इन्द्रजात्रामा फेरिँदो शैली

दामोदर न्यौपाने

काठमाडौँ — झोंछेकी पुनम शाक्यले यस पटकसहित इन्द्रजात्राको रथ ३ पटक तानिन् । इन्द्रजात्राका बेला कुमारी, श्रीभैरव र श्रीगणेशको रथ ३ दिन तानिन्छ । त्यसमध्ये पुनमले कुमारीकै रथ तानिन् तीनै पटक । ‘साक्षात भगवान्को दर्शन गरेजस्तो अनुभूति हुन्छ,’ उनी भन्छिन्, ‘भगवान् भेट्दा ऊर्जा मिलेजस्तो । शक्ति मिलेजस्तो आभास हुन्छ । जीउ नै त्यसै फूर्तिलो भएर आउँछ ।’

इन्द्रजात्राको अन्तिम दिन काठमाडौंको वसन्तपुरमा जीवित देवी कुमारीको रथ तानिँदै । तस्बिर : इलिट जोशी/कान्तिपुर

इन्द्रजात्रा व्यवस्थापन समितिले रथ तान्नेलाई टिसर्ट दिन्छ । टिसर्ट लगाएर रथ तान्ने महिला इन्द्रजात्राको विशेष आकर्षण हुँदै गएका छन्, ७ वर्षयता । परम्परागत रूपमा रथ तान्नेले सिकाउने गर्छन् । कसरी हिँड्ने, कसरी तान्ने भनेर सिकाइन्छ । ‘हिँड्दा गोडा घिसारेर हिँड्नुपर्छ । उचालेर हिँड्यो भने मान्छेलाई कुल्चिन्छ,’ शाक्य भन्छिन्, ‘डोरी तान्दा पनि होस् गर्नुपर्छ ।’ नेवार समुदायमा इन्द्रजात्रा ‘येंया’ भनेर चिनिन्छ । नेपाल भाषामा ‘येंया’ भनेको काठमाडौंको जात्रा हो । येंया: को अन्तिम दिन नानिचा या: नामले प्रसिद्ध छ ।

थपिएको कुमारी यात्रा
वैदिककालदेखि नै देवताका राजाका रूपमा विशेष सम्मान थियो इन्द्रको । नेपालको इतिहासको प्रारम्भदेखि नै इन्द्रको पूजा गर्ने प्रचलन रहेको वज्राचार्य बताउँछन् । लिच्छविकालीन अभिलेखमा पनि इन्द्रयात्राको उल्लेख छ । त्यस हिसाबले इन्द्रजात्रा प्राचीन हो । यो यात्रा चलाउन इन्द्रगोष्ठी नामको गुठी भएको लेलेको अभिलेखमा उल्लेख छ । वज्राचार्यका अनुसार पन्ध्रौं शताब्दीमा इन्द्रजात्रा निकै लोकप्रिय भइसकेको थियो । वज्राचार्यका अनुसार कुमारीयात्रा पनि मल्लकालमै इन्द्रजात्राको एक अंगको रूपमा विकसित भएको हो । ‘इन्द्रजात्रा परापूर्वकालदेखि थियो, ‘इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष शरदकुमार डंगोल भन्छन्, ‘कुमारीयात्राचाहिँ मल्लकालमा थपियो । अहिले इन्द्रजात्राको मुख्य आकर्षकणको रूपमा यही कुमारीयात्रालाई लिइन्छ ।’

य: सिं ठड्याइएकै दिनबाट देगुतलेजु मन्दिरमा रहेको श्वेत भैरव प्रदर्शन गरिन्छ । श्वेत भैरव प्रदर्शन गर्ने परम्परा रणबहादुर शाहको पालामा भएको मानिन्छ । यहाँ हरेक साँझे श्वेत भैरवको मुखमा टुटी राखेर बनाइएको ठाउँबाट प्रसादको रूपमा जाँड बगाइन्छ । जाँड मुखमा पार्न भीड लाग्छ । मन्दिर अगाडि मञ्च बनाएर भैरव प्रदर्शन गरिन्छ ।

हरेक टोल उत्सवमय बनेको हुन्छ यो बेला । टोल टोलमा माटो, काठ र धातुबाट बनेका भैरवका मूर्ति राखिएका हुन्छन् । प्रदर्शनीमा राखिएका भैरवमध्ये इन्द्रचोकको आकाश भैरव प्रसिद्ध छन् । मन्दिरभित्र राखिएका भैरवलाई बाहिर खटमा राखेर इन्द्रजात्राभरि प्रदर्शन गरिन्छ । दर्शन गर्न भक्तजनको भीड लाग्छ यहाँ । शिवपार्वती डबली छेउकै कडेलचोक भगवती मन्दिरमा पनि भैरव प्रदर्शन गरिन्छ । यहाँ प्रदर्शन गरिने मूर्ति आनन्द भैरवको हो । आनन्द भैरवको पादपीठमा अभिलेख छ । अभिलेखमा इन्द्रजात्रामा प्रदर्शन गर्नुपर्ने मूर्ति भनेर लेखिएको छ ।

हराए परम्परा
य: सिं ठड्याउने बेलाको निकै रौनक हुने गर्थ्यो । य: सिं ठड्याउने बेलामा राजाको समेत सवारी हुन्थ्यो । राजतन्त्र छँदै यो परम्परा लोप भइसकेको थियो । वज्राचार्यका अनुसार यो रौनक घटेको छ । पहिला ठड्याएपछि हरेक रात प्रधानमन्त्री हाजिर हुन्थे । य: सिं नढालेसम्म दरबारका भारदार पनि हाजिर हुने प्रचलन थियो । भारदार रातभर जाग्राम बस्थे । यो चलन हरायो । रातभर विभिन्न नाच देखाइन्थ्यो । यो बेला नाचिने नाचमध्येमा भँडिनीको नाच प्रसिद्ध थियो । भँडिनी नाच शृंगारिक रसले भरिपूर्ण हुन्थ्यो ।

मल्लकालमा प्रसिद्ध भएका केही नाच शाहकालमा हराए । इन्द्रजात्रामा सयभन्दा बढी नाच देखाइन्थ्यो । ती नाचको बन्दोवस्त सरकारले गर्थ्यो । अहिले पनि यीमध्ये अधिंकाश हराएका छन् । हनुमानढोका दरबारभित्र इन्द्रजात्राकै अवसरमा कृत्रिम युद्ध प्रस्तुत गरिन्थ्यो । शत्रुको किल्लामा आगो लगाइदिने युद्ध देखाइन्थ्यो इन्द्रजात्राको अवधिमा । खटजस्तो गरी नक्कली किल्ला बनाइन्थ्यो । वज्राचार्यका अनुसार किल्लामा विपक्षीले आगो लगाइदिने दृश्य हुन्थ्यो । युद्धको प्रतिकार गर्न पनि बसेको हुन्थे जात्रामा सहभागी हुनेहरू । यस्तो युद्धमा मानिस घाइतेसमेत हुने गरेका थिए । मल्लकालमा यो युद्ध निकै प्रसिद्ध थियो । विस्तारै हरायो यो पनि । जाँड खुवाएको राँगोसँग युद्ध लड्ने चलन पनि प्रसिद्ध थियो ।

जाँड खुवाएर मत्याएको राँगोलाई मैदानमा छाडिन्थ्यो । भैरवको मुखुन्डो लगाएका व्यक्ति राँगोसँग जुध्न जान्थे । मत्याएको राँगोसँग केही बेर युद्ध चलेपछि बलि दिने गरिन्थ्यो । यो चलन पनि हरायो ।

अहिले प्रदर्शन गरिने नाचमध्ये लाखे, पुलुकिसि, भैरव र सव:भक्कुको नाच प्रसिद्ध छन् । कुमारी रथ तान्ने बाटो लाखे र पुलुकिसि नाचिरहेका हुन्छन् । पुलुकिसि हात्तीको रमाइलो नाच हो । यसलाई नेपालभाषामा पुलुकिसि प्याखं पनि भनिन्छ । हात्ती इन्द्रको बाहन हो । भकारी र काठ मिलाएर बनाएको हुन्छ हात्ती । इन्द्र स्वर्ग जाँदा हात्तीलाई चाहिँ किलागलमा बाँधे छाडेर गए । हालको घना बस्ती किलागल त्यतिबेला घना जंगल भएको विश्वास गरिन्छ । त्यही बाँधेको हात्ती इन्द्रजात्रामा आफ्ना मालिक इन्द्रलाई यताउता खोज्दै हिँडेको विश्वास गरिन्छ । भकारी र काठबाट बनाइएको विशेष हात्तीभित्र दुईजना बस्छन् ।

प्रकाशित : आश्विन १, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

जीवित देवता अर्कैको घरमा

श्रीभैरव र श्रीगणेशको छैन मन्दिर
श्रीभैरव (रुजन शाक्य) १२ वर्षदेखि ओमबहाल फुपूको घरमा बस्छन् । श्रीगणेश (संवेग शाक्य) न्युरोड पाकोस्थित मामाकोमा बस्दै आएका छन् । परम्परागत सीमाभन्दा बाहिर बस्न नहुने उनीहरुका लागि छुट्टै व्यवस्था हुन सकेको छैन ।
दामोदर न्यौपाने

काठमाडौँ — रुजन शाक्य जीवित देवता श्रीभैरव हुन्, संवेग शाक्य श्रीगणेश । वसन्तपुरमा इन्द्रजात्राका अवसर पारेर कुमारीसँगै यी दुई देवताको रथयात्रा भइरहेको छ । कुमारी रथयात्राको दिन कुमारीकै पछिपछि तानिएका छन् उनीहरूका रथ ।

ओमबहालमा जीवित देवता श्रीभैरव बस्दै आएको उनको फुपूको घर । तस्बिर : दामोदर/कान्तिपुर

भैरव १२ वर्षदेखि फुपूको घरमा छन् । गणेश मामाकोमा । श्रीगणेश, श्रीभैरव र कुमारीले काठमाडौंको परम्परागत सीमाभन्दा बाहिर एक रात पनि बिताउनु हुँदैन । परम्परागत सीमा पूर्वमा वाग्मती, पश्चिममा विष्णुमती हो । गणेश, भैरव दुवैको घर यी नदीपारि छ । त्यही भएर दुवै देवतालाई अर्काको घरमा बस्नुपर्ने बाध्यता छ ।

नेवार समुदायमा कुमारीसँगै श्रीभैरव र श्रीगणेश हुन्छन् । कुमारीको जति महत्त्व छ, श्रीगणेश र श्रीभैरवको पनि उत्ति नै महत्त्व हुन्छ । तर कुमारीको व्यवस्थित बासस्थान छ । श्रीगणेश र श्रीभैरवको चाहिँ छैन । कुमारी, गणेश र भैरव बस्ने निश्चित सीमा हुन्छ । काठमाडौंको परम्परागत सीमा नाघेर अन्त बस्नु हुँदैन ।

भैरवका बुबाआमा कलंकी बस्छन् । श्रीगणेशका भैंसेपाटीमा । श्रीभैरव ओमबालमा फुपू निरञ्जना शाक्यको घरमा बस्छन् । ‘श्री भएपछि काठमाडौंको प्राचीन सहरको सीमाभन्दा बाहिर जान पाइँदैन । नदीपारि भएकाले घरमा बस्न पाएनन्,’ श्रीभैरवको मामा विश्व शाक्य भन्छन्, ‘११ वर्षदेखि फुपूको घरमा बस्नुपरेको छ ।’ भैरव २०६५ सालमा छानिएका हुन् । उनी ३ वर्षका थिए त्यतिबेला । श्रीगणेशचाहिँ न्युरोड पाकोस्थितमामाको घरमा बस्दै आएका छन् ।

जीवित देवी कुमारीको व्यवस्थित बसोबास गराउने काम मल्लकालीन राजा जयप्रकाश मल्लले गरेका थिए । गद्दी बैठकको पश्चिमतिर छ कुमारी घर । विसं १८१३ मा जग हाली त्यही वर्ष बनाइसकेको भन्ने भाषा वंशावलीमा उल्लेख छ । कुमारी घर ७ महिनामै निर्माण सम्पन्न भएको उल्लेख छ ।

१८१४ को एकादशी तिथिमा वज्राचार्यको रीतिथितिअनुसार पञ्चविशतिका पाठ गर्न लगाए । अनि संकल्प गराएर कुमारीलाई राखेका थिए । कुमारीको रथ तान्ने परम्परा पनि त्यही वर्षदेखि चलाए । वंशावलीअनुसार प्रताप मल्लले स्वयम्भू, पशुपतिनाथजस्ता प्रसिद्ध देवतलाई समेत निम्ता पठाएर कुमारी घरमा झिकाएका थिए ।

कानफट्टा जोगीलाई बोलाएर कुमारी घरमा भोज खुवाएका थिए । कुमारी घरमा कुमारी प्रतिस्थापन गरेको भोलिपल्ट स्वयम्भू, पशुपतिलगायत प्रसिद्ध देवतालाई खटमा चढाएर फिर्ता पठाएको भाषा वंशावलीमा उल्लेख छ । कुमारी राखेर तीन दिन चार रात ठूलो उत्सव गरिएको थियो । कुमारी घर बौद्ध विहार शैलीमा बनेको छ ।

शाक्य परिवारबाट छानिने कुमारीलाई तलेजु भवानीको अवतार मान्ने चलन छ । कुमारी बौद्ध सम्प्रदायको देवी भए पनि शाक्त सम्प्रदायको पनि उत्तिकै सम्बन्ध भएको इतिहासकारगौतमवज्र वज्राचार्य बताउँछन् । कुमारी, श्रीभैरव र श्रीगणेश तीनै देवता काठमाडौंका १८ वटा बुद्ध विहारका कुलपुत्र/कुलपुत्री हुनुपर्छ ।

श्रीभैरवका आमा सुवर्णतारा कृतिपुण्य महाविहार लगनको कुल पुत्री हुन् । बुबा केशचन्द्र पारावर्तकृत महाविहार कुटुम्बहालका कुलपुत्र हुन् । श्रीगणेशका बुबा विश्वप्रकाश शाक्यचाहिँ धर्मचक्र महाविहारका कुलपुत्र हुन् । बौद्ध सम्प्रदायको वज्रयानअन्तर्गत पर्छन् कुमारी, श्रीभैरव र श्रीगणेश । बौद्ध समुदायमा महायान्, हिनयान र वज्रायान गरी तीन सम्प्रदाय छन् ।

तीमध्ये महायान सम्प्रदायले मूर्ति पूजा गर्दैनन् । विहार बौद्ध दर्शन पढाइ हुने ठाउँ हो । यो स्वतन्त्र विश्वविद्यालय जस्तै हुन्छ । ‘पहिला विहारमै पढाइ हुन्थ्यो,’ यज्ञमान भन्छन्, ‘अहिले यो चलन कमी हुँदै गएको छ । धेरै ठाउँमा त हराइ नै सकेको छ ।’ बही भनेको विहारबाट सम्बन्धन पाएको संस्था हो । काठमाडौंमा १८ विहार छन् । अनगिन्ती बही छन् ।

विहार १८ वटा हुनुको पछाडि पनि बौद्ध दर्शन रहेको संस्कृतिविद् यज्ञमानपति वज्राचार्य बताउँछन् । ‘बौद्ध दर्शन स्थवीरवादी र महासांगिकवादी गरेर दुई भागमा विभाजन गरियो,’ उनी भन्छन्, ‘भगवान् बुद्धले जेजे दर्शन स्थापित गरेका छन्, त्यही हुनुपर्छ भन्ने मान्यता राख्ने समूह स्थवीरवादी हो । यो समूह घरमा बस्दैन । घर गृहस्थी गर्दैनन् ।’ वज्राचार्यका अनुसार महासंगिकवादी दर्शन मान्नेहरू समयअनुसार बुद्ध दर्शन परिवर्तन हुनुपर्छ, परिवर्तन हुँदै जानुपर्छ भन्ने मान्यता राख्छ ।

कुमारी, श्रीभैरव र श्रीगणेश यही १८ विहारमध्येबाटै छानिन्छन् । कुमारी भवानीको रथायात्रासँगै श्रीभैरव र श्रीगणेशको पनि रथयात्रा गराइन्छ । वर्षमा १३ पटक कुमारीलाई कुमारी घरबाट बाहिर निकालेर रथयात्रा गराइन्छ । ती सबै यात्रामा भैरव र गणेशको पनि रथयात्रा हुन्छ । कुमारी घरबाट बाहिर निस्कन नपाउने नियम छ ।

श्रीगणेश र श्रीभैरव भने आफ्नो निवास नभएकाले बाहिरै निस्किराखेका हुन्छन् । श्रीभैरव देवतलाई बटुक भैरवकको रूपमा पनि पुकारिन्छ । विहार कुलमा जन्मेका तीन वर्षमाथिका बालकलाई गणेश र भैरव छान्ने परम्परा छ । रजस्वला हुनुभन्दा अगाडि कुमारी फेरिन्छ । श्रीभैरव र श्रीगणेशचाहिँ व्रतबन्ध गर्ने उमेर पुग्ने छेको पारेर परिवर्तन गरिन्छ । श्रीभैरव र श्रीगणेश बढीमा १५ वर्षमा परिवर्तन गरिन्छ । परिवर्तन कसरी गर्ने भनेर अहिले अन्योल भएको शाक्यले बताए ।

पहिला राजतन्त्र छँदा राजदरबारका बडागुरुज्यूले चिना हेरेर बालक छान्थे । अहिले बडागुरुज्यूको प्रथा राजतन्त्रको समाप्तिसँगै हटेको छ । ‘अब के गर्ने भनेर कार्यविधि बनाउने तयारी गरिरहेका छौं,’ इन्द्रजात्रा व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘यसका लागि छलफल चलाइरहेका छौं ।’

बाहिर बसे पनि अन्य बालकभन्दा फरक पोसाक लगाउनुपर्छ । देवी र देवताको रूपमा स्थापित भएकाले फरक भेषभूषा लगाउनुपरेको शाक्य बताउँछन् । इन्द्रजात्राको बेला ‘गुलु मण्डः’ नाम गरेको पोसाक लगाउनुपर्छ । यो पोसाक सरकारले नै उपलब्ध गराउँछ । सरकारले हरेक वर्ष एक/एक जोर कपडा चढाउने चलन छ । अघिपछि ‘भान्टा ल’ भन्ने पोसाक लगाउनुपर्छ । यो पोसाक
घुँडासम्म तुना भएको हुन्छ ।

श्रीभैरव र गणेशलाई राज्यले सेवा सुविधा दिँदै आएको छ । श्रीपद भत्ता, शिक्षा, आवास र जात्राका लागि भनेर भत्ताको व्यवस्था छ । यी भत्ताबापत् सरकारले एकमुष्ट ९ हजार ३ सय ७५ रुपैयाँ महिनावारी उपलब्ध गराउँछ । सरकार र काठमाडौं महानगरपालिकाले पनि बेग्लै भत्ता दिने गरेको छ ।

काठमाडौं महानगरपालिकाकाले मासिक ३० हजार रुपैयाँ दिन्छ । यसअघि १५ हजार दिइँदै आएकोमा महानगरमा विद्यासुन्दर शाक्य मेयर भएपछि १५ हजार बढाइएका हुन् । श्री पदबाट निवृत्त भएपछि आजीवन भत्ता पाउँछन् । निवृत्तिभरण भत्ताचाहिँमहिनाको २ हजार ८ सय पाउँछन् ।

कुमारीको हातबाट जस्तै श्रीभैरव र श्रीगणेशको हातबाट पनि राष्ट्रप्रमुखले टीका थापेर सम्मान गर्नुपर्ने देवता हुन् । राष्ट्रप्रमुखले समेत सम्मान गर्नुपर्ने देवताको मन्दिर नहुँदा पर्वपूजा सञ्चालन गर्ने बेलामा समस्या हुने शाक्य बताउँछन् । इन्द्रजात्रा र नवरात्रिको रथयात्रा राति हुने गर्छ । यो बेला बढी समस्या हुन्छ । हावाहुरी आउँदा पनि समस्या हुने गरेको छ । पर्वपूजा गरेर फर्कने बेलामा सुरक्षा अभाव, हुरीबतासले दुःख दिने, पानी पर्नेजस्ता समस्या हुने गरेको शाक्यले बताए ।

‘श्री पदमा बसुन्जेल राज्यले वसन्तपुर क्षेत्रमै बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो,’ शाक्य भन्छन्, ‘यसका लागि हामीले पहल गरिरहेका छौं ।’ स्थानीयवासी, सम्पदा संरक्षण अभियन्ता लगायतले कुमारीघर छेउकै महेन्द्र संस्कृत विश्वविद्यालयको भवन गणेश र भैरवका लागि उपयुक्त हुने बताउँदै आएका छन् । ‘अहिले यो भवन प्रयोग विहिन छ,’ अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘यही घरलाई रेट्रोफिटिङ गरेर गणेश र भैरव राख्ने व्यवस्था गरियो भने उपयुक्त हुन्छ ।

परम्परा मासिँदै
राजतन्त्रको समाप्तिपछि यहाँका केही परम्परासमेत मासिएका छन् । पहिला राजाको शासनकालमा हुने केही पूजा रोकिएका छन् । इन्द्रजात्राको चतुर्थीमा भैरव बस्ने घरमा नयाँ पोसाक, नयाँ आसनसहित पूजा हुन्थ्यो । होम हुन्थ्यो । यो परम्परा रोकिएको छ । राष्ट्रप्रमुख परिवर्तन हुने बेलामा पनि यही पूजा हुन्थ्यो ।

तर राष्ट्रपति रामवरण यादव राष्ट्रप्रमुख हुँदा पनि यो पूजा रोकियो । विद्यादेवी भण्डारी फेरि राष्ट्रप्रमुख हुँदा पनि रोकियो । ‘राजा फेरिएपछि राजाले गर्ने अरू परम्परा राष्ट्रपतिले गर्ने चलन सुरु भएको छ,’ शाक्य भन्छन्, ‘रोकिएका यी परम्परा पनि अब सुचारु हुनुपर्छ भनेर हामीले माग राखिरहेका छौं ।’ कुमारी परिवर्तन हुँदा पनि सरकारले यस्तो पूजा गर्नुपर्थ्यो । तर दुई वर्षअगाडि कुमारी फेरिँदा पनि यस्तो पूजा भएन ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्