नदी : कालीगण्डकीको आत्मकथा- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदी : कालीगण्डकीको आत्मकथा

भयङ्कर भौगोलिक उथलपुथलका कारण एक्कासि गायब हुन पुगेको तिब्बत समुद्रको पिँधमा युगौँदेखि जम्मा भएको काला बालुकणहरूको थुप्रो सतहमा आएको र म त्यही कालो बालुवा र गेग्रिनका बीचबाट उत्पन्न भएकीले मेरो वर्ण कालो भएको हो । 
हरि अधिकारी

काठमाडौँ — म हाम्रो देश नेपालका ३ वटा मुख्य नदी–प्रणालीमध्ये एक हुँ । मेरो नाम गण्डकी हो । नेपालको पूर्वी भूभागको नदी–प्रणाली सप्तकोसीका नामले प्रसिद्ध छ भने पश्चिमी भूभागको कर्णालीका नामले । देशको मध्य–भागको, जल–प्रवाह–प्रणालीको मूर्तरूप भने म स्वयम् नै हुँ ।

प्राचीनकालदेखि नै मानिसहरूले मलाई आ–आफ्ना सुविधाअनुसार कृष्णागण्डकी, कालीगण्डकी, गण्डकी, काली, नारायणी, सप्तगण्डकी आदि नामले सम्बोधन गर्दै आएका छन् । तनहुँ जिल्लाको देवघाटमा पूर्व–उत्तर दिशाबाट अथाह जलराशि बोकेर आएकी मेरी सहयात्री र भगिनी त्रिशूली नदीलाई अँगालोमा समेटेपछि मैले एक प्रकारले पूर्णता प्राप्त गर्छु । तदुपरान्त म नारायणी कहलिन्छु ।

नारायणीको अर्को नाम सप्तगण्डकी पनि हो, सप्तगण्डकी अर्थात् सात गण्डकीहरूको समुच्चय रूप ! यस नामभित्र मेरा ६ मुख्य सहायक नदीहरू समेटिएका छन् । यसलाई एउटा संयोग नै मान्नुपर्छ ः देशको पूर्वी भू–भागको जलप्रवाह–प्रणालीमा पनि ७ वटै नदीहरू छन् । त्यसैले त्यो ‘सप्तकोसी’ का नामबाट प्रशिद्ध छ । नारायणी वा सप्तगण्डकीका रूपमा लगभग सय किलोमिटर पश्चिम–दक्षिणको यात्रा गरेर नेपालको पश्चिम–नवलपरासी जिल्लाको त्रिवेणी–धाममा पुगेपछि म वाल्मीकिनगर क्षेत्रबाट छिमेकी देश भारतको सरहदभित्र प्रवेश गर्छु । भारतमा मेरो नाम थोरै सानो भएको छ । त्यहाँ मानिसहरू मलाई मात्र ‘गण्डक’ भनेर सम्बोधन गर्छन् ।

केही करोड वर्षपहिले पृथ्वी नामक यस ग्रहपिण्डको गर्भमा रहेका भारतीय र युरोएसियाली टेक्टोनिक प्लेटहरू आपसमा जुधेर भएको भीषण भौगर्भिक उथलपुथलका कारण मेरो जन्म भएको हो । मेरो मात्र होइन, आज हाम्रो सामुन्ने हिमालय नामको, पूर्वमा चीन र बर्मादेखि पश्चिममा इरान र अफगानिस्थानसम्म करिब २५ सय किलोमिटर लामो भूभागमा फैलिएको र अग्ला–अग्ला टाकुराहरू भएको जुन महान् पर्वत शृंखला उभिएको छ, यसको जन्म पनि त्यतिबेला नै भएको हो । वास्तवमा त्यस प्रलयंकारी भौगर्भिक दुर्घटनाले त्यतिबेला पृथ्वीको आकारलाई पूरै फेरिदिएको थियो । कतिवटा महादेशहरू पृथ्वीको मानचित्रबाट गायब भएका थिए भने केही नयाँ देशको भौगोलिक अस्तित्वले आकार लिएको थियो । केही समुद्र अचानक सुकेर तिनका ठाउँमा नयाँ पहाडहरू उभिन पुगेका थिए । त्यस युगान्तकारी प्राकृतिक भविताको निकटको साक्षी र भोक्ता हौँ हामी दुई – मेरो भाइ हिमालय र म स्वयम् ।

यो मानव–जातिको इतिहास निर्माण हुनुभन्दा धेरै अघिको कुरो हो । करोडौं वर्षअघिको त्यस कालखण्डमा भारतीय उपमहाद्वीपको समस्त भूभाग अथाह मरूभूमिको विस्तारजस्तो मात्र थियो भने, अहिले तिब्बतको जुन विशाल मैदानी इलाका छ त्यो एउटा विशाल समुद्रका रूपमा मौजुद । त्यस्तैमा एक दिन जब पृथ्वीको गर्भमा रहेका दुई विशाल टेक्टोनिक प्लेटहरू आपसमा जुध्न थाले, त्यसको असरले तिब्बतको त्यो समुद्र नै अचानक गायब हुन पुग्यो । समुद्रका ठाउँमा विशाल मैदान बन्यो भने त्यसको दक्षिणी भागमा अचानक जमिन उचालिएर अग्लाअग्ला टाकुरा भएको पर्वत–शृंखला खडा भयो । म आफू पनि अचानक गायब भएको त्यही समुद्रको एक छेउमा अस्तित्वमा आएको एउटा हिमालको फेदीमा कालो रङको पानीको एउटा सानो सोतोका रूपमा जन्मिएकी हुँ । भयङ्कर भौगोलिक उथलपुथलका कारण एक्कासि गायब हुन पुगेको तिब्बत समुद्रको पिँधमा युगौँदेखि जम्मा भएको काला बालुकणहरूको थुप्रो सतहमा आएको र म त्यही कालो बालुवा र गेग्रिनका बीचबाट उत्पन्न भएकीले मेरो वर्ण कालो भएको हो । यही एउटा कारणले हो मकहाँ करोडौँ वर्ष पुरानो जीवाष्म ‘शालिग्राम’ पाइन्छ । हिन्दू धर्मका पुरोधा आदि शंकराचार्यले भगवान् विष्णुसँग जोडिदिएपछि शालिग्राम विशेषगरी वैष्णवमतमा विश्वास गर्ने हिन्दूहरूका लागि पूजनीय भएको छ ।

मेरो अहिले देखिने उद्गमस्थल मुस्ताङ उपत्यकाको पूर्वी छेउ, तिब्बतसँगको सीमानामा रहेको न्हुबिने हिमाल (उचाइ ६२६८ मिटर) र त्यसको हिमनदी हो । न्हुबिने हिमनदीबाट छौमा नामको सानो खोल्सीको रूपमा निस्केकी हुँ म । उद्गमस्थलबाट दक्षिण केही किलोमिटर पर पुगेपछि उत्तर–पश्चिममा पर्ने लो–मन्थाङ क्षेत्रको न्हेचुङ खोला मिसिन आइपुग्छ मसँग । न्हेचुङ खोला मसँग मिसिएपछि जन्मकालको ‘छौमा’ भन्ने मेरो त्यो नाम सधैँका लागि फेरिन्छ । त्यसपछि त्यहाँदेखि त्यस्तै ६० किलोमिटर जति तल बेसीमा रहेको कागवेनी नपुगुन्जेलसम्म म मुस्ताङ खोलाको नामले चिनिन्छु । कागवेनीको प्रख्यात संगममा पवित्र मुक्तिक्षेत्रबाट १०८ जलधाराका रूपमा निःसृत हुने, स्थानीय जनबोलीमा झोङ्खोला भनिने (कसै कसैले काक पनि भन्ने गर्छन्) कृष्णा नदी मसँग मिसिन आइपुग्छिन् । कृष्णा र मेरो मिलन भएपछि म मेरो सर्वाधिक प्रचलित नाम कृष्णागण्डकी अथवा कालीगण्डकीबाट परिचित हुन थाल्छु ।

तिब्बतमा पर्ने प्रख्यात दामोदर कुण्ड र मुक्तिक्षेत्रको पवित्र जलधारा समेटेर दक्षिणाभिमुख बग्ने मेरो यात्रा पथको कुल लम्बाइ ८१४ किलोमिटर छ । यो ८१४ किलोमिटर लामो मेरो यात्रापथमध्ये ५ सय किलोमिटरभन्दा केही बढी नेपालमा र बाँकी करिब ३ सय किलोमिटर भारतमा पर्छ । भारत, बिहारको सोनपुर नजिकको प्रख्यात हरिहर क्षेत्रमा पुगेर गंगामा समाहित हुनुअघि मैले मेरो जलाधार क्षेत्रका एक दर्जनजति ठूला र सयौँको संख्यामा अरू साना नदी र खोलाहरूलाई आफूमा समाहित गरिसक्छु । मेरो जलप्रणालीबाट सिञ्चित हुने जमिनको कुल क्षेत्रफल १७९०० वर्गकिलोमिटर छ । खेदको विषय, मसँग भएको पानीको विशाल स्रोतको नेपालले आफ्नो जमिनको सिँचाइका लागि अपेक्षा र सम्भावनाअनुरूप उपयोग गर्न सकेको देख्दिनँ । भारत सरकारको पहलमा नेपाल–भारतको सिमानाको वाल्मीकिनगर क्षेत्रमा इस्वीको १९६० को दशकमा बनाइएको ‘गण्डक नहर’ लाई लिएर परियोजना सम्पन्न भएका बेलादेखि नै विवाद चलिरहेको छ । गण्डक परियोजनामा नेपालको हक र हितको पूरै बेवास्ता गरिएको मात्र होइन, त्यसको इन्जिनियरिङ डिजाइन नेपालका निम्ति अभिशाप हुने किसिमले गरिएको आरोपसमेत लाग्दै आएको छ ।

मेरो अथवा सप्तगण्डकीको जलाधार क्षेत्रमा हिमालय पर्वत शृंखलाका ८ हजार मिटरभन्दा अग्ला ३ वटा शिखरहरू : धवलागिरी, अन्नपूर्ण र मनास्लु पर्छन् भने यसै क्षेत्रमा ८ हजार मिटरभन्दा कम र ६ हजार मिटरभन्दा माथिका २ दर्जनभन्दा धेरै हिम–शिखरहरूलाई अलौकिकझैँ लाग्ने दृश्य प्रस्तुत गर्दै शानसँग उभिएको देख्न सकिन्छ । हिमालय पर्वत शृंखलाको मध्यभागको यस इलाकाको पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी चौथोसम्मको फैलावटमा पर्ने हिम–शिखरहरूमध्ये प्रमुख छन् : लाङटाङ, दोर्जे लाक्पा, गणेश, हिउँचुली, लम्जुङ, गंगापूर्ण, नीलगिरि, माछापुछ्र्र्रे, अन्नपूर्ण पहिलो, दोस्रो, तेस्रो र चौथो तथा धवलागिरि पहिलो, दोस्रो, तेस्रो र चौथो आदि । नेपालको स्थानीय प्रशासनिक विभाजनअनुसार, मेरो अथवा सप्तगण्डकीको जलाधार क्षेत्रमा पूर्वबाट क्रमशः रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, मनाङ, कास्की, मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ, चितवन, पूर्व–नवलपरासी र पश्चिम–नवलपरासी जिल्लाहरू पर्छन् ।

मुस्ताङ र म्याग्दी जिल्लाबाट म धवलागिरि र अन्नपूर्ण हिमशिखरलाई दायाँ–बायाँ राखेर बिस्तारै मैदानी इलाकाको बाटोमा अगाडि बढ्छु । मेरै जल–प्रवाह–क्षेत्रमा पर्छ– यस संसारमा विद्यमान स्वर्गको सानो टुक्रा भन्न सकिने विश्वविख्यात पोखरा उपत्यका । थोरै हात तन्काएका खण्डमा चपक्क समाउन सकिनेजस्तो नजिक लाग्ने माछापुछ्रे हिमाल, फेवासमेत चारवटा सुन्दर तालहरू, दुइटा प्राकृतिक गुफा र ३ किलोमिटर लामो सेती नदीको गहिरो खोँचजस्ता अद्भुत प्राकृतिक वरदानहरूले सुसज्जित पोखरा उपत्यकालाई गण्डकी क्षेत्रको मात्र होइन, सारा नेपालकै एउटा गौरवपूर्ण प्राकृतिक सम्पदाका रूपमा लिन सकिन्छ । साथै, मेरो यही जलाधार क्षेत्रमा विकसित भएको छ : संसारभरिका प्रकृतिप्रेमी पदयात्रीहरूको मूल्याङ्कनमा विश्वकै सर्वश्रेष्ठ ठहरिएको अन्नपूर्ण पदयात्रा–मार्ग । देवदार, कटुस, बाँझ र आँखी सल्लाको घना जंगल, तरेली परेका खेत र बारीका पाटाहरू, मौलिक नेपाली शैलीका गाउँ र बस्तीहरू, खुला खर्क र बुकीको नयनाभिराम पृष्ठभूमिमा उभिएको यस पदयात्रा मार्गलाई त्यहाँ पुग्ने जो कसैले पनि मनोरम प्राकृतिक दृश्यावलीको जीवन्त रूप भनेर तारिफ गर्छ ।

सप्तगण्डकी नदी प्रणालीमा मेरा मुख्य सहायक नदीहरू छन् : त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र दरौंदी । पूर्वमा गोसाइँकुण्ड हिमालको पश्चिमतिरको पानीढलोदेखि पश्चिममा धवलागिरी हिमालको दक्षिणतिरको पानीढलोसम्मको विस्तृत भू–भागलाई समेट्ने यो जलाधार इलाकामा रहेका सयौँ मझ्यौला र साना नद, गाड, खोला र खहरेहरू देशका ५ अञ्चल, पूर्वबाट क्रमशः वाग्मती, गण्डकी, धवलागिरी, लुम्बिनी र नारायणीका विभिन्न ठाउँमा आएर मुख्य गण्डकी नदीहरूमा मिसिन्छन् । यस नदी प्रणालीको जलघनत्वलाई वर्षभरि नै एउटा विन्दुमा स्थिर राखिरहन मायी खोलाहरूबाट प्राप्त हुने पानीको मात्राको ठूलो योगदान रहेको छ । गण्डकी नदी प्रणालीका महत्त्वपूर्ण अंशका रूपमा रहेका त्यस्ता खोलाहरूमा प्रमुख छन् : भोटेखोला, बेत्रावती, तादी, ङादी, पौँदी, मोदी, रहुघाट, म्याग्दी, आँधीखोला, बडिगाड र राप्ती आदि । यीमध्ये केहीलाई त पानीको घनत्व र बहावको तीव्रताका दृष्टिले मलगायत केही मुख्य गण्डकी नदीहरूकै हाराहारीमा राख्न सकिन्छ जस्तो : रहुघाट, बडिगाड आदि ।

नेपालको जलप्रणालीमा भएका अधिकांश नदी र खोलाहरू हिमालबाट निःसृत भएकाले यिनमा बाह्रै महिना केही न केही मात्रामा पानीको स्थिर परिमाण रहने गर्छ, यद्यपि हिउँद याममा पानीको घनत्वमा केही कमी आउनुलाई स्वाभाविक मान्नुपर्छ । त्यसबाहेक गण्डकी नदी प्रणालीको जलाधार क्षेत्रमा रहेका १ हजार २५ हिमनदीहरू र ३ सय ३८ ताल–तलैयाहरूले पनि यस क्षेत्रका नदी–नालाहरूलाई सुक्न नदिन र तिनमा बाह्रै महिना केही न केही मात्रामा पानीको बहाव बाँकी राखिरहनमा मद्दत गरिरहेका हुन्छन् । यस गण्डकी नदी प्रणालीमा मिसिएर यसको अविभाज्य अंश बन्दै आ–आफ्नो अस्तित्व यसैमा विलीन गरेका सबै खोला–नालाहरूको नाम सम्झिन त म सक्दिनँ तर मेरो रक्त धमनीमा तिनको चञ्चल गतिको अनुभूति भने म हर्दम गरिरहेको हुन्छु ।

मेरो आधार–भूमि नेपाल जल–सम्पदाका दृष्टिले विश्वकै दोस्रो नम्बरको सम्पन्नशाली देश मानिएको छ, जहाँ उपलब्ध पानीको ठूलो स्रोतलाई ऊर्जा विकासका निम्ति सदुपयोग गर्न सक्ने हो भने ८३ हजार मेगावाटभन्दा बढी बिजुलीको उत्पादन गर्न सकिने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा निकाल्न सकिने भनी अनुमान गरिएको सो ८३ हजार मेगावाट बिजुलीमध्ये गण्डकी नदी प्रणालीबाट मात्रै करिब २० हजार ६ सय ५० मेगावाट निस्कने हिसाब जलस्रोत क्षेत्रका विज्ञहरूको निकालेका छन् । तर, देशमा योजनाबद्ध विकास अभियानको थालनी भएको ७ दशक बितिसक्दा पनि हालसम्म देशमा उपलब्ध जलस्रोतबाट निकाल्न सकिने बिजुलीको कुल परिमाणको अत्यन्त सानो अंश मात्र निकाल्न सकिएको खेदजनक यथार्थले मलाई बेला–बेलामा झस्काइरहन्छ । देशभरिमा अहिलेसम्म उत्पादन भएको बिजुलीको कुल परिमाणलाई विद्युत् प्राधिकरणका अधिकारीहरूले तानतुन गरेर १ हजार मेगावाटसम्म पुर्‍याउने गरेको भए तापनि वास्तविक परिमाण ७ सय मेगावाट मात्र भएको दाबी गर्नेहरू पनि उत्तिकै छन् । देशमा अहिले सञ्चालनमा आइरहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो (कालीगण्डकी ‘ए’ १४४ मेगावाट) भने मेरो नाममा छ ।

माथिल्लो मुस्ताङको न्हुबिने हिमालबाट निस्किएकी मैले सोही जिल्लाको कागबेनी आइपुग्दासम्म बेग्लै प्रकारका, कम उचाइका गल्छी र खोँचहरू हुँदै आफ्नो महान् गंगा नदीसम्मको यात्रालाई जारी राखेकी हुन्छु । मेरो यात्रा अघि बढ्दै जाँदा जब मुस्ताङ जिल्लाको सिमाना काटेर म्याग्दी जिल्लामा प्रवेश गर्छु, त्यतिबेला भने म अन्नपूर्ण हिमालको पश्चिम–उत्तर पानीढलोको फेदीमा रहेको संसारकै सबैभन्दा गहिरो गल्छी (गोर्ज) मा खस्न पुग्छु । त्यस गहिरो प्राकृतिक खोँचको नाम अन्धो गल्छी भनेर कुनै जानिफकारले नै राखेको हुनुपर्छ । त्यहाँ आइपुग्नुअघि मैले मुस्ताङका केही प्राकृतिक र केही मानवनिर्मित स्मारकहरूलाई आफ्नो स्मृतिको फलकमा उतारिसकेको हुन्छु । लो–मन्थाङस्थित मुस्ताङी राजाको प्रासाद–नगर, चराङको विशाल लामा–बौद्ध गुम्बा, संसारकै सबैभन्दा अग्लो ठाउँमा रहेको ताल तिलिचो, १०८ धारा तथा अविछिन्न ज्योतिर्लिंगले सुसज्जित पवित्र मुक्तिनाथ धाम, एक्लेभट्टीदेखि जोमसोमसम्म प्रत्येक दिन अपराह्नसम्म बेतोडसँग कुद्ने अन्धो घोडाजस्तो बतास र धवलागिरि हिमालबाट निस्किएको बोक्सीखोला नामको सम्भवतः संसारमै सबैभन्दा चिसो पानी भएको त्यो सानो मूललाई मैले आफ्ना अनुभव र अनुभूतिको कोशागारमा सधैँका लागि सुरक्षित राखेकी छु ।

मेरो यात्रा–पथको किनाराहरूमा केही महत्त्वपूर्ण मानव–बस्तीहरू बसेका छन् । तीमध्ये सबैभन्दा पुरानो बस्ती लो–मन्थाङ नै हुन सक्छ । केही वर्षअघि त्यस प्रासाद–नगरको नजिकै भेटिएका गुफाहरूले त त्यस भेगमा विकसित मानव समाजको इतिहासलाई अझै पर लैजान्छन् । लो–मन्थाङबाट तलतिर ओर्लंदा भेटिनेछन् पुनेल ठिनेलहरूका मार्फा, स्याङ, ठिनी, छैरुजस्ता गाउँहरू र चारथरी थकालीहरूका टुकुचे, कोबाङ र लेतेजस्ता बस्तीहरू । त्यहाँबाट तल हिँड्दै जाँदा बेनी, बागलुङ, कुस्मा, रिडी, नारायणगढ, त्रिवेणीधाम र वाल्मीकिनगरजस्ता विकसित सहर–बजारहरूसँग साक्षात्कार गर्न सकिन्छ । म मैदानी इलाकामा पुगिसकेपछि मेरो देब्रेतिर पर्ने राप्ती उपत्यकामा चितवन नामक जनपदको पछिल्ला ४०–५० वर्ष जुन तीव्र गतिमा र सन्तुलित किसिमले विकास भएको छ, त्यससँग मिल्दोजुल्दो दृष्टान्त विकासशील मुलुकहरूको आधुनिक इतिहासमा सायदै पाइएला । मेरो यात्रापथमा मुक्तिनाथधाम, गलेश्वरधाम, सेतीवेनी, रुरुक्षेत्र (रिडी), देवघाट र त्रिवेणीधाम–वाल्मीकि आश्रमजस्ता अनेक महत्त्वपूर्ण धार्मिकस्थलहरू पनि छन् । मेरो सम्बल पाएर विकसित नागर सभ्यताका प्रतीक झरिला–भरिला मानव–बस्तीहरू र आस्थाका सुसंरक्षित केन्द्रहरू देखेर म खुसीले गद्गद् हुन्छु । मुक्तिनाथधाम अर्थात् मुक्तिक्षेत्रमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको विश्वास र आस्थाले उत्तिकै सम्मान पाएको देखेर म झनै आल्हादित छु ।

मेरो किनाराका मानव–बस्तीहरूले बहु–सांस्कृतिक मोज्याइक प्रस्तुत गर्छन् । माथिल्लो र बीच मुस्ताङको भोट–तिब्बतबाट अनुप्राणित रीति–रिवाज, थकालीहरूको तोरन्लह, म्याग्दी, बागलुङ, गुल्मी, स्याङ्जा र पाल्पाका मगर–समाजमा विकसित यानिमयाँ, सालैजु, मारुनी र सँगिनीजस्ता लोकभाकाहरू, बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी भेगका बाहुन–क्षत्री समाजले जोगाएर राखेका भजन, बालुन, सबाईजस्ता लोककाव्य परम्परा, मैदानी इलाकाका आदिवासी थारूहरूका मौलिक गीत–गाथा, अल्पसंख्यामा रहेका कुमाल, बोट, दरै, दुरा आदि जातिको बेग्लै खालको संस्कृति, यी कुराहरूले नै बनेको छ समग्रमा कृष्णागण्डकी नदी सभ्यता । र, यिनै कुराबाट अनुप्राणित भएको छ नेपाल राष्ट्रको विविधतामा एकताको मूल मन्त्र पनि !

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण २, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

अनि अंगुरबाबाका आँखा टिलपिलाए

श्रद्धाञ्जलि अंगुरबाबा जोशी ! 
हरि अधिकारी

शिक्षाक्षेत्रकी एक सुपरिचित अगुवा अंगुरबाबा जोशी ८८ वर्षको परिपक्व उमेरमा गत हप्ता ब्रह्मलीन भएकी छिन्  ।

उनी पुरुष जातिको एकछत्र दबदबा भएको हाम्रो जस्तो पुरातनपन्थी समाजमा त्यस्तो एक विरल नारी व्यक्तित्व थिइन् जसले आफूले मात्र उच्च शिक्षा प्राप्त गरेको होइन, एउटा विशाल शैक्षिक संस्थाको सञ्चालकका रूपमा लामो समय काम गरेर हजारौं–हजार नेपाली चेलीलाई शिक्षित बनाउने अभियानको नेतृत्वसमेत गरेकी थिइन् । बेलायतको विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर आएकी, प्रसिद्ध वैज्ञानिक डाक्टर बलराम जोशीकी पत्नी अंगुरबाबाले त्यसपछि २ दशकभन्दा बढी समय पद्मकन्या कलेज, काठमाडौंको प्राचार्यको पद बडो कुशलताका साथ सम्हालेकी थिइन् ।

पद्मकन्या कलेज अक्सफोर्ड रिटर्न्ड युवा विदुषी अंगुरबाबा जोशीले देखेको एउटा महान् सपना थियो । शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको यस देशमा स्त्रीहरूका लागि मात्र एउटा छुट्टै कलेज खोलेर त्यसलाई नारी–शिक्षाको एक बृहत् केन्द्रका रूपमा विकसित गर्ने जुन परिकल्पना जोशीले गरेकी थिइन् त्यो आफैँमा एउटा क्रान्तिजस्तै थियो । त्यस महत्त्वाकांक्षी परियोजनालाई मूर्त रूप दिन कुनै एउटा बलियो साथ र सम्बलविना सम्भव थिएन । जोशी र नेपाली नारी-समाज दुवैको सौभाग्य, देशका तत्कालीन शासक राजा महेन्द्रविक्रम शाह पद्मकन्या कलेजको परियोजनालाई सफल बनाउन अग्रसर भए । उनले कलेजलाई बागबजारको ठूलो प्लट जग्गा मात्र दिलाएनन्, अन्य हरेक प्रकारका भौतिक र नैतिक सहयोग पनि उपलब्ध गराए । ती दुवै जनालाई नजिकबाट चिन्ने समकालीन भद्रजनहरूका अनुसार कवि राजा महेन्द्र र प्रकाण्ड विदुषी अंगुरबाबा जोशीका बीच घनिष्ठ मित्रताको सम्बन्ध थियो ।

जोशीको व्यक्तित्व बडो रवाफिलो थियो, विद्वत्ताको आलोकमा उज्यालिएको । उनी अनिन्द्य सुन्दरी थिइन् । अलि बढी नै फराकिलोजस्तो लाग्ने गोरो निधारमा गाढा रातो रङ्गको बिन्दीको ठूलो टीका लगाएर बस्ने उनको अनुहारमा सौन्दर्य र बौद्धिकता दुवैको चमक हर्दम नाचिरहेको देख्न सकिन्थ्यो । उनलाई आफ्नो काममा निपुण, लगनशील र अनुशासनप्रिय प्राचार्यका रूपमा सादर सम्झना गर्दछन् पद्मकन्या कलेजका भूतपूर्व शिक्षक, कर्मचारी र छात्राहरू । त्यहाँ पढ्ने विद्यार्थीका लागि शुद्ध नेपाली सुतीको खैरो रङ्गको साडी र चोलोको पोसाक तय गरेर जोशीले त्यस महाविद्यालयलाई अत्यन्त सजिलोसँग एउटा पृथक् र विशिष्ट पहिचान दिलाएकी थिइन् । त्यो युनिफर्म नै पीकेका लागि उनले बनाएको सफल ‘मार्केटिङ टुल’ बनेको थियो । हुन पनि पीकेको युनिफर्म देशभरिका किशोरीले सबैभन्दा बढी मन पराएको कलेज युनिफर्म बन्न पुगेको थियो । भनिन्छ, कतिपय केटीहरू त त्यस पोसाकको आकर्षणले तानिएर नै पीकेमा भर्ना हुन चाहन्थे ।

पद्मकन्या कलेजप्रति नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसका संवाहक नेपाली कांग्रेसलगायत राजनीतिक दलले कृतज्ञता ज्ञापन गर्नुपर्दछ भन्नु अत्युक्ति हुनेछैन । पद्मकन्या कलेजले जुन ठूलो संख्यामा नेपाली महिलालाई सक्रिय राजनीतिमा पठाएको छ त्यत्रो संख्यामा अन्य कुनै संस्थाले पठाउन सकेको छजस्तो लाग्दैन । नेपाली युवकहरूको राजनीतिक प्रशिक्षणको केन्द्र त्रिचन्द्र कलेजलाई मान्न सकिन्छ भने युवतीहरूका लागि पीकेलाई । पद्मकन्यामा प्रशिक्षित धेरै युवती अहिले राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा उभिएका भेटिन्छन् । दुई चार जनाले त मन्त्रीको पद पनि सम्हालिसकेका छन् ।

नेपाली कांग्रेस पार्टीका लागि त पद्मकन्या कलेजले नेत्रीहरूको एउटा हुल नै उत्पादन गरेर पठाएको छ । यस प्रसंगमा मीना खड्का पाण्डे, कमला पन्त, महालक्ष्मी डिना उपाध्याय, शमा शाही, समिता खड्गी, रिना उप्रेती, हरिप्रिया पाण्डे, नानू न्यौपाने, हरिप्रिया खड्गी, कृष्णा अमात्य, विनीता अधिकारी, सम्झना पोखरेलजस्ता केही नाम झट्ट सम्झनामा आउँछन् । यो लिस्ट यतिमै सीमित भने छैन, यो धेरै लामो हुन सक्छ । दरबारसँगको निकटताका कारण पुरानो संस्थापनाको निकट मानिने जोशीको नेतृत्वमा सञ्चालित पद्मकन्या कलेजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ‘स्विप’ गर्दै आएको घटनालाई भने रोचक र अर्थपूर्ण मान्नुपर्छ । मीना खड्का पाण्डे अध्यक्ष चुनिएको वर्षदेखि अहिलेसम्म पद्मकन्या कलेजको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले एकपटक पनि हारेको छैन ।

जोशीले तारागाउँ विकास समितिका नाममा नेपाली महिलाहरूको हित प्रवर्द्धनको उद्देश्य लिएको एउटा संस्थाको स्थापना गरेर चलाउने कोसिस पनि गरेकी थिइन् । राजा महेन्द्रसँगको घनिष्ठ सम्बन्धको उपयोग गर्दै जोशीले त्यो संस्थाका हकमा ‘रमागृह’ नाम भएको काठमाडौं, नयाँ सडकको एउटा भव्य घरसहित राम्रै ‘प्रपर्टी’ पनि जोडेको देखिन्छ । तर, कतिपय कारणले त्यस नारी–हितमुखी उद्यममा उनी सफल हुन सकिनन् । जानिफकारहरूले भन्ने गरेझैं ‘ज’ अथवा तारागाउँको जग्गाको पछिपछि ‘झ’ अथवा झगडा पनि आइलागेको देखिन्छ । राजधानीको बौद्ध-टुसाल क्षेत्रमा भएको तारागाउँको जग्गाको ठूलो प्लटलाई लिएर अहिले पनि कानुनी झमेला चलिरहेको छ जस्तो लाग्छ । राधेश्याम सराफ समूहले चलाएको हयात रिजेन्सी होटेलले चर्चेको जग्गा पनि सायद तारागाउँसँग लिजमा लिइएको हो । तारागाउँको मामिलालाई जोशीको चमकपूर्ण करियरमा लागेको असफलताको सानो दाग भन्न सकिन्छ ।

एक पत्रकारका रूपमा मैले चासो राखेर सोधखोज गरिरहेको सार्वजनिक व्यक्तित्व भए पनि जोशीलाई प्रत्यक्ष भेट्ने अवसर भने धेरै पछि मात्र पाएको हुँ । म उनलाई एकोहोरो किसिमले राम्रैसँग चिन्दथेँ । उनले भने मेरो नामसम्म सुनेकी थिइन् कि, त्यो पनि यकिन गरेर भन्न सकिँदैनथ्यो । विभिन्न छापाहरूमा मेरा लेख-रचना छापिएर आउँदा जोशीले तिनमा मेरो नाम देखे, पढेको भने हुन सक्दथ्यो । उनका सुपुत्र इन्जिनियर किरणसँगचाहिँ त्यसभन्दा पहिले नै पार्टीहरूमा एक–दुईपटक भेट भएको थियो मेरो । उनले ‘म तपाईंका रचनाहरूको नियमित पाठक हुँ नि हरिजी’ भनेर मेरो उत्साहवर्द्धन पनि गरेका थिए एकपटक । किरणकी पत्नी रूपा जोशी (दीक्षित) सँग पनि विभिन्न सामाजिक जमघटहरूमा भेट भइरहन्थ्यो मेरो । जोशीहरूको घर बागबजारस्थित रत्न पुस्तक भण्डारनजिकै छ । म त्यो पुस्तक पसलमा गइरहन्छु । एउटा त्यस्तै अवसरमा पुस्तक पसलनेर उभिइरहेका किरणले मलाई उनको घरमा चिया खाने निम्तो पनि दिएका थिए । मेरो जाने अनुकूल भने परेको थिएन ।

पछि जोशी र म दुवैका लागि खुसीको विषय बनेको एउटा सुखद संयोगका कारण उनीसँग मेरो प्रत्यक्ष भेट भयो । मैले घरमै गएर उनलाई भेटेको थिएँ । कडा हृदयाघातका कारण उनी अलि अशक्त भएकी थिइन् ती दिनमा । रोगको असरले उनको मुख एकातिर अलि टेढो भएको थियो । त्यसबाहेक आत्मबल, चेहराको कान्ति, स्मृति र सहज चैतन्यजस्ता यावत् कुरामा उनी एकदम स्वस्थ र स्थिरचित्त देखिएकी थिइन् ।

म नेपाल स्रष्टा समाजसँग आबद्ध भएको कालखण्डको कुरो हो यो । समाजका तत्कालीन महासचिव पवन आलोकले स्थापना गरेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा पुरस्कार’ त्यस अमूक वर्षमा कसलाई दिन मनासिब होला, सिफारिस गर्न भनी समाजको कार्यकारी समितिले निर्णय गरेर मलाई एकल सिफारिसकर्ता तोकेको थियो त्यस साल । पुरस्कारका लागि सिफारिसमा पर्ने व्यक्ति नारी जागरणको प्रतीक, सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदाता र प्रतिभाशाली लेखक पनि हुनुपर्ने प्रावधान राखिएका थिए । मैले तिनै योग्यतालाई ध्यानमा राखेर योग्यतम नारी–प्रतिभाको नाम १ नम्बरमा राखेर ३ जना सिफारिस गर्नु पर्ने थियो । र, मैले त्यस सालको पुरस्कारका लागि मुख्यत: अंगुरबाबा जोशीको नाम सिफारिस गरेँ ।

मेरो सिफारिसबाट स्रष्टा समाजका सबै पदाधिकारी योग्यतम पात्रको चयन भएको भनेर अत्यन्त प्रसन्न भए । त्यसपछि प्रश्न उठ्यो, जोशीले पुरस्कार स्वीकार गर्ने हुन् कि होइनन् भन्ने । अनि समाजका कर्ताधर्ता परशु प्रधान र अध्यक्ष चन्द्रप्रसाद भट्टराईले उनलाई भेटेर स्वीकृति लिई आउने जिम्मेवारी पनि ममाथि सुम्पिदिए । त्यसै मेसोमा भेटेको थिएँ, जोशीलाई उनको बागबजारको घरमै गएर ।

मैले आफू आएको प्रयोजनसहित बेलीविस्तार लगाएर योगमाया राष्ट्रिय नारी प्रतिभा पुरस्कार स्वीकार गरिदिन गरेको अनुरोधको प्रतिक्रियामा जोशीका सकारात्मक सोच र सत्कर्मको तेजले प्रदीप्त आँखा जसरी टिलपिलाएको देखेँ, मेरो आफ्नै पनि भक्कानो छुट्लाजस्तो भयो । उनले अडिई–अडिई मधुरो स्वरमा भनिन्, ‘म जस्ती रिटायर्ड र एक प्रकारले विस्मृत भइसकेकी आइमाईलाई तपाईंहरू मैले चिन्दै नचिनेका मित्रहरूले सम्झिएर, योग्य ठानेर योगमायाजस्ती महान् नारीको सम्मानमा राखेको पुरस्कार दिन चाहनुभएको छ । तपाईंहरूको सद्भावको अवमानना गर्न मिल्छ र मैले ?’

प्रकाशित : असार ९, २०७७ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×