कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हनी सिंहको गीतमा आपत्ति

एजेन्सी

भारतीय र्‍याप संगीतमा ‘यो यो हनी सिंह’ ले परिचित हनी सिंहको पछिल्लो गीत ‘मखना’ ले यतिबेला उनलाई तनावमा पारेको छ । गीतमा प्रयुक्त केही शब्द आपत्तिजनक रहेको भन्दै पन्जाब राज्य महिला आयोगले उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

हनी सिंहको गीतमा आपत्ति

आयोगकी अध्यक्ष मनीषा गुलाटीले भनेकी छन्, ‘अरू देशका जनता ‘हरे राम हरे कृष्ण’ भन्दै भजन गाउँछन्, जब कि हनी सिंह गीतमै बलात्कारीजस्ता शब्द प्रयोग गर्छन् र कहिले महिलाहरूको अस्मितामाथि नै प्रश्नचिहृन खडा गर्ने शब्द गाउँछन् । यदि उनले यस्ता शब्द रचना प्रयोग गर्न रोक्दैनन् भने बरु उनी यस्ता कुराहरू स्वीकार्य हुने जुनकुनै विदेशी भूमिमा जाऊन् ।’ महिला आयोगले जाहेरी दिँदै गीतमा अश्लीलता पस्केको आरोप लगाउँदै हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको छ ।


‘त्यो गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र भिडियो पनि आपत्तिजनक छ,’ आयोगकी अध्यक्ष गुलाटीले भनेकी छन्, ‘त्यसैले पनि हामीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै पुलिसलाई गायक र उक्त गीत बजारमा ल्याउने कम्पनीविरुद्ध कारबाहीका लागि जाहेरी दर्ता गराएका हौं । हामी यस्तो गीतमा रोक लगाइयोस् भन्ने चाहन्छौं र सेन्सर बोर्डले पनि यस्ता सामग्रीमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भन्ने ठान्छौं । र, महिलालाई होच्याउने र आपत्तिजनक, अश्लील शब्दको प्रयोग भविष्यमा हुन नदिन आवश्यक कदम पनि चालियोस् भन्ने महिला आयोग चाहन्छ ।’ हनी सिंहले उक्त गीत ‘टी सिरिज’ मार्फत बजारमा ल्याएका हुन् ।


त्यसो त ‘मखना’ मार्फत सांगीतिक क्षेत्रमा ‘कमब्याक’ जनाएका हनी सिंहलाई उनका फ्यानले भने गीतलाई रुचाइदिएका छन् । गीत गतवर्षको डिसेम्बरमा रिलिज गरिएको थियो । पछिल्लो समय लागू पदार्थको कुलतमा फसेका उनले पहिलोपटक गीत असफलताको पीडा पनि सामना गर्नुपरेको थियो । यसले उनी डिप्रेसनमा जानुका साथै पुनः सांगीतिक क्षेत्रमा फर्कन संघर्ष गरिरहेका बेला ‘मखना’ को सफलताले राहत दिएको थियो । तर, त्यो राहत पनि महिला आयोगको प्रहरीमा जाहेरी पछि धेरै समय कायम रहेन ।

प्रकाशित : असार २५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?