आलुको मूल्य अकासियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलुको मूल्य अकासियो

ताप्लेजुङमै किलोको सय रूपैयाँ
वार्षिक २ अर्बभन्दा बढीको उत्पादन
आनन्द गौतम, विप्लव भट्टराई

ताप्लेजुङ/इलाम — फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे । घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए । उसिनेर खान मिल्ने किसिमका ठुल्ठूला दाना आलु पाएका आचार्य सदरमुकाम फुङलिङको तोक्मेडाँडामा प्रतिकिलो एक सय रुपैयाँ पुगेपछि खरिदका लागि यहाँ पुगेका थिए ।

नजिकैको सदरमुकाममा किलोको २० रुपैयाँ बढी भएपछि क्रिक्याले पनि भदौ तेस्रो सातादेखि आलुको मूल्य बढाएका छन् । गाउँसमाजमा सबैले बजार मूल्यअनुसार बेच्नुपर्ने बताएपछि समान बनाइएको उनले बताए । ‘घरमै आउनेलाई एकदुई पैसा त कम भइहाल्छ नि,’ उनले भने, ‘तर यति नजिकै किलोकै २० रुपैयाँ धेरै नै फरक भयो । त्यसैले एक सय नै भन्न थालेका छौं ।’ आलुको पकेट क्षेत्र बुङकुलुङको दूरी सदरमुकाम फुङलिङबाट नौ किलोमिटर छ । ८ किलोमिटर पक्की सडक छ । एक किलोमिटर मात्रै कच्ची छ ।

आलुको मात्रै खेती हुने हिमाली क्षेत्रमा यति बेला धमाधम उत्पादन भइरहेको छ । सदरमुकाम फुङलिङकै माथिल्लो फेदी क्षेत्र, फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा, वडा नम्बर ७ ओलाङचुङगोला र याङमामा आलु उत्पादन हुन थालेको छ । यी क्षेत्रमा एक सिजनमा आलु र अर्को सिजनमा जौ, गहुँ, उवा, फापरलगायतको खेती हुन्छ ।

यो आलु खन्ने र थन्क्याउने सिजन हो । विदेशी पर्यटक आउने र उनीहरूले उपयोग गर्ने आलु पर्यटकीय क्षेत्रमा यो वर्ष खपत हुँदैन । कोरोना संक्रमणका कारण पर्यटक आउने सम्भावना छैन । कञ्चनजंघा हिमालको आधार शिविर क्षेत्रमा उत्पादित आलु स्थानीय आफैंले र पर्यटकका लागि प्रयोग गर्दै आएका थिए । कञ्चनजंघा क्षेत्रमा आउने १३ सय हाराहारीका विदेशी, उनीहरूसँगै आउने गाइड, भरिया, सबैको मुख्य तरकारी आलु खपत नभए पनि सदरमुकाम आसपासमा मूल्य अचाक्ली बढेको छ । विगतमा कात्तिक–मंसिरका बेला पर्ने मूल्य यसपाला भदौमै परेको स्थानीय बताउँछन् ।

उत्पादन घट्नु र लकडाउनका बेला बढी खपत हुनु मूल्यवृद्धिको मुख्य कारण भएको आलु पकेट क्षेत्रका पाशाङरिता शेर्पाको भनाइ छ । ‘गत वर्ष जस्तो राम्रो उत्पादन भएन, लकडाउनमा घरमा बस्नेले खाजा र तरकारीका रुपमा धेरै प्रयोग गरे,’ उनले भने, ‘पहिलो चरणको लकडाउन खुल्नासाथ घरमा गुम्सियौं भनेर हाम्रोमा उसिनेर खानेहरू पनि धेरै आउनुभयो ।’ लकडाउनको समयमा पनि आलु धेरै नै बिक्री भएको उनले बताए । जिल्लामा ४२ सय मिटर उचाइको खम्बाछेन, याङमासम्म आलुखेती हुने गरेको छ ।

अर्बौंको उत्पादन

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने गरेको छ । जिल्लाका प्रत्येक वडामा धेरथोर आलु फल्छ । अरु कुनै बाली नलाग्ने ओलाङचुङगोलामा पनि फल्ने एक मात्र बाली हो, आलु । हिमाली क्षेत्रको कञ्चनजंघा आधार शिविरदेखि खोला गड्तिरसम्मै आलु खेती गरिन्छ । तर आफ्नो उत्पादनले नपुगेर बाहिरी जिल्लाबाट पनि पर्याप्त मात्रामा आयात हुन्छ ।

जिल्लामा वार्षिक ५० हजार ट्रनसम्म आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । धेरै तापक्रम हुने औल, मध्यमखालको भाग र उच्च हिमाली क्षेत्र सबैतिर गरी वर्षभरि नै उत्पादन भइरहन्छ । अहिलेसम्मको आलुको बजार मूल्य प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम एक रुपैयाँ किलोसम्म छ । कात्तिक–मंसिरमा सबैभन्दा बढी महँगी हुन्छ ।

आलुको औसत मूल्य प्रतिकिलो ४० रुपैयाँ मात्रै राखे पनि १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ बराबर हुने वातावरण संरक्षण तथा विकास मञ्चका कृषिविज्ञ हरिश्चन्द्र चिलवालले बताए । तर औसत मूल्य ५० रुपैयाँभन्दा बढी छ । प्राविधिकहरूका अनुसार असिना पानी, हुरी बतास, रोगकीराको प्रकोपले उत्पादनमा घटबढ भए पनि धेरै अन्तर चाहिँ नहुने कृषि प्राविधिक सहायक एकनाथ भण्डारीको भनाइ छ । ‘कहिले हिमाली क्षेत्रमा बढ्छ तर कहिले तराईमा,’ उनले भने, ‘उत्पादन घटे मूल्य बढ्ने भएकाले उत्पादक किसानले निराश हुनुपर्ने अवस्था भने छैन ।’

आलुले जगायो आशा

व्यावसायिक उत्पादन गर्ने गरे पनि मूल्य नपाउँदा निराश बन्ने गरेका किसान यो पटक कोरोना कहरमा पनि आलुले आशालाग्दो कमाइ गरेकामा दंग छन् । विगतमा लागत पनि नउठेको भन्दै खेती घटाउँदै लगेका इलामका लेकाली क्षेत्रका किसानले यो पटक अपेक्षा गरेअनुसार मूल्य पाए । अन्य तरकारी बिक्री नभएर बारीमै सडेको अवस्थामा भित्री गाउँमा उत्पादित आलु खरिद गर्न व्यवसायी घरघर पुगे ।

यो पटक आलुले राम्रो मूल्य पाउनुपर्ने कारण पनि कोरोना सन्त्रास नै रह्यो । बर्खे आलु उत्पादन सुरु हुँदै गर्दा कोरोना महामारीबाट जोगिन भन्दै सरकारले लकडाउन गर्‍यो । भारतबाट आयात हुने आलु पनि रोकियो । जसका कारण यहाँको चिसो मौसममा फलेको गुणस्तरीय र विषादीरहित आलु तराईका बजारमा छ्यापछ्याप्ती पुग्ने मौका पायो ।

चैत ११ देखि लकडाउन सुरु भएपछि पनि उपभोग्य सामग्री निर्यात गर्ने गाडीलाई छुट दिइयो । सोही मौकामा अघिल्लो वर्ष मुस्किलले प्रतिमन ७/८ सय रुपैयाँमा बिक्री गर्नुपर्ने आलु सदरमुकामसहित तराईका बजारसम्म पुर्‍याउँदा किसानले १ हजार ५ सय रुपैयाँभन्दा धेरै मूल्य पाए ।

विगतमा यहाँ उत्पादित आलु भारतीय बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको थियो । तर ठूला बजारमा भारतबाटै आएको आलु महँगोमा उपभोक्ताले खरिद गर्नुपर्ने बाध्यता थियो । यो पटक गुणस्तरीय आलु किसानबाट सिधै उपभोक्तासम्म पुगेको हो । ‘छिमेकी जिल्लामा उत्पादित यति स्वादिलो आलु यसअघि उपभोग गर्न पाइएकै थिएन,’ झापा धुलाबारीका दीपक खनालले भने, ‘यसको स्वाद मीठो हुने र गुणस्तरीय भएको थाहा पाएपछि उपभोक्ताले खोजीखोजी प्रयोग गरे ।’ यो पटक नेपालकै उपभोक्ताले यहाँको आलुको स्वाद चाखेकाले आगामी वर्षमा पनि माग हुने किसानको विश्वास छ ।

अहिले एक मन आलु बेचेको पैसाले एक मन चामल आउने गरेको प्याङका रघु राई बताउँछन् । खुद्रा बजारमा प्रतिकिलो ७० रुपैयाँसम्ममा आलु बिक्री भइरहेको छ । व्यवसायी भने भारतीय आलु नआउँदा महँगिएको गुनासो गर्छन् । आलुको भाउ आए पनि उत्पादन कम भएकाले बजारको माग पूरा गर्न नसकिएको इलामका व्यापारी पासाङ शेर्पाको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट कसरी बच्‍ने ?

खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा मुख र नाकबाट निस्कने छिटाबाट एकअर्कामा सजिलै भाइरस सर्ने भएकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयको आग्रह
मकर श्रेष्ठ

काठमाडौँ — स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम हरेक दिन अपराह्न सवा ४ बजे कोराना अपडेट लिएर उपस्थित हुन्छन् । अपडेटको अन्तिममा भन्छन्– ‘आफू बचौं, आफ्नो परिवारलाई बचाऔं । सामाजिक सद्भाब कायम गरौं ।’

बिहीबारसम्म संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । ३ सय १७ जनाको कोरोनाकै कारण मृत्यु भइसक्यो । निको हुने दर सार्कका अन्य चार देशको भन्दा अझै बढी छ । मन्त्रालयका अनुसार बिहीबारसम्म निको हुने दर ७०.७ पुगेको छ ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ ५ सयभन्दा बढी भएपछि आफू, आफ्नो परिवारलाई बचाउन र सामाजिक सद्भाव कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन । प्रशासनले भदौ ४ देखि लगाएको निषेधाज्ञा पनि बिहीबारदेखि खुलाएको छ । बजार र पसल खुलेका छन् । सरकारी कार्यालयमा पनि सर्वसाधारणको उपस्थिति बाक्लिएको छ । यसले थप जोखिम बढेको मन्त्रालयले जनाएको छ । ‘हामीले निषेधाज्ञा एक साता लम्ब्याऔं भनेका थियौं तर खुला भयो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले भने, ‘अब आफैं सचेत भएर अरूलाई पनि बचाउनुको विकल्प छैन ।’

ज्येष्ठ नागरिक, दीर्घरोग लागेका बिरामीहरू र बालबालिकालाई यो रोगले बढी असर गर्ने भएकाले उनीहरूलाई सुरक्षित तवरले राख्न मन्त्रालयले आग्रह गरेको छ । ‘रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू संक्रमित भई ज्यान जाने जोखिममा पर्ने अवस्था छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘घरबाहिर जाँदा अनिवार्य रूपमा मास्क र व्यक्तिगत दूरी कायम गरेमा कोरोना संक्रमित हुनबाट जोगिन्छ । बेला–बेलामा साबुनपानीले हात मिचीमिची सफा गरौं । भीडभाड नगरौं र भीडभाडमा नजाऔं । यति मात्र गर्‍यौं भने हामीले कोरोना महामारी नियन्त्रण गर्न सक्छौं ।’ खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा मुख र नाकबाट निस्कने छिटाबाट एकअर्कामा सजिलै सर्ने भएकाले आफूलाई केही हुँदैन भन्ने भ्रम नपाल्नसमेत उनको आग्रह छ ।

कोरोना संक्रमण भएकाको अनुभवबाट पनि सुरक्षित रहन सिक्नुपर्ने उनले बताए । ‘कोरोना संक्रमण मुक्त हुनुभएकाले कोरोनाविरुद्घको जित होइन, म त मृत्युको मुखबाट बाँचेर आएको हो भन्नुहुन्छ, त्यस्तै संक्रमण निको भएर आउनुभएकाहरूले कोरोना संक्रमण भइसकेपछि आउने सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्न सकिँदैन भन्नुहुन्छ । त्यसैले आफैं सुरक्षित रहनुको विकल्प छैन,’ गौतमले भने ।

स्वास्थ्यकर्मीलाई १४ दिन काम, १४ क्वारेन्टाइन

पछिल्लो समय काठमाडौं उपत्यकामा समूह–समूहमा कोरोना संक्रमण देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार समूहमा संक्रमित हुनेमा प्रहरी बढी छ । त्यसपछि स्वास्थ्यकर्मी, कैदी संक्रमित भएका छन् ।

काठमाडौं बलम्बुको सशस्त्र प्रहरी अस्पतालका कोभिड कोर्डिनेटर डा. प्रवीन नेपालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित हुनबाट जोगाउन काम गर्ने र गराउने तरिका नै परिवर्तन गर्नुपर्ने बताए । कोरोनाको उपचार हुने एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई १४ दिन काम गरेपछि १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थाले संक्रमण हुनबाट जोगिएको बताए । ‘काम गरेर दैनिक घर जाँदा संक्रमण ल्याउने र लैजाने अवस्था हुने भयो,’ उनले भने, ‘त्यसैले १४ दिन काम गरेपछि १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं ।’ यो व्यवस्थाले अस्पतालमा संक्रमणको दर कम हुने उनले बताए । ‘अस्पतालमा काममा खटिँदा पनि सुरक्षाका पूर्ण सावधानी अपनाएका हुन्छौं,’ उनले भने । अस्पालमा हुने मिटिङ पनि खुला ठाउँमा गर्नुपर्ने उनको सुझाव छ ।

मुलुकमा पहिलो व्यक्तिमा संक्रमण देखिएदेखि नै उपचार सुरु गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शंकास्पद र संक्रमित गरी ६ सय जनाको उपचार भइसकेको छ । अस्पतालको सरसफाइदेखि उपचारमा २ सय ८७ जना संलग्न छन् । यसमध्ये ३ जनालाई मात्रै कोरोना देखिएको छ । ‘उपचारमा संलग्न कसैलाई पनि कोरोना देखिएको छैन । तीन जनामध्ये एक जना धादिङबाट फर्केका थिए भने दुई जनामा पनि समुदायबाट सरेको हो,’ अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले भने । कोभिड र ननकोभिड बिरामीको एकै ठाउँमा उपचार गर्दा स्वास्थ्यकर्मीसमेत संक्रमित हुने सम्भावना हुने उनले बताए ।

अस्पतालमा काम गर्नेलाई पर्याप्त सुरक्षा सावधानीको साधन उपलब्ध नगराए कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित हुने उनले बताए । ‘अस्पतालले पर्याप्त सुरक्षा सामग्री त उपलब्ध गराउनै पर्छ । यसका अलवा कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक पनि आफैं सचेत हुनुपर्छ । अस्पतालले उपलब्ध गराएको साधन सही तरिकाले नलगाउने हो भने पनि संक्रमण हुन सक्छ ।’ संक्रमित र कोरोनाको शंका लागेको व्यक्तिलाई आइसोलेसनमा राखेपछि सीमित स्वास्थ्यकर्मी र कर्मचारीलाई मात्रै त्यो ठाउँमा पठाउनुपर्ने उनले बताए । ‘संक्रमितसँग टेलिफोन गरेर के समस्या छ भनेर सोध्न सकिन्छ,’ उनले भने, ‘जो संक्रमितलाई भेट्न जान्छ, उसलाई पूर्ण रूपमा पीपीई लगाएर पठाउनुपर्छ ।’

एकपटक लगाएको पीपीई सिधै प्रयोगमा ल्याउन नहुने उनले बताए । ‘पीपीई लगाउँदा पनि सही तरिकाले लगाएको छ कि छैन निगरानी गर्नुपर्छ,’ राजभण्डारीले भने, ‘पीपीई खोलेपछि पनि नुहाएर मात्रै घर जाने व्यवस्था गरेका छौं ।’ पीपीई पनि संक्रमितलाई भेट्न जाने, सफाइमा खटिने, स्वाब निकाल्ने, आकस्मिक कक्षमा खटिनेलाई फरक खालको दिने गरेको उनले बताए । अस्पतालमा बिहान र बेलुका कम्तीमा दुई पटक सोडियम हाइपोक्लोराइट राखेर पुछ्नुपर्ने उनको सुझाव छ ।

ब्यारेक बसाइबाट छुटाएर समूहमा विभाजन

नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकालले सुरक्षा निकायमा भइरहेको संक्रमण रोक्न ब्यारेकको बस्ने, खाने र काम गर्ने तरिका नै बदल्नुपर्ने बताए । ब्यारेकको सामूहिक बसाइबाट हटाएर उनीहरूलाई समूह–समूहमा टेन्टमा राखेर भए पनि संक्रमण हुनबाट जोगाउनुपर्ने उनको सुझाव छ । ‘अहिले सामूहिक खाना खाने, साँघुरो ठाउँमा सबै जना सुत्ने र एउटै गाडीमा यात्रा गर्ने गरिरहेका छन्, यसकै कारण संक्रमण सिंगै ब्यारेकमा फैलिएको हो,’ ढकालले भने, ‘अब ब्यारेकमा साँघुरो गरी बस्ने अव्यवस्थित बसाइलाई सुधार गरेर समूह समूहमा राख्नु जरुरी छ ।’

एकै ठाउँमा बस्ने प्रहरीलाई पाटी प्यालेस वा खाली भवनमा समूह–समूह बनाएर फराकिलो ठाउँमा राख्नुपर्ने उनको सुझाव छ । ‘एउटा इकाईमा १ सय जना छन् भने एउटा पार्टी प्यालेसमा १० वटा समूह बनाएर राख्न सकिन्छ,’ उनले भने, ‘पार्टी प्यालेस वा फराकिलो ठाउँमा टेन्ट बनाउने र खाना एकै ठाउँमा पकाए पनि फरक फरक ठाउँमा बसेर खाना खुवाउने व्यवस्था गर्न सकिन्छ ।’

स्वास्थ्य सुरक्षाको सामग्री मास्क, पन्जा, पीपीईसमेत सरकारले नदिएपछि प्रहरीले मागेको भरमा चलाइरहेको उनले बताए । ‘अन्य मुलुकमा सुरक्षाकर्मी संक्रमित हुँदा पनि हाम्रोमा सावधानी अपनाइएन,’ उनले भने, ‘हाम्रोमा खासगरी प्रहरीभित्र सावधानीको शिक्षा दिन सकेनौं । अपराध अनुसन्धानदेखि सडकमा हुने सरकारको बिरोध र समर्थनको जुलुसमा पनि प्रहरी नै खटिनुपरेको छ ।

यसरी खटिँदा एक जनामा संक्रमण भयो भने ब्यारेकका सबै जना संक्रमित भए ।’ ब्यारेकमा एउटै भान्सा, धारा, शौचालय प्रयोग हुन्छ । सामूहिक बसाइकै कारण सुरक्षाकर्मीमा संक्रमण फैलिएको सशस्त्र प्रहरी अस्पतालका चिकित्सक नेपालले बताए । सुरक्षाकर्मीभित्र संक्रमण फैलिएकोले समुदायमा जानबाट रोक्न उसको परिवारबीचको सम्बन्धलाई सीमित गर्नुपर्ने, संक्रमण न्यून नभएसम्म सरुवा रोक्नुपर्ने, प्रहरी युनिटमा पर्याप्त स्वास्थ्य सुरक्षाका सामग्रीको प्रबन्ध गर्नुपर्ने उनको सुझाव छ । ‘यो बेलाको सरुवाले संक्रमण झन् बढाउँछ,’ उनले भने ।

सशस्त्र प्रहरी अस्पातलका कोरोना उपचारमा संलग्न कोर्डिनेटर डा. नेपालले सुरक्षा निकायको इकाईमा रहेका सुरक्षाकर्मीलाई समूह समूहमा विभाजन गरेर राख्नुपर्ने सुझाव दिए । यसरी समूहमा रहेका प्रहरीलाई निश्चित क्षेत्रको जिम्मेवारी दिन सकिने उनले बताए । ‘कुनै पनि सुरक्षा इकाईमा रहेका प्रहरीलाई समूह समूहमा विभाजन गरेर खाना खाँदा होस वा ड्युटीमा खटिँदा भेटसमेत गराउनु हुँदैन,’ उनले भने, ‘संक्रमण हुँदा पनि एउटा समूहमा मात्रै देखिन्छ । अर्को समूहलाई नहुन पनि सक्छ ।’

प्रकाशित : भाद्र २६, २०७७ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×