रेल्वे स्टेसनमा गीत गाएरै अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन्, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ।’ सिर्जना कहाँ, कति बेला प्रस्फुटन हुन्छ, पत्तै हुँदैन । यति बेला सीप र क्षमताले आफैं बाटो बनाउँछ भन्ने सिद्ध गरिदिएकी छन्, भारतीय एक महिलाले ।

भारतीय रेल्वे स्टेसनमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी रानु मण्डलको गायकीले यति बेला न्याय पाएको छ । सुरिलो स्वरकी धनी मण्डलले गाएको भिडियो फुटेज सामाजिक सञ्जालमा आएपछि उनी एकाएक भाइरल बनेकी थिइन् । सञ्जाल प्रयोगकर्ताले उनको गायकीलाई गायिका लता मंगेशकरसँग तुलना गरेपछि चर्चा दिन दुगुना, रात चौगुना बढ्दै गयो ।

यति बेला भारतीय संगीतकार, गायक हिमेश रेशमियाले मण्डलको गीत नै रेकर्ड गराएका छन् ।आफ्नो नयाँ फिल्मका लागि रेशमियाले मण्डललाई पार्श्व गायनका लागि अवसर दिएका हुन् । त्यसअघि जब मण्डल टीभीमार्फत प्रसारण हुने सिङगिङ रियालिटी सो ‘सुपरस्टार सिंगर’ मा पाहुना बनेर पुगेकी थिइन् । जुन सोको निर्णायकमध्ये एक रेशमिया पनि छन् ।

मण्डलको गायकीबाट प्रभावित भई रेशमियाले आफ्नो फिल्मको गीतका लागि स्वर दिन आग्रह गरेका थिए । उक्त सोमा उपस्थित मण्डलको जीवन संघर्षले सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रम सञ्चालिकाले रेल्वे स्टेसनमा गाउनुको कारणबारे सोधेपछि मण्डलले हाँस्दै भनेकी थिइन्, ‘रेल्वे स्टेसनमा किन गाउँथेँ भने मसँग बस्नका लागि घर छैन । गीत गाएरै आफ्नो पेट पालिरहेकी थिएँ । गीत सुनेर कोही खानेकुरा दिन्थे भने कोहीले पैसा ।’ कार्यक्रममा उनले जावेद अलीको अनुरोधमा ‘एक प्यारका नगमा...’ पनि गाएर सुनाएकी थिइन् ।

रानु मण्डलले फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’ का लागि ‘तेरी मेरी कहानी’ युगल गीत गाएकी हुन्, जसमा मण्डललाई हिमेशले नै पुरुष गायनमा साथ दिएका छन् ।

– एजेन्सी

प्रकाशित : भाद्र १०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

आजबाट सवारी मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — आज (मंगलबार) बाट १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ ।

गत वर्षको 'नाडा अटो सो’ मा राखिएका सवारी साधन तथा अवलोकनकर्ताहरू । फाइल तस्बिर : कान्तिपुर

सो सुरु हुने औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् । यो पटकको मेलाको व्यवस्थापन पक्षलाई बलियो र व्यवस्थित बनाइएको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ । आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने दाबी आयोजकको छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए ।

‘मेलाको सबै तयारी सकिएको छ । मंगलबार बिहान उद्घाटन गर्न मात्र बाँकी छ,’ संयोजक श्रेष्ठले भने, ‘तर पानी परेर केही समस्या होला कि भन्ने डर छ ।’ प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ ।


प्रदर्शनीमा १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ वटा ब्रान्ड देख्न पाइनेछ । अहिले ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहनेछ । अवलोनकर्ताले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे पनि जानकारी पाउनेछन् । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्