भीरको चिण्डो, उँधो न उँभो- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरको चिण्डो, उँधो न उँभो

‘देशका सम्पूर्ण समस्या भ्यू टावरबाट छर्लंग देखिनेछन् र हामीले तत्काल तिनको समाधान गर्नेछौं ।’
शरच्चन्द्र वस्ती

मन्त्रीले अघिल्लै दिन फोन गरेर पदमलाई भनेको थियो, ‘भोलि भ्यू टावरको उद्घाटन छ, तिमी बिहानै मकहाँ आइपुग, सँगै जिल्ला जानुपर्छ ।’

मन्त्री अर्थात् बखतवीर र पदम एउटै जिल्लाका, अझ एउटै गाउँका बासिन्दा थिए— एउटै स्कूलका सहपाठी । बखतवीर, जसलाई सबैले बखते भन्थे, पढाइमा लद्दू थियो । नौ कक्षा पुग्दा नपुग्दै स्कूल छोडेर हुल्याहा बन्यो र दुई वर्ष पछि राजनीतिमा प्रवेश गरेर प्रगति गर्दै आफ्नो ‘योग्यता’ का कारण मन्त्री हुन पुगेको थियो । पदमले जसैतसै एसएलसी पास गर्‍यो र कतै जागीर नपाएपछि राजधानी पसेर पत्रकार बन्यो । कक्षामा फर्स्ट–सेकेन्ड हुने हरि र यदु स्नातक तह पूरा गरेर त्यही स्कूलका शिक्षक भएका थिए ।

मन्त्रीले ‘जिल्ला’ भने पनि जाने आफ्नै गाउँ हो भन्ने पदमले बुझेको थियो । किनभने, एउटा भ्यू टावर त्यहीं बनेको थियो । हेलिकप्टर उडेपछि उसले थाहा पायो, जिल्लामा एउटा होइन दुइटा भ्यू टावरको उद्घाटन रहेछ । मन्त्री भन्दै थियो, ‘आज हाम्रो जिल्लाले इतिहास बनाउँदैछ । अरूले एउटा भ्यू टावर बनाउन नभ्याउँदै हामीले दुइटा बनाइसक्यौं ।’

हेलिकप्टर पहिले उनीहरूकै गाउँमा पुग्यो । सडक नपुगेको, दुई सय जति घरधुरी भएको त्यो एउटा विपन्न गाउँ थियो, जहाँ मन्त्री, मुखिया र अरू दुई–चार जना बाहेक सबैका घर खरले छाएका थिए । एक छेउमा भुइँचालोले आधा ढलिसकेको जीर्ण स्कूल, अर्को छेउमा औषधिको दराज सधैं खाली रहने स्वास्थ्य चौकी । खानेपानी लिन खोलामा पुग्नुपर्ने, फोन गर्न मोबाइल लिएर रूख चढ्नुपर्ने ।

चारैतिर पहाडले घेरिएको त्यो कोप्चे गाउँमा भ्यू टावर बनाइपाऊँ भनेर कसैले माग गरेको थिएन । छ महीना अघि अचानक मन्त्रीको पीए गाउँ आइपुग्यो र त्यहाँ भ्यू टावर बन्ने खबर सुनायो । तीन महीना पछि छड र सिमेन्ट बोकाएर ठेकेदार आयो र दुई महीना हाराहारीमा ३० फुट अग्लो टावर बनाएर फर्क्यो । भ्यू टावरले के गर्छ अथवा त्यसलाई के गर्ने भन्ने गाउँमा कसैलाई थाहा थिएन ।

स्कूलको चउरमा हेलिकप्टरबाट ओर्लेर पाँच मिनेटको पैदल यात्रा सम्पन्न गरी मन्त्रीले भ्यू टावरको उद्घाटन गर्‍यो । मन्त्रीसँगै पदमले पनि टावर चढेर चारैतिर हेर्‍यो, तर तलबाटै देखिने बाहेक कुनै कुरा देखेन । तिनै घर, तिनै छाप्रा, तिनै रूख र चारैतिर आँखा छेक्ने तिनै पहाड । त्यतिका लागि भ्यू टावर किन बनाएको हो, उसले पनि बुझ्न सकेन ।

गाउँलेहरूले उसलाई सोधे, ‘यसले के गर्छ ?’

पदमसँग जवाफ थिएन । त्यसैले भन्यो, ‘यसबाट धेरै फाइदा हुन्छ ।’

‘त्यो त हो । हावा खान क्या काइदा हुँदो रहेछ । तल यस्तो गुम्म छ, माथि चढेपछि सरर्र हावा आउँछ,’ एक जनाले भन्यो ।

‘रूखमा चढेर भन्दा यसमा चढेर फोन गर्दा

टड्कारो सुनिदो रहेछ,’ अर्काले भन्यो ।

‘मैले त कहिल्यै नदेखेको कुरा देखें,’ टावर छेउमै घर भएका माइला मुखियाको हलीले हिचकिचाउँदै भन्यो ।

‘के देख्यौ ?’

‘मालिक रातिराति बुइगलमा चढेर के गर्नुहुन्छ भनेको त पैसा पो गन्नुहुँदो रहेछ । अस्ति राति यसमा चढेपछि छर्लंगै देखें नि ।’

यसैबीच मन्त्रीले छोटो तर जोडदार भाषण दियो, जसको सार थियो, ‘भ्यू टावरका कारण हाम्रो गाउँको इज्जत बढेको छ । गाउँ सुख र समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । अब कुनै पनि गाउँलेले भोको, नांगो र विपन्न जीवन बिताउनुपर्ने छैन । कुनै समस्याबाट पिरोलिनुपर्ने छैन । भ्यू टावर यस्तो चीज हो, जसमा चढेपछि कुनै कुरा लुक्तैन, टाढा–टाढासम्मका हरेक कुरा छर्लंग देख्न सकिन्छ ।’

मन्त्रीले के भन्न खोजेको हो, बुझ्न नसकेर गाउँलेहरू वाल्ल परेका थिए । एउटी बालिकाले प्रश्न गरी, ‘सर, बाख्रा हरायो भने पनि यसमा चढेपछि देखिन्छ ?’

‘देखिन्छ, देखिन्छ । जति टाढा पुगेको भए पनि देखिन्छ,’ मन्त्री लाज नमानी मुस्कुरायो ।

हरि र यदुले गाउँलेहरूका तर्फबाट पालैपालो भने, ‘भ्यू टावर त बन्यो, ठीकै छ । तर स्कूल ढल्न लागेको छ, त्यसको मर्मत गर्न पाए हुन्थ्यो । हेल्थ पोस्टमा ओखती ल्याइदिए हुन्थ्यो । अनिकाल पर्न आँटेको छ, अलिकति अन्न पठाइदिए धेरैको ज्यान जोगिन्थ्यो ।’

मन्त्रीले आश्वासन दियो, ‘मैले बुझेको छु । म अत्यन्तै संवेदनशील छु । तर अहिले भ्यू टावर हाम्रो प्राथमिकतामा छ । सबै जिल्लामा पर्याप्त भ्यू टावर बनिसकेपछि हाम्रो सरकारले तपाईंहरूले भनेका क्षेत्रमा पनि ध्यान दिनेछ । जनतालाई सुखी र समृद्ध बनाउनु नै हाम्रो लक्ष्य हो ।’

अर्को भ्यू टावर त्यहाँबाट तीन डाँडा पारि, अग्लो डाँडाको टुप्पामा बनेको रहेछ । चीसो सिरेटो चल्ने त्यस ठाउँमा मन्त्रीको स्वागतको अलि भव्य तयारी थियो । भ्यू टावर नजीकै हेलिकप्टरबाट ओर्लंदा स्वागत गर्नेहरूमा सबैभन्दा अगाडि सिडिओसँगै माला बोकेर उभिएको मनीषलाई देखेर पदम छक्क पर्‍यो । मधेशतिर खेतका बीचमा पशुपन्छी धपाउन अग्लो मचान बनाउन सिपालु मनीषले दुई वर्ष अघि पहिलोपल्ट एउटा जमिन्दारका लागि मचानको सट्टा २० फुट अग्लो पक्की टावर बनाएको थियो ।

चिया खान भनेर मन्त्रीलाई सिडिओले सानो पालभित्र छिराएपछि पदमले मनीषलाई सोध्यो, ‘तिमी यहाँ कसरी ?’

‘यो टावर बनाउने ठेकेदार मै हुँ दाइ,’ उसले भन्यो, ‘अघि तपाईंले उद्घाटन गरेर आउनुभएको टावर पनि मैले नै बनाएको हुँ ।’

‘यसमा कति खर्च भयो ?’

‘बजेट तीन करोडको हो दाइ । तर तपाईंलाई के ढाँट्नु ? लाग्यो यस्तै ४०–४५ लाख जति ।’

‘एउटै टावरमा यत्रो नाफा ?’

‘सबैलाई बाँड्नुपर्छ नि दाइ । एक करोड मन्त्रीज्यूको हुन्छ, ४०–५० लाख अरूलाई दिनुपर्छ । मेरो हातमा पर्ने त्यस्तै एक करोड जति मात्र हो दाइ ।’

‘हिसाब किताब त राम्ररी मिलाएका रहेछौ ।’

‘मन्त्रीज्यूलाई खुशी पारेपछि सबै मिल्छ दाइ । आजको हेलिकप्टर पनि मैले नै बन्दोबस्त गरिदिएको हुँ ।’

‘यो वर्ष कतिवटा टावर बनायौ त ?’

‘यो समेत चारवटा मात्र हो दाइ । टावर बाहेक तीनवटा पुल र छवटा ट्वाइलेट पनि बनाएको छु ।’

‘सबैको हिसाब यस्तै हो ?’

‘यस्तै हो दाइ । बजेटको २०–२५ प्रतिशत जति खर्च हुन्छ । अरू बाँड्नुपर्छ । आफ्नो भागमा ३० देखि ४० प्रतिशत पर्छ ।’

पालबाट हल्का रमरम भएर निस्केपछि मन्त्रीले रिबन काटेर भ्यू टावरको उद्घाटन गर्‍यो र सिडिओसँगै टावरमा चढ्यो । पदमले मनीषलाई सोध्यो, ‘यति अग्लो डाँडाको टुप्पामा टावर बनाएका छौ । डाँडो नै टावरको हजुरबा जस्तो छ । यहाँबाट नदेखिने के देखिन्छ त्यहाँबाट ? कि हिमालपारि पनि देखिन्छ ?’

‘हें हें हें, दाइ पनि क्या जोक गर्नुहुन्छ,’ मनीषले भन्यो, ‘तपाईंलाई के ढाँट्नु ? नढाँटी भन्ने हो भने मलाई त यो ठाउँ भ्यू टावर नहुँदा नै राम्रो थियो जस्तो लाग्छ । टावरले यसको अनुहार नै बिगारिदिए जस्तो लाग्ने । ...तर मलाई के मतलब ? जहाँ भन्छन् त्यहीं बनाइदिने हो । होइन त दाइ ?’

पदम केही बोलेन । मुसुक्क हाँस्यो मात्र । मनीषले भन्यो, ‘तर एउटा कुरो है दाइ । यहाँबाट अग्ला देखिने नेताहरू टावरबाट हेर्दा पूरै बामपुड्के देखिन्छन् ।’

‘तिम्रो नजीकको दृष्टि खराब छ कि क्या हो ? ती त जहाँबाट हेर्दा पनि बामपुड्के नै छन् नि,’ पदमले भन्यो र दुवै जना हाँस्न थाले ।

उता मन्त्रीको भाषण शुरू भइसकेको थियो, जो यसअघिको भन्दा जोडदार थियो । ऊ भन्दै थियो, ‘देशको भविष्य भ्यू टावरमा निर्भर छ । देशभरि भ्यू टावर बनेपछि कुनै पनि कुरा भुइँबाट हेर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । हरेक भ्यू टावरमा देश–विदेशबाट पर्यटकहरू ओइरिनेछन् र त्यहींबाट समृद्धिको सूर्य उदाउनेछ । हामी प्रत्येक टावरमा शक्तिशाली दूरबीन जडान गर्नेछौं, जसले गर्दा भ्यू टावरले सबै कुरा देख्नेछ । टावरको आँखाबाट कोही बच्नेछैन । देशका सम्पूर्ण समस्या छर्लंग देखिनेछन् र हामीले तत्काल तिनको समाधान गर्नेछौं । एक–एक भ्यू टावरले युगौं युगसम्म हाम्रो विवेक, बुद्धिमत्ता र बहादुरीको कथा भन्नेछन्...’

यसैबीच एकजना वृद्ध हात उठाएर उभिए र भने, ‘मेरो एउटा अनुरोध छ ।’

‘के अनुरोध हो ? भन्नोस्,’ मन्त्रीले रवाफसाथ भन्यो ।

‘भ्यू टावर, भ्यू टावर भनिराख्नुभा छ । यो भनेको के हो, मैले बुझिनँ । यो कुन भाषा हो ? नेपालीमा भन्नोस् न ।’

भ्यू टावरलाई नेपालीमा के भन्ने, मन्त्रीलाई थाहा थिएन । उसको ओठ–मुख सुक्यो । र, बिग्रेको रेकर्ड झैं ‘ए, भ्यू टावर ? ...अँ, भ्यू टावर ...भ्यू टावर...’ मात्रै भन्न थाल्यो ।

मन्त्रीको बेइज्जती हुन लागेको देखेपछि सिडिओ जुरुक्क

उठ्यो र कड्कियो, ‘भ्यू टावर भनेको भीरको चिण्डो उँधो न उँभो । के बुझ्यौ ? अब बस ।’

वृद्ध थुचुक्क बसे । मन्त्री जसोतसो डेढ वाक्यमा भाषण टुंग्याएर हतारहतार हेलिकप्टरतिर लाग्यो । पदम पछिपछि दौडियो ।

प्रकाशित : मंसिर ६, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा भिसाविहीन श्रमिकलाई अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसिया सरकारले कम्पनी छाडेर गैरकानुनी रूपमा बसेका भिसाविहीन श्रमिकले नयाँ कम्पनीमा वैधानिक हैसियतमा काम गर्न पाउने नीति ल्याएको छ ।

आउँदो डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउनेछन् । श्रमिकको अभाव भएपछि मलेसिया सरकारले ‘रि–हाइरिङ’ कार्यक्रम ल्याएको हो ।

‘जो इलिगल भएर बसेका छन्, उनीहरूको हकमा एउटा सुनौलो अवसर हो,’ मलेसियास्थित श्रमसहचारी प्रकाश पन्थीले भने । मलेसियाले नोभेम्बर १ देखि रि–हाइरिङ कार्यक्रम लागू गरेको हो । यसमा करार अवधि समाप्त भएका श्रमिक मात्रै नभई गैरकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासँग आबद्ध हुन पाउने बाटो खुलेको छ । रि–हाइरिङका लागि अध्यागमन कार्यालयमा बुझाइने २ हजार रिंगेट (५८ हजार रुपैयाँ) रोजगारदाताले व्यहोर्ने पन्थीले बताए ।

मलेसियाले गैरकानुनी रूपमा बसेकालाई पक्राउ भने गरिरहेको छ । कोरोना महामारी सुरु भएयता मात्र ३१ हजारभन्दा बढी डिपोर्ट भइसकेका छन् । जसमा झन्डै चार सय जना नेपाली छन् । ‘बिनासजाय स्वदेश फिर्न पाइने अवसर दिइएको छैन तर वैधानिक हैसियतमा काम गर्न पाउने अवसर छ,’ श्रमसहचारी पन्थीले भने । कम्तीमा ५० हजार नेपाली मलेसियामा भिसाविहीन अवस्थामा छन् ।

प्रकाशित : मंसिर ६, २०७७ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×