कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्ट मेकिङमा युवा

सुशीला तामा‌ङ

काठमाडौँ — नेपाली कलाजगतमा प्रिन्ट मेकिङ विधा आएको धेरै भएको छैन । पचासको सुरुवाती दशकतिर भित्रिएको यो विधि अहिले फस्टाउँदै छ । विश्वविद्यालयमा कोर्समै राखिएको मात्रै छैन, यो विधाका चित्रकला प्रदर्शनी हुने क्रम पनि बढदो छ ।

प्रिन्ट मेकिङमा युवा

रागिनी उपाध्याय, उमाशंकर शाह, सीमा शर्मा शाह, सौरगंगा दर्शनधारी, सम्झना राजभण्डारीलगायत चित्रकारहरू यो विधामा निरन्तर क्रियाशील छन् ।


सिर्जनशीलता र बजार दुवै हिसाबले यसको आयाम फराकिलो बन्दै गइरहेको उमाशंकर शाह बताउँछन् । प्रविधिसँग सम्बन्धित भएकाले नयाँ पुस्ता यतातिर आकर्षित भइरहेको शाहको दाबी छ । यद्यपि यो पुरानो विधा हो । तत्कालीन नेपाल ललितकला संस्था (नाफा) मा सन् १९८६ देखि नै प्रिन्ट मेसिन थियो । त्यही मेसिन प्रयोग गरेर उमा र सीमा शाह दम्पतीले सन् १९९५ मा पिन्ट मेकिङ चित्रकला प्रदर्शनी गरेका थिए ।


त्यही प्रदर्शनीबाट जम्मा भएको रकमले उनीहरूले प्रिन्ट मेकिङको नयाँ मेसिन किनेका थिए । ‘पेन्टिङको काम एकचोटि बनाएपछि सकिन्छ तर प्रिन्ट मेकिङमा एउटै प्लेटबाट नै ५ देखि १० सम्म चित्र तयार गर्न सकिन्छ,’ शाह भन्छन्, ‘यसले कलाकारलाई आफ्नो चित्र प्रदर्शन गरिरहन पनि सघाउँछ ।’


प्रिन्ट मेकिङ चित्रमा प्रविधिको प्रयोगसँगै एउटै प्लेटबाट नयाँ नयाँ शैलीका चित्रकला तयार गर्न सकिने हुँदा यो विधा अगाडि बढिरहेको अर्का कलाकार मनीषलाल श्रेष्ठ बताउँछन् । प्रविधियुक्त भएकोले एकातिर यसले परीक्षणका आधारमा नौलो कुराहरू विकास गर्न सक्ने सञ्भावना र अर्कोतिर कलाकार मात्र नभएर किन्नेलाई पनि अरू पेन्टिङभन्दा सस्तो पर्ने हुँदा यो लोकप्रिय बन्दै गएको मानिन्छ । प्रिन्ट मेकिङको पछिल्लो काम भने पाटनढोकास्थित एमक्यूव ग्यालरीमा हेर्न सकिन्छ ।


चित्रकार सौरगंगा दर्शनधारी र सम्झना राजभण्डारीले आफ्ना चित्रहरू प्रदर्शनीमा राखेका छन् । दर्शनधारीले सामाजिक जीवनशैली र अहिलेको समयले पारेको प्रभावलाई चित्रहरूमा प्रस्तुत गरेकी छन् । मानिस फुर्सदमा के गर्छन् ? धेरैजसोले गफ गर्छन् । यो एक प्रकारले नेपालीको संस्कृति जस्तै बनेको छ । बिनाविषय र उद्देश्यहीन गफ पानीपँधेरो, चौतारीदेखि चिया पसलसम्म भइरहेकै हुन्छन् । अचेल त्यस्ता गफ सामाजिक सञ्जालतिर हुन थालेका छन् ।


मानिसका फुर्सदका यस्तै गफ समेटेर दर्शनधारीले प्रिन्ट मेकिङका चित्र तयार गरेकी छन् । ‘फ्री टाइम’ शीर्षक दिइएको उनको चित्रमा चियालाई नै मानिसको फुर्सदको समय सदुपयोगको प्रमुख रूपमा चित्रण गरिएको छ । ‘मानिसले एकै कप चियामा पनि कति विषयका कुरा गरेर समय बितारहेका हुन्छन् । देश, विदेश, वर्तमान परिस्थिति, प्रकृति, समाज, जीवजन्तु, राजनीति सबै कुरा चिया गफमा नै आउँछन्,’ उनले भन्छिन्, ‘अलिकति फुर्सद भयो कि छेउ कुना लागेर सामाजिक सञ्जालमा व्यस्त हुने संस्कृति पनि बन्दै छ । यी सबै आखिर गफ संस्कृति हो ।’


उनको चित्र एक प्रकारले नेपालीहरूको आनीबानीमाथिको व्यंग्य हो । उत्पादक र परिणामुखीभन्दा अहिले अनुत्पादक रूपमा समय बिताउनेहरूको संख्या ठूलो बन्दै गइरहेको छ । राजभण्डारीले भने ‘एक्जिस्टेन्स’ शीर्षकमा मानिसको जीवन र प्रकृति जोडेर कलामार्फत अस्तित्वको खोजी गरेकी छन् । उनले जीवनलाई विभिन्न मौसम र ऋतुहरूको चक्रहरूसँगै तुलना गरेकी छन् ।


मौसमअनुसार रूखमा परिवर्तन भएजस्तै जीवनमा आउने परिवर्तनलाई उनले प्रतीकात्मक रूपमा प्रस्तुत गरेकी हुन् । उनले नेवार समुदायको सांस्कृतिक प्रभाव पनि ग्रहण गरेकी छन् । मण्डलाको चित्रमार्फत नेवारी समुदायमा गरिने आफैंभित्रको भगवानलाई पूजा गरिने परम्परा (म्हःपूजा) देखाएकी छन् । १२ चित्रहरू राखिएको प्रदर्शनी जेठभरि रहने ग्यालरीका सञ्चालक मनीषलाल श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?