‘कसैले यस्तो पीडा भोग्नु नपरोस्’
मलाई सात वर्षअघि छिमेकमा बस्ने एक भारतीयले एसिड आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई ८ वर्षको जेल सजाय भयो । अहिले २० वर्ष कैद हुने व्यवस्था गर्न लागेकामा खुसी छु । प्रधानमन्त्रीले पीडितलाई बोलाएर १५ दिनभित्र कानुन संशोधन गर्छु भन्नुभएको थियो, त्यो गर्नुभयो ।
उहाँले जीवनभर उपचार र जागिरको व्यवस्था राज्यले गर्छ भन्नुभएको छ । त्यो पनि सकारात्मक कुरा हो । आगामी दिनमा यी कुरा पूरा हुनेछन् भन्ने आशा गरेका छौं । हामीले यसका लागि वर्षौं कुरेका थियौं । कानुन संशोधनले पीडितलाई राहत भएको छ । जागिरका लागि जाँदा अन्तर्वार्ता लिइन्थ्यो । शारीरिक स्वरूप हेरेर जागिर भने दिइँदैनथ्यो । अब एसिडपीडितले त्यस्तो बेहोर्नु नपरोस् ।
एसिड छ्याप्नेलाई कारबाही गर्न ६ ऐन हेरफेर
क्षतिपूर्तिको रकम ७ देखि १० लाख रुपैयाँ तोक्नुभएको छ । त्यो पनि राम्रै हो । पढाइ नभएका पीडितले त्यो रकमबाट आफ्नै व्यवसाय सञ्चालन गर्न सक्छन् । एसिड अहिले खुला रूपमा बेचबिखन भइरहेको छ । लाइसेन्स भएका कारण बेच्नेलाई प्रहरीले पक्राउ गर्न सक्तैन ।
नियमन, अनुगमन, प्रयोगलगायतका विषयमा रेकर्ड राख्ने व्यवस्था नभएकाले पीडक एसिड छ्यापेर भाग्थे । तर अब रेकर्ड राख्नुपर्ने कानुन बनेकाले प्रहरीले अपराधीलाई सजिलै पक्राउ गर्छ । लाइसेन्स लिएर पनि अनधिकृत रूपमा एसिड बेच्ने र किन्ने व्यक्तिको रेकर्ड नराख्नेलाई पनि कडा सजाय दिइनुपर्छ ।
हाम्रो मुलुकमा एसिड आक्रमण गलत हो भन्ने गरी जनचेतना फैलाइएको पाइँदैन । सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संघसंस्था छन् । उनीहरूले एसिड आक्रमणविरुद्ध जनचेतना फैलाएको पाइँदैन । सरकारले नै जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । भोलिका दिनमा एसिड हानेको देख्न नपाइयोस् ।
-सात वर्षअघि हेटौंडामा एसिड आक्रमणमा परेकी कंसाकारसँग गरिएको कुराकानीमा आधारित
प्रकाशित : आश्विन १०, २०७७ ०८:२१