कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्षले छोएन बर्दियालाई

(ठाकुरद्वारा) र (बर्दिया) — नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना बाँकी छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । त्यसवर्ष २० लाख बिदेशी पर्यटक भित्र्याउने लक्ष्य छ । 

भ्रमण वर्षले छोएन बर्दियालाई

काठमाडौंबाट टाढा बर्दिया निकुञ्जलगायत पश्चिम नेपालका पर्यटकीय गन्तव्यलाई भ्रमण वर्षले छोएको छैन । यहाँका होटल सुनसान छन् । सरकारी लक्ष्यबारे यहाँ चासो छैन । गन्तव्यको प्रचार र यहाँ पर्यटक आकर्षित गर्नेबारे सरकारले चासो दिएको छैन । स्थानीय सरकार र पर्यटन सरोकारलाई जागरुक तुल्याउने कुनै कार्यक्रम छैनन् । यस्तो उपेक्षाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अपुरो हुने जिल्लाका पर्यटन व्यवसायीले बताए । यहाँ पर्यटक बढाउन धेरै लगानी गर्नु नपर्ने उनीहरूको भनाइ छ । परम्परादेखि भोग्दै आएका केही विषयमा सुधार गरेर सहुलियत घोषणा गर्ने पाहुना ओइरिने उनीहरू बताउँछन् । बर्दिया निकुञ्ज नबिथोलिएको गन्तव्य भएकाले यहाँ पर्यटक आउन चाहन्छन् । तर, उनीहरूलाई भ्रमण प्याकेजमा सहुलियत नभएकाले यात्रा महँगो हुन्छ । त्यसैले चितवन, पोखरा घुमेर फर्किने गरेका छन् ।


‘सरकारले ठूलो काम गर्न पर्दैन । विदेशीसित पनि नेपाली नागरिकसरह हवाई भाडा लिने निर्णय गर्नुपर्छ,’ ठाकुरद्वारास्थित पर्यटन व्यवसायी धर्म घिमिरेले भने, ‘पर्यटकबाट नेपालीलाई भन्दा दोब्बर/तेब्बर भाडा असुल्ने गरिएको छ । यसले आर्थिक भार बढ्छ ।’ काठमाडौंबाट नेपालगन्जसम्म जहाजमा आउनुपर्छ । त्यहाँबाट ठाकुरद्वारासम्म आउन गाडी रिजर्भ गर्नुपर्छ । होटल र भ्रमण प्याकेजको छुट्टै खर्च लाग्छ । ‘महँगो पर्ने भएकाले पर्यटक चितवन, पोखरा घुमेर फर्किन्छन्,’ उनले भने, ‘खर्च धेरै भएकाले ट्राभल एजेन्ट पनि बर्दिया सिफारिस गर्न हिच्किचाउँछन् ।’


काठमाडौंबाट नेपालगन्जसम्म विदेशीलाई न्यूनतम १० हजार रुपैयाँसम्म हवाई भाडा तय गरिएको छ । समान्य अवस्थामा नेपालीले चार/पाँच हजार रुपैयाँ प्रतिव्यक्ति तिर्छन् । नेपालगन्जबाट ठाकुरद्वारा आउँदा लागि गाडी रिजर्भ गरेको थप ५ हजार रुपैयाँ लाग्छ । ‘पर्यटकलाई काठमाडौंबाट पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्र पुर्‍याउन सरकारले तत्काल हवाई भाडा घटाउन आवश्यक छ । सस्तो भाडा भएमा पर्यटक ओइरिन्छन्,’ उनले भने, ‘तर, चिन्ता कसले गर्ने ।’ सरकारले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटन बोर्डको कार्यालयमा सचिवालय स्थापना गरेको छ । सन् २०१८ मा मुलुकमा १० लाख पर्यटक आएका थिए । आगामी वर्ष संख्या दोब्बर तुल्याउने घोषणा गरिएको छ । यहाँका व्यवसायीका अनुसार पर्यटन बोर्डले आफ्ना प्रचार सामग्रीमा समेत बर्दिया निकुञ्जलाई प्राथमिकत दिएको छैन ।


‘भ्रमण वर्षमा घुम्न आउनेलाई सरकारले के स्किम दिने ? त्यसको छिनोफानो त गर्नुपर्‍यो । विशेष अवस्थामा घुम्न आउने पर्यटकलाई सरकारले केही न केही सहुलियत दिनैपर्छ,’ व्यवसायी घिमिरेले भने, ‘होइन भने नेपालले मनाउने भ्रमण वर्षमा विदेशीहरू घुम्न किन आउँछन् र ?’ बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाहेकका स्थानलाई पर्यटकीय गन्तव्यमा राखिएको छैन ।


भ्रमण वर्षको सरकारी तयारीबारे पर्यटन विकास समितिका पदाधिकारीलाई जानकारी छैन । बर्दिया निकुञ्जबाहेक विभिन्न सामुदायिक वन, होमस्टे, धार्मिकस्थल, विभिन्न समुदायका संस्कृति जिल्लामा छन् । बर्दिया निकुञ्ज बाघ अवलोकनका लागि प्रख्यात छ । दुर्लभ एकसिंगे गैंडा, हात्तीलगायत वन्यजन्तु सजिलै अवलोकन गर्न सकिन्छ । यसबाहेक चिसापानी पुल, कर्णालीमा डल्फिन अवलोकन, बढैया ताल, ठाकुरद्वारास्थित डल्ला होमस्टे, गुलरिया नगरपालिका खैरापुरमा संक्षण गरिएका कृष्णसार, बाँसगढीको केदेश्वर धामलगायतका पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा राखिएको छैन ।


यहाँस्थित पर्या–पर्यटन व्यवसायी मञ्चका अध्यक्ष मोहन चौधरीले लुम्बनी पश्चिमका पर्यटकीय क्षेत्रलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘सहजै बाघ हेर्न पाइने बर्दिया निकुञ्जको पनि प्रचार हुन सकेको छैन । अन्य पर्यटकीय क्षेत्रको के कुरा गर्नु,’ उनले भने, ‘अहिलेसम्म नबिथोलिएका यस्ता क्षेत्रको प्रचार–प्रचार हुन आवश्यक छ ।’ भ्रमण वर्षले पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका सघाउने विश्वास गरे । ‘काठमाडौं र आसपासका क्षेत्रलाई देखाएर मात्रै भ्रमण वर्ष सफल हुन सक्दैन । त्यसका लागि सरकारले सञ्चारमाध्यमबाट प्रचाप्र–सारमा जुट्नुपर्छ,’ उनले भने, ‘पश्चिम क्षेत्रका गन्तव्यको प्रचारबिना भ्रमण वर्ष सफल हुन सक्दैन ।’ उनका अनुसार बर्दियाको ठाकुरद्वारामा मात्र अहिले २६ वटा सुविधाजनक रिसोर्ट सञ्चालनमा छन् । केही निर्माणको चरणमा छन् । यहाँ अहिले एक दिनमा साढे ५ सय पहुना राख्न सकिन्छ ।


समुदायमा होमस्टे पनि छन् । बर्दिया निकुञ्जमा ८० भन्दा बढी पाटे बाघ, एक सय बढी हात्ती, बाह्रसिंगे, गोही रहेका छन् । चित्तल र जरायो प्रजातिका वन्यजन्तुको गणना गर्न असम्भव छ । पर्यटकहरू आउने क्रम बढेसँगै आदिबासी थारू समुदायको परम्परागत नाच र परिकारले व्यावसायिकता पाउँदै गएका छन् । बर्दिया निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । ठाकुरद्वारा घुमघाम गर्नका लागि विदेशीहरू काठमाडौंबाट हवाई माध्यमबाट नेपालगन्ज एयरपोर्ट पुग्छन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?