कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सहकारीको ११ करोड हिनामिना

मनोज पौडेल

(कपिलवस्तु) — कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा ११ करोड रुपैयाँभन्दा बढी हिनामिना गरिएको छ । हिनामिनाको खबर बाहिरिएसँगै सहकारीले सूचना प्रकाशित गरी कारोबार बन्द गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बचत र कर्जाको गरी ११ करोड रुपैयाँभन्दा बढी अपचलन भएको बताए । 

बचतको ८ करोड र कर्जातर्फ ३ करोड रुपैयाँको कुनै अभिलेख संस्थामा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।


चार महिनाअघि नै रकम हिनामिना भएको खुलेको थियो । पदाधिकारीले कर्मचारीसँग सोधपुछ गरेर हिसाब मिलान गर्ने प्रयास गरेका थिए । कतिपयले हिसाब मिलान गरिसकेका छन् । कार्यालय सहायक राजेशकुमार कान्दुले हिसाब मिलान गर्न अटेर गरेपछि घटना बाहिरिएको हो । सहकारी डुबाउँछु भन्दै कान्दुले घटना सार्वजनिक गरेका थिए । त्यसपछि रकम फिर्ता लिन बचतकर्ता सहकारी पुगेका थिए । कार्यालयमा थामी नसक्नु भीड लाग्यो । सहकारीले तरलता अभाव जनाउँदै रकम दिन नसक्ने जानकारी गरायो । सहकारीले नै पत्रकार सम्मेलन गरेर हिनामिनाको जानकारी गराएको थियो ।


०५२ मा स्थापना भएको सहकारीको लेखाको नियमअनुसार खातापाता व्यवस्थित थिएन । गत फागुनमा यसको कार्यकारी प्रमुखमा बर्मा नियुक्त भएपछि सहकारीका स्रेस्तामा कडाइ गर्न थाले ।


कडा अनुगमन र निरीक्षणपछि कर्मचारीले रकम हिनामिना गरिरहेको पत्ता लागेको सहकारीका अध्यक्ष रामेन्द्रसिंह रावलले बताए । कार्यालय सहायक कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको प्रमाण फेला परेको कार्यकारी अधिकृत बर्माले बताए ।


०७४ असार २१ देखि ०७५ माघ २५ सम्म ४ ठेलीको हिसाब गर्दा कान्दुले उक्त रकम हिनामिना गरेको देखिएको छ । ‘अन्य रकम संकलन गरेका ठेली र रजिस्ट्रर गायब पारिएका छन्,’ बर्माले भने, ‘त्यसको खोजी गरिरहेका छौं ।’ कान्दुले हिनामिना गरेको रकम बढ्न सक्ने सहकारीले जनाएको छ । गत आर्थिक वर्षसम्म कर्मचारीले संकलन र लगानी गर्ने ऋण रकमको बासलात र लेजरमा उठाउने गर्थे । कारोबारको भौचर तयार गर्थेनन् । लगानीकर्ताको खातामा रकम चढाइन्थ्यो । लेजरमा हिनामिना गरिएको रकम उल्लेख गरिएको थिएन । ‘वासलात र लेजर मिलाएर मात्र कारोबार गरिन्थ्यो,’ अधिकृत बर्माले भने, ‘त्यसकारण ठगी पत्ता लगाउन गाह्रो भयो ।’


०७१/७२ मा सहकारीमा नयाँ सफ्टवयेरबाट काम थालियो । पुराना काजगपत्रको अभिलेख नभएकाले अहिले समस्या परेको अध्यक्ष रावलले बताए । गत आवमा संकलन गरिएका र सहकारीमा जम्मा भएको रकममा ६३ लाख ६६ हजारभन्दा बढी फरक परेको छ । अन्य रकम ४ करोड बढीको फरक भेटिएको बर्माले बताए । सहकारीका बचत संकलक श्रवणकुमार गुप्ता (तेली) ले २७ लाख ६९ हजार २ सय हिनामिना गरेको आरोप लागेको छ । बचत संकलक सुन्दरकेशव गुप्ताले १९ लाख ५ हजार र कमलेश बारीले ४ लाख ८२ हजार हिनामिनामा गरेको सहकारीले आरोप लगाएको छ ।


श्रवणले १० लाख ११ हजार नगद जम्मा गरेको र बाँकी रकम १७ लाख ५० हजार ऋण देखाएर हिसाब मिलान गरेका छन् । संकलक सुन्दरकेशव गुप्ताले ६ लाख ५५ हजार नगद दाखिला गरेका छन् । १२ लाख ५० हजार ऋण देखाएर हिसाब मिलान गरिएको सहकारीको स्रेस्तामा उल्लेख छ । सहकारीमा निक्षेप संकलन २२/२३ करोड रुपैयाँ छ । ‘सहकारीसँग नगद र अन्य सम्पत्ति गरेर २५/२६ करोड रुपैयाँ पुँजी रहेको देखिन्छ,’ अध्यक्ष रावलले भने, ‘तर, कति हिनामिना भयो यकिन गर्न समय लाग्छ ।’ यसैबीच रकम हिनामिनाका मुख्य आरोपी कान्दु पक्राउ परेका छन् । सहकारीका सेयर सदस्यले बुधबार जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई तौलिहवा बजारबाट पक्राउ गरेको हो । अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।


प्रकाशित : मंसिर १४, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?