कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म सम्मेलन भदौ अन्तिममा

काठमाडौँ — फिल्ममाथि प्राज्ञिक बहस र छलफलको उद्देश्यसहित पहिलोपटक राष्ट्रिय फिल्म सम्मेलन हुँदै छ । चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रले यही भदौ २६ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा तीनदिने सम्मेलन गर्न लागेका हुन् ।

सम्मेलनमा फिल्मसम्बन्धी विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, छलफलसँगै फिल्म क्षेत्रका समसामयिक विषयमाथि ‘प्यानल’ छलफलसमेत हुने बताइएको छ ।


मुलुकमा फिल्ममाथि अहिलेसम्म प्राज्ञिक तहबाट खासै गम्भीर बहस नभइरहेको सम्मेलनले नेपाली फिल्म उद्योगलाई गुणात्मक र सकारात्मक दिशा दिन सघाउने आफूहरूको अपेक्षा रहेको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।


‘फिल्मकर्मी, विज्ञ, फिल्म अध्ययनअनुसन्धान एवं प्राध्यापन गरिरहेकाहरूले नेपाली फिल्मका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यबारे एक दर्जन बढी कार्यपत्र पेस गर्ने छन्,’ उनले भने, ‘वरिष्ठ चलचित्रकर्मीको अनुभव पनि सुन्ने छौं ।’ उनका अनुसार डा. हरि शर्माले नेपाली समाजको अर्थराजनीतिमा फिल्मको महत्त्वका विषयमा ‘किनोट स्पिच’ पनि दिने छन् ।


मुलुकका बौद्धिक क्षेत्रका व्यक्तिलाई नेपाली फिल्मका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र फिल्मलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्नसमेत सघाउने सम्मेलनका संयोजक अनुप सुवेदीले बताए । ‘नेपालमा फिल्म बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रबारे बहस गर्न पहिलोपटक सम्मेलन हुन लागेको छ,’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?