बदलिँदै बलिउड- मनोरञ्जन - कान्तिपुर समाचार

बदलिँदै बलिउड

एजेन्सी

काठमाडौँ — वार्षिक फिल्म उत्पादन र प्रदर्शनका हिसाबले भारतीय फिल्म उद्योगलाई संसारकै सर्वाधिक ठूलो मानिन्छ । फिल्म कारोबारका हिसाबले हलिउड ठूलो भए पनि भारतीय बजारले पछयाइरहेको छ । अझ भारतमा पनि बलिउडको आधिपत्य चर्को छ । तर बजार जति ठूलो र फिल्म उत्पादन जति धेरै भए पनि फिल्म क्षेत्रमा बलिउडको गतिलो साख भने छैन ।



खास गरी स्टेरियोटाइपका मसलेदार फिल्मले बलिउड बदनाम हुँदै आइरहेको छ । बलिउड फिल्मले मुस्किलले विश्वका ठूला फिल्म अवार्ड जितेको छ । फिल्म हेर्ने संस्कृति भए पनि राम्रा फिल्म छानेर हेर्न नसक्ने आरोप बलिउड दर्शकलाई पनि लाग्ने गर्छ ।


तर अब यो आरोपलाई बिस्तारै झुटो साबित गर्ने दिशातर्फ बलिउड उन्मुख देखिन थालेको छ । एकदुई वर्षयता यस्तै छनक देखिइरहेको छ ।


वास्तविकता र समाजसँग नजिक रहेरभन्दा स्वप्नील संसार सिर्जेर रुवाइ र मारमुङग्रीमा बढी जोड दिनु बलिउड फिल्मको विशेषता हो । वर्चस्व यस्तै फिल्मको हुने गर्छ भने केहीअघिसम्म पनि यस्तै फिल्मले दर्शक तानिरहेका हुन्थे । तर पछिल्लो समय बलिउडका हस्ती मानिने कलाकारका फिल्म पनि धराशायी बनेका छन् र कम आँकिएका विषयप्रधान फिल्मले पैसा सोहोर्न थालेका छन् ।


यस्ता फिल्मले बलिउडका स्टेरियोटाइप फिल्मलाई पछिल्ला दिन ठूलै चुनौती दिइरहेका छन् ।

बलिउडमा यथार्थपरक विषयलाई आत्मसात् गरी बनेका केही फिल्मले ठूलो पर्दामा हस्तक्षेप बढाएका छन् । यस्ता फिल्मले दर्शक मात्रै तानेका छैनन्, समाजमा बहस पनि तताएका छन् ।


यसअघि हेलाझैँ गरिएका विषयले प्रमुखता पाइरहेका छन् । अक्षय कुमारको ‘प्याडम्यान,’ ‘अलिगढ’ र ‘विक्की डोनर’, घरभित्रै हुने महिला हिंसाको सवालमा बनेको ‘हाइवे’ यसका गतिला उदाहरण हुन् । ‘बधाई हो’, ‘अन्धाधून’, ‘स्त्री’, ‘उरी’, ‘न्युटन’ जस्ता मध्यमस्तरका कलाकारका फिल्मको उच्च स्तरको कमाइ पनि बलिउडको स्टेरियोटाइपका लागि चुनौती बन्दै गएको छ ।


यिनैको पंक्तिमा उभिन सक्ने सम्भावना देखाएको अर्को फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । राजकुमार रावदेखि सोनम कपुर, अनिल कपुरसम्मको अभिनय रहेको फिल्मले महिला समलिंगी सम्बन्धलाई दर्शकमाझ पस्किने जमर्को गरेको छ ।


रिलिजको पूर्वसन्ध्यामा मंगलबार सार्वजनिक गरिएको उक्त फिल्मको दोस्रो ट्रेलरले बलिउडको स्टेरियोटाइपलाई चुनौती दिने बलियो सम्भावना देखाएको छ । अनिल–सोनम बाबुछोरी पहिलो पटक एउटै फ्रेममा देखिँदै छन्, बाबुछोरी नै बनेर । वास्तविकतामा गर्व गर्न लायक छोरी रहेकी सोनम फिल्ममा भने उनको अन्तरसम्बन्धका कारण परम्परागत सोचका बाबुका लागि बोझिल बनेकी छन् ।


‘मैले आजसम्म कुनै पनि फिल्ममा विश्वसनीयता र आदर्शवाद देखेको थिइनँ,’ सोनमले ‘एक लडकी को देखा तो ऐसा लगा’ मा त्यसको छनक पाएको उल्लेख गर्दै भनेकी छन्, ‘मलाई यो फिल्म बुबा र मबाहेक कसैले गथ्र्यो जस्तो पनि लाग्दैन । निर्देशकले पनि उक्त भूमिकाका लागि सुरुमै हामी बाबुछोरीलाई छानेकामा खुसी छु ।’

प्रकाशित : माघ १७, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

ब्राह्मणहरू घन्काउँदै नौमती

प्रताप विष्ट

हेटौंडा — विवाह, व्रतबन्ध र शुभकार्यमा नौमती बाजा बजाउने पुरानो चलन हो । व्यावसायिक ढंगले नौमती बाजा बजाउने समुदाय र बाजा लोप हुँदै गएका बेला मकवानपुरको ग्रामीण भेगका ब्राह्मण समुदायले भने सबैको ध्यान आफूतिर तानेका छन् । 

हेटौंडा–७ मा हालै एउटा वैवाहिक कार्यक्रम नौमती बाजा बजाउँदै मकवानपुरगढी–५ आमभन्ज्याङका ब्राह्मणहरू । यो टोलीले पाँच वर्षदेखि व्यावसायिक ढंगले बाजा बजाउँदै आएको छ । तस्बिर : प्रताप/कान्तिपुर



नौमती बाजा संरक्षण गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–५, आमभन्ज्याङका ब्राह्मण समुदायले नौमती बाजा व्यावसायिक ढंगले बजाउन थालेका हुन् । विवाह, व्रतबन्ध र शुभकार्यमा बजाइने सहनाई, नरसिंहा, दमाहा, ट्याम्के, झ्यालीलगायतका बाजा बजाउने गर्छन् ।

विगतमा बाह्मण समुदायले बाजा छुन नहुने अन्धविश्वासका कारण परियार समुुदायले मात्र सीमित पञ्चे/नौमती बाजा अचेल भने दौरासुरुवाल र इस्कोटमा ठाँटिएका आमभन्ज्याङ पेटीटोलका ब्राह्मणले घन्काउँछन् । ब्राह्मण युवाहरूले २०५३ सालदेखि यदाकदा बाजा बजाउन सुरु गरेका भए पनि व्यावसायिक रूपमा बजाउन थालेको ५ वर्ष पुगेको छ ।

‘सबैले उत्साह र समर्थन गरेका भए पनि अघिदेखि निरन्तरता दिन सकिएन, ५ वर्षदेखि चाहिँ बजाउँदै आइरहेका छौं,’ ५३ वर्षीय जुनाराज चौलागाईंले भने, ‘विवाहको समयमा फुर्सदै हुन्न ।’
टोलीमा २९ देखि ५३ वर्षका ब्राह्मण छन् । ‘पहिलेपहिले ब्राह्मणले अन्य बाजा बजाए पनि टेम्को र दमाहा बजाउन हुँदैन भन्थे, बजाइयो, केही भएको छैन,’ टोलीमा ट्याम्को बजाउने चौलागाईंले भने । उनले टोलीको माग हेटौंडामा मात्र नभई सिन्धुली, चितवन, काठमाडौं र बाराबाट पनि आउने गरेको बताए ।

दूरी र समयको आधारमा बाजा बजाएको शुल्क १२ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको उनले बताए । टोलीले भदौदेखि २४ विवाहमा बाजा बजाइसकेको छ । चन्द्र–सूर्य क्लबका नाममा परिचित टोलीले आम्दानीको १० प्रतिशत संस्थामा जम्मा गर्छन् भने ९० प्रतिशत बाँडेर लिन्छन् । ११ सदस्यीय टोलीमा कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागार्इं, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लीलाराम सापकोटा, रामबहादुर थापा र सोमप्रसाद सापकोटा छन् ।

आफ्नो संस्कृति, परम्परा तथा बाजाको संरक्षण गर्न व्यावसायिक रूपमा बाजा बजाउन सुरु गरेको टोली सदस्य कृष्ण घिमिरले बताए । ‘विदेशी ब्यान्ड बाजाभन्दा नेपाली पहिचान झल्किएका बाजा सबैले मनपराउने भएकाले संरक्षणमा जुटेका हौं,’ घिमिरेले भने ।

उनले आगामी पुस्तामा बाजा र संस्कृति हस्तान्तरण गरेपछि विश्राम लिने बताए ।

प्रकाशित : माघ १७, २०७५ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×