म्यादअघि नै अस्पताल भवन हस्तान्तरण

विमल खतिवडा, कृष्णप्रसाद गौतम

सुर्खेत — ठेक्का सम्झौता भएका सार्वजनिक भवन, पुल, सडकलगायत आयोजना लामो समयदेखि लथालिंग बन्दै आएका छन् । अधिकांशमा निर्माण व्यवसायीले पेस्की रकम बुझेर ठेक्का अलपत्र पार्ने, डिजाइन नमिलेर समस्या आउने, निर्माणस्थल ‘क्लियर’ नै नहुनाले निर्माणले गति लिएको छैन ।

ZenTravel

यो भीडमा केही निर्माण सम्झौता अगावै सम्पन्न भएका छन् । यस्तै काम भएको छ सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको भवन निर्माणमा ।

भवन निर्माणको ठेक्का ०७३ माघ १२ मा भएको थियो । ०७६ माघ १८ गते निर्माण सक्ने गरी सम्झौता भएको उक्त भवनको ठेक्का आशिष एन्ड कन्टेक जेभीले लिएको हो । समयभन्दा ६ महिनाअघि नै भवन निर्माण गरेर आइतबार सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतलाई हस्तान्तरण गरिएको छ ।

‘अहिले निर्माण व्यवसायीलाई ठेक्का लिएर अलपत्र पार्‍यो भन्ने आरोप लाग्ने गरेको छ,’ आशिष निर्माण सेवाका प्रोजेक्ट म्यानेजर ईश्वर आर्चायले भने, ‘सबैको साथ सहयोगमा हामीले ठेक्का लिएको भवन समयअघि नै निर्माण गरेर हस्तान्तरण गरेका छौं ।’ उनका अनुसार तीन महिना मेसिन र जनशक्ति जम्मा गर्न समय खर्चिएको हो । भवन साढे २ बिघा क्षेत्रफलमा बनेको छ । निर्माण पूरा भए पनि अस्पताल सञ्चालनमा आउन समय लाग्ने भएको छ । अहिले निर्माणको काम मात्र पूरा भएको छ । उपकरणहरू जडान भएको छैन ।

‘सानो आयोजना निर्माण समयअघि नै सकेर हस्तान्तरण हुन्थ्यो,’ संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर नरेन्द्र बुढाले भने, ‘ठूलो लगानीको आयोजना समयअघि नै सकिएको सायद यो पहिलो हो ।’ उनले निर्माण व्यवसायीले ढिलाइ गरेर आयोजना लथालिंग बनिरहेको समयमा चाँडै निर्माण सकिएको कुराले राम्रो सन्देश जाने बताए । पहिला क्षेत्रीय अस्पताल भए पनि प्रदेश सरकारले यसलाई प्रदेश अस्पतालका रूपमा स्तरोन्नति गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख जगदीश लामिछानेका अनुसार सम्झौताअनुसार नै भवन बनेको छ ।

‘यसरी समयअघि नै निर्माण सक्ने व्यवसायीले पुरस्कार पाउनेछन्, जुन कुरा ठेक्का सम्झौता गर्ने समयमै उल्लेख गरिएको हुन्छ,’ उनले भने । उनका अनुसार निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा बढी काम गरेका छन् । ‘भवन प्रदेशकै नमुना बनेको छ,’ उनले भने । उक्त भवन आयोजनाले प्रदेश अस्पतालाई हस्तान्तरण गर्नेछ । अस्पतालमा दैनिक बिरामीको चाप छ । बिरामीको भीड नलागेको दिन छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खडकाका अनुसार अस्पताल सञ्चालनमा आउन चाँडोमा ३ महिना लाग्नेछ । ‘हामीले पछिसम्मलाई हेरेर १ हजार बेडको अस्पताल माग गरेका थियौं,’ उनले भने, ‘अहिले ३ सय बेड मात्र हुने भएको छ, जनशक्ति ६ सय माग गरेकामा ५ सय मात्र हुने भएको छ ।’ उनका अनुसार बिरामीको चाप भए पनि चिकित्सकको दरबन्दी माग गरेअनुसार छैन । कर्णालीमा चिकित्सक जान मान्दैनन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२ महिनापछि उदयपुर सिमेन्ट सञ्चालन

डिल्लीराम खतिवडा

उदयपुर — दुई महिनोदखि बन्द उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा अएको छ । उद्योग बन्द हुँदा करिब ३९ करोड रुपैयाँ नोक्सानी भएको छ । विद्युत् भोल्टेजमा गडबडीले हाइटेन्सन मोर्टरमा क्षतिपुगेपछि क्लिंकर उत्पादन रोकिएको थियो ।

‘मोटर जडान गरेसँगै सिमेन्ट उत्पादन सुरु भइसकेको छ,’ उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले भने, ‘गैंडा छापा सिमेन्ट पूर्ववत् रूपमै बिक्री वितरण सुरु भयो ।’ उद्योगले गत आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

१ लाख २२ हजार टन क्लिंकर उत्पादन भएकामा लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । ‘मोटरमा क्षति नपुगेको भए आर्थिक वर्षको अन्तसम्म १ लाख ४२ हजार टन क्लिंकर उत्पादन हुने थियो,’ साहले भने, ‘मोटर बिग्रिनुभन्दा पहिले र त्यसको दुई सातासम्म दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री भइरहेको थियो । उनका अनुसार क्लिंकर उत्पादन बन्दभए पनि भकारीमा क्लिंकर मौज्दातरहेकाले लामो समयसम्म बिक्री रोकिएको थिएन ।’

दैनिक ७ सय ५० देखि ८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले मोर्टर बिग्रिएपछि दैनिक ७५ लाख रुपैयाँ उत्पादन घाटा व्यहोर्नुपरेको थियो ।

उद्योगले गत आर्थिक वर्षमा २२ लाख ७५ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो । २०४४ मा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । त्यसपछिका वर्षहरूमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६५० टन मात्र सिमेन्ट उत्पादन गर्दै आएकामा गत वर्ष पुराना पार्टपुर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७५० देखि आठ सय टन पुगेको हो ।

नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण भएलगत्तै महाप्रबन्धक र अध्यक्ष पद राजनीतिक नियुक्तिका आधारमा हुन थालेपछि उत्पादन ह्वात्तै घटेर २ सयदेखि २५० टनमा सीमित हुँदै आएको थियो । दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापनपछि नाफामा गएको छ ।

उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगले सरकारी साख धानिरहे पनि बजारमा सरकारी सिमेन्टको हिस्सा ५ प्रतिशत मात्र छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×