कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थरीथरी संस्कृति एउटै चाल

हरि गौतम

रुकुम पश्चिम — एकै खालका कार्यक्रम भइरहने मुसीकोटस्थित बराहटाकुरा टुँडिखेल आइतबार भने फरक देखियो । स्थानीयवासी आ–आफ्ना मौलिक पोसाकमा थिए नै, प्रस्तुति पनि मौलिक थियो ।

थरीथरी संस्कृति एउटै चाल

जिल्लापिच्छेका आआफ्नो मौलिक संस्कृति र परम्परा झल्कने झाँकीसहित बराहटाकुरा भरिएको थियो । एक ठाउँकाले अर्को ठाउँको संस्कृतिबारे बुझ्ने र बुझाउने मौका पाए ।


प्रस्तुति दिन आएका त मौलिकतामा थिए नै, निम्त्याइएका अतिथि पनि भिन्न शैलीमा देखिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, नेता मणि थापा, जनवादी गायक जीवन शर्मालाई पनि जिल्लावासीले स्थानीय वेशभूषा स्टकोट, कमिज, टोपीको साथमा छर्रा धरो हाल्न लगाए ।


जिल्ला समन्वय समितिले यस्तो मौका जुराइदिएको हो । बृहत् सांस्कृतिक सम्मेलन नाम दिइएको कार्यक्रममा कर्णालीका साथै ५ नम्बर प्रदेशका जिल्लाको पनि सहभागिता रह्यो । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका विभिन्न विधा तथा कर्णालीका केही जिल्ला तथा ५ नम्वर प्रदेशको रुकुम पूर्वको एक/एक विधाका मौलिक संस्कृति झल्कने प्रस्तुतिसहित बराहटाकुरामा बृहत् सांस्कृतिक सम्मेलन सुरु भएको हो ।


‘जिल्लाभित्र रहेका सबै मौलिक कला, संस्कृतिको प्रवर्द्धन, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना गरिएको हो,’ जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले भने, ‘कर्णाली प्रदेशभरका सांस्कृतिक कुराको आदानप्रदान तथा एक–अर्कालाई चिन्ने चिनाउने अपेक्षा पनि राखिएको छ ।’ पौराणिक र मौलिक लोककला तथा संस्कृतिको उजागर गर्ने र त्यसको प्रचारप्रसार गरी पर्यटनको विकास गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको शर्माले बताए ।


‘कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रचार, समृद्धि र समाजवादको आधार’ नारासहित आयोजना गरिएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनमा जिल्लाका ६ वटै स्थानीय तहले कला, संस्कृतिको एक/एक विधा प्रदर्शन गर्नेछन् । त्यस्तै अन्य जिल्लाबाट आएका कलाकारले आफ्नो जिल्लाको मौलिक संस्कृति समेटिएको प्रस्तुति दिनेछन् । जिल्ला भित्रका सिंगारु, पैसेरु, मयूर, पञ्चेबाजा, पापिनी नाच, ठाडी भाका, भूम्या, लगायतका गीत तथा नाच प्रदर्शन गरिने बताइएको छ ।


कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले परिवर्तनका लागि सांस्कृतिक सम्मेलन महत्त्वपूर्ण साबित हुने बताए । ‘विकास भनेको संरचनामा मात्रै हुँदैन, होइन पनि,’ मुख्यमन्त्री शाहीले भने, ‘मान्छेको सोचमा, धारणामा, संस्कृति र संस्कारमा विकास हुनु पनि परिवर्तन हो ।’ प्रदेशका सबै मौलिक परम्परा र संस्कृति आदाप्रदानका लागि सांस्कृतिक सम्मेलन कोसेढुंगा साबित हुने उनले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?