२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्याजमा कालोबजारी गर्ने ५ व्यापारीमाथि कारबाही, ४ को अनुसन्धान चल्दै

रासस

काठमाडौँ — भारतले प्याजको निर्यातमा कर बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । 

प्याजमा कालोबजारी गर्ने ५ व्यापारीमाथि कारबाही, ४ को अनुसन्धान चल्दै

भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले निर्यात कर बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको ठाकुरले जानकारी दिए ।

'प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही २० हजार, दुई वटा व्यापारीलाई जनही ५० हजार जरिवानाको दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ', महानिर्देशक ठाकुरले भने ।

काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० ले घटेको उनको दाबी छ ।

वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए ।

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।

प्रकाशित : भाद्र ४, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?