कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मायालुले सम्झे कि कसो...

सुशीला तामा‌ङ

काठमाडौँ — उनको सौम्य अनुहारमा गहिरो आध्यात्मिकता पोखिएको थियो । शनिबार राजधानीको कालिकास्थानस्थित नेपालयको आरशालामा भजन प्रस्तुत भइरहेको बेला गायिका एवं संगीतकार शान्ति ठटालको अनुहार झन उज्यालियो । कार्यक्रम थानली गर्दै संगीतकार आभासले भने, ‘शान्ति दिदीमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ ।’ 

मायालुले सम्झे कि कसो...

यिनै आध्यात्मिक चिन्तनकी शान्ति ठटाल उमेरले आठ दशकमा हिँडिरहेकी छन् । संगीतप्रतिको मोह भने उस्तै छ । यही मोहमै तानिएर उनी दार्जिलिङबाट काठमाडौं आइपुगिन् केही दिनअघि ।


नेपालयको पलेंटी शृंखलाअन्तर्गत शनिबारबाट सुरु तीनदिने ‘सेलिब्रेटिङ शान्ति ठटाल्स म्युजिकल जर्नी’ मा प्रस्तुत भइरहँदा उनको साधक अनुहारमा केही फेरबदल थिएन । पलेंटी शृंखलामा चौथोपटक प्रस्तुत भएकी उनलाई यसपटक गायनमा विमल सेञ्चुरी प्रधान र अञ्जल प्रधानले साथ दिए । श्याम प्रधानको शब्द रहेको भजन प्रस्तुतिसँगै सुरु यस पटकको शृंखलामा ठटालद्वारा संगीतबद्ध नयाँ सिर्जनाहरू प्रस्तुत गरिए ।


पलेंटी संयोजक तथा संगीतकार आभासले आफ्नो सांगीतिक याक्रामा ठटालसँगको संगतको स्मरण गर्दै कार्यत्रम अगाडि बढाइरहँदा दर्शकदीर्घामा संगीतकार तथा गायिका ठटालप्रतिको उत्सुकता बढेको थियो । आभासले ठटाललाई ‘संगीत मल्लिका’ ले सम्बोधन गर्दा ठटालको मुहारमा चमक छाएको थियो ।


यसपछि गायिका विमलाले ठटालको संगीत र रत्नशमशेर थापा शब्द रहेको ‘तिर्सना छल्किन्छ...’ र ‘मलाई चोट फेरि....’ प्रस्तुत गरिन् । थापाद्वारा नै रचित ‘आँखा आँखामा बैँसको मात...’ भने अञ्जलीले सुनाइन् । आफ्ना संगीत गुरु शान्ति ठटालसँगै पलेंटीका लागि काठमाडौं भित्रिएकी विमला र अञ्जलीले गाउने क्रममा उनीसँगको सहयात्राको क्षणहरूसमेत सम्झे । ‘यो निकै अवसर हो,’ सेञ्चुरीले भनिन् ।


ठटाल नेपाली फिल्ममा संगीत भर्ने पहिलो नेपाली नारी संगीतकारसमेत हुन् । यस पटक फिल्मका गीत प्रस्तुत गर्ने क्रममा संगीत भरेर त्यसै थन्किएका दुई रचना संगीत पारखीले सुन्न पाए । गायिका अञ्जली प्रधानले गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’ मा आधारित फिल्मका निम्ति लेखेका गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे वनभरि...’ प्रस्तुत गरिन् ।


जागिरे भएर ठटाल सिक्किमतिर लागेपछि फिल्ममा दिव्य खालिङले संगीत भरेको र आफ्ना सिर्जना त्यसै थन्किएको ठटालले सुनाइन् । गायिका सेञ्चुरीले चाहिँ फिल्म ‘बाँच्न चाहनेहरू’ का दुइटा लोकप्रिय गीतहरू ‘नयाँनयाँ घामको किरण...’ र ‘मीठो मीठो तिम्रो साथ मीठो...’ सुनाइन् ।


उमेरका कारण यस पटकको पलेंटीमा भने उनी संगीतकारको रूपमा मात्र प्रस्तुत हुने सोचाइमा थिइन् । दर्शकदीर्घाबाट फर्माइस आएपछि उनले गाउनै पर्‍यो । जब उनले ‘नझार आँखाबाट कसैका प्रितहरू...’ गाइन्, तालीले आरशाला गुन्जायनमान मात्रै भएन, अम्बर गुरुङको शब्द र संगीत रहेको उनका चर्चित गीत ‘सम्हालेर राख...’ को अनुरोध तीव्र भयो । यसपछि उनले ‘सम्हालेर राख...’ गीतबारे अनुभव नै सुनाइन् । ‘यो गीत चारैतिर चर्चा भयो । जहाँ गए पनि यो गीतले मलाई छोडेन । यसलाई दोस्रो बनाउन मैले ‘आँधीहुरी...’ भन्ने गीत गाएँ, त्यो पनि हिट भयो,’ उनले भनिन्, ‘झन् पछि त दुइटा गीतले पो पछ्याए ।’ चर्चित गीतले कहिलेकाहीँ सर्जकलाई दिक्क बनाउने अनुभव सुनाउँदै उनले ‘सम्हालेर राख...’ पनि उही मधुरताका साथ गाइन् ।


आइतबारसम्म जारी रहने यस पटकको शृंखलाको अर्को विशेषताको हो, ठटालको सबैभन्दा कान्छो सिर्जना । आभासको गजल ‘जीवन चुपचाप गुजारे त के भो, तिमीले जित्यौ म हारें त के भो...?’ मा ठटालले केही दिनअघि मात्रै संगीत भरेकी हुन् । गायिका विमलाले यो गीत सुनाइन् ।


प्रस्तुतिको बिसौनीमा शशी ठटालले लेखेको लोकप्रिय गीत ‘मायालुले सम्झे कि कसो...’ प्रस्तुत गर्दा आरशालामा फेरि ताली गन्जायमान भयो । प्रस्तुतिका लागि किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए भने आगामी पलेंटी शृंखला शान्ति ठटालले नै धुन भरेको महाकवि देवकोटाको कृति ‘मुनामदन’ प्रस्तुत हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?