गीत चले, जीवन चलेन

दुर्गालाल केसी

दाङ — संगीतकार महेश खड्काले चर्चित गीतहरूमा संगीत भरेका छन् । उनका गीत निकै पटक डाउनलोड भए, सेयर भए, सबै क्षेत्रमा अनधिकृत प्रयोग भए । त्यसबापत् संगीतकार खड्काले एक पैसा पाएनन् । बरु अरूले नै कमाए ।

संगीत रोयल्टी नपाउँदाको दुःख पोख्दै संगीतकार महेश खड्का ।

यसले उनको साह्रै चित्त दुखेको रहेछ । ‘हामीले सिर्जना मात्रै गर्‍यौं । हाम्रा सिर्जनाले बजार पाए तर हामीले चर्चाबाहेक अरू केही पाएनौं । गीत चले तर हाम्रो जीवन चलेन,’ उनले भने, ‘हाम्रो अवस्थामा केही सुधार आएन । बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था छैन ।’

गीत/संगीतमा लागेर आफूजस्तो गरिब हुन कोही सर्जकले नचाहेकोखड्काले बताए । ‘मेरा बाआमा संगीतमा लागेर गरिब भयो भन्नुहुन्छ,’ उनले भने, ‘मजस्तो गरिब कोही हुन चाहँदैन ।’ सर्जकले आफ्नो सिर्जनामा अधिकार स्थापित गर्न नसकेकामा उनले साह्रै चित्त दुखाए ।

संगीत रोयल्टी संकलन समाजका अध्यक्षसमेत रहेका खड्काले बौद्धिक सम्पत्तिको संरक्षण नभएकोमा खिन्नता व्यक्त गर्दै भने, ‘हामी सिर्जनामा मात्रै ध्यान दिन्छौं । अधिकार खोज्न लाग्दैनौं । मेरा एक हजार ५ सय बढी सिर्जना छन् । ती सबै सार्वजनिक रूपमा निःशुल्क प्रयोग भएका छन् । स्रष्टा समृद्ध हुन बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्छ तर त्यस्तो हुन सकेन ।’

जीवनलाई आनन्द दिने हरेक चिजमा मानिस पैसा तिर्न तयार रहेको तर धेरै नै आनन्द दिने संगीतमा पैसा तिर्न तयार नरहेको खड्काले बताए । ‘हामी आफूलाई रमाइलो लाग्ने हरेक चिजमा पैसा तिर्न तयार छौं तर जीवनलाई साह्रै आनन्दित बनाउने, मनोरञ्जन दिने गीत संगीतका लागि केही रकम छुट्ट्याउन तयार छैनौं,’ उनले भने, ‘झलकमान गन्धर्व बित्दा दाउरा किन्ने पैसा नहुने जस्तो विडम्बना फेरि नआओस् ।’

प्रतिलिपि अधिकार तथा संगीत रोयल्टी व्यवस्थापनसम्बन्धी तुलसीपुरमा आयोजित अन्तरक्रियामा खड्काले विभिन्न ४० क्षेत्रमा संगीतको रोयल्टी आउने सम्भावना देखेको बताए । ‘यातायात, पार्टी प्यालेस, रेडियो, टीभी, मेला महोत्सवजस्ता मनोरञ्जनका थुप्रै क्षेत्र छन् । यी सबैबाट रोयल्टी उठाउन सकिन्छ,’ उनले भने, ‘तर, सर्जकसँग आफ्नो भन्नु सृजनाबाहेक अरु केही छैन । हामी लड्न भिड्न सक्दैनौं । कसरी उठ्छ रोयल्टी ?’

प्रस्तोता समाजका सदस्य तथा गायक बैकुण्ठ महतले पनि गीत–संगीतको रोयल्टी नपाउँदाको पीडा पोखे । ‘हाम्रा गीत सबैतिर निःशुल्क बजिरहेका छन् । व्यक्तिगत रूपमा बज्ने गीतमा हामी रोयल्टी माग्दैनौं तर व्यावसायिक रूपमा बज्दा तिर्नुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रबाट कसरी रोयल्टीको व्यवस्थापन गर्ने भन्ने चुनौती छ । रोयल्टी नउठी कलाकारको आर्थिक स्थितिमा सुधार आउन सक्दैन ।’

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार गीत–संगीत बौद्धिक सम्पत्ति भएको बताए । रोयल्टी नतिरी सार्वजनिक रूपमा गीत–संगीत प्रयोग गर्दा ऐनको उल्लंघन हुने उल्लेख गर्दै आचार्यले यसलाई फौजदारी अपराध मानी कानुनी कारबाही हुने बताए ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

बालविवाहविरुद्ध सडक नाटक

कान्तिपुर संवाददाता

कालिकोट — सानैमा विवाह भयो । न शिक्षा न रोजगार । बालविवाहले सानैमा गर्भवती भएर बच्चा जन्माउन नसकेर मृत्युको मुखमा पुगेकी किशोरीको कथा समेटेर शनिबार मान्म बजारमा जनजीवन किशोरी समूहका कलाकारले मान्म बजारमा प्रर्दशन गरेको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए । 

कालिकोटको सदरमुकाम मान्ममा सडक नाटकमा अभिनय गर्दै कलाकार । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

१४ वर्षमा विवाह गरेर १६ वर्षमा बच्चा जन्माएकी खाडाचक्र २ की २७ वर्षीया जयकला विकले आँसु थाम्न सकिनन् । ‘मेरै बारेमा भनेजस्तो लाग्यो,’ उनले भनिन् ‘गाउँका धेरै दिदीबहिनीले भोगिरहेका कुरा नाटकमा देखाउँदा आँसु आइहाले ।’ उनका लगातार ५ छोरी जन्मिएपछि छैटौं सन्तानका रूपमा छोरा जन्मिए । पतिले अर्को छोरा चाहिन्छ भनेर अझै परिवार नियोजन गरेका छैनन् । उनको स्वास्थ्य निकै कमजोर छ ।

खाडाचक्र नगरपालिकाको समन्वयमा स्वास्थ्य रूपान्तरण परियोजनाको सहजीकरणमा गठित किशोरी समूह लामो समयदेखि क्रियाशील छ । १५ वर्षीया साविता पाण्डे र दीपक आचार्य बीचमा भएको बालविवाहले उनको पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौच गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेकोलगायत समस्या नाटकीय रूपमा देखाइएको थियो । अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु रोक्न नसकिएको जिल्ला समन्वय समितिका सदस्य ऐना शाहीले सुनाइन् ।

‘सन्देशमूलक नाटकले समाजमा जरा गाडेर बसेको बालविवाहको कुसंस्कार कम गर्न सहयोग पुर्‍याउँछ,’ उनले भनिन् । १८ वर्षमुनिका किशोर किशोरीले अभिनय गरेको सडक नाटकमा सासूको भूमिकामा रहेकी करुणा आचार्यले गाउँमा आमाले गर्ने व्यवहार र छोरी बुहारीले भोग्ने समस्याबारे सचेतनाका लागि अभिनय गरेको सुनाइन् । नाटक हेर्न आएका सहभागी किशोर किशोरीले बालविवाह नगर्ने गराउनेलाई पनि खबरदारी गर्ने सामूहिक प्रतिबद्धता गरेको सहजकर्ता अविसरा देवकोटाले बताइन् ।

सडक नाटकले किशोरकिशारीले भोग्नुपरेको समस्याबारे दुरुस्तै देखाएको नागरिक अगुवा धनबहादुर बटालाले बताए । बालविवाहविरुद्ध समुदायमा कानुनी प्रावधानबारे अभिमुखीकरण गर्नुपर्ने र कारबाही गर्ने प्रहरी प्रशासन पनि निर्मततापूर्वक परिचालन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । ‘बालविवाहको असर विवाह गर्ने बालबालिकासहित घरपरिवार र समाज सबैमा परिरहेको छ,’ उनले भने, ‘विवाहबारी २० वर्ष पारि कार्यान्वयन गर्न जरुरी छ ।’

प्रकाशित : भाद्र १०, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्