कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेटफ्लिक्सको भारतमा नजर

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सन् २०१६ देखि विश्वभरका एक सय ९० मुलुकमा आफ्नो सेवा विस्तार गरेपछि यसले आफ्नो दबदबा हृवात्तै बढायो । उक्त वर्ष नै नेटफ्लिक्सले एक सय २६ सिरिज र फिल्महरू उत्पादन गरेको थियो । गतवर्ष मात्रै नेटफ्लिक्सले झन्डै २२ अर्ब डलर सिरिज र फिल्म उत्पादनका लागि खर्च गरेको थियो । तैपनि नेटफ्लिक्सले लगानीअनुरूप सोचेजस्तो बजार विस्तार गर्न भने सकेको छैन । 

नेटफ्लिक्सको भारतमा नजर

पछिल्लो समय यसले आफ्नै मुलुक अमेरिकामा बजार गुमाइरहेको छ । क्लालिफोर्नियामा मुख्यालय रहेको नेटफ्लिक्सले हालै मात्र छोटो अवधिमै एक लाख २६ हजार अमेरिकी सब्सक्राइबर गुमाएको छ ।


बजार प्रतिकूल हुन थालेपछि यतिबेला नेटफ्लिक्सको नजर विश्वकै दोस्रो ठूलो आवादी रहेको मुलुक भारतमाथि परेको छ । उसले भारतमा सस्तो खालको ‘मोबाइल–ओन्ली’ योजना अघि सारेको छ । उक्त योजनापछि भारतीयले प्रतिमहिना दुई सय भारु तिरेपछि मोबाइलमा नेटफ्लिक्सका सिरिज र फिल्महरू हेर्न पाउने छन् ।


भारतीय दर्शकलाई आफूतर्फ तान्न नेटफ्लिक्सले स्थानीय सिरिज उत्पादनमा समेत जोड दिएको छ । ‘सेक्रेड गेम्स’, ‘चपस्टिक’, ‘लस्ट स्टोरिज’, ‘घोल’ जस्ता सिरिज यतिबेला भारतीय दर्शकमाझ चर्चित बनिरहेका छन् । तैपनि १३३ करोड आवादी रहेको देशमा नेटफ्लिक्सले ४० देखि ६० लाखको हाराहारीमा मात्रै सब्सक्राइबर्स बटुल्न सकेको छ । जुन तुलनात्मक रूपमा निकै थोरै हो ।


बरु भारतकै भिडियो स्ट्रिमिङ कम्पनी हटस्टारले ३० करोड सक्रिय सदस्य बनाइसकेको छ । नेटफ्लिक्सको अपेक्षित ग्राहक बढ्न नसक्नुमा यसले लिने चर्को दस्तुरलाई कारक मानिएको छ । भारतीय कन्सल्टिङ फर्म पिडब्लुसीका राजीव वसु भन्छन्, ‘भारत भनेको मूल्यका मामिलामा निकै संवेदनशील बजार हो । नेटफ्लिक्सले केवल सीमित वर्गलाई मात्रै लक्षित गर्‍यो । जो सम्पन्न र शिक्षित वर्गका छन्, जसले विश्वव्यापी विषयवस्तुमा जानकारी राख्छन्, तिनका लागि मात्रै ध्यान दियो ।


जब कि भारतकै विषयवस्तु पनि अंग्रेजी भाषामा आउँछ ।’ वसुले भारतमा बिक्ने नै सस्तो चिज भएको जिकिर गर्दै त्यहाँको सस्तो केबल र इन्टरनेटका कारण नेटफ्लिक्सले आफ्नो महँगो विषयवस्तु बिकाउन नसकेको दाबी गर्छन् ।

यतिबेला भने नेटफ्लिक्सले भारतलाई आफ्नो टार्गेट मार्केटका रूपमा विकास गर्न खोजिरहेको छ । विश्वभर पाँच देशमा मात्रै आफ्नो कार्यालय खोलेको नेटफ्लिक्सले त्यसमा एक भारतलाई पनि पारेको छ ।


सन् २०१७ हलिउड अभिनेता ब्राड पिट एकाएक मुम्बईमा देखापरे । त्यसपछि क्रिस्चिन बेल र विल स्मिथ पनि भारत पुगे । जहाँ उनीहरूले आफ्नो समय स्थानीय दर्शकसमक्ष फिल्मको प्रचारमा खर्चिएका थिए । तर ती सेलिब्रेटी कुनै हलिउड ब्यानरका फिल्मका लागि भने प्रचारमा आएका थिएनन् । बरु आफ्नै नेटफ्लिक्स फिल्मका लागि आएका थिए । यसले पनि थाहा हुन्छ, नेटफ्लिक्स भारतीय बजारका लागि कति संवेदनशील भइरहेको छ भनेर ।


भारतमा स्मार्टफोन प्रयोगकर्ताको संख्या उच्च छ । फाइभ जीको आगमनपछि मोबाइलमै फिल्म वा सिरिजजस्ता भिडियो हेर्नेको संख्यामा पनि बढोत्तरी हुने अनुमानसहित नेटफ्लिक्सले ‘मोबाइल ओन्ली’ को अवधारणा ल्याएको हो ।


केही जानकारहरू अब नेटफ्लिक्सले स्थानीय विषयवस्तुमा आधारित सामग्री दिनुका साथै क्षेत्रीय भाषाहरूमा पनि हुनुपर्ने औंल्याएका छन् भने ग्रामीण भेगका जनतालाई पनि आकर्षित गर्नुपर्ने ठान्छन् ।


त्यसो त नेटफ्लिक्सले यतिबेला भारतीय १३ नयाँ फिल्म र नौ सिरिज उत्पादन गरिरहेको छ । भारतमा नेटफ्लिक्सलाई अमेरिकाको दाँजोमा उत्पादन लागत ज्यादै कम पर्ने भएकोले भारत लक्षित उसको कदम मुनाफामूलक हुने देखिन्छ । अमेरिकामा डिज्नी र एचबीओजस्ता निर्माण कम्पनीसँग कडा प्रतिस्पर्धा गर्न परिरहेको नेटफ्लिक्सले वैकल्पिक बजारको रूपमा भारतलाई रोजेको हो ।

– एजेन्सी


प्रकाशित : श्रावण १९, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?