कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदनकृष्णलाई ‘सलाम’

काठमाडौँ — हास्य अभिनयमा जस्तो छवि छ उनको, गायनमा पनि उस्तै । ‘खोलावारि खोलापारि पिपलु र बर...’ देखि ‘हे भगवान् मेरो खल्तीको घाउ...’ सम्मका दर्जनौं गीत चर्चित छन् ।

मदनकृष्णलाई ‘सलाम’

नेवारी गीत/संगीतमा समेत उल्लेख्य योगदान दिएका कलाकार मदनकृष्ण श्रेष्ठलाई शनिबार रेडियो कान्तिपुरले ‘सलाम ज्युँदो इतिहासलाई’ कार्यक्रममा प्रस्तुत गर्‍यो । अग्रज स्रष्टाको सम्मानमा चौध महिनादेखि हुँदै आएको कार्यक्रममा यसपटक मदनकृष्ण प्रस्तुत भएका हुन् ।


कार्यक्रममा अग्रजका सिर्जनालाई अग्रजकै अनुभव सुन्दै नयाँ पुस्ताका प्रतिभाले प्रत्यक्ष प्रस्तुत गर्दै आएका छन् । शनिबार मदनकृष्णका गायन सिर्जना प्रस्तुत गर्न शिव परियार, धर्मेन्द्र सेवाङ, किरण केसी, रोजी श्रेष्ठ, सरिता शाही, कपिल कसपालसँगै मदनकृष्णकै छोरा यमन र छोरी सराना श्रेष्ठ पनि पुल्चोकस्थित रेडियो कान्तिपुरको लाइभ स्टुडियोमा पुगेका थिए । उनीहरूले मदनकृष्णले विभिन्न कालखण्डमा गाएका १० गीत प्रस्तुत गरे ।


सांगीतिक प्रस्तुतिकै माझ मदनकृष्णले आफ्नो करिअरको सुरुवात, संगीत, अभिनय र कलाक्षेत्रको अनुभवसँगै आफ्नै जीवनको सुखदुःख साटेका थिए । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डीसी, अभिनेता दीपकराज गिरी, रेडियोकर्मी रश्मिला प्रजापतिले विभिन्न चरणमा गरी चार घण्टा मदनकृष्णलाई स्टुडियोमा प्रस्तुत गरेका थिए ।


‘अग्रजहरूको योगदान र उनीहरूको मूल्यलाई नयाँ पुस्ताले भुल्नु हुन्न भन्ने मान्यतासहित यो अभियान सुरु गरेका हौं,’ कार्यक्रमका परिकल्पनाकारसमेत रहेका डीसीले भने, ‘अग्रजप्रतिको नयाँ पुस्ताको यो सम्मान हो ।’

प्रकाशित : श्रावण ६, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?