‘धेरै बिगारेकै एजेन्ट भनाउँदाहरूले हो’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘धेरै बिगारेकै एजेन्ट भनाउँदाहरूले हो’

उदयराज पाण्डे

काठमाडौँ — नेपाली जाने ठूलो संख्या खाडी मुलुक र मलेसिया हो । साउदीमा राजदूत भएर चार र मलेसियामा तीन वर्ष काम गरें । साउदीमा हुँदा ओमन र बहराइन पनि हेरें । त्यहाँको सरकार र ठूूला प्रतिष्ठित व्यापारीहरुको भनाइ छ- श्रमिकलाई आर्थिक भार पर्न दिँदैनौं । मलेसियाले ‘रेस्पोन्सिबल एलाएन्स’ भनेर सिस्टम नै बनायो ।

मानौं, कुनै कामदार जनकपुरबाट काठमाडौं आउँछ । तालिम लिन्छ । जान्छ भने सबै प्रोसेसको ‘रिफन्ड’ गरिन्छ । श्रमिकलाई जुन म्यानपावरले सहजीकरण गर्छ, उसलाई एउटा आकर्षक कमिसन दिइन्छ । बीचमा श्रमिकसँग पैसा लिएको थाहा भयो भने साउदीमा सरकारले कारबाही गर्छ । हिजो यसरी रकम लिएकाहरुले अहिले फिर्ता गरिरहेका उदाहरण पनि छन् ।

तर म्यानपावरका मान्छेले धेरै पैसा भएर कहाँ खर्च गरौं भनेर ठाउँ नपाएर कार्यालय खोलेका होइनन् । व्यवसाय सुरु गरेका पनि होइनन् । उनीहरुलाई पनि पैसा कमाउनुपर्छ । उनीहरु पनि बाँच्नुपर्‍यो । नेपालमा म्यानपावरको व्यवसाय निजी पहलमा सुरु भएको हो । सरकारले खोजेर लगानी गरिदिएको होइन । यसबाट जति पनि नेपाललाई फाइदा पुगेको छ, त्यसको ९० प्रतिशत श्रेय तिनै व्यवसायीले लिनु पर्छ । जसरी मान्छेले दु:ख पाउँदा ९० प्रतिशत त्यसको अपजस पनि उनीहरुमाथि गइरहेको छ । यसमा दुई कुरा मात्र सुधारे हुन्छ । जुनजुन देशसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ, त्यहाँ प्रस्ट रूपमा एक महिनाको पारिश्रमिक म्यानपावर कम्पनीलाई सर्भिस चार्जबापत दिनुपर्छ भन्ने उल्लेख गर्नुपर्छ । केही ठाउँमा यो सुरु भइसकेको छ । व्यवसायी पनि यसमा सहमत छन् ।

अर्को कुरा, बीचका एजेन्टहरुलाई हटाउने कुुरामा सबैले भूमिका खेल्नुपर्छ । धेरै बिगारेको एजेन्ट भनाउँदाहरुले नै हो ।

जुन देशमा श्रमिक दु:खमा परेका छन्, त्यही देशको सरकारसँग पत्राचार गरी वार्ता गरेर त्यहाँको सरकारले त्यो व्यापारीसँग प्रश्न उठाएपछि समस्या समाधान हुन्छ । दुई प्रतिशतजस्तो चाहिँ एउटा अटेर गर्नेहरु र अर्को कहिलेकाहीँ साँच्चिकै कम्पनी समस्यामा पर्छन् । मानौं, कम्पनी टाट पल्टियो, कामदारको तीन महिनाको तलब बाँकी छ, उसले दिन सक्दैन । उसले टाट पल्टिएको घोषणा गरिसकेको हुन्छ । मजदुर त्यही ठाउँमा छ र उसलाई के खाने, कहाँ बस्ने भन्ने समस्या हुन्छ । यस्तो अवस्थामा विभिन्न दातासंस्थासँग गुुहारेर सहयोग गर्न सकिन्छ ।

कोभिड फैलिएपछि मलेसियामा ठूलो समस्या भयो । हामीले १०/१२ हजार दिएर खाने बस्ने प्रबन्ध केही समय गर्नुपर्‍यो । ६/७ सय नेपालीलाई नेपाल ल्याउनुपर्‍यो, जोसँग टिकट किन्ने पैसासमेत थिएन । हामीले त्यो व्यवस्थापन गर्‍यौं । त्यो क्रम अहिले पनि जारी छ । यसमा दुई कारण छन् । एउटा सम्बन्धित कामदार नै आफ्नो कार्यक्षेत्र छाडेर अन्यत्र गएकाले उनीहरु सरकारको अभिलेखमा छैनन् । उसका लागि कसैले बेहोर्दैन ।

(पूर्वराजदूत पाण्डेले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १६, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्

‘संसदीय श्रम समितिले महिलालाई विदेश जान तगारो मात्र तेर्स्याउने हो कि नियम पनि बनाउने ?’

मीना पौडेल

काठमाडौँ — सबैभन्दा पहिला वैदेशिक रोजगारीमा जाने महिलालाई ‘ती महिला पनि नेपाली समाजकै हुन्’ भनेर सम्झनुपर्छ । वैदेशिक रोजगारबाट आएको भन्नेबित्तिकै तिनीहरू अर्को हुन्, अन्तैबाट आएका हुन् वा तिनीहरू विशेष हुन् भनेर बुझ्नु भएन । तिनीहरूका समस्या नै हुँदैनन् या तिनीहरूको समस्या बढी हुन्छ भनेर फरक ढंगले हेर्नु हुँदैन ।

धेरैजसो महिला अनौपचारिक क्षेत्रबाट विदेश जान्छन् र अनौपचारिक क्षेत्रमै काम गर्छन् । मूल रूपमा भारत र भारत हुँदै अन्य मुलुकमा जान्छन् । अनुसन्धान गर्दा धेरैजसो महिला पुरुषको जस्तो कारणले विदेशिएको देखिएको छैन । उनीहरू घरेलु हिंसाबाट पीडित भएर र अरू केही विकल्प नभएर घर छाड्न बाध्य पनि हुन्छन् । अर्को कारण, पैसा कमाउनु त हो नै । किनभने आफूसँगै छोराछोरी पाल्नु पनि पर्‍यो । घरलाई पनि सहयोग गर्नुपर्‍यो । भारत हुँदै तेस्रो मुुलुक लगिने महिलाको ट्राभल डकुमेन्ट हुँदैन । वैदेशिक रोजगार विभाग, नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले दिने डकुमेन्ट हुँदैन ।

त्यसकारण अनुसन्धानले के देखाउँछ भने, महिलाको दृष्टिमा वैदेशिक रोजगार व्यवसायी राज्यबाट लाइसेन्स प्राप्त मानव तस्कर हुन् । ट्राभल डकुमेन्ट नहुने, लुकीछिपी दलालको भर परेर बाँच्नका लागि जसरी भए पनि लगिदेऊ भनेर आत्मसमर्पण गरेपछि दलालले गर्ने शोषण हो ।

महिलाहरू घरबाट निस्किनुअघि नै ब्ल्याकमेलिङ सुरु हुन्छ । महिलाहरू कहाँ जाने अत्तोपत्तो हुँदैन, गन्तव्यसम्म पुग्ने अत्तोपत्तो हुँदैन । दलालले कहाँसम्म पुर्‍याइदिने हो, थाहा हुँदैन । के गर्ने भनेको के गराइदिन्छ । के स्थिति भनेको के हुन्छ, त्यो कल्पना गरेर साध्य नै हुँदैन । अर्को समस्या राज्यले गर्न सक्ने तर नगरेको नीतिगत कुरा हो । संरचनागत रूपमा नेपाली समाजको चरित्रको कुरा गरेकी हुँ मैले । त्यसमा सामाजिक, सांस्कृतिक, आर्थिक, मानवीय थुप्रै कुरा जोडिएका छन् । त्यसलाई वैदेशिक रोजगार व्यवसायी संघले पनि सम्बोधन गर्न सक्दैन । हाम्रो विभाग र मन्त्रालय एक्लैले गर्न सक्ने कुरा पनि होइन । त्यो विशेष राजनीतिक मुद्दा हो ।

संसदन्तर्गत श्रम समितिले सात सर्त तेस्र्याइदिएको छ । त्यो तगारो सुधारका निम्ति नभई महिलाहरूलाई बिचौलियाको जिम्मा लगाउने माध्यम बनिदियो । यो गर्दा पनि हुँदैन, यसो नगरी नपठाऊ, उसो नगरी पनि नपठाऊ भन्ने किसिमको व्यवस्था छ त्यहाँ । महिलाहरूले कस्ता किसिमका समस्या भोगिरहेका छन्, कस्ता किसिमका समस्याबाट उनीहरू गुज्रिरहेका छन् । उनीहरूलाई कस्तो किसिमको सहयोग गर्नुपर्छ भन्नेमा कसैले वास्ता गरेको छैन । धेरैजसो दूतावास यी पक्षलाई सम्बोधन गर्ने पक्षमा छैनन् । हामीले कस्तो किसिमको नीति ल्याउँदै छौं, कस्तो किसिमको नीति प्रस्ताव गरेका छौं, महिला एवम् सीमान्तकृत समुदायले फी तिर्न सक्दैनन् । टिकटको शुल्क तिर्न सक्दैनन् । अनि दलालको पछि लाग्ने बाध्यात्मक अवस्था हुन्छ । लालपुर्जा दलाललाई दिएर जसरी पनि विदेश पुर्‍यादेऊ भन्नुपर्ने अवस्था छ ।

महिलाहरूलाई केन्द्रमा राखेर हेर्दा हामीसँग माइग्रेसन नीति नै छैन । माइग्रेसन नीतिबिनै ३० वर्षदेखि रेमिट्यान्सले देश धानिरहेको छ । अहिले भइरहेको ऐन सिंहदरबारमा मात्रै छ । यस विषयलाई लिएर श्रम र महिला मन्त्रालयबीच छलफल नै हुँदैन । भद्रगोल स्थितिमा महिला श्रमिकलाई कसरी बाटो सजिलो सम्भव गराउन सक्छौं ?

गन्तव्य मुलुकहरूको आर्थिक अवस्था वृद्धि भइरहेको छ । विकास प्रक्रिया अगाडि बढिरहेको छ । उनीहरूले फड्को मारिरहेका छन्, हाम्रो जस्तो श्रमिक अझै चाहिन्छ । महिला श्रमिक पनि चाहिन्छ । सेवामूलक क्षेत्रमा महिला श्रमिक पनि चाहिन्छ । महिला श्रमिकलाई नियन्त्रण गर्न सजिलो हुन्छ । शोषण गर्न सजिलो हुन्छ । कम ज्यालामा काम लगाउन सजिलो हुन्छ । किनभने हामी बाध्यात्मक अवस्थाबाट विदेशिइरहेका छौं । सही बाटो वा औपचारिक बाटोबाट महिलालाई रोजगारीमा पठाउन सकिँदैन । किनभने श्रम समितिले ७ विभिन्न तगारा लगाएर रोक लगाइदिएको छ । मन्त्रालयले गर्न सक्ने हो कि होइन, त्यो पनि प्रस्ट छैन । त्यसपछि मात्र मानव तस्करले महिला तस्करी गर्ने जिम्मा पाएका हुन् ।

श्रम समितिले रोक्ने तर विदेशमा माग बढ्ने अनि यता रोजीरोटीको समस्या बढ्ने अवस्था रह्यो । त्यसपछि मात्र हिंसाबाट बच्न महिलाहरू फेरि पनि ठोकिने भनेकै मानव बेचबिखन तस्करसँग नै हो । जसरी पनि लगिदेऊ भन्नुपर्छ ।म सोध्छु– संसद्ले तगारो मात्रै तेर्स्याउने कि सरकारलाई यस्तो–यस्तो नियम बनाउनुपर्छ भनेर नियमका मस्यौदा पनि बनाउने ?

(आप्रवासनविद् पौडेलले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)

प्रकाशित : पुस १६, २०७८ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×