कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यम वर्गीय पनि मारमा

बालबच्चा र परिवारका सबै सदस्य सँगै हुँदा पारिवारिक रमाइलो छ । आम्दानी घट्न र आवश्यकता बढ्न थालेपछि परिवार चलाउन भने समस्या छ ।

तिलोत्तमा/बर्दिया — एक महिना लामो लकडाउनमा प्राय: सर्वसाधारण घरभित्र समेटिएका छन् । प्राय:को दैनिकी परिवारसित रमाइलो गर्दै बितिरहेको छ । यसको अवधि लम्बिँदै गएपछि विपन्नका साथै मध्यम वर्गीय परिवार पनि मर्कामा पर्न थालेका छन् । घरमा बस्दा खाद्यान्न खपत बढेको छ ।

मध्यम वर्गीय पनि मारमा

धेरै पटक खाना पकाउनुपर्छ । फुर्सद भएकाले मीठा परिकारमा जोड छ । यसले गर्दा भान्साको खर्च बढेको छ । आवश्यकताअनुसार उपभोग्य सामग्रीको जोहो गर्न सहज छैन । जोखिम मोलेर खरिद गर्नुपर्छ । कामकाज ठप्प भएपछि धेरै खर्चविहीन हुन थालेका छन् ।

बालबच्चा र परिवारका सबै सदस्य सँगसँगै हुँदा पारिवारिक रमाइलो छ । आम्दानी घट्न र आवश्यकता बढ्न थालेपछि परिवार चलाउन भने समस्या परेको छ । बजार बन्द भएकाले दिनदिनै एउटै किसिमको परिकार र वातावरणले सहज माहोल नभएको बुटवल उपमहानगरपालिका–८ की गृहिणी शर्मिला गुरुङले बताइन् । ‘बच्चाहरू न पढ्न मान्छन्, न आराम गर्न,’ उनले भनिन्, ‘केही कुरामा पनि ध्यान केन्द्रित गराउन सकिएको छैन ।’ लामो समय घरमा बस्नुपर्दा आत्तिएको महसुस गर्ने र पहिलेका क्रियाकलापबाट टाढा भइरहेको उनको भनाइ छ । लामो अवधिको लकडाउनले सर्वसाधारणको दैनिक जीवन असहज बनिरहेको छ । स्थानीय सरकारले विपन्नलाई राहत बाँडे पनि मध्यम वर्गीय परिवारका समस्या सम्बोधन नगर्दा अप्ठ्यारोमा पर्न थालेका छन् ।

गाई र भैंसी पालेर दूध बिक्री गर्ने र व्यावसायिक तरकारी खेती गरेका किसान अहिले मर्कामा छन् । दूध र तरकारी बिक्री गरेर खर्च चलाउँदै आएका उनीहरू उत्पादन बिक्री नहुँदा अप्ठ्यारोमा परेको गुनासो गर्छन् । दैनिक १ सय ५० लिटर दूध बिक्री गर्दै आएका तिलोत्तमा नगरपालिकाका गणेश पोखरेलले नबिकेपछि समस्यामा परेको सुनाए । ‘पनिर बनाएर राखे पनि धेरै दिन टिक्दैन,’ उनले भने, ‘दूध लिन घरमै आउने ग्राहक पनि छुटे ।’

धेरै दूध भएकाले बुटवलस्थित एउटा डेरी कम्पनीले संकलन गथ्र्यो । अहिले माग नभएकाले बिक्री हुन छाडेको उनले बताए । अहिले दानालगायत सामग्री पनि पर्याप्त नपाइएको उनले गुनासो गरे । अधिकांश समय बस्तुभाउकै स्याहारमा बिताउने उनले लगानी डुब्ने चिन्ता व्यक्त गरे ।

एउटा छापाखानामा काम गरेर पाँच जनाको परिवार धान्दै आएकी तिलोत्तमा नगरपालिका–६ की लक्ष्मी घर्ती अहिले फुर्सदिली छन् । लकडाउन सुरु भएदेखि घरमै बसिरहेकी छन् । कमाइ गर्ने बाटो बन्द भएपछि आगामी दिन कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । ‘छोराछोरी पढाउनेदेखि कापी किताब किन्न, घर खर्च चलाउन पनि समस्या हुन थाल्यो,’ उनले भनिन्, ‘राहत त केही बेरका लागि हो, जिन्दगी चलाउन त एक दिन काम रोकिए पनि हम्मे पर्छ ।’ लकडाउन गरेर मात्रै समाधान नहुने उनको भनाइ छ । ‘सामान्य नागरिकले नबोली बस्दा ठीकै हुन्छ । तर कमाउन नपाएपछि सधैंभरि सरकारले पाल्छ र ?’ उनले प्रश्न गरिन् । घर बस्न थालेपछि खाने कुराको खपत बढेको र खर्च सकिँदै जान थालेपछि खल्लो लाग्न थालेको उनले सुनाइन् ।

अहिले विद्यालयमा अध्यापन रोकिएको छ । केही कलेज तथा विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । सबै स्थानका विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकाले यस्तो प्रणालीबाट शिक्षा ग्रहणबाट वञ्चित भएका छन् । दैनिक पठनपाठन रोकिँदा परीक्षा दिनेबाहेकका विद्यार्थीले घरमा आफैं नपढ्ने र त्यसले मानसिकतामै पढाइप्रतिको लगाव घटाउने एम्स कलेजका प्राचार्य दीपक ढकालले बताए ।

‘यो लकडाउनले विद्यार्थी र शिक्षकबीचको दूरी बढाएको पाएका छौं,’ उनले भने, ‘दैनिक उपस्थित भएर पढाउँदा, पढ्दा र शिक्षा लिँदा जति सहज हुन्थ्यो, अनलाइनबाट पढाउँदा त्यो सहज नहुने देखिन्छ ।’ अहिले धेरै अध्ययनशील र राम्रो भविष्यको कल्पना गरेका विद्यार्थीमा लकडाउनले ठूलो सन्त्रास पैदा गरेको ढकालले बताए ।

विद्यार्थीसँग कुरा गर्दा होस् वा अनलाइन कक्षा अध्यापन गर्दा उनीहरूको ध्यान पढाएका विषयमा भन्दा लकडाउन कहिले खुल्छ होला, परीक्षा मिति, कोर्स सकिने नसकिने अन्योलले बढी खिचिरहेको आफूले अनुभव गरेको प्राचार्य ढकालले सुनाए । ग्रामीण क्षेत्रका विद्यार्थी अहिले घरमै भएकाले अनलाइन कक्षामा सहभागी हुन नसक्दा र सहरमै पनि इन्टरनेट स्लो हुँदा गणितीय विषयमा भिडियो कल गर्न नमिलेको ढकालले जनाए ।

शिक्षाको क्षेत्रमा लकडाउनको दूरगामी असरसमेत देखिने उनले बताए । शिक्षक र विद्यार्थीको नियमित तयारी छुटेकाले अब लकडाउन खुलेपछिका दिनमा कक्षामा जाने शिक्षक र पढ्ने विद्यार्थीले पुराना सबै विषयवस्तु पल्टाएर हेर्नुपर्ने अवस्था आउने उनको बुझाइ छ ।

बालबच्चा र परिवारका सबै सदस्य सँगै हुँदा पारिवारिक रमाइलो रहेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । तर आम्दानी घट्न र आवश्यकता बढ्न थालेपछि परिवार चलाउन भने समस्या परेको उनको भनाइ छ । उद्योग व्यवसाय बन्द गरेर बस्नुपरेकाले यसले दीर्घकालीन असर पार्ने बताए । ‘आर्थिक क्षेत्र चलायमान नभएपछि यसले अर्थतन्त्र उठ्न समय लाग्ने निश्चित छ,’ उनले भने, ‘यसैमा सरकारका अनगन्ती निर्णयले समस्या बढाउँदै लाने देखिन्छ ।’

अहिले नयाँ बजेट आउने समय भए पनि कसरी सुरक्षित हुने भन्ने ध्याउन्नले सबै काम ठप्प भएको श्रेष्ठले जनाए । उद्योग व्यवसायी मारमा परेका बेला ती उद्योगमा काम गर्ने मजदुरलाई समेत धेरै समस्या परेको र उनीहरूको समस्या समाधानमा मालिकले खेल्नुपर्ने भूमिका चाहेर पनि निर्वाह गर्न नसकेको उनले बताए ।

किसान मर्कामा

गहुँ काटेर खेतमै छाडेका छन् । लकडाउनका कारण इन्धन अभाव हुँदा बर्दियाको बाँसगढी नगरपालिकास्थित मोतीपुरका सन्तोष चौधरीले थ्रेसर चलाउन पाएका छैनन् । गहुँ बिक्री गरेर नुन, तेल, मसला, चिनी, साबुन, सर्फको जोहो गर्नु छ । खाद्यान्न खरिद गर्ने उद्योग पनि बन्द छन् । घरमा भएको नगद सकियो ।

‘खाद्यान्न छ । तर दिनदिनै खाँचो पर्ने वस्तु सकियो,’ उनले भने, ‘गहुँ नबेची किन्ने उपाय छैन ।’ यस्तै अवस्था लम्बिए नुनतेलबिनाको तरकारी खानुपर्ने उनले बताए । स्थानीय प्रशासनले सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत अत्यावश्यक सेवाबाहेकलाई इन्धन नदिन व्यवसायीलाई निर्देशन दिएको छ ।

बढैयाताल गाउँपालिका–४ की संगीता चौधरीले मुस्किलले थ्रेसर पाएपछि गहुँ स्याहारिन् । अहिले त्यो गहुँ बेचेर उपभोग्य वस्तु किन्न हतार छ । एक सातासम्म बजार खुल्ने आसमा बसिन् । पछिल्लो पल्ट वैशाख १५ गतेसम्म लकडाउन थपिएपछि समस्यामा परिन् । किसानबाट गहुँ खरिद गर्ने पसल बन्द छन् । यसले ग्रामीण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन् । विपन्न परिवारले गाउँपालिकाबाट चामलसँगै आलु, नुन र तेल राहत पाएका छन् । मध्यम वर्गीय परिवारमा उपभोग्य वस्तु अभाव बढ्न थालेको छ ।

‘गहुँ पनि घरमै राख्नुपरेको छ । दैनिक प्रयोग हुने सामान किन्न सकिएको छैन,’ उनले भनिन्, ‘लामो समयको बन्दले सताइसक्यो । अभाव बढ्न थालेको छ ।’ गाउँमा किसानसँग खाद्यान्न छ । तर बिक्री गर्न नपाएपछि नगद अभाव भएको छ । जसले गर्दा खाँचो परेको वस्तु किन्न पाएका छैनन् । ‘चाहिने सामान किन्न गहुँ बिक्री गर्न खोजेका छौं,’ स्थानीय रामप्रसाद चौधरीले भने, ‘बजारमा खाद्यान्न महँगो छ । गहुँ सस्तो छ ।’

लकडाउनका कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए । किसानहरूको उत्पादन सहज रूपमा बिक्री गर्न स्थानीय प्रशासनसँग समन्वय गरिरहेको उनले जनाए । ‘किसानलाई गहुँ थ्रेसर गर्न इन्धन दिन र तयार भइसकेको गहुँ बिक्रीका लागि प्रशासनसँग छलफल गरेका छौं,’ उनले भने, ‘तर बजार बन्द गरिएका कारण बिक्रीमा समस्या भइरहेको छ ।’

प्रकाशित : वैशाख १४, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?