कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधुमेहका बिरामीमा कोरोनाको जोखिम कति ?

डा. उज्वल न्यौपाने

काठमाडौँ — कोरोना भाइरस (सार्स–कोभ–२) को संक्रमणबाट हालसम्म २ करोड २६ लाखभन्दा बढी व्यक्ति प्रभावित भइसक्दा झन्डै आठ लाखले ज्यान गुमाएका छन् । तथ्यांकले युवा तथा दीर्घरोग नरहेकामा लक्षण र मृत्युदर थोरै मात्र देखिएको छ । उमेर–समूह एउटा पाटो भए पनि मृत्युदर बढाउनमा जोखिमका अन्य कारक पनि देखिएका छन् ।

मधुमेहका बिरामीमा कोरोनाको जोखिम कति ?

विशेष गरी दीर्घकालीन रोगहरू मधुमेह, क्यान्सर, दम, मुटुरोग, मृगौलामा समस्या आदि त्यस्ता कारक पाइएका छन् ।

वृद्ध, बालबालबालिका तथा मोटोपन र उच्च रक्तचाप भएकाहरूमा पनि कोरोनाले जटिल प्रभाव निम्त्याउने देखाएको छ । यहाँ मधुमेहमा कोरोनाको प्रभाव र त्यसलाई कम गर्नेबारे केही जानकारी पस्किने प्रयास गरिएको छ ।

के हो मधुमेह ?
खाने कुराबाट पाइने ग्लुकोज शरीरका कोषहरूमा पुगी ऊर्जा दिइरहेको हुन्छ । मधुमेहमा रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्छ । यसले विभिन्न समस्या निम्त्याइदिन्छ । मानिसको पेटमा अग्न्याशय नामक ग्रन्थि हुन्छ जसले इन्सुलिन नामक हर्मोन उत्पादन गर्छ ।

साधारणतया शरीरमा ग्लुकोजको मात्रा बढ्दा सोही इन्सुलिन सक्रिय भएर त्यसलाई नियन्त्रणमा राख्छ । तर मधुमेहमा इन्सुलिनमा अनियमितता भई रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित भएर बढिदिन्छ । रोगको कारकका आधारमा मधुमेहलाई दुई प्रकारमा विभाजित गरिएको छ । पहिलो स्वतः प्रतिरक्षा रोग हो, जुन मधुमेह रोगीमध्ये १० प्रतिशतमा देखिन्छ । यसमा शरीरको रोग प्रतिरोधी प्रणालीले इन्सुलिन उत्पादन गर्ने कोषमा आक्रमण गर्छ ।

दोस्रो प्रकारको मधुमेहमा शरीरले इन्सुलिनको प्रयोग नै प्रतिरोध गरिदिन्छ जसकारण शरीरमा ग्लुकोज जम्मा हुने गर्छ । त्यसरी जम्मा भएको ग्लुकोजले आँखा, मृगौला, मुटु, स्नायु तथा अन्य अंगहरूमा प्रभाव पार्छ । मधुमेह रोगीमध्ये ९० प्रतिशतमा यही दोस्रो प्रकारबाट पीडित हुन्छन् । प्रकार–२ मधुमेहमा वंशानुगत प्रभाव रहेको हुन्छ । मोटोपन, वृद्धावस्था, उच्च रक्तचाप, उच्च कोलेस्टोरोल, निष्क्रिय जीवनशैली पनि यसका प्रमुख कारण हुन् ।

मधुमेहका प्रमुख लक्षणमा धेरै तिर्खा लाग्ने, भोक लाग्ने र बारम्बार पिसाब लाग्ने हुन्छ । तौल घट्नु, आँखा धमिलो देख्नु, ज्यादा थकान महसुस हुनु, चोटपटक निको हुन धेरै समय लाग्नु अन्य लक्षण हुन् । यसका साथै पुरुषमा मांसपेशी कमजोर हुने, यौनेच्छा घट्ने तथा नपुंसकतासमेत हुन सक्छ । महिलामा पिसाबको संक्रमण, त्वचा चिलाउने, बारम्बार संक्रमणहरू देखिइरहने हुन सक्छ । रगतमा ग्लुकोजको मात्रा बढी यस्तो समस्या देखिने गर्छ । मधुमेहका दीर्घकालीन असरहरूमा मुटुरोग, हृदयघात, मस्तिष्कघात, स्नायु क्षति, मृगौला क्षति, आँखाको रेटिना क्षति, श्रवणशक्तिमा ह्रास आउने, खुट्टामा निको नहुने घाउहरू निस्कने, छालाको संक्रमण बढ्ने, डिप्रेसन आदि पर्छन् ।

उपचार पद्धति
मधुमेह जाँच गर्ने एउटा विधि ‘उपवास ग्लुकोज मात्रा’ हो । यसमा आठ घण्टा खाली पेट रहेर ग्लुकोजको मात्रा नापिन्छ । त्यस्तै ए.वन.सी. जाँच पनि प्रयोग हुन्छ जसले पछिल्लो ३ महिनाको ग्लुकोज मात्रा देखाउने गर्छ । खाना खाएको २ घण्टामा नापिने पोस्ट–प्रान्डियल ग्लुकोज पनि मधुमेह पत्ता लगाउन सहयोगी हुन्छ । व्यक्तिका लक्षण र रगतको जाँचका माध्यमबाट मधुमेह निदान गरिन्छ ।

कतिपयमा शारीरिक व्यायाम र उचित भोजन नै ग्लुकोजको मात्रा सन्तुलन गर्न पर्याप्त हुन्छ । जीवनशैली परिवर्तनबाट रोग नियन्त्रणमा नआए औषधोपचार आवश्यक पर्छ । धेरै प्रयोगमा आउने औषधिमा मेटफर्मिन, ग्लिपिजाइड, ग्लिमेपेराइड इन्सुलिन आदि पर्छन् ।

आवश्यकताका आधारमा एउटाभन्दा बढी औषधि लिनुपर्ने हुन सक्छ । इन्सुलिनको प्रयोग प्रकार–१ को रोकथाममा बढी हुन्छ । प्रकार–२ मा पनि केही अवस्थामा इन्सुलिन चाहिन्छ । मधुमेहमा कार्बोहाइड्रेटको मात्रा नापेर खान जरुरी हुन्छ । त्यस्तै तौल घटाउने, व्यायाम गर्ने र दिनभरमा थोरै मात्रामा धेरै पटक खाने बानी बसाल्नुपर्छ । मधुमेहका रोगीले खान नहुने भोजनमा गुलियो तरल पदार्थहरू, ट्रान्स फ्याट, मह, जंक फुड, गुलियो स्वादका खानेकुरा, फलफूलका जुस, आलु, चामल आदि हुन् ।

रोग लागिसकेपछि नियमित औषधि सेवन गर्नुपर्ने झन्झटबाट जोगिन पहिल्यै सचेतना र रोकथामका उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ । यसका लागि दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, सन्तुलित तथा स्वस्थ भोजन खाने, चिल्लो मसालेदार खाना कम खाने, चुरोट–खैनी, अल्कोहलजन्य पेय नखाने तथा बेलाबेलामा आफ्नो रगतमा ग्लुकोजको मात्रा मापन गरिरहनुपर्छ । वृद्ध तथा वंशानुगत जोखिममा रहेका व्यक्तिहरूले विशेष ध्यान राख्न आवश्यक हुन्छ ।

मधुमेहका रोगीमा कोरोनाको डर
मधुमेहका रोगीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने तथा विभिन्न जटिलता देखिने हुनाले भाइरल संक्रमण हुँदा उपचारमा थप समस्या आउँछ । यसको मुख्य कारण मधुमेहले शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइदिनु हो ।

त्यसै गरी ग्लुकोजको मात्रा बढी भएको अवस्थामा त्यसले भाइरसलाई छिटो फस्टाउन मद्दत गरिदिन्छ । संक्रमणसँग लड्न शरीरले विभिन्न हर्मोन बनाउँछ, त्यससँगै ग्लुकोजको मात्रा पनि बढिरहेको हुन्छ । त्यसलाई इन्सुलिनले समेत नियन्त्रण गर्न कठिन पर्छ ।
त्यसैले मधुमेहका रोगीले स्वास्थ्यकर्मीसँग सहकार्य गरी अन्य रोग लागेका बेला ग्लुकोजको मात्रा कतिमा राख्ने, औषधिको मात्रा कसरी मिलाउने, कति–कति समयमा ग्लुकोजको मात्रा नाप्ने भनी योजना बनाउनुपर्छ । बेलैमा आवश्यक औषधिको व्यवस्था गर्नुपर्छ ।

औषधिको नियमित सेवन, झोल पदार्थ धेरै खाने, तौल सन्तुलनमा राख्ने, ज्वरो नापिरहने आदि गर्दा पनि संक्रमणका कारण हुने जटिलतालाई समयमै रोक्न सकिन्छ । पहिलो प्रकारका मधुमेह रोगीले इन्सुलिन नियमित लिने, परिस्थितिअनुसार इन्सुलिनको मात्रा मिलाउने, प्रत्येक चार घण्टामा ग्लुकोज नाप्ने, गुलियो नभएको झोल पदार्थ प्रशस्त पिउने गर्नुपर्छ । ग्लुकोजको मात्रा ११० देखि १८० भित्र सीमित राख्नुपर्छ । धेरै बान्ता भए, २४ घण्टाभन्दा बढी ग्लुकोजको मात्रा अनियन्त्रित भए तथा अन्य जटिलता देखापरे तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ ।

कोरोना तथा अन्य छिटो सर्ने संक्रमणबाट जोगिन मधुमेह रोगीले सामान्य व्यक्तिले भन्दा बढी स्वास्थ्य सतर्कता अपनाउन जरुरी हुन्छ । तोकिएका नियम पूर्ण परिपालन गरे समस्या जटिल हुनै पाउँदैन र त्यसको असर पनि कम हुन्छ ।

(लेखक न्यौपाने केएमसीमा इन्टर्न गर्दै छन् ।)

प्रकाशित : भाद्र ९, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?