गरीबको पहिचान- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरीबको पहिचान

‘हाम्रो देशमा पनि गरीब छन् र ?’ महाराज आशंकित भए, ‘कतै यो शत्रुदेशको षड्यन्त्र त होइन ?
शरच्चन्द्र वस्ती

फाटेका लुगामा, नांगै खुट्टा दरवारसामु फुटपाथमा हिंडिरहेका, ख्याउटे अनुहार र जीउडालका चार जना मानिसलाई देखेर महाराजले आफ्ना प्रिय मन्त्रीलाई सोधनी गरे, ‘यी को हुन्, मन्त्री ?’

‘यी गरीब हुन् महाराज,’ मन्त्रीले हच्कँदै निवेदन गरे ।

‘त्यसो भए पर्यटक होलान् । कुन देशबाट आएका ?’

‘यी हाम्रै देशका गरीब हुन्, महाराज !

‘के भन्दैछौ तिमी ? हाम्रो देशमा पनि गरीब छन् र ?’ महाराजले आश्चर्य जनाए ।

आश्चर्य नजनाउन् पनि किन ? तीन वर्ष अघि राजगद्दीमा बसेपछि उनले एउटै गरीब देखेका थिएनन् । हरेक दिन मानिसहरू उनलाई भेट्न दरवार आइरहन्थे, तर ती सबै सुकिलामुकिला र सम्पन्न हुन्थे । बेलाबखत उनको सवारी दरवार बाहिर पनि चलाइन्थ्यो, तर दरवारमा झैं त्यहाँ पनि मन्त्री र भारदारहरूले गरीबगुरुवा महाराजका छेउछाउ पुग्न नसक्ने प्रबन्ध मिलाएका हुन्थे । उनले जतिलाई देख्थे, ती सबै चिरिच्याँट्ट परेका, पुगीसरी आएकाहरू नै हुन्थे । त्यसैले उनलाई लाग्न थालेको थियो— मेरो प्रतापले देशबाट गरीबी समाप्त भएको छ । अब देशमा कोही गरीब छैन ।

मन्त्रीको कुरा महाराजलाई नपच्नु स्वाभाविक थियो । ‘यो कसरी सम्भव छ ?’ उनले आशंका जनाए, ‘कतै यो शत्रुदेशको मलाई अलोकप्रिय बनाउने षडयन्त्र त होइन ? तुरुन्त पत्ता लगाऊ ।’

मन्त्रीले त्यसै दिन प्रहरी प्रमुखलाई बोलाएर हप्काए, ‘गरीबलाई दरवारको एक किलोमिटर घेराभित्र छिर्न नदिनू भन्ने गम्भीर निर्देशन हुँदाहुँदै दरवार अगाडि गरीबहरू कसरी आइपुगे ? तिमीलाई जागीर खान मन छ कि छैन ?’

प्रहरी प्रमुखले भकभकाउँदै क्षमायाचना गर्‍यो र भविष्यमा यस्तो त्रुटि नहुने विश्वास दिलायो । साथै त्यस दिन ड्यूटीमा रहेका चार अधिकृत समेत दुई दर्जन प्रहरीलाई तत्काल निलम्बन गर्‍यो । साँझ पर्नु अगावै फुटपाथका चार जना गरीब गिरफ्तार गरेर अनुसन्धानका लागि खोरमा थुनिए ।

साँझ गुप्तचर विभागको प्रमुख मन्त्रीकहाँ उपस्थित भयो । मन्त्रीको निर्देशन पश्चात् विभागले गहन अनुसन्धान गरेर एक महीनामा पत्ता लगायो— उनीहरू शत्रुदेशको षडयन्त्र वा कसैको उक्साहटले होइन, आफ्नै हैसियतमा गरीब भएका रहेछन् ।

अनुसन्धानको निष्कर्ष मन्त्रीले जाहेर गरेपछि महाराजले टाउको हल्लाउँदै भने, ‘गरीब यति मात्र हुन् कि अरू पनि छन् ?’

‘होलान् नि फाट्टफुट्ट, हरेक जिल्लामा ।’

‘त्यसो भए गरीबको पहिचान गर्ने व्यवस्था मिलाऊ । तिनलाई गरीब परिचयपत्र दिनुपर्छ,’ महाराजले निर्देशन दिए र जनता समक्ष घोषणा गरे, ‘अब गरीबको पहिचान गरिनेछ र उनीहरूलाई राज्यले विशेष सुविधा दिनेछ ।’

गरीब पहिचान टोली गठन गर्न लाग्दा कसलाई गरीब मान्ने भन्ने गम्भीर प्रश्न उठ्यो । एक जनाले भने, ‘हामीकहाँ आजसम्म गरीबको मापदण्ड बनेकै छैन । मापदण्ड नै नभएपछि केका आधारमा गरीबको पहिचान गर्ने ?’

त्यो कुरा महाराजकहाँ पुगेपछि उनले विशेषज्ञहरूको कार्यदल गठन गरी गरीबको परिभाषा तथा मापदण्ड तयार गर्ने जिम्मा दिए । कार्यदलले हप्तौंसम्मको घनीभूत छलफल र विभिन्न स्थानको अध्ययन भ्रमण पश्चात् निष्कर्ष निकाल्यो, ‘जोसँग धनसम्पत्ति छैन त्यो गरीब हो ।’ त्यसका साथै विशेषज्ञहरूले गरीबीका २५ सूत्रीय मापदण्ड तयार पारे र अधिकांश मापदण्ड पूरा गर्नेलाई गरीबको मान्यता दिन सकिने सिफारिश गरे । त्यही अनुसार मन्त्रालयले फारम तयार गर्‍यो र गरीब पहिचान टोलीहरूलाई कार्यस्थलमा रवाना गर्‍यो ।

एउटा टोली गरीब खोज्दै दुर्गम गाउँमा पुग्यो । त्यहाँ छाप्राछाप्री मात्र थिए । पक्की त के, जस्तापाताको छानो भएको पनि एउटै घर थिएन । स्कूल, पसल, धारो अथवा शौचालयको नामनिशाना थिएन । भिरालो ठाउँको एउटा छाप्रो नजीकै फाटेको भोटो र कछाड लगाएको एकजना अधबैंसे रूख चढेर घाँस झार्दै थियो । टोली नेताले झोलाबाट फारम निकालेर उसलाई सोध्यो, ‘तपाईंको आफ्नो घर छ ?’

‘छ । ऊ त्यही त हो नि,’ छाप्रो देखाउँदै उसले जवाफ दियो ।

‘जग्गा छ ?’

‘साहूले नखोसेसम्म यो मेरै जग्गा हो । धान हुँदैन । आधा मकैबाली साहूलाई बुझाउनुपर्छ । आधाले तीन महीना जेनतेन टरिहाल्छ ।’

‘खानेपानीको व्यवस्था छ ?’

‘छ नि । तल नदीमा जति भने पनि पानी छ । खुरुर्र ओरालो झर्दा आधा घण्टामै पुगिन्छ । मलाई पनि प्यास लाग्या छ, जाने हो ?’

‘चौपाया पाल्नुभएको छ ?’

‘नपालेको भए किन घाँस झार्थें ? आफूले खान हुँदैन क्यारे । बाख्रा छन् दुइटा ।’

फारममा रेजा लगाउँदै टोली नेताले अर्को प्रश्न गर्‍यो, ‘तपाईं कुन सवारी साधन प्रयोग गर्नुहुन्छ ?’

अधबैंसे अलमल्ल पर्‍यो, ‘त्यो भनेको के हो ?’

घर, जग्गा, चौपाया सब भएको, स्वच्छ खानेपानीको अभाव नभएको मानिसलाई गरीब भन्न सकिने कुरै थिएन । टोली नेताले फारममा त्यही जनायो ।

अर्को टोली अलि सुगम गाउँमा एउटा साहूकहाँ पुग्यो । टोलीको उद्देश्य बुझेपछि साहूले मासु–चिउराको खाजाले खातिरदारी गर्‍यो । ढ्याउअ डकार्दै एक सदस्यले सोध्यो, ‘तपाईंको आफ्नो घर छ ?’

‘छैन ।’

‘यो घर कसको हो त ?’

‘बुबाको,’ आँगनमा घाम ताप्दै गरेका वृद्धलाई देखाएर साहूले भन्यो, ‘उहाँकै घरमा बस्तैछु ।’

‘खानेपानीको व्यवस्था छ ?’

‘कहाँ हुनु ? पल्लो गाउँमा घरघरै धारा आइसक्यो । हामीकहाँ सार्वजनिक धाराबाट पानी ल्याउनुपर्छ, त्यो पनि आँगनको पल्लो छेउमा छ । सारै दुःख छ हजूर ।’

‘चौपाया पाल्नुभएको छ ?’

‘छैन । भएका गाईवस्तु पनि रामेको जिम्मा लगाएको छु । उसैले पालेको छ । दूध–दही मात्र मेरो हुन्छ ।’

फारममा लागेका रेजा हिसाब गर्दा साहू गरीबमा दर्ता हुने ठहरियो ।

त्यही वेला रामे पनि आइपुग्यो । टोलीले ऊसँग कुरा गर्दा थाहा भयो, उसलाई गाँस–वास–कपासको कुनै समस्या रहेनछ । साहूकै गोठमा बस्दो रहेछ, साहूकै भान्साको जूठोपुरो खाँदो रहेछ, साहूकै छोराको लुगा लगाउँदो रहेछ— उसले लगाउन छाडेपछि । बीसवटा बाख्रा र चारवटा गाई पालेको रहेछ । साहूले दुई वर्षअघि १०० रुपैयाँको बैंक खाता पनि खोलिदिएका रहेछन्, अरू पैसा हालिदिन चाहिं भ्याएका छैनन् अरे । त्यस्तो मान्छे गरीबको मापदण्डमा पर्ने कुरै आएन ।

टोली साहूकहाँबाट निस्कँदा त्यहाँ बसेर चूपचाप कुरा सुनिरहेको एउटा मान्छे लुखुरलुखुर पछि लाग्यो । उसले भन्यो, ‘म यहाँको वडाध्यक्ष हुँ । तपाईंहरूको सबै खेल मैले बुझिसकें । म र मेरा २५ जना मान्छेको नाउँ गरीबमा दर्ता गरिदिनोस् । नत्र महाराजकहाँ उजूरी हाल्छु ।’

उसको माग पूरा गर्नु बाहेक टोलीसँग अर्को विकल्प थिएन । उसले ल्याएका सबै नाम गरीबको सूचीमा समावेश गरिए । वास्तवमा सबै टोलीले सबैजसो ठाउँमा त्यसै गरेका थिए ।

राजधानी फर्केपछि सकल टोलीले सल्लाह गरेर आफ्ना लागि गरीबको कोटा निर्धारण गरे । त्यस अनुसार प्रत्येक टोलीे नेतालाई ५० र सदस्यलाई २५ जनाको कोटा छुट्याइयो । उच्चपदस्थ हाकिमहरूको कोटा त्यही अनुसार तय भयो । कतिले कोटा बेचे पनि, तर धेरैजसोले आफू र आफ्ना आफन्तकै नाम गरीबको सूचीमा दर्ता गराए ।

यसैबीच एउटा मन्त्रीको सालो सय जना जतिको नामावली लिएर आइपुग्यो । उसको भनाइ थियो, ‘हाम्रो आफ्नै घर छैन, अर्काको घरमा डेरा बसेका छौं । निकाल्दैनन् र मात्र, नत्र आजसम्म भाडा पनि तिर्न सकेका छैनौं । भिनाजुले सारा सम्पत्ति पार्टीकरण गरिसक्नुभो, नेपालका बैंकमा त उहाँको एक पैसा पनि छैन । हामीजस्तो गरीब को होला ?’

ऊसँग सवालजवाफ गर्नु बेकार थियो । उसको नामावली स्वीकार नगरी सुख थिएन । तीन दिनको अन्तरालमा ऊजस्ता झन्डै दुई दर्जन साला आइपुगे । अन्ततः सबैको नामावली समावेश गरेर गरीबहरूको अन्तिम सूची तयार पारियो ।

गरीबको पहिचान गर्ने यो महान अभियान महाराजको सदिच्छाका कारण छ महीनामा सम्पन्न भइसकेको थियो । गरीबहरूका लागि राज्यले छुट्याएको मोटो बजेट त्यसको तीन महीना भित्रै बाँडिसकियो । ९० प्रतिशत गरीबले प्राडो, पजेरो, ल्यान्डक्रुजरदेखि मोटरसाइकलसम्ममा आएर रकम बुझिलिए । बाँकी १० प्रतिशत झ्याउरे, चाउरे, ख्याउटे र पैदलहिंडुवाहरू रकम लिन आएनन् । शायद तिनले थाहै पाएनन् । जे होस्, बजेट निमिट्यान्न भएको जानकारी पाएपछि महाराज दङदास भए । सोच्न थाले, ‘गरीबको पहिचान भइहाल्यो । सबैले परिचयपत्र पाइहाले । अब हरेक वर्ष यिनैलाई पैसा बाँड्छु र गरीबी निमिट्यान्न पार्छु ।’

अर्को वर्ष शुरू हुन लाग्दा दरवारसामु फुटपाथमा फेरि चार जना गरीब देखा परे— फाटेका लुगामा नांगै खुट्टा हिंडिरहेका, ख्याउटे अनुहार र जीउडालका । तिनलाई देखेर महाराजले आफ्ना प्रिय मन्त्रीलाई सोधनी गरे, ‘यी को हुन्, मन्त्री ? हाम्रै देशका गरीब जस्ता छन् नि ?’

मन्त्रीले सविनय निवेदन गरे, ‘होइन महाराज, यी पर्यटक हुन् । अर्कै महादेशबाट हाम्रो देश घुम्न आएका ।’

प्रकाशित : आश्विन १७, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

लेवान्डोस्कीका अनौठा संयोग

सबैको अपेक्षाअनुसार रोबर्ट लेवान्डोस्की नै भए, यसपल्टको युरोपेली फुटबल महासंघको वर्ष खेलाडी । बायर्न म्युनिकका लागि गत सिजन गज्जब रह्यो । क्लबले एकपछि अर्को उपाधि जित्यो । बायर्न एउटा टिमका रुपमा निकै बलियो थियो नै, तर टोलीको सफलतामा कोही एक खेलाडीको बढी योगदान छ भने त्यो रोबर्ट लेवान्डोस्कीकै थियो । बायर्नका लागि उनी ‘गोल मेसिन’ नै हुन् । भन्नेहरु के सम्म भन्छन् भने चर्चा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोकै बढी हुन्छ, तर यी पोलिस खेलाडी पनि उनीहरुको अगाडि कम्तीका छैनन् ।
द गार्डियन, द डेलिमेल

लन्डन — पोल्यान्ड र जर्मनीबीच ‘माया र घृणा’ को समान सम्बन्ध हुने गर्छ । विशेषतः पोल्यान्डका लागि जर्मन नभई नहुने छिमेकी हो, तर पोल्यान्डमा जर्मन भनेपछि नाक खुम्च्याउने पनि उत्तिकै छन् । जेहोस, रोबर्ट लेवान्डोस्की खेलाडी त पोल्यान्डकै हुन्, तर उनले ‘नाम र दाम’, ‘सान र शौकत’ सबै कमाएको जर्मन फुटबलमै हो । अहिले उनी बायर्न म्युनिकका प्रमुख खेलाडी त भएन नै, त्यसभन्दा अगाडि उनी बोरुसिया डर्टमुन्डबाट खेल्थे ।

अधिकांश पोलिस खेलाडीको पहिलो रोजाइ जर्मन क्लब फुटबल नै हुने गर्छ । लेवान्डोस्की को पनि यस्तै थियो । सन् २०१० मा युरोपमा फैलिएको ज्वालामुखीको अचाक्ली प्रभाव नहुँदो हो त यी खेलाडीको भाग्य बेग्लै मसी र फरक कागजमा लेखिएको हुन्थ्यो । भएको के थियो भन्दा त्यतिबेला इंग्लिस प्रिमियर लिगमा ब्ल्याकबर्नको राम्रै उपस्थिति थियो । क्लबका व्यवस्थापक थिए, साम एलाडायसी । उनी चाहन्थे लेवान्डोस्की ब्ल्याकबर्नमा आओस् ।

एक किसिमले एलाडायसी उनकै पछाडि लागेका थिए । उनले पोल्यान्डमै गएर लेवान्डोस्कीलाई भेटेका थिए । एलाडायसी पनि कम्तीका प्रशिक्षक थिएनन् । लेवान्डोस्कीलाई पनि के लागेछ भने ब्ल्याकबर्न राम्रै विकल्प हो । त्यसैले उनी अनुबन्धसम्बन्धी कुराकानी गर्न ब्ल्याकबर्न जाने भए, त्यसका लागि हवाई टिकट काटे । तर त्यही ज्वालामुखीका कारण त्यो हवाई यात्रा रद्द भयो । लामो समय पूरा युरोपमा हवाई सेवा अवरुद्ध भएको थियो ।

यसबीच कता–कताबाट उनी डर्टमुन्ड लागे । अहिले लेवान्डोस्की भन्ने गर्छन्, ‘म त ब्ल्याकबर्न उड्नै लागेको थिएँ तर, मेरो भाग्यमा बेग्लै कथा लेखिएको रहेछ ।’

उनको खेलजीवनको सुरुआती चरणमा साँच्चै डर्टमुन्ड लेखिएको थियो, ब्ल्याकबर्न थिएन । त्यतिबेला डर्टमुन्डका प्रशिक्षक थिए, योर्गन क्लोप । यिनै जर्मन प्रशिक्षककै रेखदेखमा लेवान्डोस्की विश्वस्तरीय खेलाडी बने, सिधा सिधाभन्दा विपक्षीका लागि घातक फरवार्ड अनि मौका पायो कि गोल गरिहाल्ने खेलाडी ।

त्यसो त उनले विश्व फुटबलका केही अब्बल दर्जाका प्रशिक्षकमुनि खेलेका छन् । जस्तो कि पेप ग्वार्डिओला, कार्लो एन्सेलोट्टी, जुप हेयनकेस । तर लेवान्डोस्कीले आफूलाई साँच्चै प्रमाणित गर्ने काम भने क्लोपकै नेतृत्वमा गरे । लेवान्डोस्की भन्छन्, ‘क्लोप त्यस्ता एकमात्र प्रशिक्षक हुन्, जसले मलाई माथिल्लो डिभिजनमा खेल्न सक्छ भनेर विश्वास दिलाए । मेरो खेलजीवनले जुन आकार लिएको छ, त्यो डर्टमुन्डमा हो र यसको मुख्य कारण क्लोप नै हुन् ।’

लेवान्डोस्कीलाई सक्दो राम्रो खेलाउन क्लोप खुबै उक्साउने काम गर्थे । दुई जनाबीच सानोतिनो बाजी नै चल्थ्यो । उनले राम्रो खेले बाजी उनकै पक्षमा, नत्र क्लोपको पक्षमा । सुरुआती दिनमा क्लोपले नै यो बाजी बढी जिते, तर पछि हुँदाहुँदै यो बाजी सधैंजसो लेवान्डोस्कीको नाममा हुन थाल्यो । बाजी हारेर पनि क्लोप मस्त खुसी हुन्थे ।

पोल्यान्ड र जर्मनीबीच जस्तो अनौठो सम्बन्ध छ, त्यस्तै सम्बन्ध बायर्न र डर्टमन्डुबीच पनि छ ।

केही हदसम्म बायर्नका अगाडि डर्टमुन्ड छायाँमा पर्ने गर्छ । लेवान्डोस्कीलाई पनि डर्टमुन्डको नाकैमुनिबाट बायर्नले टिपिहाल्यो, अझ चोरिहाल्यो भन्दा हुन्छ । उनी बायर्न के लागे, त्यो त अब इतिहास नै भइसक्यो ।

बायर्नका लागि गत सिजन वास्तवमै गज्जब साबित भयो । बुन्डेस लिगा र जर्मन कप जितिहाल्यो ।

यतिमात्र जितेको भए, त्यसको केही अर्थ हुने थिएन । तर, बायर्नले युरोपेली च्याम्पियन्स लिग जित्यो र साबित गर्‍यो, आफू युरोपेली क्लब फुटबलको महाशक्ति हो भनेर ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगमा १५ गोल गरे । यही प्रदर्शनमा टिकेर बायर्नले फाइनलसम्म यात्रा गरेको थियो । बुन्डेसलिगामा त उनले गरेको गोलसंख्या ३४ थियो अनि जर्मन कपमा उनले ५ गोल गरिहाले । यसपल्टको युरोपेली अवार्डमा बायर्नकै प्रभुत्व रह्यो । हान्सी फ्लिक पनि उत्कृष्ट प्रशिक्षक चुनिए । यिनै फ्लिक लेवान्डोस्कीको प्रशंसा गर्दा थाक्दैनन् । भन्छन्, ‘अहिलेको पुस्ताका खेलाडीमध्ये लेवान्डोस्की सर्वाधिक प्रभावशाली खेलाडी हुन् ।’

लेवान्डोस्की लाई लिएर सबैभन्दा ठूलो संयोग के भने उनको परिवारलाई पहिले नै थाहा थियो, छोरा एकदिन फुटबल खेलाडी हुनेछन् र प्रख्यात पनि हुनेछन् । यस्तोमा परिवारले के सोच्यो भने ठेट पोलिस नाम राख्यो भने बाँकी विश्वलाई बोल्न र सम्झन नै गाह्रो हुनसक्छ, त्यसैले सुरुको नाम राखे, रोबर्ट । यो त सबैको जिब्रोका लागि सजिलो नाम भयो । आखिरमा उनको आमाबुबाले जसरी उनलाई लिएर भविष्यवाणी गरे, त्यो पूर्णतः सत्य साबित भयो ।

त्यसो त लेवान्डोस्कीको ‘डीएनए’ मै खेलकुद छ । उनका बुबा क्रिसजस्टोफ पोलिस जुडो च्याम्पियन नै थिए । उनले त्यहाँको दोस्रो डिभिजनसम्मको फुटबल खेले । उनकी आमा इवना पनि व्यावसायिक भलिबल खेलाडी थिइन् । उनी भन्थिन्, ‘हामीलाई लेवान्डोस्की सानो छँदै लागेको थियो, उनी एकदिन नामी फुटबल खेलाडी हुनेछन् । त्यसैले हामीले उनको नाम सबैका लागि सजिलो हुने किसिमले राखेका थियौं, ‘रोबर्ट’ भनेर ।’

उनकी ठूली दिदी मिलेना पनि भलिबलकै खेलाडी थिइन् । दुःख केमा मात्रै रह्यो भने लेवान्डोस्कीका बुबाले आफ्ना छोराले माथिल्लो डिभिजनको फुटबलमा डेब्यू गरेको देख्न पाएनन् । कुरा यत्तिकैमा सकिन्न, लेवान्डोस्कीकी पत्नी अन्ना पनि खेलाडी हुन्, करातेकी । उनी खेलाडी मात्र होइनन्, राम्रै ‘न्युट्रिसियन’ पनि हुन् ।

भनिन्छ, लेवान्डोस्कीको अहिलेसम्मको यात्रामा अन्नाको ठूलो योगदान छ । आखिरमा लेवान्डोस्की त्यसै राम्रा खेलाडी भएका होइनन्, युरोपेली वर्ष खेलाडी घोषित हुन् ।

प्रकाशित : आश्विन १७, २०७७ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×