कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अर्मपर्मको रूपान्तरण

संस्थाहरू जुन उद्देश्यका लागि स्थापना भएका हुन्छन्, त्यसबाट बाहिर गएर कारोबार वा व्यवहार गर्छन् भने त्यहाा अनियमितता, अस्वस्थ प्रतिस्पर्धा, सुशासनको कमी, ठगी, जालसाजी, भ्रष्टाचार, आपराधिक क्रियाकलाप आदिले मलजल पाइरहेको हुन्छ ।
दुर्गा कँडेल

नैपालको ‘कृषिप्रधान देश’ को उपमा एकादेशको कथा बनिसकेको छ । यो त्यति बेला उपयुक्त थियो, जतिखेर बहुसंख्यक नेपालीको आजीविकाका प्रमुख स्रोत खेतीपाती, पशुपालनलगायत थिए । तराई अन्न भण्डारका रूपमा चिनिन्थ्यो । कृषिमा व्यावसायिकताको विकास हुन सकेको थिएन, यान्त्रिकीकरणको अभाव थियो ।

अर्मपर्मको रूपान्तरण

कृषि धेरै हदसम्म मानवीय श्रममा निर्भर थियो । तर समयमा खेती लगाउन एउटा परिवारको श्रमबाट मात्र प्राय: सम्भव हुन्नथ्यो । मानिसहरू आलोपालो गरेर खेतीको काम सक्ने गर्थे । अर्थात्, अर्मपर्मको चलन थियो । अरुको काम पर्दा आफू जाने र आफ्नोमा पर्दा अरू आएर सघाउने अभ्यास व्याप्त थियो ।

अहिले अधिकांश नेपाली कृषिबाट पलायन भइसकेका छन् । खेतीपातीले जीवन धान्न मुस्किल हुँदै गएपछि कतिपय मानिस गाउँमा खेतीपाती छोडेर आयआर्जनका काम गर्न ससाना सहर छिरेका छन्, कतिपय बिदेसिएका छन्, कतिपय अन्य पेसा–व्यवसायमा लागेका छन् । केहीले कृषिलाई व्यावसायिकता दिन सक्रियता देखाए पनि थेग्न नसकी छोटो समयमा बन्द गरेका छन् । त्यसैले अहिले अर्मपर्मको पनि रूपान्तरण भएको छ । व्यवसायमा, राजनीतिमा, ठूला पदीय नियुक्तिहरूमा, समग्रमा व्यक्तिगत स्वार्थमा । श्रमको आदानप्रदानमा प्रयोग हुने शब्द आज पद, पैसा, राजनीति, वस्तु तथा सेवाको व्यापारलगायतका क्षेत्रमा भिजेको छ ।

संस्थाहरू जुन उद्देश्यका लागि स्थापना भएका हुन्छन्, त्यसबाट बाहिर गएर कारोबार वा व्यवहार गर्छन् भने त्यहाँ अनियमितता, अस्वस्थ प्रतिस्पर्धा, सुशासनको कमी, ठगी, जालसाजी, भ्रष्टाचार, आपराधिक क्रियाकलाप आदिले मलजल पाइरहेको हुन्छ । त्यस्तो भएपछि काम गर्दा कुनै अध्ययन, आधार, आवश्यकता र औचित्य चाहिँदैन । केवल बोल्दा मिलाएर बोल्नुपर्छ, कानलाई राम्रो सुनिनुपर्छ । बस, यति भए पुग्छ । निम्नलिखित कामकारबाही अर्मपर्म रूपान्तरणका केही उदाहरण हुन्—

१. लाइसेन्स वितरण र खारेजी : लाइसेन्स वितरणका लागि आधिकारिक निकायका अधिकारीहरूले पदमा हुँदा आयोजना–परियोजनाका लागि अन्धाधुन्ध लाइसेन्स बाँड्छन् । तिनीहरूले जब अवकाश पाउँछन्, त्यसपछि तिनै लाइसेन्सधारीहरूले पर्म तिरिदिन्छन्, सेयर सदस्य बनाएर वा जागिर दिएर वा अन्य लाभका पदहरू दिएर ।

२. समान लाइसेन्सधारीहरूबीच अर्मपर्म : उस्तै प्रकारका संस्थाहरू तथा एउटै प्रकृतिको उद्देश्यका लागि लाइसेन्स पाएकाहरू एकअर्काको फाइदा हेरी आफ्नो उद्देश्यभन्दा बाहिर गएर कसरी मुनाफा आर्जन गर्न सकिन्छ भनी कहिले काम लिन्छन् त कहिले काम दिन्छन् । उनीहरू भनिरहेका हुन्छन्, ‘आज हामीलाई सहयोग गर्नुस्, भोलि तपाईंलाई सहयोग गर्नेछौं ।’ तिनीहरूले स्वस्थ प्रतिस्पर्धाबाट समाज र समुदायलाई लाभ हुने गरी काम गर्नुपर्ने हो, तर उल्टो गरिरहेका हुन्छन् ।

३. साहू र ऋणीबीच : साहूसँग प्रशस्त धन छ । ऋणीलाई लगानी गर्न आवश्यक पर्ने रकम साहूले ऋणस्वरूप उपलब्ध गराउँछ । साहू पनि सधैं साहू रहिरहँदैन । साहू जब साहू पदबाट बाहिरिन्छ तब ऋणीले उसका लागि केही गरिदिनुपर्ने हुन्छ ।

४. व्यापारी–व्यापारीबीच : व्यापारी चाहे ठूला होऊन् वा साना, दुवैको उद्देश्य व्यापार गर्नु हो तर व्यापार व्यापारीहरूसँग भन्दा पनि उपभोक्ताहरूसँग हुन सक्यो भने त्यसको प्रभाव समग्र समाज र अर्थतन्त्रमा पर्न जान्छ । व्यापारमा जति धेरै च्यानल हुन्छन्, वस्तु तथा सेवाको लागत त्यति नै बढ्ने हुन्छ । सामान महँगिन्छ । व्यापारमा एउटै व्यक्ति साहू पनि र ऋणी पनि हुँदा त्यसबाट हुने लाभ एउटै पक्षले मात्र पाउने गर्छ । व्यापार व्यापारीहरूको च्यानलमा सीमित हुन्छ भने त्यसको प्रभाव न उपभोक्तासम्म पुग्छ न त समाज र अर्थतन्त्रमै ।

५. भिन्न लाइसेन्सधारीहरूबीच : व्यापार–व्यवसायको क्षेत्र हेरी कारोबार र प्रकृति फरक हुन्छ । व्यवसायको प्रकृतिअनुसार उद्देश्य फरक हुनु स्वाभाविक हो । एउटा व्यवसायलाई अर्को व्यवसायको आवश्यकता पर्न सक्छ, सहयोग गर्नुपर्ने हुन्छ । ती एकअर्कासँग सम्बन्धित पनि हुन सक्छन् । यसका लागि आफूलाई आवश्यक पर्ने व्यवसायमा सानो अंश लगानी गरिन्छ, उसले गर्ने कारोबार लगानी गरिएकै संस्थालाई गर्न लगाइन्छ ।

६. कामको प्रक्रिया मिलान : वित्तीय व्यापार विभिन्न कामको सम्मिश्रणबाट सञ्चालित हुन्छ । एकातिर निक्षेपकर्ताका निक्षेप संरक्षण गर्ने दायित्व हुन्छ, अर्कातिर सम्पत्तिको संरक्षण र व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । विभिन्न काम मिलाइदिएबापत लेनदेन गरिन्छ । प्रक्रिया मिलाएर गरिने काम नै नीतिगत भ्रष्टाचार हो ।

७. पदस्थापनमा लेनदेन : समाजमा अनियमितता व्याप्त छ । स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्न सकेको क्षेत्र नेपालमा सायदै छ । हुन त वित्तीय क्षेत्र धेरै हदसम्म स्वस्थ रहिआउनेमा पर्छ तर अब बिस्तारै अस्वस्थ बन्दै गएको देखिन्छ । किनकि यस क्षेत्रको तथ्यांक हेर्दा क्रमश: वृृद्धितर्फ उन्मुख छ, तर विडम्बना, अर्थतन्त्रको ओरालो गति रोकिन सकेको छैन । उत्पादन छैन । बेरोजगारी व्याप्त छ । व्यापार घाटा दिनानुदिन बढ्दो छ । युवा जनशक्ति विदेशमा पसिना बगाइरहन बाध्य छ । राजनीतिज्ञहरू भने कमिसनमा झुमिरहेका छन् । राजनीतिक अस्थिरता बढ्दो छ । यस्तो अवस्थामा कुनै पनि सार्वजनिक पदभार ग्रहण गर्न राजनीतिज्ञलाई खुसी पार्नैपर्ने प्रचलनले जरा गाडेको छ । जति ठूलो पद, उति ठूलो कमिसन चाहिने वास्तविकता सर्वविदितै छ । पदधारी व्यक्तिले नियुक्तिपछि राजनीतिज्ञलाई आर्थिक पर्म तिर्न भ्रष्टाचार गर्ने गर्छ ।

अन्त्यमा, खेतीपाती र घरायसी व्यवहार टार्न कुनै बेला अभ्यासमा रहेको अर्मपर्मको अहिले अनेक क्षेत्रमा रूपान्तरण भएको छ । र, यसले समाजमा अनियमिततालाई विस्तार गर्दै लगेको छ । समाजको शुद्धीकरणका लागि अर्मपर्मको यस्तो रूपान्तरण रोकिनुपर्छ ।

प्रकाशित : पुस ११, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?