कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जोगबनी ठप्प बनेपछि रि–रुटबाट कन्टेनर

कच्चा पदार्थ आयात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय: उद्योगले उत्पादन कटौती गरेका छन् 
विनोद भण्डारी

(विराटनगर) — भारतको अररिया जिल्ला प्रशासनले मिरगन्ज पुल मर्मत गर्ने भन्दै ढुवानीका साधन चल्न रोक लगाएपछि जोगबनी नाकाबाट सातादेखि आयात–निर्यात ठप्प छ । तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु बोकेर आएका कन्टेनरलाई रि–रुट हुँदै भित्रिन अनुमति दिइएको छ ।

जोगबनी ठप्प बनेपछि रि–रुटबाट कन्टेनर

तर रि–रुटमार्फत भारततर्फको आयात–निर्यात खुला गरिएको छैन । आयात–निर्यात ठप्प हुँदा विराटनर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ ।


कच्चा पदार्थ आयात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका प्राय: उद्योगले उत्पादन कटौती गरेका छन् । त्यसैगरी यहाँका जुट उद्योगले पहिलो पटक रेलमार्गवाट तयारी वस्तु निकासी गरेका छन् । मिरगन्ज पुलबाट साना सवारी साधनबाहेक अन्य सवारी र ढुवानीका साधन चल्न पाएका छैनन् । भारतीय प्रशासनले तेस्रो मुलुकबाट सामान बोकेर नेपाल आएका कन्टेनरलाई भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट रि–रुट हुँदै विराटनगर भन्सार जान अनुमति दिएको छ । त्यसैअनुरूप भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट ४९ वटा कन्टेनर भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले जानकारी दिए ।


उक्त नाकाबाट सामान भित्र्याउनेबारे नेपाल–भारतका भन्सार अधिकारीबीच सहमति भएपछि एस्कर्टिङ गरी कन्टेनर ल्याइएको हो । भन्टाबारी नाकाबाट निकासी र भारतबाट हुने पैठारीलाई अनुमति छैन । यहाँबाट सामान आयात–निर्यात गर्दा करिब सय किलोमिटरको अतिरिक्त ढुवानी खर्च बढ्ने र प्रक्रिया पनि झन्झटिलो हुने व्यवसायीको गुनासो छ । आयात–निर्यात नहुँदा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरका निकासीजन्य तयारी वस्तु उद्योगका गोदाममै थन्किएका छन् । त्यसभन्दा पनि बढी मूल्यको कच्चा पदार्थ भारतीय सडकमै रोकिएकाले उद्योग सञ्चालनका लागि समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए । औद्योगिक क्षेत्रमा सानाठूला गरी पाँच सयभन्दा बढी उद्योग छन् ।

जुट उद्योगले भने आफ्नो उत्पादन रेलमार्गबाट निकासी गरेको जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले बताए । रघुपति जुट मिल र अरिहन्त मल्टिफाइबरले एक सातामा ८ सय टन जुटका तयारी वस्तु रेलमार्ग हुँदै भारत निकासी गरेका छन् । जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर उत्पादन गरेका तयारी वस्तुमध्ये ९५ प्रतिशत भारत निर्यात गर्दै आएका छन् ।


भारतको अररिया जिल्ला प्रशासनले पुस २४ देखि माघ ६ सम्म पुल मर्मत गर्ने सूचना सार्वजनिक गरेको थियो । यसअघि पुस ३ देखि ११ गते मर्मत गर्ने भन्दै ढुवानीका साधन गुड्न दिइएको थिएन । जोगबनी नाकाबाट दैनिक सरदर साढे दुई सय मालवाहक साधन भित्रिन्छन् । ०७४ साउन अन्तिम साताको बाढीले पुलको पूर्वतिरको पिलर धस्सिएको थियो । त्यस बेला साढे दुई महिना सवारी आवागमन ठप्प बनेको थियो । त्यति बेला पनि भारतको भीमनगर हुँदै सुनसरीको भन्टाबारी नाकाबाट मालसामान ल्याइएको थियो ।

प्रकाशित : माघ ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?