कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“रजस्वलाप्रति गर्व छ”

सुशीला तामा‌ङ

ललितपुर — ‘तिमी मेरो कपडामा लागेका रगतका दाग हेर्न सक्दैनौ भने ममाथि निर्णय गर्न पनि सक्दैनौ,’ ताइवानी चित्रकार भन्छिन्, ‘म मेरो रजस्वलाप्रति खुसी छु । यतिबेला म स्वतन्त्र अनुभव गर्छु । भगवान्ले नै प्रत्येक महिनाको महिनावारीका लागि महिलालाई बनाउनुभयो किनकि उहाँलाई थाहा छ, यसलाई सम्हाल्न त्यति सजिलो छैन ।’ 

“रजस्वलाप्रति गर्व छ”

चित्रकार याओको धारणा शब्दमा मात्रै हैन, चित्रमै हेर्न सकिन्छ । ललितपुर बखुन्डोलस्थित नेक्सस कल्चर सेन्टरमा उनीलगायत विभिन्न चित्रकारका कलाकृति सजिएका छन् । उनले भने आफूलाई अभिव्यक्त गर्न प्याडको साहरा लिएकी छन् । रजस्वला हुने बेला महिलाले प्रयोग गर्ने प्याडका चित्रहरूमा उनले लेखेकी छन्, ‘मेरो रजस्वलाले अर्को जीवनको उत्पत्तिसँग सम्बन्ध राख्छ । मेरो प्याड नै मेरो गर्व हो ।’


उनले नेपाली समाजमा रजस्वलालाई सामाजिक, धार्मिक रूपमा नियन्त्रण र अपहेलना गर्ने परम्परा रही आएकोप्रति व्यंग्य गर्दै कलामार्फत यसरी आफूलाई यसरी अभिव्यक्त गरेकी हुन् । यस्तो चित्र कोर्नुअघि झन्डै एक महिनासम्म उनले नेपालमा रजस्वलाप्रतिको परम्परागत सोचबारे अनुसन्धान नै गरिन् ।


नेक्सस कल्चर सेन्टरमा नेपालकै एक दर्जनभन्दा बढी किशोरीलाई कपडाको प्याड बनाउने तालिमसमेत दिइन् उनले । ‘यही क्रममा उनीहरूलाई रजस्वलाबारे आफ्ना धारणा लेख्न लगाएकी थिएँ,’ उनले भनिन्, ‘ती किशोरीको धारणा पढेपछि मलाई चाहिँ चित्रका लागि प्रेरणा मिल्यो ।’


एउटा प्राकृतिक प्रक्रियाका रूपमा महिलाको जीवनमा आउने रजस्वलाको बेला महिला खुसी हुनुपर्नेमा सांस्कृतिक सामाजिक रूपमै छेकथुन जस्तो धारणाले आफू पग्लेको उनले बताइन् । प्रदर्शनीमा याओले नेपालको मन्दिरहरूमा मानिसले गरिने मूर्ति पूजाबारे भिडियो आर्टसमेत बनाएर प्रस्तुत गरिरहेकी छन् ।


नेपाली चित्रकार सिद्धान्त पुडासैनीले भने मुलुकका फरक–फरक समुदायमा रजस्वलालाई लिएर के–कस्ता मतभेद छन् भन्ने सन्दर्भलाई प्रस्तुत गरेका छन् । प्रदर्शनीमा नेपाल र पाकिस्तानका एक–एक जना र ताइवानका दुई जना चित्रकार सहभागी छन् । केही चित्रकारले पितृसत्तात्मक समाजमा महिलाको आफ्नै पहिचान र स्वतन्त्रताको खोजी गरेका छन् ।


कलामै रगत, शरीर, आवाज र स्पेसहरूमार्फत महिलाको मौलिक परिचय खोज्दै प्रदर्शनीलाई अर्थपूर्ण बनाएको चित्रकार तथा अभियन्ता अस्मिना रञ्जितकारले बताइन् । भनिन्, ‘हामी जति नै चेनतशील भए पनि प्राकृतिक, राजनीतिक, शारीरिक, मनोवैज्ञानिक, सामाजिक संरचनाबाट थिचिइरहेका छौं । यही दबिएको आवाज नै चित्रकारहरूले कलामार्फत देखाएका छन् ।’ शरीर, लैङ्गिकता र राजनीतिका नाममा महिलाहरू कसरी नियन्त्रित छन् भन्ने देखाउन कलाकृति सबल छन्।


पाकिस्तानी चित्रकार तेहरिम हसनले छ वटा चित्रमा महिलाको शरीरमाथिको अधिकार र पहिचानको चर्चा गरेकी छन् । उनले आफ्नो कलामा ‘मेरो शरीर मेरो अधिकार, मेरो शरीरका अंगप्रत्यंगमाथि मेरो मात्र हक छ । संसार जस्तोसुकै होस्, मलाई हेर्न र उड्न देऊ’ जस्ता उद्धरणहरू पनि प्रस्तुत गरेकी छन् ।


ताइवानकै अर्का कलाकार सान वाङले भने आफ्ना पुर्खाहरूलाई समर्पित गर्दै हिमालयन सिरिजका तस्बिरहरू तयार गरेका छन् । नौ वटा तस्बिरमार्फत उनले हिमाली भेगबाटै उत्पत्ति भएका आफ्ना पुर्खाहरूको पहिचान खोजेको बताए । डिजिटल, इस्टलेसन, ध्वनि र फोटोका माध्यमबाट महिलाको अस्तित्वलाई खोजी गरिएको प्रदर्शनी यही भदौ १७ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?