कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा जम्दै भारतीय फिल्म

एजेन्सी

काठमाडौँ — बलिउडमा समेत व्यावसायिक सफलता पाएको ‘अन्धाधुन’ ले यति बेला चिनियाँ दर्शकको मन जितेको छ । श्रीराम राघवनको निर्देशनमा आयुष्मान खुराना, तब्बु स्टारर फिल्म ‘अन्धाधुन’ ले भारतीय बक्सअफिसबाट मात्रै ९१ करोड भारु कलेक्सन गरेको थियो । उक्त रकम फिल्मको बजेटभन्दा ६० करोड बढी हो । 

चीनमा जम्दै भारतीय फिल्म

फिल्मले व्यावसायिक सफलता मात्रै नभई समीक्षकबाट समेत निकै तारिफ बटुलेको थियो । चीनबाहेक अन्य देशबाट फिल्मले झन्डै १० करोड भारु कलेक्सन गर्दै एक सय करोड क्लब प्रवेश गरेको थियो । केही सातापछि नै आयुष्मान अभिनीत ‘बधाई हो’ ले पनि व्यावसायिक, समीक्षात्मक दुवै हिसाबमा सफलता पाएको थियो ।


दुई साताअघि चीनमा रिलिज गरिएको ‘अन्धाधुन’ ले हालसम्म २ सय २० करोड भारु कमाइ गरिसकेको छ । यसअघि आमिर खानका केही छानिएका फिल्मले मात्रै चिनियाँ दर्शकलाई रिझाउन सकेका थिए । आयुष्मान खुरानाको फिल्मले चीनमा पाएको सफलतालाई यति बेला भारतीय मिडियाले समेत ‘अप्रत्याशित’ भनी टिप्पणी गरेका छन् ।


भारतीय फिल्मका ट्रेड एनालिस्ट तरण आदर्शले ‘लगातार अचम्भित पारिरहेको’ भनी टीट गरेका छन् । उक्त फिल्मले भारतभरबाट गरेको कमाइ चीनबाट मात्र ६ दिनमा उठाएको थियो । फिल्ममा आयुष्मानले दृष्टिविहीन युवकको भूमिका निर्वाह गरेका छन् भने तब्बुले खलपात्रको भूमिका निर्वाह गरेकी छन् । खासगरी फिल्मको चुस्त पटकथालाई लिएर समीक्षकले प्रशंसा गरेका थिए ।


फिल्मका लागि चीन हलिउडपछिको ठूलो बजार हो । चिनियाँ बक्सअफिसमा सर्वकालीन सर्वाधिक कमाइ गर्ने दश फिल्ममध्ये दुई हलिउड ‘द फेट अफ द फ्युरिअस’ र ‘फ्युरिअस सेभेन’ पनि परेका छन् । आमिर खान स्टारर ‘दंगल’ चिनियाँ बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको ३६ औं स्थानमा छ ।


त्यसभन्दा अघि हलिउड फिल्म ‘अवतार’ छ । चीनमा आमिरकै ‘सेक्रेट सुपरस्टार’ देखि ‘हिन्दी मिडियम’, ‘बाहुबली २’, ‘बजरंगी भाइजान’, ‘टाइलेट एक प्रेमकथा’ ले पनि उल्लेख्य दर्शक साथ पाएका थिए । सुपरस्टारको यस पंक्तिमा यति बेला आयुष्मान पनि थपिएका हुन् । लगालग दुई सफल फिल्म दिएका आयुष्मान भन्छन्, ‘मेरा लागि यो वर्षौंदेखिको सपना हो । कलाकार हुनुका नाताले म सधैं फिल्मको विषयवस्तुलाई सर्वोच्च मान्छु । र, म सधैं पृथक खालका फिल्म नै छान्न रुचाउँछु किनभने ती फिल्मले निकै मनोरञ्जन दिनुका साथै गतिला फिल्म पनि हुन् ।’


कतिपयले भने त्यस्ता फिल्मले गतिलो व्यापार नगर्ने हुँदा खेले पनि कहिल्यै स्टार बन्न नसक्ने भनी तर्साइरहन्थे । ‘तर आज कलाकार भएरै खेलेका मेरा फिल्मले पनि विश्वव्यापी रूपमा गतिलो गरिरहेका छन्,’ आयुष्मानले भनेका छन् । त्यसो त यसअघि पनि आयुष्मानको डेब्यु फिल्म ‘विक्की डोनर’ देखि ‘बरेली की बर्फी’, ‘शुभ मंगल सावधान’ सबैले दर्शकमा गतिलो छाप छाड्न सफल भएका थिए । ‘मेरा लागि, यो यात्राको सुरुवात मात्रै हो ।


म यस्ता पृथक विषयवस्तु भएका फिल्म खेलेरै दर्शकको मन जित्दै च्याम्पियन बन्न चाहन्छु,’ अभिनेता खुरानाले बक्सअफिसबाट पाएको सफलताले आफूलाई थप जिम्मेवार बनाएको बताए । उनका यस वर्ष दुई फिल्म ‘ड्रिमगर्ल’ र ‘आर्टिकल १५’ रिलिज हुनेछन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?