कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकर्मी कर्नाडको निधन

काठमाडौँ — जीवित भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा सोमबार दक्षिण भारतको बैंगलोरस्थित एक अस्पतालमा निधन भएको छ । नाटककार तथा अभिनेता कर्नाड लामो समयदेखि बिरामी थिए । 

कलाकर्मी कर्नाडको निधन

सन् १९७० मा हिन्दी फिल्म खेल्न थालेका उनले सयवटामा अभिनय पनि गरेका छन् । समकालीन भारतीय राजनीतिक तथा सांस्कृतिक नीति तथा परिस्थितिबारेका खुला आलोचक समेत रहेका कर्नाड प्रखर सार्वजनिक बौद्धिक मानिन्थे ।


अल्पसंख्यकहरूविरुद्ध लक्ष्यित दक्षिणपन्थी राजनीतिक अतिवादको उनले विरोध गर्दै आएका थिए । भारतको सवभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठ लगायत मान सम्मान पाएका उनले भारतीय समाज र समय प्रतिबिम्बित गर्ने नाट्य सिर्जना गरेका छन् र थुप्रै भूमिकामा मौलिक छाप पार्ने अभिनय गरेका छन् ।


उनको निधनपछि भारतीय लेखक, कलाकार, संस्कृतिकर्मीसहित राजनीतिक नेताहरूले भावपूर्ण प्रतिक्रिया व्यक्त गरेका छन् ।

हालको कर्नाटक राज्यमा जन्मेका उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणितको उच्च शिक्षा छात्रवृत्ति जितेका थिए ।


अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत भएका उनी भारत फर्केर कलाकर्ममा लागेका थिए । भारत स्वतन्त्र भएपछिको उदारवादी राजनीतिक/सांस्कृतिक परिवेशमा भारतीय समाजको विविधितापूर्ण इतिहासको गाथा बुन्न थाले । उनले धार्मिक सहिष्णुता र सामुदायिक विविधताको सधैँ वकालत गरे ।


दक्षिणपन्थी राजनीतिक अतिवाद हुर्किँदै जाने क्रममा पत्रकार गौरी लंकेशको हत्यापछि बैंगलोरको बीच सडकमा उनले बौद्धिक जमातको विरोध प्रदर्शनको अगुवाइ गरेका थिए । अक्सिजनको पाइप नाकमा घुसार्दै बिरामी कर्नाडले अरूलाई हौस्याएको धेरै भारतीय लेखक/पत्रकारले सम्झने गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?