कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रेन्डिङमा ‘कृ’

काठमाडौँ — युट्युबको नेपाल ट्रेन्डिङमा प्राय: दक्षिण भारतीय फिल्म वा विभिन्न ‘काण्ड’ का भिडियोले नै वर्चस्व जमाउने ट्रेन्ड देखिने गरेको छ ।

ट्रेन्डिङमा ‘कृ’

सनसनीपूर्ण शीर्षक राखिएका अतिरञ्जित काण्डवाला भिडियोलाई समेत पछि पार्दै यति बेला नेपाली फिल्म ‘कृ’ युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । हाई लाइटस् नेपाल च्यानलबाट चार दिन अपलोड गरिएको ‘कृ’ ले मंगलबार साँझसम्म ३७ लाख २५ हजार भन्दा बढी भ्युज पाइसकेको छ । नौ हजार बढी कमेन्टस् आएका छन् ।


सुरेन्द्र पौडेल निर्देशित उक्त फिल्ममा अनमोल केसी, अदिति बुढाथोकी, अनुपविक्रम शाहीलगायतको मुख्य भूमिका रहेको छ । बुढाथोकीले यसै फिल्मबाट नेपाली रजतपटमा नायिकाका रूपमा डेब्यु गरेकी हुन् । बक्सअफिसमा मध्यम व्यापार गरेको फिल्मलाई युट्युब दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रिया अनमोलका फ्यान र हेटर्सले दिएका छन् । प्रतिक्रियामा सुरज विक लेख्छन्, ‘फिल्मको स्टोरी राम्रै भए पनि फिल्मभित्र कथाले मागेको डायलग, फाइट अनि अभिनय खास आउन सकेन । अनमोल केसीको भ्वाइसलाई एक्सन मुभी सुहाउँदो रहेनछ ।’ भगवान् घिमिरे नामबाट अर्काले पनि झन्डै यस्तै प्रतिक्रिया दिएका छन् । उनले अनमोलको फिगर, फेस र डायलग बोल्ने शैली सबै कुरा हेर्दा एक्सन फिल्ममा नभई लभस्टोरीमै खेल्न सुहाउने धारणा राखेका छन् । घिमिरे लेख्छन्, ‘एक्सनका लागि हिरो अलिक बोल्ड नै हुनुपर्छ । हुन त साउथ इन्डियन फिल्ममा लुरे हिरोहरू पनि एक्सन फिल्म खेल्छन्, के भनौं खै । समग्रमा फिल्म वाह भन्नुभन्दा पनि औसत नै लाग्यो ।’


यसै सातादेखि सुरु भएको टेलिभिजन सिगिंङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो सिजन सुरु भएको छ । चार दिनअघि दोस्रो सिजनको पहिलो भाग द भ्वाइस अफ नेपालकै च्यानलबाट युट्युबमा अपलोड गरिएको थियो । जुन यतिबेला नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा आइपुगेको छ । उक्त कार्यक्रमलाई झन्डै २४ लाख पटक हेरिइएको छ भने ७५ हजार बढीले ‘लाइक’ गरेका छन् । झन्डै आठ हजार प्रतिक्रिया आएका छन् । प्रतिक्रिया प्रतियोगीले भन्दा बढी यसका कोचहरूले बटुलेका छन् । अघिल्लो सिजनका प्रमोद खरेल र दीप श्रेष्ठसहित यस पटकदेखि राजु लामा र आस्था राउत नयाँ सदस्यका रूपमा भित्रिएका हुन् । अधिकांश सुखद प्रतिक्रियाहरू कोच राजुप्रति आएका छन् । त्यसपछि प्रमोदलाई पनि रुचाइएको प्रतिक्रिया दिइएको छ । कतिपयले नयाँ कोचका रूपमा आस्था भित्रिएकोमा खुसी व्यक्त गरेका छन् । तर कार्यक्रममा लोक गीत गाएका प्रतिस्पर्धी छनोट हुन नसकेकोमा निराश एम कल्पना नामक एक लेख्छिन्, ‘रिस उठ्यो बेस्सरी । लोक गीतलाई पनि प्राथमिकता दिनुपर्‍यो । अब लोक गायकलाई पनि कोच राख्नुपर्‍यो ।’


ट्रेन्डिङको तेस्रो स्थानमा अर्को नेपाली फिल्म ‘ऐश्वर्य’ आएको छ । बुढासुब्बा डिजिटलले पाँच दिनअघि उक्त फिल्मलाई युट्युबमा राखेको थियो । २२ लाख ३० हजार पटक हेरिसकिएको उक्त फिल्मले ३६ सयभन्दा बढी कमेन्टस् बटुलिसकेको छ । कुनै समयका चकलेटी नायकका रूपमा दर्शक रिझाउन सफल रमेश उप्रेती करिअर छोडेर लामो समय विदेशमा बसे । फिल्म ‘चकलेट’ बाट अभिनेताका रूपमा असफल कमब्याक जनाएका उनलाई आफ्नै निर्माणको ‘ऐश्वर्य’ ले भने केही राहत दिएको थियो । कुशेन्द्र राई उप्रेतीबारे लेख्छन्, ‘आज धेरै खुसी छु म, पुरानो हिरोको यति प्रगति देख्दा । जे भए पनि पुरानो भनेको पुरानो नै हो । फिल्म पनि राम्रो नै लाग्यो ।’ दिवाकर भट्टराईको निर्देशन रहेको उक्त फिल्ममा रमेशसहित केकी अधिकारी र दीपिका प्रसार्इंको मुख्य भूमिका रहेको छ । फिल्मले बक्सअफिसमा मध्यम व्यापार गरेको थियो । सागर तामाङले भने मध्यान्तरपछि हुने केकीको इन्ट्रीपछि मात्रै फिल्म राम्रो लागेको धारणा राखेका छन् । उनले त्यसअघि भने फिल्म पट्ट्यारलाग्दो लागेको प्रतिक्रिया दिएका छन् । त्यसो त कतिपयले फिल्मभन्दा बढी विज्ञापन आएर झर्कोलाग्दो भएको टिप्पणी पनि गरेका छन् । पवन सिम्खडाले त व्यंग्य नै गरेका छन्, ‘विज्ञापन हेरेको अलिअलि फिल्म पनि रहेछ ।’

प्रकाशित : भाद्र ४, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?