कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारु गाउँमा मोडलै मोडल

ठाकुरसिंह थारू

बर्दिया — केही वर्षअघिसम्म थारू भाषाका म्युजिक भिडियो वर्षमा मुस्किलले एक/दुईटा बन्थे । अहिले जमाना बदलिएको छ । एकै दिन थारू भाषाका तीन म्युजिक भिडियो सार्वजनिक भए ।

थारु गाउँमा मोडलै मोडल

शुक्रबार चम्पन सांंस्कृतिक समूहले ‘अंग कही पाटिर धनिया रे’, गोचाली मिडियाले ‘ओ माई डियर’ र कैलाली म्युजिकले ‘कन्दरा लडियाके जुर पानी’ को म्युजिक भिडियो सार्वजनिक गरे । ‘ओ माई डियर’ डिजे गीत हो । दुई गीत थारू संंस्कृतिसँग जोडिएका छन् । थारू भाषाका फिल्मले व्यावसायिक सफलता नपाइरहेका बेला म्युजिक भिडियोले भने बजार तताएका छन् ।

म्युजिक भिडियोसँगै थारू कलाकारको माग पनि बढ्न थालेको छ । थारू समुदायमा एकसे एक मोडल देखिन थालेका छन् । म्युजिक भिडियोको लहरले थारू युवायुवतीलाई छोएको छ । कतिपय मोडल व्यावसायिक बन्दै गएका छन् । केहीले आफ्नै निजी लगानीमा लहडमै म्युजिक भिडियो निर्माण गरिरहेका छन् । केही मोडलले

रामै्र पारिश्रमिक पाइरहेका छन् । युटयुबमार्फत सार्वजनिक हुने भिडियोका भ्युअर पनि बढेका छन् ।

पछिल्लो समय थारू भाषाको भिडियो निर्माण गर्न स्पर्धा नै चलेको छ । कलाकारहरूले आफूलाई टिकाउन प्रयासरत छन् । बारबर्दिया नगरपालिका धधवारकी आशा चौधरी निरन्तर दुई वर्षदेखि मोडलिङमै छिन् । हाल उनी चल्तीको कलाकारका रूपमा चिनिएकी छन् ।

१८ वर्षीया सुन्दरीले मोडलिङ गरेको ‘मै तो हुई गिनु दिवाना, तुहार नाउमे हुईनु कुर्बान’ लगायतका आधा दर्जन भिडियो थारू युवामाझ सामाजिक सञ्जालमा भाइरल बने । ‘थारू भाषाको भिडियो धेरै नबनेको भए मैले यो अवसर पाउन मुस्किल हुन्थ्यो । तर, सहजै भिडियो खेल्ने अवसर पाएँ,’ उनले भनिन्, ‘खासमा अहिलेका युवायुवती मोबाइलमार्फत् सामाजिक सञ्जालमा जोडिएकाले थारू भिडियोको लोकप्रियता बढेको हो ।’

एउटा म्युजिक भिडियोमा खेलेबापत् १० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको उनले बताइन् । यसले पनि थारू म्युजिक भिडियोको व्यावसायिकता बढ्न थालेको देखाउँछ ।

बर्दिया बबई नगरपालिका–३ घर भई हाल नेपालगन्जमा होटल व्यवसाय गर्दै आएका मोडल राजकुमार थारूले आÏनै लगानीमा चार म्युजिक भिडियो खेलेका छन् । एउटा भिडियोका लागि कम्तीमा ५० हजार खर्च लाग्ने उनले बताए । आफैं मोडल भएकाले उनलाई मोडलिङको पारिश्रमिक तिर्नुपरेको छैन ।

आफ्नै लगानीमा थारू भिडियोप्रतिको यति धेरै मोह किन ? ‘थारू भाषा र संस्कृतिको संरक्षण र आफूभित्र रहेको कलालाई प्रस्तुत गर्नका लागि भिडियो बनाउँछु । कलाकारितामा मेरो रुचि छ,’ उनले भने, ‘कलाकारको पहिचान पाउनु मेरा लागि ठूलो सम्पत्ति हो ।’ उनी दसैं पर्वलाई लक्षित गरी अर्को भिडियो बनाउने तयारीमा जुटेका छन् ।

उनको ‘झुम्कावाला बठिनिया’ भिडियो युटयुबमा तीन लाख बढीले हेरेका छन् । थारू भिडियो अपलोड गर्न थुप्रै युटयुब सञ्चालनमा आएपछि प्रचारप्रसारमा सहज भएको उनले बताए । हातहातमा मोबाइलमार्फत सहजै हेर्न सकिने भएकाले पनि लोकप्रियता कमाउन सहज भएको हो ।

राजापुरकी शर्मिला चौधरी, कैलालीकी सुमित्रा चौधरी, सोनु कुस्मी, राधा चौधरी, बाँसगढी नगरपालिकाकी ऋतु नानु, बाँके च्यामाकी निर्मला चौधरीलगायतका दर्जनौं मोडल उत्पादन भएका छन् । उनीहरूले थोरै भए पनि पारिश्रमिक लिएर काम गर्छन् ।

युवा मोडल विवश चौकर, देवदास, विमल, रामदयाल, तेजराज, वीर चौधरी, सन्दीप बीसी, विकास बीआरडीलगायतका मोडल तयार भइसकेका छन् । पछिल्लो समय थारू भाषामा आधुनिक, डीजे भिडियो बढी सार्वजनिक हुने गरेका छन् । युवाहरूलाई लक्षित गरी भिडियो बनाउने गरिएका कारण डीजेले बजार पाएको हो । त्यसो त विभिन्न समूहले संस्कृति झल्काउने भिडियो निर्माण गरिहेका छन् ।

तर, युवाहरूको चासो भने डीजेमा बढी भएकाले निर्माताहरू त्यसतर्फ आकर्षित भएका छन् । ‘कलाकारका लागि दर्शक महत्त्वपूर्ण कुरा हो । बजारमा जे बिक्छ, त्यसैको बजार माग बढी हुने हो,’ थारू गायक तथा भिडियो निर्माता विश्वसागर परियारले भने, ‘अहिले डीजे गीतको माग युवाहरूमा बढी छ । त्यसैले थारू भाषाका गीत पनि त्यसैतर्फ आकर्षित छन् ।’

प्रकाशित : भाद्र ५, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?