चलचित्र विधेयकमा सबैको सुझाव समेट्छौं : केशव भट्टराई, अध्यक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न विधेयक प्रस्ताव गरेसँगै टीकाटिप्पणी र बहस पैरवी सुरु भएको छ ।

चलचित्र विकास बोर्डले सरोकारवाला संघ/संस्थाका फ्रतिनिधि राखेर हालै गरेको अन्तर्क्रियामा सञ्चारमन्त्री गोकुल बास्कोटाले संसद्को चालु सेसनबाटै पारित गर्ने बताउँदै छिटो सुझाव संकलन गर्न बोर्डलाई निर्देशन दिए । त्यसयता विभिन्न माध्यममार्फत प्रस्तावित विधेयकका कमी कमजोरीमाथि केही चलचित्रकर्मीले अभिव्यक्तिहरू दिँदै आएका छन् । बोर्डका अध्यक्ष केशव भट्टराई भन्छन्, ‘बहस आवश्यक ठानेरै हामीले विधेयक केही समय रोकेका हौं ।’

विधेयकको चलचित्र परिभाषामै समस्या देखियो । के सबै चलायमान दृश्य चलचित्र हुन सक्छन् ?
परिभाषाभन्दा पनि नियतमा समस्या हो । नीति बनाउने बेला नै केही साथीहरूले ‘चलचित्रको परिभाषा एकदम पम्परागत भयो, डकुमेन्ट्रीलाई यसले समेटेन, एक मिनेटको फिल्मको पनि फेस्टिभल हुने चलन आयो’ भन्दै बहस गर्नुभयो । उहाँहरूको माग सम्बोधन गर्नकै लागि यस्तो बृहत् परिभाषा आएको हो । खराब नियत राखेर हैन । अर्थ त्यस्तो लाग्न गएको रहेछ भने मिलाउन सकिन्छ । त्यही भएरै त विधेयकलाई बहसमा ल्यायौं ।

तर, खासै प्राज्ञिक बहस भएको जस्तो त देखिएन ।
भइरहेकै छ । सरोकारवाला संघसंस्थालाई लिखित सुझाव नै मागेका छौं । धेरैले बुझाएका छन् । सामाजिक सञ्जाल र मिडियामा टीकाटिप्पणी गर्नेलाई पनि फोन गरेरै लिखित मागेका छौं। नेपाली फिल्म बन्न थालेको ५० वर्षपछि नीति आयो । त्यो पारित भएको पनि ४ वर्षपछि मात्रै ऐन बन्ने प्रक्रिया सुरु भएको छ । नेपाली फिल्म उद्योगमाथि उठाउन सबैको सुझाव र सहयोग चाहिन्छ।

हलमा राष्ट्रगानको प्रावधान पनि विवादित बन्यो । मनोरञ्जन गर्न जाने थलोमा यो आवश्यक छ र भन्ने प्रश्नहरू पनि उठे।
राज्यले ऐन, कानुन बनाउने क्रममा राष्ट्रगानलाई प्राथमिकतामा राख्नु अनौठो हैन । खेलकुद, विद्यालय र अन्य निजी तवरका औपचारिक कार्यक्रममा राष्ट्रगान सुन्न हुने, हलमा किन नहुने ? त्यहीमाथि फिल्म हल मनोरञ्जनको सार्वजनिक थलो हो । भारतमा पनि हलमा राष्ट्रगान बजाउने प्रचलन छ ।

जहाँसम्म‘पञ्चायतको जस्तो’ भन्ने कुरो आयो, यो त झन बिलकुल गलत बुझाइ हो । अहिलेको राष्ट्रगानको अन्तर्यमाथिको प्रहार हो यो । के आजको राष्ट्रगानमा एउटा व्यक्ति र वंशजको प्रशस्ति छ ? ‘सयौं थुंगा फूलका हामी...’ भनेको समान्तवादको प्रवर्द्धन हो ? मुलुक भर्खर संघीयतामा गएको छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने प्रक्रियामै छ ।यस्तो अवस्थामा बहुलतालाई सम्मान गर्ने राष्ट्रगानको विरोध गर्दा कसको सेवा गरिरहेको अर्थ लाग्छ ?हाम्रोमा अझै पनि लोकतन्त्र र बहुलताको संस्कार निर्माण हुन सकेको छैन । मेरो विचारमा यस्तो संस्कार निर्माण गर्न राष्ट्रगानले पनि सघाउँछ ।

लादिएको राष्ट्रवादजस्तो भयो नि  ?
हलमा राष्ट्रगान बज्दा पुलिस आएर ‘किन उठिनस् भन्दै जबर्जस्ती गर्‍यो’ भने त्यो लादिएको हुन्छ । विधेयकमा कहीँ पनि यस्तो व्यवस्था छैन । कुनै पनि दर्शक हलमा राष्ट्रगान बज्दा उठ्ने या नउठ्ने उसको स्वतन्त्रताको कुरा हो । कम्तीमा राज्यले त
आफ्नो धर्म निर्वाह गर्नुपर्‍यो नि ।

विकास बोर्ड स्वायत्त बनाउनेबारे विधेयकले बोल्छ । तर, सरकारले चाहेको खण्डमा अध्यक्ष हटाउन सक्ने भन्ने प्रावधानले त फिल्म क्षेत्रमा दलगत राजनीतिक स्वार्थको बढावा गर्दैन ? फेरि यसमा त प्रावधान नै बाजियो।

छलफल क्रममै छौं हामी । पक्कै यो सच्चिएर आउँछ।

चलचित्र प्रदर्शनमा स्वदेशीलाई प्राथमिकताको व्यवस्था छ । विधेयकमा नभए पनि विदेशी फिल्मलाई 'कोटा लगाउने’ बहस चलिरहेको छ । कोटा लगाएकै भरमा नेपाली फिल्मको स्तर उठ्छ?
फिल्मलाई सांस्कृतिक उत्पादनको रूपमा नीतिले स्विकारेपछि आफ्नो सांस्कृतिक प्रोटक्डको रक्षा गर्ने गरी ऐन कानुन बनाउन संसारभर जहाँ पनि पाइन्छ । हाम्रो फिल्म उद्योगको मौलिक अनुहार निर्माण गर्न यसले सघाउँछ ।

तर यो मात्रै सबै हैन, नेपाली फिल्मको स्तर उठाउन अन्य प्रावधान पनि विधेयकमा छन् । मौलिक र सांस्कृतिक फिल्मलाई प्रोत्साहनको व्यवस्था छ । नीतिले बोलेको फिल्म एकेडेमीको व्यवस्था यो ड्राफ्टमा छैन, त्यो पनि अब थपिएर आउनेछ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा नेपाली फिल्म र फिल्मकर्मीहरू पठाउन थालिसक्यौं।

सेन्सर बोर्डको प्रावधान पनि विवादित बन्यो । सिर्जनामा कैंची चलाउनु भनेको मौलिक हकविरुद्ध हैन र?
सेन्सर बोर्डले सिर्जनामा कहिले पनि कैंची चलाउँदैन । यसले त आधारभूत आचारसंहिताको अनुगमन गर्छ । हाम्रोजस्तो बहुलता भएको मुलुकमा जातीय संवेदनशीलतालाई सधैं ख्याल गर्नुपर्ने हुन्छ । लैंगिक संवेदनशीलता अर्को चर्को मुद्दा हो । यस्तो सामाजिक र द्वन्द्व संवेदनशीलताको सामान्य आचारसंहिता नाघेर कुनै फिल्म बन्छ भने त्यो कसरी सिर्जना हुन सक्छ ?

प्रकाशित : श्रावण २६, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘अन्धाधुन’ लाई नेसनल फिल्म अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको प्रतिष्ठित नेसनल फिल्म अवार्डमा ‘अन्धाधुन’ लाई हिन्दी भाषाको उत्कृष्ट फिल्म घोषणा गरिएको छ । अवार्डको ६६ औं संस्करणमा विजेताको सूची दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो ।

गत वर्ष प्रदर्शनमा आएका भारतीय फिल्महरूमा गुजराती फिल्म ‘हेल्लारो’ उत्कृष्ट फिचर फिल्म बनेको छ ।

श्रीराम राघवन निर्देशित ‘अन्धाधुन’ बाट आयुष्मान खुरानाले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते । खुरानाले उक्त उपाधि फिल्म ‘उरी ः द सर्जिकल स्ट्राइक’ का अभिनेता विक्की कौशलसँगै साझेदारी गरेका छन् । उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड तेलुगू फिल्म ‘महानटी’ बाट कीर्ति सुरेशले जितिन् । कीर्तिले बलिउड अभिनेत्रीहरूलाई समेत उक्त विधामा उछिनेकी हुन् । ‘महानटी’ ले तेलुगू भाषामा बनेका फिल्ममध्ये सर्वोत्कृष्टको अवार्ड पनि जितेको हो ।

दृष्टिविहीन पियानोवादकको भूमिकामा देखिएका आयुष्मानका लागि यो पहिलो नेसनल अवार्ड हो । त्यसो त उनले अभिनेताको छोटो करिअरमै चार फिल्मफेयर अवार्ड जितिसकेका छन् । थ्रिलर फिल्म ‘अन्धाधुन’ मा आयुष्मानसँगै राधिका आप्टे र तब्बूको मुख्य भूमिका रहेको छ । यसै वर्ष आयुष्मान अभिनीत फिल्म ‘बधाई हो’ ले पनि नेसनल अवार्डमा लोकप्रिय फिल्मका रूपमा घोषणा गरियो भने, यसै फिल्मबाट सहअभिनेत्रीको अवार्ड पनि सुरेखा सिकरीको नाममा रह्यो ।

अवार्ड जितेपछि आफ्नो मिहिनेतको कदर भएकोमा खुसी व्यक्त गर्दै आयुष्मानले भनेका छन्, ‘मेरा जुन दुई फिल्म (बधाई हो र अन्धाधुन) ले अवार्ड जितेका छन्, यी दुवै फिल्म लिकबाट हटेर बनाइएका थिए । म सधैं यस्तै फिल्म गर्न चाहन्छु ।’ पछिल्लो पटक उनी ‘आर्टिकल १५’ मा देखिएका थिए ।

उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘उरी’ बाटै आदित्य धरले जिते । आदित्यले झन्डै १५ वर्ष लगातार असफलता बेहोर्दै आएका थिए । उक्त अवार्डलाई उनले भारतीय सैनिकप्रति समर्पित गर्न चाहेको बताए । त्यसैगरी, सहायक अभिनेतातर्फको नेसनल अवार्ड फिल्म ‘चुम्बक’ बाट स्वानन्द किरकिरेले पाएका छन् ।

फिल्म‘पद्मावत’ बाट सञ्जयलीला भन्सालीले संगीत निर्देशन र अरजित सिंहले गायकका लागि विधागत नेसनल अवार्ड जिते । एक्सनतर्फ ‘केजीएफ’ ले अवार्ड जित्दा साउन्ड डिजाइनको विधामा ‘उरी’ नै उत्कृष्ट ठहरियो । उत्कृष्ट पटकथातर्फ ‘ची अर्जुन ला सो’ र अधिग्रहण गरिएको पटकथामा ‘अन्धाधुन’ नै अवार्डको हकदार बनयो । संवादतर्फ ‘तारिख’ ले नेसनल अवार्डमा कब्जा जमायो ।

गत वर्ष क्षेत्रीय भाषाका फिल्ममा लगानी गरेर निर्मात्री बनेकी प्रियंका चोपडाले नेपाली भाषामा ‘पाहुना’ बनाएकी थिइन् भने मराठीमा ‘पानी’ । ‘पानी’ ले वातावरणीय संरक्षणमा योगदान पुर्‍याएबापत नेसनल अवार्डले पुरस्कृत गरिएको छ । अक्षयकुमार अभिनीत ‘प्याडम्यान’ लाई भने सामाजिक मुद्दामा निर्मित उत्कृष्ट फिल्मको अवार्ड दिइएको छ ।

– एजेन्सी

प्रकाशित : श्रावण २६, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्