कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीको १२ करोड हिनामिना : ४ जना पुर्पक्षमा, ४९ लाई वारेन्ट

प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा ५० जनाभन्दा बढीसँग बयान लिएको थियो
मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु बचत तथा ऋण सहकारीको बचत हिनामिनाको आरोपमा चार जनालाई पुर्पक्षमा पठाइएको छ । सहकारीका प्रबन्धक अविनाश पाण्डे, कर्मचारी श्रवणकुमार तेली, राकेशकुमार ठाकुर र राजेशकुमार कान्दुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । न्यायाधीश कपिलमणि गौतमको इजलासले पुर्पक्षमा राख्न बुधबार आदेश दिएको हो ।

अदालतले चार दिनसम्म बयान लिएको थियो । प्रहरीले उनीहरूविरुद्ध रकम अपचलन गरी ठगेको तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो । करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन तयार गरी अदालतमा मुद्दा दायर गरेको थियो ।


उनीहरू मुख्य आरोपी भएको भन्दै प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । ११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैयाँ ठगी भएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले मुद्दामा ५३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।


अदालतले बाँकी आरोपित ४९ जनाविरुद्ध वारेन्ट जारी गरेको छ । अन्य आरोपीलाई ७० दिनभित्र अदालतमा हाजिर गराउनुपर्छ । त्यसपछि अदालतले उनीहरूका हकमा आदेश गर्ने अधिवक्ता चक्रबहादुर क्षत्रीले बताए । आरोपीमध्ये दुई जना विदेशमा छन् ।


सहकारीका सदस्य मन्दीप सिंहले संस्थाका गतिविधिमाथि शंका लागेपछि जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीमा जाहेरी दर्तालगत्तै शंकास्पद मानिएकालाई पक्राउ गरिएको डीएसपी सुनील मल्लले जनाए ।


प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा ५० जनाभन्दा बढीसँग बयान लिएको थियो । त्यस्तै सहकारी विज्ञ, चार्टर्ड एकाउन्टेन्ट र सफ्टवेयर इन्जिनियरसँग सहयोग लिएको थियो । विज्ञ, प्रविधि र जनशक्तिको कमीका कारण प्रहरीलाई अनुसन्धान गर्न निकै समस्या भएको थियो । तर एक चार्टर्ड एकाउन्टेन्ट संस्थाको सहयोगमा सहकारीका अभिलेख निरीक्षण गरेर ठगी रकम पत्ता लगाइएको हो ।


प्रहरीले सहकारीका पदाधिकारी, लेखा समिति सदस्य, कर्मचारी, लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्टलाई प्रतिवादी बनाएको छ । ०६७ देखि समस्या देखिएकाले त्यसयता सहकारीमा रहेकालाई अभियोग लगाइएको छ । ‘सूक्ष्म अनुसन्धान गरेर अभियोग लगाउँदा राम्रो हुन्थ्यो,’ एक अधिवक्ताले भने, ‘सबैलाई समान भागीदार बनाउनु राम्रो होइन ।’ पदाधिकारी भएकै भरमा अभियोग लगाइएको छ । एक–दुई महिना काम गरेकालाई पनि उस्तै अभियोग छ ।


हिनामिनाबारे ६ महिनाअघि पत्ता लागेको थियो । कर्मचारीसँग सोधपुछ गर्दै हिसाब मिलान गर्न खोजिएको थियो । कतिपयले हिसाब मिलान गरे । सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले हिसाब मिलान गर्न अटेर गरेपछि घटना बाहिरियो । उनले सहकारी डुबाउँछु भन्दै घटना आफैं बाहिर ल्याएका थिए । त्यसपछि बचतकर्ता रकम फिर्ता लिनका लागि सहकारी पुगे । थामी नसक्नु भीड लाग्यो । सहकारीले तरलता अभाव जनाउँदै रकम दिन नसक्ने अवस्थामा पुग्यो ।


सहकारी आफैं पत्रकार सम्मेलन गरेर हिनामिनाको कुरा बाहिर ल्याएको हो । अहिले सहकारी बन्द छ । ०५२ मा स्थापना भएको सहकारी लेखाको नियमअनुसार खातापाता व्यवस्थित थिएन । गत फागुनमा बैंकको कार्यकारी प्रमुखमा मुकुन्द वर्मा नियुक्त भएपछि सहकारी स्रेस्तामा कडाइ गर्न थाले । कडा अनुगमन र निरीक्षणपछि कर्मचारीका गलत काम बाहिर आएको थियो ।


यो पनि पढ्नुहोस्ः

सहकारीको ११ करोड हिनामिना

प्रकाशित : माघ १६, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?