३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ब्राह्मणहरू घन्काउँदै नौमती

प्रताप विष्ट

हेटौंडा — विवाह, व्रतबन्ध र शुभकार्यमा नौमती बाजा बजाउने पुरानो चलन हो । व्यावसायिक ढंगले नौमती बाजा बजाउने समुदाय र बाजा लोप हुँदै गएका बेला मकवानपुरको ग्रामीण भेगका 
ब्राह्मण समुदायले भने सबैको ध्यान आफूतिर तानेका छन् । 

ब्राह्मणहरू घन्काउँदै नौमती

नौमती बाजा संरक्षण गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–५, आमभन्ज्याङका ब्राह्मण समुदायले नौमती बाजा व्यावसायिक ढंगले बजाउन थालेका हुन् । विवाह, व्रतबन्ध र शुभकार्यमा बजाइने सहनाई, नरसिंहा, दमाहा, ट्याम्के, झ्यालीलगायतका बाजा बजाउने गर्छन् ।

विगतमा बाह्मण समुदायले बाजा छुन नहुने अन्धविश्वासका कारण परियार समुुदायले मात्र सीमित पञ्चे/नौमती बाजा अचेल भने दौरासुरुवाल र इस्कोटमा ठाँटिएका आमभन्ज्याङ पेटीटोलका ब्राह्मणले घन्काउँछन् । ब्राह्मण युवाहरूले २०५३ सालदेखि यदाकदा बाजा बजाउन सुरु गरेका भए पनि व्यावसायिक रूपमा बजाउन थालेको ५ वर्ष पुगेको छ ।

‘सबैले उत्साह र समर्थन गरेका भए पनि अघिदेखि निरन्तरता दिन सकिएन, ५ वर्षदेखि चाहिँ बजाउँदै आइरहेका छौं,’ ५३ वर्षीय जुनाराज चौलागाईंले भने, ‘विवाहको समयमा फुर्सदै हुन्न ।’

टोलीमा २९ देखि ५३ वर्षका ब्राह्मण छन् । ‘पहिलेपहिले ब्राह्मणले अन्य बाजा बजाए पनि टेम्को र दमाहा बजाउन हुँदैन भन्थे, बजाइयो, केही भएको छैन,’ टोलीमा ट्याम्को बजाउने चौलागाईंले भने । उनले टोलीको माग हेटौंडामा मात्र नभई सिन्धुली, चितवन, काठमाडौं र बाराबाट पनि आउने गरेको बताए ।

दूरी र समयको आधारमा बाजा बजाएको शुल्क १२ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको उनले बताए । टोलीले भदौदेखि २४ विवाहमा बाजा बजाइसकेको छ । चन्द्र–सूर्य क्लबका नाममा परिचित टोलीले आम्दानीको १० प्रतिशत संस्थामा जम्मा गर्छन् भने ९० प्रतिशत बाँडेर लिन्छन् । ११ सदस्यीय टोलीमा कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागार्इं, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लीलाराम सापकोटा, रामबहादुर थापा र सोमप्रसाद सापकोटा छन् ।

आफ्नो संस्कृति, परम्परा तथा बाजाको संरक्षण गर्न व्यावसायिक रूपमा बाजा बजाउन सुरु गरेको टोली सदस्य कृष्ण घिमिरले बताए । ‘विदेशी ब्यान्ड बाजाभन्दा नेपाली पहिचान झल्किएका बाजा सबैले मनपराउने भएकाले संरक्षणमा जुटेका हौं,’ घिमिरेले भने ।

उनले आगामी पुस्तामा बाजा र संस्कृति हस्तान्तरण गरेपछि विश्राम लिने बताए ।

प्रकाशित : माघ १७, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?