२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

एक वर्षपछि नागढुंगा सुरुङबाट तीन मिनेटमै सिस्नेखोला !

केही समयअघि लगातार एक महिना काममा अवरोध भएर खुलेको नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले यतिबेला कामलाई तीव्रता दिएको छ
विमल खतिवडा

सिस्नेखोला, धादिङ — नागढुंगा–सिस्नेखोला सुरुङको ‘ब्रेक थ्रु’ हुन वर्ष, महिना होइन, केही दिन मात्र बाँकी छ । केही समयअघि लगातार एक महिना काममा अवरोध भएर खुलेको नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले यतिबेला कामलाई तीव्रता दिएको छ । र, आउँदो वैशाख पहिलो साताभित्रै ब्रेक थ्रु गर्ने तयारी छ । 

एक वर्षपछि नागढुंगा सुरुङबाट तीन मिनेटमै सिस्नेखोला !

आयोजनाले लक्ष्यअनुसार काम गरिरहे र काममा कुनै अवरोध नभए सर्वसाधारणले सुरुङमार्ग प्रयोग गरेर एक वर्षपछि आवतजावत गर्न पाउनेछन् । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किमि दूरीबाट पुगिने सिस्नेखोलामा सुरुङमार्ग भएर जाँदा भने तीन मिनेट मात्र लाग्ने आयोजनाको दाबी छ ।

२.६८८ किमि दूरीको मुख्य सुरुङ ४ मिटर मात्र खन्न बाँकी छ । दुई मिटर खन्न बाँकी राखेर आयोजनाले ‘ब्रेक थ्रु’ गर्ने मेलोमेसो मिलाउँदै छ । यसका लागि आफूहरूले ८/८ घण्टाको सिफ्ट बनाएर चौबीसै घण्टा काम गरिरहेको आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जनाए । ‘ब्रेक थ्रु’ भएपछि त्यसलाई फिनिसिङ गरेर यातायातका साधन चलाउन थप एक वर्ष लाग्छ, सुरुङ खन्न २ मिटर बाँकी राखेर विशेष कार्यक्रममार्फत ‘ब्रेक थ्रु’ गर्छौं,’ उनले भने, ‘ब्रेक थ्रु गर्ने मितिबारे भने निर्णय भइसकेको छैन ।’

‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माणको काम भइरहेको नागढुंगा सुरुङमार्गको परामर्शदाता कम्पनीका इन्जिनियर रमेश कोइरालाले बताए । ‘खनिसकेको ठाउँमा सपोर्ट राखेपछि त्यसले काम गरेको छ/छैन भनेर धेरै समयसम्म हेर्नुपर्छ,’ उनले भने, ‘सपोर्ट थप्दै लैजानुपर्ने पनि हुन सक्छ । त्यस्तो अवस्था आए क्रंक्रिटिङ गर्नुपर्ने हुन सक्छ । त्यसैले आवश्यकताअनुसार के चाहिन्छ, त्यही नै गर्छौं । पछि बलियो भएर लोड धान्न सक्ने भएपछि लाइनिङ गर्छौं । अक्सिजन, लाइट आदिको व्यवस्थापन पनि गर्छौं ।’ मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सात वटा द्वार हुने उनको भनाइ छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

सुरुङभित्र केही भवितव्य आइपरे मुख्य सुरुङबाट छिटो निस्कन आपत्ज्ञालीन सुरुङ निर्माण गरिएको आयोजनाका उपआयोजना निर्देशक दुमरुले बताए । ‘ब्रेक थ्रु भएको एक वर्षसम्म सेफ्टी, लाइटिङ, अक्सिजन जडान गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तै यस अवधिमा सुरुङभित्रको सडक ढलान गर्न पनि समय लाग्छ ।’ सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको उनको भनाइ छ । मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ— एउटा जाने र एउटा आउने हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । ‘दूरीभन्दा यात्रा गर्दा लाग्ने समय बचत हुन्छ,’ उनले भने, ‘इन्धनको बचत हुन्छ, सवारीसाधन बिग्रने खतरा कम हुन्छ ।’

बलम्बुमा फ्लाईओभरमा ‘सब स्ट्रक्चर’को काम अन्तिम चरणमा पुगेको छ । ‘सुपर स्ट्रक्चरको काम सुरु गर्न लागेका छौं,’ दुमरुले भने, ‘तीन वटा पुल र ६ वटा कर्ल्भटको निर्माण भइसकेको छ ।’ बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र र ग्राभेल गरिँदै छ । धादिङको सिस्नेखोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ ।

‘सुरुङमार्गमा यातायातका सवारी चलायबापत टोल शुल्क लिनेबारे निर्णय भइसकेको छैन,’ दुमरुले भने, ‘तर शुल्क निर्धारण गरिएको छैन । यसमा सरकारले नै व्यवस्थापन गर्छ ।’ पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभर लोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । सुरुङमार्गको निगरानी सीसी क्यामराबाट गरिनेछ । सुरुङमार्ग सञ्चालन गर्ने छुट्टै टोली बन्ने उनको भनाइ छ । ‘सुरुङमार्गमा कसरी सवारीसाधन चलेका छन्, केही घटना घटिहाले कसरी उद्धार गर्ने भनेर सवारीसाधनको निगरानी सीसी क्यामराबाट गरिनेछ,’ उनले भने, ‘जुन काम काठमाडौंतर्फ बस्ने टिमले गर्नेछ ।’

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । यो आयोजना निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ ।

आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ मा भएर अहिले फिनिसिङको काम भइरहेको छ । यसको दूरी २५५७ मिटर छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो ।

प्रकाशित : चैत्र २०, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?