प्रयोगवादी बाथटब- मनोरञ्जन - कान्तिपुर समाचार

प्रयोगवादी बाथटब

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखनमा कुमार नगरकोटीको छवि भिन्न छ । उनी अनेकौं प्रयोग गरिरहन्छन् । त्यही भएर उनको लेखन अरूभन्दा फरक लाग्छ र स्रष्टाहरूको भीडमा टाढैबाट चिनिन्छन् उनी ।

नाटक ‘बाथटब’ को एक दृश्यमा अभिनेत्री भूषिता वशिष्ठ । तस्बिर : प्रकाश तिमल्सेना/कान्तिपुर

नेपाली रंगमञ्चमा यस्तै टाढैबाट चिनिने प्रकृतिको अर्को काम गरेका छन् हालै उनले । चार वर्षअघि नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’ मा प्रयोगवादी छाप छाडेका उनी फेरि अर्को नाटक ‘बाथटब’ लिएर आएका हुन् । ‘कोमा...’ मा उनी लेखक मात्र नभई कलाकारकै रूपमा पनि थिए, यसपटक नाटककार मात्रै । निर्देशकको रूपमा साथ दिएका छन्, घिमिरे युवराजले ।


नाटकमा यो जोडीको दोस्रो सहकार्य हो, जसलाई मूर्त रूपमा दिएका छन् अभिनेता नीर शाह, ब्रजेश खनाल र भूषिता वशिष्ठले । तीन दशकपछि यही नाटकमार्फत नीर शाहको नेपाली रंगमञ्चमा पुनरागमनसमेत भएको छ । ३२ वर्षअघि बालकृष्ण समको नाटक ‘मुटुको व्यथा’ गरेपछि शाह रंगमञ्चमा देखिएका थिएनन् । रंगमञ्चप्रेमी पछिल्लो पुस्तालाई नाटक ‘बाथटब’ ले नीर शाह नियाल्ने आँखीझ्याल दिन्छ । ब्रजेशचाहिँ कुनै समय फिल्ममा हिरो हुन चाहन्थे, तर उनी बने पटकथाकार । आख्यानकारको समेत छवि बनाएका उनले बीचमा एकाध हास्य नाटक नगरेका हैनन् । तर, उनमा अभिनयको भोक कतिसम्म रहेछ भन्ने हेर्न ‘बाथटब’ ले पूर्ण सघाउँछ ।


भूषिता लेखिका र पत्रकार हुन् । लामो समय मूलधारको पत्रकारितामा रमाएकी यिनको पछिल्लो अवतार अभिनेत्रीको रूपमा प्रकट भएको छ । केही महिनाअघि आर्ट काउन्सिलमा प्रस्तुत एउटा खुल्ला नाटकमा अभिनय गरेकी उनी ‘बाथटब’ मा ढुक्कैले खुलेकी छन् । उनको अभिनय आशक्ति र दक्षता यो नाटकमा राम्रैसँग पोखिएको छ । नाटक ‘बाथटब’ मूलत: यी तिन पात्रमा केन्द्रित छ । टेक्स्ट जसरी सरियल छ, प्रस्तुतिलाई पनि त्यस्तै पनमा ढालेका छन् घिमिरे युवराजले । लामो समयपछि नेपाली रंगमञ्चले फरक स्वाद र संरचनाको नाटक पाएको महसुस हुन्छ । एकै प्रकृतिको परम्परागत नाट्य शैलीबाट आजित दर्शकहरूका लागि ‘बाथटब’ ले ठूलो राहत दिनेछ ।


विषयवस्तुको अमूर्तताभित्र ‘बाथटब’ ले जीवन र जगतको विसंगति र कुरूपता प्रस्तुत गर्छ । नाटकमा प्रेम छ, प्रश्न छ । विचार छ, विचलन पनि छ । जीवन छ र चिहान छ । आशा छ र निराशा छ । राजनीति छ र दुराचार पनि छ । समग्रमा सिंगो समयप्रति नै नाटकले प्रश्न गर्छ । नाटक हेरेपछि मानव सभ्यता र ज्ञानले अहिलेसम्म गरेको यात्राप्रति संशय उत्पन्न हुन्छ । अमूर्तताभित्र पनि नाटकमा कथानकको सरल धागो छ । नि:शब्द शमशेर राणा नाटकको एउटा लेखक हो । ऊ कथा लेखिरहेको छ । उनकै कथाको पात्र हो सिरियल किलर, जो बाथटबमा निदाइरहेको छ र आफ्नो ५३ औं जन्मदिन प्रधानमन्त्रीको हत्या गरेर मनाउन चाहन्छ । जसै ऊ बाथटबबाट ब्युँझिन्छ, उसलाई आफ्नो पात्रको चरित्र मन पर्दैन र लेखकमाथि प्रश्न गर्छ । लेखकले पात्रमाथि लादेको निरंशकुतामाथि उसले औंलो ठड्याउँछ ।


यसपछि पैदा हुने द्वन्द्वको विभिन्न तहबाट नाटक अघि बढ्छ । दर्शक बाँधिराख्न लभ, थ्रिलजस्ता तत्त्वहरूले निकै काम गरेको छ । चरित्रको मनोविज्ञानअनुरूपको पाश्र्व संगीत नाटकको अर्को राम्रो प्रयोग हो । ध्वनिको प्रयोगले दर्शकमा उत्तिकै कौतुहलता पैदा गराउँछ । मञ्च उत्तिकै चामत्कारिक, अमूर्त र प्रयोगात्मक लाग्छ । नाटकको ‘एक्पेरिमेन्टल’ र ‘सरियल’ इलेमेन्टलाई साथ दिनेगरी गरिएको मञ्च परिकल्पना प्रशंसायोग्य छ । प्रकाशमा भने थप काम गर्न सकिन्थ्यो । प्राय: नगरकोटीको लेखनमा आउने ‘चिहान’ र ‘सेक्स’ को सन्दर्भ यो नाटकमा पनि पुनरावृत्ति भएको छ । लाग्छ– यी दुई शब्द नगरकोटीकै पर्यायवाची हुन् ।


चिहानको सन्दर्भ ल्याएर नगरकोटीले नाटकमार्फत शून्यताको वकालत गरेका छन् । समाजवाद, साम्यवाद, उपनिवेशवाद, अस्तित्ववाद, साम्राज्यवाद, पुँजीवाद सबै प्रकारका विचार नाटकमा चिहान बनेको छ र जसलाई शून्यतादेखि शून्यतासम्मको यात्राको रूपमा इंगित गर्न खोजिएको छ । नाटक भन्छ– दशगजा मानव सभ्यताको सबैभन्दा ठूलो चिहान हो ।’


खासमा समय, समाज, राजनीति र व्यैयक्तिक कुरूपतामाथिको प्रहार ‘बाथटब’ को मुख्य ध्येय देखिन्छ । हरेक प्लट र सन्दर्भ विम्ब र प्रतीकमय छन् । जस्तो कि नाटकका लेखक नि:शब्द शमशेर राणाको नाम आफैंमा यतिखेर नेपाली राजनीतिको ‘मौन विम्ब’ हो । लामो समय नेपाली राजनीतिको मियोमा रहेका शमशेरहरू अहिले ‘नि:शब्द’ नै छन् । तर, उनैका उपज अहिलेका राजनीतिक पात्रहरू आपसी द्वन्द्व र प्रश्नहरूमा रुमलिएका छन् । प्रधानमन्त्रीको मर्डर गर्न चाहने सिरियल किलर होस् या ‘रिपब्लिक अस्पताल’ को सन्दर्भ, यी सबै विम्बात्मक लाग्छन् । नाटकभित्र पात्रमाथि थिचोमिचो गर्ने शक्तिशाली लेखकलाई आफू स्वयं पनि कसैको चरित्र निर्वाह गरिरहेको बोध हुनु झन् अर्थपूर्ण लाग्छ ।


फिल्म निर्माण, निर्देशनदेखि अभिनयमा ‘मानक’ व्यक्तित्व बनाइसकेका नीर शाहले यो नाटकमा राम्रो काम गरेका छन् । उनको पुनरागमन नै नेपाली रंगमञ्चका लागि ठूलो उपलब्धि हो । सिरियल किलरको रूपमा ब्रजेशले पनि चरित्रप्रति न्याय गरेका छन् । भूषिताको अभिनयले दर्शकको मन उत्तिकै तान्छ । उनले यो नाटकमार्फत अभिनयमा अब्बल सम्भावना देखाएकी छन् । बत्तिसपुतलीस्थित शिल्पीको गोठाले थिएटरमा मञ्चन भइरहेको नाटक माघ २८ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : माघ १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

दस दिन बीस नाटक राष्ट्रिय बालनाटक महोत्सव 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली रंगमञ्चमा बाल सहभागिता पछिल्लो समय लोभलाग्दो बन्दै गइरहेको छ । राजधानीको कमल पोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा जारी बाल नाटक महोत्सवको माहोलले पनि यसलाई पुष्टि गर्छ । महोत्सवको यो दसौं संस्करणमा दिनहुँ दुई नाटक मञ्चन भइरहेका छन् । 

रूसी सांस्कृतिक केन्द्रसितको सहकार्यमा शैली थिएटर र इसान नेपालले गरेको महोत्सवमा अहिलेसम्म एक दर्जन नाटक मञ्चन भइसकेका छन् । माघ ८ गतेदेखि सुरु भएको दसदिने महोत्सवका लागि २० वटा नाटक छनोटमा परेका थिए । महोत्सवमा बालबालिकाको रुचि र अध्ययन, असल अभिभावकतत्त्व, बालबालिकामा हुने हिंसा, गरिबीको प्रभाव, बालश्रम, छाउ प्रथासँगै अशिक्षा, यौन दुव्र्यवहार लगायतका विषयवस्तुबारे चेतनामूलक र मनोरञ्जनमूलक नाटकहरू छानिएका आयोजक शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बताए । नाटक उत्पादन र प्रस्तुतिमा विभिन्न विद्यालयहरूको सहभागिता छ ।

बुढाथोकीका अनुसार अमर मावि, लमजुङको ‘लैंगिक हिंसा’, विद्यासागर स्कुल, काभ्रेको ‘अँध्यारो मन’, माउन्ट सेब स्कुल काठमाडौंको ‘भान्का’, क्रिएटिभ एकेडेमी कीर्तिपुरको ‘डम्बरी’, बालवाटिका स्कुल काठमाडौंको ‘आमा’, साम्तेन मेमोरियल स्कुल कपनको ‘पूर्णिमा सपना’, भक्तपुर निस्ट स्कुलको ‘मेनुका’, प्रज्ञा सदन स्कुल, काठमाडांैको ‘दोषी को हो ?’, सात कन्यामती मावि, सिन्धुपाल्चोकको ‘आशाको सपना’ लगायतका नाटकले महोत्सवमा भाग लिएका छन् ।

त्यस्तै, नेसनल पाइनियर स्कुल, चाबहिलका तर्फबाट ‘चित्कार’, होली एन्जल्स स्कुल आरुबारीको ‘ठूलो मान्छे’, एकता जेम्स स्कुल जोरपाटीको ‘परिवर्तित मन’, जेसिस इन्टरनेसनल स्कुल, सतुङ्गलको ‘गौलोचन’, एम्बेस्याडर एकेडेमी नारायणटारको ‘बालविवाह’, महेन्द्र आदर्श मावि, इमाडोलको ‘कुबुद्धिको फल’, बाघभैरव मावि, ललितपुरको ‘अशिक्षा र यसको चुनौती’, काठमाडौं विनायक शिक्षालय, सिनामंगलको ‘टाईको गाँठो’, रिडर्स इन्टरनेसनल मोडेल स्कुल गोकर्णेश्वरको ‘बलेको सपना’ र ब्राइट जोन इन्टरनेशनल स्कुल गोकर्णेश्वरकै ‘एउटा सपनाको अन्त्य’ पनि महोत्सवमा छनोटमा परेको छ ।

शैली थिएटरकै नाटक ‘माटोको फूल’ भने अप्रतियोगी रूपमा हरेक दिन मञ्चन भइरहेको छ । आयोजकका अनुसार प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन पुरस्कारका विधा पनि छुटाएको छ । महोत्सव संयोजक सुवास सुवेदीका अनुसार बिहीबार समापन हुने महोत्सवमा ६ वटा पुरस्कारहरू दिइनेछ ।

प्रकाशित : माघ १६, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×