कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाइट मदरमा समाजको कथा

सुशीला तामा‌ङ

काठमाडौँ — मानिसमा निराशा कसरी पैदा हुन्छ ? त्यसले मानिसलाई आत्महत्याजस्तो नकारात्मक विन्दुमा कसरी पुर्‍याइदिन्छ अनि त्यहाँसम्म पुग्न समाज के कति कारक बन्छ ? राजधानीको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘नाइट मदर’ ले यी प्रश्नको जवाफ दिन्छ ।

नाइट मदरमा समाजको कथा

सन् १९८१ मै अमेरिकी स्रष्टा मर्स नरम्यानले लेखेको यो नाटक यतिबेला नेपाली सन्दर्भसहित मञ्चन भइरहेकाे छ ।

निर्देशन गरेका हुन् युवा रंगकर्मी सुदाम सिकेले ।

व्यक्तिगत जीवनका अनेक पक्षसित समाज कसरी जोडिएको हुन्छ र समाजकै कारण मानिसमा कसरी वैराग्य उत्पन्न हुन्छ भन्ने विषयलाई नाटकले समातेको छ । कथा भनिएको छ आमा र छोरीमार्फत । आमाले समाजका हरेक हन्डर गोता खेपिसकेकी छन्, छोरी भने बल्ल खेप्दै छिन् ।

आत्महत्या गर्न चाहने छोरीलाई आफ्ना अनुभव सुनाउँदै आमाले बाँच्नतिर गरिरहेको प्रोत्साहनले दर्शकलाई भावुक बनाउँछ । जीवनमा जहिले पनि राम्रो होस् नै भनेर हरेक मानिस अगाडि बढिरहेको हुन्छ । जब जति संघर्ष गर्दा पनि सोचेको पूरा हुँदैन, पीडा र तनाव उत्पन्न हुन्छ । शारीरिक र मानसिक रूपमा कमजोर महसुस भएपछि उसले मृत्युको बाटो सोच्न थाल्छ ।

मृत्युपश्चात् समाजले भने उसमाथि सहानुभूतिभन्दा पनि नकारात्मक टिप्पणी बढी गर्न थाल्छ । मर्नुअघि ऊ केके कुरा भन्न चाहन्थ्यो, के कारणले उसले त्यो बाटो समात्यो भन्नेतिर समाज हमेसा जाँदैन । आमाले आफ्ना अनभुवमार्फत समाजको यस्तो चरित्र उजागर गर्दै जान्छिन् नाटकमा ।

नाटकमा मान्छे किन मर्न चाहन्छन् र किन बाँच्नुर्छ भन्ने पक्षलाई जीवन र मरण दुई भागमा बाँडेर दर्साउन खोजिएको छ । आमा र छोरीले जीवनमृत्युका कुरा एकले अर्कालाई सम्झाउँदै जाँदा नै नाटकमा घरीघरी द्वन्द्व सिर्जना हुन्छ । व्यक्तिगत सम्बन्ध एक–अर्काप्रति कति निर्भर हुन्छन् भन्ने सन्देश पनि नाटकमा छ । जस्तो कि आमाको चिन्ता छोरी मरेपछि आफू एक्लै हुन्छु भन्ने छ ।

भएका छोराबुहारी पनि अलग्गै बसेका छन्, बुढेसकाल एक्लोपनसित गुजार्नुपर्ने चिन्ता आमाका मनमा घरीघरी आउँछ । दीपा पनि आफू मर्न गइरहेको भन्दै त सुनाउँछिन् तर आमालाई भान्छाकोठाका खानेकुरादेखि घरका सबै काममा ‘यो गर, त्यो गर’ भन्दै बुझाउँदै छिन् ।

आत्महत्याको तहसम्म पुग्दाको मनोवैज्ञानिक तह पनि नाटकमा देख्न सकिन्छ । परिस्थितिले मानिसलाई कसरी त्यो स्थितिमा पुर्‍याउँछ ? १० वर्षदेखि जीवनका पीडालाई नियालिरहेकी दीपा खासमा वैवाहिक जीवनमा असफल छिन् । भएको एउटा छोरा पनि नसालु पदार्थको कुलतमा फसेको छ । त्यही भएर उनलाई कसैप्रतिको सम्बन्धमा आशा र जीवनको भरोसा देख्दिनन् ।

शारीरिक रूपमा पनि उनी रोगी छिन् । सानैदेखि लागेको छारे रोगबारे उनलाई आमाले लुकाएर विवाह गरिदिएको हुन्छ । श्रीमान्को व्यवस्था, रोगकै कारणले आमाप्रति निर्भर रहेको उनको जीवन उनलाई नै उराठ लाग्छ । परिस्थिति र सापेक्षताले मानिसको सोच्ने तरिकालाई कसरी प्रभावित गर्छ भन्ने बुझ्न उनको चरित्र काफी लाग्छ ।

सामाजिक असमानता, विभेदले युवाहरू निराशातिर लम्किरहेको देख्छन् निर्देशक सुदाम । त्यही भएर उनले यो नाटक छानेका हुन् । ‘व्यक्तिको पीडालाई समाजले मजाक बनाएर उडाएको थुप्रै घटना छन्,’ उनले भने । नाटकमा इच्छामरण अधिकारभन्दा पनि किन उसले यस्तो गर्दै छ भन्ने कुरा ध्यान दिनुपर्छ भन्ने वकालत गरिएको रंगकर्मी आकांक्षाले बताइन् ।

मर्ने कुरामा जसरी दीपाले नाटकमा आमासँग बहस गरेकी छन्, त्यो अझै पनि हाम्रो समाजमा हुन सकेको छैन । उनका अनुसार यस्तो किसिमको बहस एकदमै नौलो विषय हो । ‘आमासँग छोरीहरू जति नजिक भए पनि छोरीको राम्रो होस् भनी आमाले नै कति कुरा लुकाइरहेकी हुन्छिन्,’ उनी भन्छिन्, ‘यो आमाको मात्र दोष होइन, समाजकै दोष हो ।’

नाटकमा लुनिभा तुलाधारले आमाको र आकांक्षाले छोरीको भूमिकालाई मन छुने अभिनय गरेकी छन् ।

नाटक आगामी असोज १८ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : आश्विन ६, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?