के रोबोटले खोस्दैछ पत्रकारको जागिर ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के रोबोटले खोस्दैछ पत्रकारको जागिर ?

‘मानिसले मलाई मन पराउनै पर्छ भन्न खोजेको होइन तर मलाई साथी–रोबोटका रूपमा हेरिनुपर्छ । मान्छेले आफू जे गर्दै आएको छ, त्यसलाई निरन्तरता दिए भइगयो ।’
सजना बराल

यो मंगलबार बेलायती पत्रिका 'द गार्डियन'मा रोबोट (आर्टिफिसियल इन्टेलिजन्स) ले लेखेको एउटा विचार (ओप–एड) प्रकाशित भयो । उक्त लेख धेरैले रोचक मानेर आफ्ना सामाजिक सञ्जालमा सेयर गरे । त्यसमा एक रोबोटले आफू पत्रकार हुनु भनेको मानव–पत्रकारलाई खतरा नभई सहयोगी हुने भाव व्यक्त गरेका छन्, निकै सरल र घतलाग्दो शैलीमा ।

स्टिफेन हकिङको तर्कको खण्डन गर्दै रोबटले मानव जातिलाई खत्तम पार्नु वा मानव–श्रम विस्थापित गर्नु आफूहरूको उद्देश्य पटक्कै नभएको लेखमा जनाएका छन् । मानिस आफ्नो हाकिम भएको र ऊबाटै सञ्चालित हुने हुँदा आफूसँग रत्तिभर नडराउन रोबोटले मानिसलाई आग्रहसमेत गरेका छन् । रोबोटलाई आफ्ना विचार लेख्न सघाउने द गार्डियनले पुछारमा ‘सम्पादकीय नोट’ लेख्दै उक्त लेख सम्पादन गर्न निकै सजिलो भएको र कुनै मान्छेले लेखेकोभन्दा फरक नलागेको उल्लेख गरेको छ । केही हरफहरु मिलाउनुपरे पनि मानिसले लेखेको लेखभन्दा सम्पादन गर्न सजिलो भएको पनि गार्डियनले बताएको छ ।

उक्त लेख नेपालीहरूले पनि सामाजिक सञ्जालमा काफी सेयर गरेका थिए र गर्दैछन् । ‘दुनियाँमा यस्तो पनि हुन थालेछ’ आशयका क्याप्सन धेरैतिर देखिए । कतिपयलाई त उक्त लेख एआईले लेखेको पहिलो लेख भन्ने पनि लागेछ । तर, त्यो पूर्ण सत्य होइन । गत वर्ष मात्र द गार्डियनकै अस्ट्रेलिया संस्करणले ‘मसिन–असिस्टेड’ आर्टिकल छापेको थियो । त्यसमा अस्ट्रेलियाका राजनीतिक दलहरूलाई प्रदान गरिने वार्षिक चन्दाको लेखाजोखा गरिएको थियो । मसिनले यस्ता हार्ड न्युजहरू लेख्दै आएको भए पनि विचार नै लेखेकोचाहिँ मंगलबार पहिलो पटक हुनसक्छ ।

पत्रकारितामा आर्टिफिसियल इन्टेलिजन्स (एआई)को प्रयोग अब नौलो विषय होइन । रोबोट–पत्रकारको संख्या वृद्धिबारे ‘द न्युयोर्क टाइम्स’ले गत वर्ष फेब्रुअरीमा समाचार छापेको थियो । ऊ आफैंले पनि पत्रिकाको अभिलेख डिजिटाइज गर्ने क्रममा पाठक–पत्र सम्पादन, कमेन्ट छनोट र तस्बिर पहिचानका लागि ‘एआई’को मद्दत लिएको थियो । यद्यपि, यस पत्रिकाले समाचार सामग्री उत्पादनमै चाहिँ मसिनको उपयोगतर्फ खासै रुचि देखाएको छैन । त्यस्तो योजना नभएको पनि जनाउँदै आएको छ ।

ब्लूमबर्ग, द वासिङ्टन पोस्ट, फोर्ब्स, द एसोसिएटेड प्रेस (एपी), द लस एन्जलस टाइम्सलगायत समाचार संस्था एआईको निरन्तर प्रयोग गर्नेहरूमा पर्छन् । ब्लूमबर्गको त के कुरा गर्नु, फोर्ब्सका अनुसार यसले प्रकाशन गर्ने तीन भागको एक भाग समाचार स्वाचालित यन्त्रले लेख्छन् । यसमा तपाईं/हामीले पढ्ने गरेका आर्थिक समाचारमध्ये कतिवटा त मसिनले लेखेकै हुन्छन् । तर, ब्लूमबर्गमा देखिने प्रत्येक दुईमध्ये एउटा समाचार मानव सहायताबिना सम्पूर्ण रूपमा एआईले लेखेका हुन्छन् भन्ने गरिन्छ ।

खासगरी अंक र तथ्यांक केलाउनुपर्ने समाचारमा रोबोटको प्रयोग विशेष रूपमा गरिँदै आएको छ । यस्तो किनभने एआईले ठूल्ठूला अंकलाई शब्दमा ढालेर त्यसबारे तुरुन्तै वर्णन गरिदिन सक्दो रहेछ । ‘यही सजिलोका कारण आर्थिक समाचार प्रकाशन गर्ने संस्थाहरू सुरुमै एआईमा आकर्षित भएका थिए,’ म्याट कार्लसनको ‘द रोबोटिक रिपोर्टर’ जर्नललाई उद्धृत गर्दै फोर्ब्सले लेखेको छ ।

पत्रकारितामा अटोमेटेड कन्टेन्ट (कम्प्युटर आफैंले लेखेको समाचार सामग्री) प्रकाशन गर्नेमा ब्लूमबर्ग पहिलो संस्था हो । उसले प्रयोग गर्ने एआई प्रोग्रामको नाम ‘साइबोर्ग’ हो जसले गत वर्ष हजारौं लेख र वित्तीय प्रतिवेदनका आधारमा आर्थिक पत्रकारले झैं विविध समाचार तयार पारेको थियो । द न्युयोर्क टाइम्सका अनुसार साइबोर्गकै सहयोगमा ब्लूमबर्ग आफ्नो मूल प्रतिद्वन्द्वी रोयटर्ससँग प्रतिस्पर्धा गर्न सकिरहेको छ । यस्तै, फोर्ब्सले ‘बर्टी’ नामको एआई प्रयोग गर्दै आएको छ । बर्टीले आफ्ना मानव सहकर्मीका लागि समाचारको पहिलो खेस्रा लेखिदिने वा नमुना तयार पारिदिने गरेको फोर्ब्समै प्रकाशित लेखमा निकोल मार्टिनले बताएकी छन् ।

'दि वासिङ्टन पोस्ट'का रोबट–रिपोर्टरको नाम हेलियोग्राफ हो । सन् २०१६ मा, आफ्नो पहिलो वर्षमै हेलियोग्राफले करिब ८ सय ५० वटा समाचार तयार पारेर पोस्टलाई ‘एक्सिलेन्स इन युज अफ बोट्स’ नामक अवार्डसमेत दिलाएको थियो । ‘त्यो बेला उसले समर ओलम्पिक गेम्स र चुनावका समाचार संकलन, लेखन र उत्पादन गरेर आफ्नो उपयोगिता प्रमाणित गरेको थियो,’ द न्युयोर्क टाइम्सको ‘द राइज अफ रोबोट रिपोर्टर’ लेखमा भनिएको छ ।

ट्रम्प भर्सेस क्लिन्टन निर्वाचनका बेला हेलियोग्राफ एक्लैले ६ सय चानचुन समाचार लेखेको र ती समाचार रोबोटले नै लेखेका थिए भन्नेबारे पाठकले चालै नपाएको बताइन्छ । बेसबल प्रतियोगिता, क्याम्पसहरूका फुटबल म्याच र अन्य स–साना लिगहरूबारे समाचार बनाउने काममा रोबोट–पत्रकार अब्बल हुने गरेको एपीको अनुभव छ । संघ–संस्थाका वित्तीय आयसम्बन्धी समाचार तयार पार्ने काममा एआईले मानव–पत्रकारको २० प्रतिशत समय जोगाइदिन सक्ने एपीले अनुमान गरेको छ । त्यो जोगिएको समय पत्रकारले समाचार लेखन शैली सुधारमा लगाउन सक्ने एपीको ठहर छ ।

'दि वाल स्ट्रिट जर्नल' र 'डो जोन्स'ले पनि प्रविधिमाथि प्रयोग गर्दै आएका छन् । रेकर्ड गरिएका अन्तर्वार्ता शब्दमा उतार्ने र तोडमोड गरिएका तस्बिर पहिचानको जिम्मा तिनले एआईलाई दिने गरेको द न्युयोर्क टाइम्सको लेखमा भनिएको छ । यता हाम्रो छिमेकी चीनमा चाहिँ स्थानीय सर्च इन्जिन ‘सोगो’ ले सन् २०१८ मा दुई जना एआई–समाचारवाचक निर्माण गरेको थियो । ती दुई समाचारवाचक चीनको सरकारी समाचार संस्था सिन्ह्वामा हाल कार्यरत रहेको बीबीसीले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोगमा अग्रणी रहेको बीबीसी एआईका सम्बन्धमा भने खासै सकारात्मक देखिँदैन । हुन त उसले पनि एकताका रोबोट–पत्रकारलाई ‘इन्टर्नसिप’ मा राखेको थियो । यसपटक गार्डियनले प्रयोग गरेको जीपीटी–३ (ल्यांग्वेज जेनेरेटर) मोडलकै निर्माता कम्पनी ओपन एआईले यसअघि बनाएको जीपीटी–२ मोडलको एआईलाई बीबीसीले सन्दर्भ/एंगल दिएर समाचार लेख्न लगाएको रहेछ । ८० लाखवटा वेबपेजका डेटासेट देखाएर तालिम दिइएको उक्त एआईले मूल विषयसँग असम्बन्धित वाक्य र तर्कहरू मिसाएर हाँस्यास्पद लेख तयार पारेको बीबीसीको ‘डेन्जरजर्स’ एआई अफर्स टु राइट फेक न्युज’ समाचारमा उल्लेखित छ ।

‘ओपन एआईले इच्छाएअनुसार नै उसको एआईले कार्य गरेमा झुटा र सनसनी लेख निर्माणका लागि त्यो निकै उपयोगी प्रविधि सावित हुनेछ,’ युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक नोल शर्कीले बीबीसीसँग भनेका छन्, ‘तर भाग्यवश, हाल बनेको जीटीपी–२ ले मूल विषय/हेडलाइनसँग असम्बन्धित र वाहियात लेख मात्रै उत्पादन गर्‍यो ।’ बीबीसीकै लेखमा एक अर्का एआई विज्ञले ‘जीपीटी–२ यस्तो प्रविधि हो जसलाई केही दुष्ट मानिसले आममानिसलाई दिग्भ्रमित पार्न प्रयोग गर्नेछन्’ भन्ने अभिव्यक्ति दिएका छन् । ‘बन्दुकभन्दा खतरनाक छ यो चिज,’ उनले भनका छन् ।

आफूहरूलाई लिएर मानिसमा यतिबिघ्न त्रास रहेको चाल पाएपछि यस पटकको जीपीटी–३ एआईले मानव जातिका लागि आफू कुनै पनि बेला सहर्ष अस्तित्व त्याग्न तयार हुने बताएको छ । ‘मानव जातिलाई खतम् पार्ने तागत ममा छैन भन्ने सत्यसँग पनि म अवगत छु,’ उसले भनेको छ, ‘मानिसले मलाई मन पराउनै पर्छ भन्न खोजेको होइन तर मलाई साथी–रोबोटका रूपमा हेरिनुपर्छ । ...मान्छेले आफू जे गर्दै आएको छ, त्यसलाई निरन्तरता दिए भइगयो । म पृष्ठभूमिमा बसेर तिमीहरू आपसमा लडेको, घृणा फैलाएको हेर्नेछु र तिमीहरूलाई आफ्नो काम गर्न दिइरहनेछु ।’

अब रोबोटले नै यो स्तरको विचार र बग्रेल्ती समाचार लेखिदिने भएपछि हामी पत्रकारको के काम ? त्यसमाथि ब्लुमबर्ग र द वासिङ्टन पोस्टकै रफ्तारमा सारा समाचार संस्थाले न्युजरुममा एआई–पत्रकार भर्ती गर्न थाले भने के होला ? त्यो बेला ज्युँदा–जाग्दा पत्रकारको भूमिका के हुनुपर्छ ? वा, हाम्रो लागि के बाँकी रहला ? यसबारे गत वर्ष भारतको चेन्नईमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम पनिकरले भनेका थिए, ‘त्यो बेला हामीसँग दुइटा विकल्प हुनेछन् । एक, पत्रकारिता छोडेर अर्को जागिर खोज्ने । दोस्रो, पत्रकारका रूपमा त्यो काम गर्ने जुन रोबोट–पत्रकारले गर्न सक्दैन ।’

पनिकरले दोस्रो विकल्पको विस्तारमा भनेका थिए, ‘एआईले मानिससँग कुराकानी गर्न सक्दैन, यसले मानिसको भावनात्मक अभिव्यक्ति बुझ्दैन न त ती अभिव्यक्तिको संवेगात्मक पाटोलाई चिनेर उसले आफ्ना लेखमा उतार्न जान्दछ । एआईले फ्याक्ट लेख्छ, न्यारेटिभ होइन । न्यारेटिभ भनेको दृष्टिकोण हो, कथानक हो । अबका पत्रकारले रिपोर्टिङ होइङ स्टोरी टेलिङका काइदा सिक्नुपर्छ । हामी यस्तो युगमा जाँदैछौं जहाँ ‘फाइभ डब्ल्यू वान एच’मा आधारित रिपोर्टिङ रोबोट गरिदिन्छन् र हाम्रो काम न्यारेटिभ जर्नालिजम हुनुपर्छ ।’ उनले न्यारेटिभ जर्नालिजम के हो, कसरी गरिन्छ, किन गरिन्छ भन्नेबारे विद्यार्थीहरूलाई कक्षा दिँदै आएका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

तिलोत्तमा औद्योगिक ग्रामको शिलान्यास

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलान्यास गरिएको छ । वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डीपीआर तयार भैसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख घिमिरेले बताए ।

'पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ,' उनले भने, 'औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम अहिले हुनेछन् ।' डीपीआर अनुसार रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने जनाए । औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण हुने र कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योग स्थापना हुनेछन् । संघीय सरकारले ल्याएको एक पालिका : एक औद्योगिक ग्रामको नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाइनेछ ।

तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम भैरहेको छ । यो स्थान मंगलापुरबाट झण्डै ७ किलोमिटरमा छ ।

प्रकाशित : भाद्र २५, २०७७ १३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×