कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपहरित जिन्दगी !

त्रिहत्तर हिउँद काटेर जिन्दगीमा नाथे हात धुन पनि जानिएन छ ! र, जाबो हात धुन पनि नजानी एकबारको जुनी व्यर्थमा खेर फालिएछ ! मानिसहरूलाई हेर्‍यो, सबैका नाक र मुख मास्कभित्र भूमिगत छन् । आँखा टिल्ल देखिन्छन्, नाक र मुखबिनाका आँखा चिनिँदैनन् । अहो ! मान्छेले मान्छे चिन्ने दिन गएछन् ! 
खगेन्द्र संग्रौला

काठमाडौँ — ‘रिप भान विङकिल’ कतिकति अघि पढेर बिर्सिएको पनि कतिकति भएको थियो । कोभिड–१९ ले मस्तिष्कको नेपथ्यबाट खिचेर यसलाई स्मृतिको अग्रभागमा ल्याइदियो । लगभग पाँच महिना भयो, ‘रिप भान विङकिल’ दारी हल्लाउँदै मलाई नित्य पछ्याइरहेछ ।

अपहरित जिन्दगी !

घरीघरी गम खान्छु म, जीवनमा आइलागेको यो शब्दातीत उलटपुलटपछि रिप भान विङकिल बढी अस्तव्यस्त कि म ? कालचक्रले उसलाई बढी विपत्को भुमरीमा पार्‍यो कि मलाई ? अनि बढी अल्छे ऊ कि म ?

प्रसंगवश, रिप भान विङकिल हो– वासिङ्टन इरभिङ रचित अमेरिकी अमर कथा, प्रथम प्रकाशन वर्ष सन् १८१९ । कथाको मूल पात्र रिप भान विङकिल, डच–अमेरिकी गाउँले । अल्छीको पिण्ड, सिकारको सोखिन, अद्भुत कथावाचक । रिप भान बीस वर्ष निदाएर ब्युँझियो, म तीन महिना पातालमा बरालिएर फर्कें । ऊ र म जब आ–आफ्नो थातथलोमा फर्क्यौं, रैथाने स्थापित व्यवस्था, प्रचलित संस्कृति, अभ्यस्त जीवनशैली र सम्बन्धको सनातनी स्वरूपको लय भंग भएको थियो । र, भएको थियो भयानक उथलपुथल । उथलपुथलको कारण उसकोमा राजनीतिक क्रान्ति थियो, मेरोमा कोभिड–१९ सिर्जित महामारी । उसकोमा अग्रगमन, मेरोमा पश्चगमन । उसकोमा मानवीयताको गरिमामय उत्थान, मेरोमा मानवीयताको भयावह ह्रास ।

‘कामका नाउँमा वरको सिन्को पर सार्नु छैन, खाने बेलामा टुप्लुक्क,’ सदाझैँ रिप भानकी पत्नी जंगिइिन् । घरको काममा महाको अल्छी भए पनि इखालु थियो रिप भान विङकिल । ‘जोइ नाथेको कचकच’ कति सुन्नु भनेर लाग्यो ऊ उकालो काट्सकिल पर्वतमालातिर । अघिअघि आफू, पछिपछि हुँडार नाउँको उसको कुकुर, काँधमा बन्दुक । पर्वत शिखरमा केही रहस्यमयी डच बूढाहरू भेटिए, जो सम्मोहक संगीतमा निमग्न थिए । भोको रिप भानले मदिराको मटिया देख्यो र बूढाहरूका आँखा छलेर लायो मस्तसँत ठाडो घाँटी । टुनामुना भरिएको मदिराको नशै खतरा, रिप भान काजी बीस वर्ष झुम भयो । ब्युँझिँदा त गाँठे ! दारी एक फुट लामा, बन्दुक खियाले जीर्ण, कुकुर गायब । विस्मित र भयभीत रिप भानले कानसम्म मुख च्यातेर बीस वर्षको सञ्चित हाई एकैचोटि काड्यो ।

अब कुरो मेरो । रिप भानको झैँ पत्नीको कचकच म पाताल जानुको कारण थिएन । म त कलिला प्रियजनहरूलाई भेट्न पत्नीको मायालु साथमा उता गएको थिएँ । अल्छी त म पनि हुँ, तर मिस्टर रिप भानजति होइन । तथापि रिप भानले झैँ मैले पनि जीवनमा पत्नीका अनेक खप्की खाएको छु । तर, खप्कीसँगै मैले करुणामयी पत्नीका प्रेमिल हातको भात पनि अटुट खान पाएको छु । काट्सकिल पर्वतमा त्यतिका वर्ष अलप भएर थालतलोमा फर्किंदा आफ्नो कर्मबापत रिप भान न्यूनाधिक दण्डित हुनु अचम्म होइन । तर, पातालबाट तीनै महिनापछि फर्केको म अकारण दण्डित भइरहेछु । दण्ड पनि लर्तरो होइन, कहालीलाग्दो ! अपमान र सन्तापले जलेर आत्मा नै खाक हुने खालको !

जब म फर्केँ, मैले छाडेर गएको थातथलोको परिवेश अर्कै भएको रहेछ । बिरानो, अत्यासलाग्दो गरी बिरानो । र, आङै सिरिंग हुने गरी भयकारी । सर्वत्र सन्देह, त्रास र अनिश्चितता व्याप्त छ । जता कान थाप्यो, हरपल केवल हस्तशुद्धिको अविराम रट मात्र सुनिन्छ । मानौँ हात धुनु जीवनको महानतम ज्ञान हो र हात धुने अर्ती दिने जीवात् मानौँ जगतैको उदारतम ज्ञानी हो । कोमल संवेदनामाथि पलप्रतिपल उच्चाटलाग्दो सुगा रटानको यो आक्रमण मलाई जीवनफ्रतिकै त्रूर ठट्टाजस्तो लाग्यो ।

धइत्, त्रिहत्तर हिउँद काटेर जिन्दगीमा नाथे हात धुन पनि जानिएन छ ! र, जाबो हात धुन पनि नजानी एकबारको जुनी व्यर्थमा खेर फालिएछ ! उग्र अपमानबोधले त्यसैत्यसै रन्थनिएँ म । मानिसहरूलाई हेर्‍यो, सबैका नाक र मुख मास्कभित्र भूमिगत छन् । आँखा टिल्ल देखिन्छन्, नाक र मुखबिनाका आँखा चिनिँदैनन् । अहो ! मान्छेले मान्छे चिन्ने दिन गएछन् ! पहिचानको तृष्णा मानिसको नैसर्गिक सहजवृत्ति हो । कोरोनाको डरले यो जब्बर तृष्णा भूमिगत नाक–मुखसँगै परमधाम भएछ कि कसो ! यसो हेर्छु, मानिस मानिसजस्तो छैन, जीवन जीवनजस्तो छैन । एक अदृश्य एवं सूक्ष्मतम विषाणुसामु मानिस निस्तेज, असहाय र निरीह भएछ । म कत्ति न ज्ञानवान, म विरल शक्तिमान, म अनुपम शूरवीर र ब्रह्माण्डमै म कत्ति न ठूलो भन्ने मानिसका यावत् दम्भ र दर्पहरू अदृश्य कोरोनाको अदृश्य उपस्थितिमै चुरचुर भएछन् ।

उता गाउँ फर्के रिप भानको अनुभव पनि उति प्रीतिकर भएन । बीस वर्षको लामो अन्तरालमा उसको थातथलोको हर चीज उलटपुटल भएछ । गाउँ हेर्‍यो, चिनिने केही छैन, चिनेको कोही छैन । न परिवेश, न मानिस, न रीतिथिति, न नाता । रिप भानलाई कसैले सोध्यो, ‘बाजे, भोट कसलाई हालियो ?’ हँ, भोट ? के भोट ? दीर्घ निद्राबाट उठेर आएको रिप भान जिल पर्‍यो । उसले भन्यो, ‘बाबु, म त महाराज जर्ज त्रितीयको बफादार प्रजा हुँ ! भोट म के जानूँ ?’ तँलाई पश्चगामी मण्डले पत्रु बूढा ! क्रान्तिकर्मीहरू क्षुब्ध भए । धन्न एउटी वृद्धाले रिप भानलाई चिनिन् र गणतन्त्रवादीहरूको रामधुलाइबाट उसका करङ जोगिए ।

रिप भान पहिले नित्य एउटा होटलमा जान्थ्यो र चियाको चुस्की लिँदै जादुगरी कथा सुनाउँथ्यो । होटलको भित्तोमा राजा जर्ज तृतीयको विशाल फोटो शानका साथ झुन्डिएको थियो । अहिले उसले देख्यो, महाराज जर्ज तृतीयको फोटो मिल्किएछ र खाली ठाउँमा झुन्डिएछ प्रजा जर्ज वासिङ्टनको फोटो । अहो, कहाँको ऊ जर्ज, कहाँको यो जर्ज ! क्षुब्ध रिप भान सात छक् पर्‍यो ।

रिप भान विङकिल किंकर्तव्यविमूढ भई बिरानो बस्तीमा निरुद्देश्य लुखुर–लुखुर हिँड्दै के थियो, अर्को रिप भान विङकिल भेटियो । र, सुरु भयो दुई रिप भान विङकिलबीच पहिचान र प्रतिष्ठाको चर्को द्वन्द्व । बूढो रिप भान भन्छ- आदि रिप भान विङ्किल म हुँ । अधबैंसे रिप भान भन्छ- आदि र अन्त्य म जान्दिनँ, यो जगतमा एकमात्र रिप भान विङ्किल मै हुँ । धन्न भद्रभलाद्मीहरूले बीचबचाउ गरी दुई रिप भान विङ्किलको हात मिसामिस हुन दिएनन् । अध्बैँसे रिप भान मुहारको रूपाकृतिमा काट्टीकुटी वृद्ध रिप भानजस्तै थियो । रूपाकृतिको साक्षात् प्रमाण अघि सारेर पञ्चभलाद्मीहरूले बाबु–छोराको नाता गाँसिदिन सक्दो यत्न गरे । तर, दम्भी अधबैँसे रिप भान वृद्ध रिप भानलाई बाबुको स्थान र मान दिन मान्दै मानेन । वृद्ध रिप भानका अधिकांश साथीहरूले क्रान्तिको वेदीमा ज्यान आहुति दिएछन् । रिप भानकी पत्नीले जीवन बिसाएको निकै वर्ष भएछ । त्यो दुःखद खबर सुन्दा वृद्ध रिप भानका आँखा रमरम पनि रसाएनन् । नवोदित गणतन्त्रमा वृद्ध रिप भान परित्यक्त अवस्था, भय र भोकले मर्ने खतरा थियो, भाग्यवश, उसलाई छोरीले चिनेर, बाबु मानेर, मायाले शरण दिई । अब मिस्टर वृद्ध रिप भान नानीदेखि लागेको बानीको बाटोमा लागिहाल्यो । हर्दम अल्छ्याइँ, नित्य होटलको हाजिरी, रसिक गफ र सम्मोहक कथा कथन, बस् ।

उता बूढो रिप भान छोरीको आश्रयमा थान्को लाग्यो । र, उसले लगभग पूर्ववत् मान र सम्मान, भोजन र सुरक्षा प्राप्त गर्‍यो । यता मेरो हाल भने बेहाल छ । समस्त परिवेश रहस्यमयी कोरोना भाइरसको एकछत्र कब्जामा छ । मेरा आँखासामु अदृश्य पर्खालका पत्रैपत्र छन् । यी कुचक्री कोरोना–सिर्जित मान्छे–मान्छेबीचका पीडादायी पर्खाल हुन् । सन्देहका पर्खाल, भयका पर्खाल, अनिश्चयका पर्खाल, छुवाछुतका पर्खाल, छिःछिः दूरदूरका पर्खाल ।

विभेदकारी हिन्दु जात प्रथामा दुईमध्ये एक जना छुत हुन्छ र अर्को जना अछुत हुन्छ । तर, कोरोनाको न्यायविधानमा यो र ऊ दुवै अछूत हुन्छन् । छोयो कि ज्यान जोगाउन दुवैले छोइछिटो हाल्नैपर्ने । यस अर्थमा छुवाछुतको वितरणमा कोरोनालाई समानतावादी मान्नुपर्ला । कम से कम यसले हिन्दु जात प्रथामा झैँ दुई मनुष्यमाझ म छुत र तँ अछुतको भेदभाव त गर्दैन कि !

‘दुःखमा म तिमीसँग छु,’ यो परम् करुणामयी मानवीय उद्गार हो । र, यो उद्गार उदात्त मनवीय मूल्यको भ्रूण पनि हो । अन्तरमनका कान थापेर यसो सुन्नु, कोरोनाकालमा अर्कै उद्गारको वर्चस्व छ । ‘म तिमीसँग त्रस्त छु । तसर्थः म तिमीदेखि भाग्न विवश छु । तिम्रो दृष्टिदेखि टाढा, तिम्रो स्पर्शदेखि टाढा, तिम्रो श्वासप्रश्वासदेखि टाढा, तिम्रो सामीप्यको न्यानोपनदेखि टाढा,’ यो अति आत्म–केन्द्रित र सम्बन्धविच्छेदकारी उद्गार सुन्दैमा आङ सिरिंग हुन्छ । सुमधुर मानव सम्बन्धमा स्पर्शको अर्थ र महत्ता कति ठूलो छ ! आँखामा स्नेहको चमक र ओठमा प्रसन्नताको मुस्कान लिएर धाप मार्दै गरिने स्पर्शमार्फत स्पर्श गरिने पात्रमा ढाडस, सान्त्वना, आनन्द र स्याबासीको भावना सञ्चार हुन्छ । कोरोनाकालमा दूरीको कठोर उर्दी र छोइछिटोले नास गर्‍यो त यो सुन्दर भावनालाई !

पाताललोक जानुअघि जीवनको स्वामित्वमा मेरो केही न केही अंशभाग थियो । म हुनुको निजत्वसहितको केही न केही गरिमा थियो । र, जीवनका अहं सवालहरूमा मेरो भन्नुको केही न केही अर्थ थियो । पातालबाट जब फर्केँ, मेरो सर्वस्वहरण भएको पाएँ । मानौँ मेरो जीवनमा मेरो वशमा अब केही रहेन । मानौँ मेरो नियतिको निर्धारणमा अब मेरा सचेत चेष्टाहरूको भूमिका शून्यप्रायः छ । मानौँ म पूरापूर अर्कैका हातको निस्तेज, निरूपाय र असहाय मैनको पुतली भएँ । ककसका हातको ? जीवनभक्षी कोभिड कोरोनाको । र, कोभिड कोरोनाको रोकथामका नाउँमा नागरिकमाथि यो र त्यो सनकी र स्वेच्छाचारी हैकम थोपर्ने शासन–तन्त्रको ।

म पाताल जानुअघि सम्बन्धको सोपानमा वृद्धत्वको सम्मानपूर्ण स्थान थियो । र, मलाई राज्यले ज्येष्ठ नागरिकको प्रमाणपत्र दिएको पनि थियो । अहिले यो सब निर्मम उपहासको विषय भयो ।

एक दिन जे भयो, अनर्थ भयो । सडकमा लकडाउनका अन्धवेगी लाठाहरू क्रियाशील थिए । अत्यावश्यक औषधि किन्न म बाहिर निस्केँ । सुरक्षाकर्मीले बाटो छेकेर सोध्यो— कता ? मैले नढाँटी जता हो त्यतै भनेँ । भोकै र थकित भएर हो कि सुरक्षाकर्मी रौद्र मुद्रामा थियो । तैतै मेरो कपालले किञ्चित् करुणा भाव जलाउला कि भन्ने आशाले कपाल कन्याउने बहानामा मैले क्यापटोपी फुकालेँ । मरो कपाल देखेर सुरक्षा ब्रोले के भन्यो सुन्नुहुन्छ ? ‘हेर, एउटा कपाल सद्दे छैन । उमेर कति भो ?’ मैले नढाँटी उमेर भनेँ । सातो खान खोज्दै सुरक्षा ब्रोले मलाई थर्कायो, ‘साठी माथिकाले घरबाहिर ननिस्कनू भन्ने माथिको आदेश थाहा छैन ?’ यस्तोमा म के भनूँ ? हतप्रभ र अवाक् भएँ म ।

सनकसिं शासक स्वेच्छाचारी मुद्रामा भन्छ— कोरोनाकालमा माग्ने स्वतन्त्रता होइन, जीवन हो । गर्ने आज्ञाको अवज्ञा होइन, आज्ञापालन हो । जो स्वतन्त्रता माग्छ र अवज्ञाको धृष्टता गर्छ, त्यो कठोर दण्डको भागी हुन्छ–हुन्छ ।

सहजकाल होस् वा कारोनाकाल, एकबारको यो जुनी बिनाजिज्ञासा, बिनाप्रश्न, बिनाछ्यानविवेक चुपचाप शासकको आज्ञापालन गर्न होइन । आवश्यक, उचित र लोकोपयोगी लागे आज्ञा पालन गरिन्छ, नलागे अवज्ञा गरिन्छ । भयवश शासकको हर स्वेच्छाचारी आदेशको कठपुतली हुनुभन्दा त, सोल्टी, आदेशको अवज्ञा गर्दै मर्नु श्रेयस्कर छ । जीवनको यो द्वन्द्ववादबारे वृद्ध रिप भान विङ्किल के सोच्दो हो ?

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र १९, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?