चुम्लुङ हिममा मुन्धुम जीवन

कान्तिपुर संवाददाता

ललितपुर — राजधानीबासी लिम्बू समुदाय यतिखेर चित्र, पुस्तक, डकुमेन्ट्री फिल्म र पुराना कलात्मक सामग्रीमार्फत् आफ्नै जनजीवन नियाल्दै छन् । ललितपुरको शोभाहिटीस्थित चुम्लुङ हिममा आयोजित चित्रकला प्रदर्शनीमा लिम्बूनीहरू अनेक सांस्कृतिक रंगमा भेटिन्छन् ।

ढाक्रोका बुट्टाहरू, सिलामसाक्माको नौरंगमा मुन्धुम दर्शन र जीवनशैली पाइन्छ । वंशावलीका पुस्तकमा पुर्खाहरूको खोजी भेटिन्छ । डकुमेन्ट्री फिल्ममार्फत् लिम्बूवानको खाँटी जनजीवन अभिव्यक्त भइरहेको छ ।

सोमबार सुरु प्रदशर्दनीमा ग्रामीण जीवनमा प्रयोग भएका सामग्रीहरू र उबेला सुब्बाङ्गीले प्रयोग गरेका ढाल, तरबार, भाले–पोथी निसान झण्डासँगै फोटो खिचाइरहेका युवायुवतीहरूको प्रशस्तै भेटिए । भुइँतलादेखि चौथो थलासम्म कलात्मक सामग्री छन् । भित्ताभरि लिम्बू समुदायको झलक दिने चित्रकलाहरू कोरिएका छन् । भुइँतलाभरि प्रदर्शन गरिका छन्, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, सिरिजंगा, इतिहासविद् इमानसिंह चेम्जोङका मिनिकदका मूर्ति ।

किरात, लिम्बू जाति, इतिहास, संस्कृति, परम्परा, भाषा, साहित्य, सिरिजंगा लिपि, कलाजन्य पुस्तकहरू छन् ।
‘सेवारो आदाङ्बा लु है तपाईंलाई मेरो हातको चिनो’ भन्दै निरु आङबुङ आफैंले बुनेको लिम्बूनी कला उपहार थमाइरहेकी थिइन् ।

‘चुम्लुङको अभियान नै एक घर (लिम्बू) एक सिलामसाक्मा (मुन्धुम वर्णित धागोको प्रतीक) भन्ने छ,’ ढाका उद्यमी उनले भनिन्, ‘त्यसैले हरेक व्यक्तिको हातमै पुर्‍याउने सजिलो हुने चाँबी झुन्ड्याउने आकारमा सिलामसाक्मा तयार पारेका छौं । सिसाको फ्रेममा राखेर घरमा सजाउन मिल्ने ठूलो आकारमा पनि बनाएका छौं ।’

चुम्लुङ ललितपुर जिल्ला उपाध्यक्ष राम बखिम लिम्बू संग्रहालय कक्षको रेखदेख गर्दै थिए । ‘यस परम्परागत घरेलु सामग्रीदेखि गैंडाको छालाबाट बनेको ढाल, तरबार, निसान झण्डा सबै व्यक्ति र परिवारबाट उपहारका रूपमा प्राप्त गरेका हौं,’ उनले भने, ‘लिम्बू जातिमा प्रथम सगरमाथा आरोही जुनिता सम्बाहाङफेले २०६६ वैशाखमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दा प्रयोग गरेको कपला, सामग्रीसमेत यही छन् ।’

चित्रकलामा लिम्बू जातिको विषयमा बृहत् पक्ष समेटिएको कलाकार नबेन्द्र लिम्बूले बताए । ‘वरिष्ठ कलाकार हिक्मत नेम्बाङदेखि कान्छो कलाकार सुसागेनसम्मका ४२ जनाको चित्रकला समेटेका छौं,’ उनले भने । नेम्बाङले परम्परागत तानको प्रतिविम्बमा लिम्बूनी मुहार उतारेका छन् ।

चुम्लुङ केन्द्रीय अध्यक्ष योगराज लिम्बूले स्थापना दिवसलाई फरक ढंगले जनजीवनसित जोड्ने प्रयास गरेको बताए । ‘नेपाली समाजमा याक्थुङ (लिम्बू) समुदायको एक अभिन्न विशिष्टता छ,’ उनले भने, ‘त्यसैले एकसाथ हेर्न, देख्न चाहनेका निम्ति दुई दिन समारोह गरेका हौं । योपटक लिम्बू व्यक्तित्वबाट समारोहलाई उद्घाटन गराउने पहल गरेका छौं ।’

प्रकाशित : भाद्र १७, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

फिल्म सम्मेलन भदौ अन्तिममा

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्ममाथि प्राज्ञिक बहस र छलफलको उद्देश्यसहित पहिलोपटक राष्ट्रिय फिल्म सम्मेलन हुँदै छ । चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रले यही भदौ २६ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा तीनदिने सम्मेलन गर्न लागेका हुन् ।

सम्मेलनमा फिल्मसम्बन्धी विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, छलफलसँगै फिल्म क्षेत्रका समसामयिक विषयमाथि ‘प्यानल’ छलफलसमेत हुनेबताइएको छ ।

मुलुकमा फिल्ममाथि अहिलेसम्म प्राज्ञिक तहबाट खासै गम्भीर बहस नभइरहेको सम्मेलनले नेपाली फिल्म उद्योगलाई गुणात्मक र सकारात्मक दिशा दिन सघाउने आफूहरूको अपेक्षा रहेको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।

‘फिल्मकर्मी, विज्ञ, फिल्म अध्ययनअनुसन्धान एवं प्राध्यापन गरिरहेकाहरूले नेपाली फिल्मका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यबारे एक दर्जन बढी कार्यपत्र पेस गर्ने छन्,’ उनले भने, ‘वरिष्ठ चलचित्रकर्मीको अनुभव पनि सुन्ने छौं ।’ उनका अनुसार डा. हरि शर्माले नेपाली समाजको अर्थराजनीतिमा फिल्मको महत्त्वका विषयमा ‘किनोट स्पिच’ पनि दिने छन् ।

मुलुकका बौद्धिक क्षेत्रका व्यक्तिलाई नेपाली फिल्मका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र फिल्मलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्नसमेत सघाउने सम्मेलनका संयोजक अनुप सुवेदीले बताए । ‘नेपालमा फिल्म बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रबारे बहस गर्न पहिलोपटक सम्मेलन हुन लागेको छ,’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्