कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता छन् ओस्कार दाबेदार

एजेन्सी

काठमाडौँ — यसै साता ओस्कार अवार्डले विधागत मनोनयन सार्वजनिक गरेको छ । जसमा आठ वटाले उत्कृष्ट फिल्मको दाबी प्रस्तुत गरेका छन् । सर्वाधिक समान नौ विधामा परेका ‘रोमा’ र ‘द फेभरेट’ चर्चामा माथि देखिएका छन् ।

यस्ता छन् ओस्कार दाबेदार

नेटफ्लिक्सका लागि बनाइएको ‘रोमा’ ले ओस्कारमा उत्कृष्ट दरिनुअघि नै दर्शकबाट समेत उल्लेख्य माया पाएको छ । ‘ह्यारी पोटर’ को तेस्रो संस्करणको निर्देशन समेत गरेका अल्फन्सो कुआरोन यस फिल्ममा ‘वान म्यान आर्मी’ देखिएका छन् । निर्माता समेत रहेका अल्फन्सोले फिल्मको निर्देशनसँगै छायांकन, सम्पादन र लेखन सबै आफैंले गरेका हुन् । श्यामश्वेतमा खिचिएको उक्त फिल्म राजनीतिक असहिष्णुता र छात्र विद्रोहको घटनामा एक परिवारको कथालाई प्रस्तुत गरिएको छ । बच्चाहरू केन्द्रमा रहेको फिल्मको कथा निर्देशकले आफ्नै बाल्यकालको कहानी भएको जिकिर गरेका छन् । ‘रोमा’ ले यसअघि नै क्रिटिक्स च्वाइस र गोल्डेन ग्लोबका महत्त्वपूर्ण अवार्ड जितिसकेर ओस्कारका लागि ठूलो चुनौती दिइसकेको छ ।


योर्गोस लाँथिमसको निर्देशन रहेको ‘द फेभरेट’ ले भने बेलायती राजदरबारभित्रको सत्ता समीकरणको खिचातानीभित्र लुकेको एक समलिंगी जोडीको कथा बोकेको छ । ओलिभिया कोलम्यान र एम्मा स्टोन अभिनीत यसै फिल्मबाट रानीको भूमिका निर्वाह गरेकी ओलिभिया उत्कृष्ट अभिनेत्रीको विधामा पनि मनोनीत छिन् । त्यसैगरी यसवर्ष सांगीतिक समूह ‘क्वीन’ को जीवनीमा आधारित रही बनेको फिल्म ‘बोहेमिन र्‍याप्सोडी’ पनि ९१ औं ओस्कारको उत्कृष्ट फिल्मको विधामा छ । ब्रिटिस रक ब्यान्ड र त्यसका मुख्य गायक फ्रेडी मर्करीलाई केन्द्रमा राखेर तयार पारिएको फिल्म ५० करोडको बजेटमा बनेर आठ सय करोडको व्यापार गरेको थियो । यसै फिल्मबाट उत्कृष्ट अभिनेताको विधामा समेत रामी मालेक चुनिएका छन् ।


७० को दशकमा मच्चिएको अमेरिकी नश्लभेदलाई दुरुस्त पस्कन सफल ‘ब्ल्याक क्लान्सम्यान’ ओस्कारको अर्को दाबेदार फिल्म मानिएको छ । एक अश्वेत प्रहरी अधिकृतले आफ्नै जासुसी शैलीमा सहरको कुख्यात ग्याङको सफाया गर्दाको घटनाक्रम देखाएको छ यसमा । अश्वेत भएकैले साथीबाट अस्वीकृत हुनुको पीडा पनि फिल्मले बोकेको छ । अश्वेत प्रहरीको भूमिकामा अभिनीत जोन डेभिड वासिङ्टनको अभिनयलाई लिएर पनि खुबै तारिफ भएको थियो । सुपर हिरोका फिल्मले ओस्कारमा प्राय: प्राविधिक विधामा मात्रै सीमित हुने गरेकामा ‘ब्ल्याक प्यान्थर’ ले त्यसलाई तोडेको छ । पछिल्लो समय रंगभेदीको आरोप खेपिरहेको ओस्कारले यसपटक यस फिल्मलाई मनोनयनमा राखेर पनि सन्तुलन राख्न खोजेको देखिन्छ ।


श्वेत–अश्वेतकै विषयमा निर्मित फिल्म ‘ग्रीन बुक’ पनि यसपटक ओस्कारको दौडमा छ । एक श्वेत अमेरिकी बाउन्सर जो अर्का अश्वेत पियानो बादकको कन्सर्टका लागि सवारी चालक भएर कुनै लामो यात्रामा जाँदाको घटनाक्रम फिल्मले पस्केको छ । फिल्ममा दुई बीचको मनोविज्ञानलाई सूक्ष्म केलाइएको छ । संसारभर पियानो वादकका रूपमा ख्याति कमाएर पनि कालो वर्णको हुनुको पीडा गोरो वर्णको चालकमार्फत महसुस गराइएको छ । यसै फिल्मबाट विग्गो मार्टेसन पनि उत्कृष्ट अभिनेताको ओस्कार दौडमा सामेल छन् ।


एक जँड्याहा गायक र उसकी विद्यार्थीबीचको प्रेमसम्बन्ध बोकेको फिल्म ‘अ स्टार इज बर्न’ ओस्कारको अर्को सशक्त दाबी हुन सक्छ । यसै प्लटमा हलिउडमा सन् १९३७ मा फिल्म बनेको थियो भने बलिउडमा ‘आशिकी २’ रिमेक गरिएको थियो । निर्देशक ब्रेड्ली कपुरले फिल्ममा पनि अभिनेताको भूमिका निर्वाह गरेका छन् भने लेडी गागाले विद्यार्थीको भूमिका निर्वाह गरेकी छन् । यसै फिल्मबाट लेडी गागाले ओस्कारमा उत्कृष्ट अभिनेत्रीको दाबी प्रस्तुत गरेकी छन् । यतिबेला बलिउडमा राजनीतिज्ञको बायोपिकको लहर नै चलिरहेका बेला अमेरिकी उपराष्ट्रपति डिक चेनीको जीवनीमा आधारित फिल्म ‘भाइस’ ले ओस्कारमा समेत तहल्का पिटेको छ । तत्कालीन राष्ट्रपति जर्ज बुसको कार्यकाल छँदाका उपराष्ट्रपति चेनीलाई अमेरिकी इतिहासमै सबैभन्दा शक्तिशाली उपराष्ट्रपति मानिन्छ । फिल्ममा समेत सोही भूमिका निर्वाह गरेका क्रिस्चियन बेलले उत्कृष्ट अभिनेताको होडमा आफूलाई प्रभावशाली प्रमाणित गरिदिएका छन् ।

प्रकाशित : माघ १४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?