पाले जनाए । उनका अनुसार अवार्डमा ३२ मुलुकका नेपाली गीतसंगीत स्रष्टा सहभागी हुने छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा अवार्डका लागि ‘उत्कृष्ट पाँच राष्ट्रिय गीततर्फ’ मिलन लामाको ‘नेपालको माया त मर्दैन’, रञ्जिता थापाको ‘नेपाल प्यारो लाग्छ’ लगायतका गीत, ‘उत्कृष्ट पप गीततर्फ’ ‘विजय लामाको ‘मैले तिमीलाई’, सन्तोष लामाको ‘मंसिर’ जस्ता गीत छनोटमा परेको जनाइयो । त्यस्तैगरी ‘उत्कृष्ट लोक सेलो गीत’ मा मेलिना राईको ‘कमल फुल्यो हिल्यैमा’, मीना राईको ‘माझी है दाइले’ लगायत, ‘उत्कृष्ट रचना’ मा सुरेश वाग्लेको ‘जितेर पनि हारमा छु’, कल्पना खरेलको ‘सेतो कात्रोमा’ लगायत छन् ।

‘उत्कृष्ट लोपोन्मुख गीत’ मा उर्मिला राईको ‘सेवा स्यामुना’, लक्ष्मी आचार्यको ‘गासौंला मायाको डोरी’ र ‘उत्कृष्ट फिल्मी गीत’ मा प्रताप दासको ‘फूल होइन’, अञ्जु पन्तको ‘भिजिट भिसामा’ लगायत छनोट गरिएका छन् । ‘पुरुषतर्फ उत्कृष्ट दोहोरी गीत गायन’ मा प्रकाश सपुतको ‘गलबन्दी’, सन्दिप न्यौपानेको ‘लालुमै’ लगायतका लोक गीत तथा महिलातर्फ लक्ष्मी कार्की मल्लको ‘लोभीआँखा’, जैकाली मगरको ‘जाम सुस्तै’ जस्ता लोकगीत छन् । अभिनयतर्फ भने ,‘उत्कृष्ट दोहोरी गीत महिला मोडल’ मा ‘सालको पात’ का लागि मरिश्का पोखरेल, ‘मायाको झण्डा’ का लागि अञ्जु निरौलालगायत अन्य गीतका १० मोडल परेका छन् । लोक गीत पुरुष मोडल’ तर्फ ‘बुट्टे रुमाल’ बाट नरेन्द्र विष्ट, ‘हाक्का हाकी’ बाट दीपक डोटेललगायत छानिएका छन् ।

‘उत्कृष्ट पप मोडेल’ पुरुषतर्फ भने ‘किन पल पल’ र ‘एउटा कुरा’ बाट क्रमशः सुरज गराज, प्रेमबहादुर खड्का लगायत र महिलातर्फ ‘महल’बाट इशा परियार, ‘पिच रोड’ बाट आँचल शर्मा लगायत छनोटमा परेका छन् । ‘महिलातर्फ उत्कृष्ट आधुनिक गीत’ तर्फ भने ‘प्यार हुन्छ’ बाट उदय सोताङ, ‘मायामा’ बाट मनिला सोताङ लगायतका गीत र गायकगायिका छनोटमा परेका छन् । त्यस्तै ‘उत्कृष्ट म्युजिक भिडियो निर्देशन’ मा ‘सालको पात’ बाट शिवराम विकेलगायतका भिडियो निर्देशकहरू, ‘उत्कृष्ट म्युजिक एरेन्जर’ मा सम्राट न्यौपानेको ‘तिम्रो रूपले’ लगायत छानिएका छन् । उत्कृष्ट मातृभाषाका गीतमा भने प्रदीपकुमार घलानको ‘जेबा जेबा छामे’, सुशन साम्सोहाङको माकसे फेक्तेलगायत छन् ।

२०१८ को जनवरीदेखि २०१९ अगस्ट ३० सम्म सार्वजनिक भएका गीतमध्ये उत्कृष्ट १० का लागि गायिका तारा थापा, गायक लाक्पा शेर्पा, संगीतकार शान्तिराम राई, रचनाकार तुलसी बस्नेत लगायतका निर्णायकले शब्द, लय, शुद्ध नेपालीपनलगायतका पक्ष हेरेर छनोट गरिएको गायक शेर्पाले बताए । अवार्डमा जुरीबाट ५०, एसएमएस भोटिङबाट ३०, अनलाइनबाट १० र फेसबुकबाट १० प्रतिशत गणना गरिने बताइयो ।

प्रकाशित : आश्विन १४, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्

संकटमा सिंगारु 

हरि गौतम

(रुकुम पश्चिम) — बाँफिकोट गाउँपालिका–२ का यामबहादुर बूढा स्थानीय मेला, बिहेबारी, पर्व, कथा, रुद्रीमा प्रायः निम्त्याइन्छन् । मेलापर्व तथा बिहेबारी कथा र रुद्रीको मुख्य काम सकिएपछि सुरु हुने गायनको जिम्मा यी ६६ वर्षीय बूढासहित उनका साथीहरूलाई हुन्छ । गीतमार्फत् नै बूढाले पछिल्लो पुस्ताप्रति गुनासो गरिरहेका हुन्छन्–

गोठैका गुवाला दाज्यु ठ्याउलीभरी नुन छ
आफ्नो छाउँली कँई देख्दैन झनै मन रुन्छ

स्थानीय मेला, पर्व, कथा, रुद्री गर्ने ठाउँमा सिंगारु गीत गाउनेको अभाव हुँदै गरेको गुनासो हो यो बुढाको । सिंगारुका लागि बाजा बजाउने गीत गाउने तथा नाच्ने आफ्नै उमेर समूहका बाहेक अरू नदेख्दाको नैराश्यता उनले हरेक पटक गीतबाटै दर्साइरहन्छन् । पछिल्लो पुस्ताले परम्परादेखि गाइँदै आइएको सिंगारु भाका गाउन छाडेको पीर त उनले पोखेका छन् नै, सिंगारु गाउने आफ्ना सहपाठी पनि घट्दै गएको उनको चिन्ता छ । ‘युवाहरूले यस्तो गीत गाउन, सुन्न मन पराउँदैनन् । सुन्न मन पराउने पुस्तामा गीत गाउनेहरूको जमात पनि घटिसक्यो,’ बूढाले भने, ‘केही वर्षमा यी गीत गाउने सायदै भेटिएलान् ।’ सिंगारुले गाएको एउटा गेडामा (टुक्का) सिंगो जीवनचक्र समेट्न सकिने उनी दाबी गर्छन् ।

गाउँघरमा यसरी सिंगारु गाउनेलाई ‘बैरागी’ भनिन्छ । जिल्लामा ४० वर्ष माथिका बैरागी (सिंगारु गायक) निकै कम भेटिन्छन् । त्योभन्दा कम उमेर समूहका सिंगारु गाउनेहरू त भेट्टाउनै मुस्किल छ । अहिले त सुन्ने मानिस नै भेटाउन गाह्रो पर्न थालेको अर्का सिंगारु गायक लालसिङ केसीको गुनासो छ । उनी गाउने मात्रै होइन वाद्यवादनमा पनि सिपालु छन् । सिंगारु गीतको महत्त्वपूर्ण वाद्यवादनमध्येको मादले (मादल बजाउने) हुन् उनी ।

‘सिंगारु गीत जसले सुन्दै आउनुभएको छ, उहाँहरूलाई यसको भाव थाहा छ,’ उनले भने, ‘सुन्न पनि खुबै मन पराउनुहुन्छ, जसले यो सुन्नुभएको छैन, उहाँलाई खासै यसको वास्ता पनि हुन्न ।’ पछिल्लो समय भित्रिएका वाद्यवादनका आधुनिक साधन र गीतसंगीतका कारण सिंगारु लोप भएको उनको तर्क छ ।

नयाँ पुस्ताले सिंगारुलाई रेकर्ड गरेर गाउन प्रयास गरेको त छ तर त्यो मौलिक हुन सकेको छैन । गाउँघरमा गाइने जस्तै गरी एउटा मात्रै पनि सिंगारु गीत रेकर्ड भए त्यसले पछिसम्म पनि इतिहास बचाउने स्थानीय शरण बस्नेतले बताए । सिंगारु भनेर गाइएका अधिकांश गीत मौलिक लयभन्दा अर्कैतिर गइरहेको बस्नेत बताउँछन् ।

लोक तथा दोहोरी गायक अमित परियारले आधुनिक वाद्यवादनको कारण ठेट सिंगारु गीत रेकर्ड हुन नसकिरहेको स्विकारे । ‘हामीले प्रयास नगरेको होइन, धेरै प्रयास गरेका छौं,’ उनले भने, ‘सबै तयारी गरेर गीत रेकर्डकै क्रममा तयार गरिने म्युजिकले ठेट सिंगारु बनाउन नसकिएको सत्य हो ।’

प्रकाशित : आश्विन १४, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्