कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुकुल भोजमा नेवाः सुन्दरी

सुशीला तामा‌ङ

काठमाडौँ — परालले बुनेको सुकुल, सालको पातको टपरी । बुधबार दिउँसो च्यासलस्थित ज्यापू प्रज्ञा भवनको भुइँतलामा लस्करै बसेका थिए नेवा सुन्दरीहरू ।

सुकुल भोजमा नेवाः सुन्दरी

बढ्दो क्याफे संस्कृति र पार्टी प्यालेसका कारण पुरानो खाद्य परम्परा हराउँदै गइरहेको बेला यी युवतीहरूले नेवार परिकार आफै बनाएर भोज लगाएका हुन् । नयाँ पुस्तामा परम्परागत ज्ञान हस्तान्तरणको ध्येयसहित मिस नेवाः ११३९ का सहभागीहरू ‘लप्टे भोय’ (टपरी भोज) मा जुटेका हुन् ।


नेवार संस्कृतिकर्मी हेमा मानन्धरका अनुसार सुकुलमा बसेर लस्करै भोज खाने परम्परालाई ‘लप्टे भोय’ या ‘सुकु भोय’ भनिन्छ । आधुनिक जीवनशैली र तीव्र सहरीकरणका कारण यो चलन विस्तारै हराउँदै गइरहेको छ ।


बिहे, व्रतबन्ध या मृत्यु संस्कार परम्पराको बेला गुठियारमाझ भव्य भोजको परम्परा रहे पनि नयाँ पुस्ता पुरानो खाना संस्कृतिबाट बिस्तारै टाढिँदै छ । डेढ दशकदेखि आफ्नो समुदायको यस्तै मौलिक संस्कृति, रीतिरिवाज, भाषा र भेषभूषाप्रति सचेतना जगाउन उनैको पहलमा सुरु भएको मिस नेवाः अहिले चौधौं संस्करणमा चलिरहेको छ ।


अघिल्लो साता लाख बत्ती बाल्ने नेवारी परम्परा पछ्याउँदै मिस नेवाःका सहभागीहरू ललितपुरस्थित महालक्ष्मीस्थान पुगेका थिए । त्यहाँ उनीहरूले हिन्दु र बौद्ध दुवै परम्पराअनुसार लाखबत्ती बाले, पुरेत राखेर होम गरे ।


बिहीबार ज्यापू गुठी भेला भएका उनीहरूले नेवारी खाद्य परम्पराको ज्ञान मात्रै लिएनन्, उनीहरू आफैंले पकाए, खुवाए अनि खाए । भोज बनाउने कार्यमा सबै प्रतिस्पर्धीलाई निर्धारित समयमा नै खाना तयार गर्न समयसीमा तोकिएको थियो ।


अजुमी शाही बारा बनाउन व्यस्त थिइन् भने यता नितु डंगोल र सुजिना श्रेष्ठ छोइला बनाउनतिर लागेका थिए । अर्कोतिर रोजी गुभाजू ड्याकुला (पकाएको मासु) चलाउँदै थिइन् । अरूले बनाएको खानु र आफैँ पकाउनुमा धेरै फरक रहेको बताउँदै थिइन् मिस नेवाःमा सहभागी युनिशा शाही । ‘अरूले बनाएको खाँदा स्वाद मात्रै थाहा पाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले विधि नै सिकियो ।’


नेवारी भोजमा कुन खाना पहिले र कुन पछि राख्ने भन्ने ज्ञान सबैभन्दा पहिले सिक्नुपर्ने उनले अर्का सहभागी रेफिना श्रेष्ठले सुनाइन् । भोजभन्दा अघि थोरै भगवानको नाममा छुट्याएर राख्न सिकाउँदै थिइन्, रत्नराज्य लक्ष्मी क्याम्पसका सहप्राध्यापक विमला शाक्य ।


उनका अनुसार खानु अघि टपरीको छेवैमा भगवानको नाममा थोरै खानेकुरा छुट्याएर राख्ने प्रचलन नेवार समुदाय अझै छ । ‘यसमा वैज्ञानिक कारण पनि छ,’ उनले भनिन्, ‘थोरै खाना भुइँमा राखिदिए बाहिरका कीरा त्यहीँ भुल्छन् । र, खानाकै कारण स्वास्थ्यमा संक्रमण आउने जोखिम कम हुन्छ ।’


खाना तयार भएपछि सबै प्रतिस्पर्धीले आमने सामने दुई पंक्ति बनाएर सुकुल बिछ्याए । लस्करै लप्टे (टपरी) राखे । भोजमा सामेलहरू बस्न थाले । सबैभन्दा पहिलो चिउरा, त्यसपछि क्रमशः भटमास, बारा, गेडागुडी, मासुका परिकार ।


खाइसकेपछि अन्त्यतिर आइपुग्यो दही । ‘अन्तिममा दही खानै पर्छ,’ सहप्राध्यापक शाक्यले भनिन्, ‘यसले पाचनप्रक्रियालाई सहज बनाउँछ ।’ अहिले जताततै फास्टफुड कल्चर हुर्केको बताउँदै स्वास्थ्य र पाचन प्रक्रियाको हिसाबले पनि वैज्ञानिक रहेको नेपाली खाद्य परम्परा संकटमा पर्दै गएको पनि चिन्ता थियो ।


मिस नेवाः आयोजक नेप्लिज फेसन होमकी अध्यक्षसमेत रहेकी हेमाले उनको चिन्तामा सही थपिन् । ‘त्यही भएर हामीले मिस नेवाःलाई सौन्दर्यप्रधानभन्दा पनि संस्कृतिप्रधान बनाएका छौं,’ उनले भनिन् ।


यही जेठ ३१ गते अन्तिम प्रतिस्पर्धा हुने मिस नेवाःको चौधौं संस्करणमा काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काठमाडौं जिल्लाका १७ प्रतिस्पर्धी छन् । भोजमा सहभागी काभ्रे बनेपाका अशोक श्रेष्ठले मौलिक खानेकुरालाई बजारमा आधुनिक ढंगले प्रवर्द्धन गर्न यस्ता अभियानले सघाउने बताए ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?