कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुवाछुतको मनोविज्ञान

चकलेटमा कर घटाएर किताबमा चाहिँ किन कर लगाइरहेका छन् अर्थमन्त्री भन्नेबारे जति पनि बोल्न सक्ने वर्ग दलितहरू बलात्कृत हुँदा र मारिँदाचाहिँ नदेखेजस्तो गर्छ ।
घनश्याम खड्का

कुनै पनि कुराको कारण हुन्छ । हामीले दैनन्दिन व्यवहारमा देख्दै आएका र स्वाभाविक रूपले भइरहेजस्ता लाग्ने साह्रै साधारण घटनामा पनि कारण छन् । यत्ति हो, हामी तिनको कारणबारे ज्यादा उत्सुक हुँदैनौं ।

छुवाछुतको मनोविज्ञान

त्यसैले स्याउ जमिनमा खस्नु हाम्रा लागि कुनै नौलो होइन । तर, न्युटनले त्यसको कारण जान्न चाहे र पत्ता लगाए गुरुत्वाकर्षणको नियम । सारा विज्ञान यही कार्यकारणको सिद्धान्तले अघि बढेको छ जसले हरेक पदार्थ र त्यसको प्रतिक्रियाको कारण खोज्ने काम गर्छ ।

विज्ञानको यही कसीमा हाम्रो व्यवहार र समाजलाई हेर्न खोज्दा जन्मिएका दुई अलग विधा हुन्, मनोविज्ञान र समाजशास्त्र । यस आलेखमा म नेपाली समाजको एक पक्ष छुवाछुतलाई मनोविज्ञानका दृष्टिले विवेचना गर्दा देखिने चित्र प्रस्तुत गर्नेछु ।

सांस्कृतिक दृष्टिले नेपाल दुई ठूला (कु)प्रथाबाट गुज्रियाे र अझै गुज्रिरहेकै छ । पहिलो सतीप्रथा र दोस्रो छुवाछुत । त्यसो त छाउपडी, कमैया, हलिया, वादीलगायत विभेद र शोषणका अरू पनि धेरै सांस्कृतिक काँडाहरू छन् यो देशमा जसले मानवीय गरिमालाई रगतपच्छे हुने गरी घोचिरहन्छन् । तर पनि यी मध्ये सती र छुवाछुत प्रथाले अमानवीयताको हद पार गरेका थिए/छन् जसले यो देशको शिर उँचो हुन दिएनन् ।

पति बितेपछि पत्नीलाई पनि सँगै चितामा जलाइने क्रूरतम चलनलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरले एउटै घोषणाले अन्त्य गरिदिए । ‘मर्दकी दसौटी’ भन्ने आहानको व्यावहारिक दृष्टान्त भेटिने त्यस समयमा पुरुषका लागि बहुविवाह सामान्य भएकाले जनसाधारणका पनि धेरै पत्नी हुन्थे । राजा–महाराजका त झन् कति हुन्थे, हिसाबै थिएन । तिनका घोषित रानीहरूभन्दा अघोषित यौनदासी धेरै हुने गर्थे । उनीहरूको निधनमा थुप्रै पटरानी सती जान्थे भन्ने इतिहासका ठेली उधिन्दा भेटिन्छ ।

यस्तो अमानवीय प्रथा भारतमा उन्मूलन भएको ९१ वर्षपछि वि.सं. १९७७ असार २५ गते चन्द्रशमशेरले नेपालमा पनि वर्जित गरे । त्यसयता कोही पनि यो कुप्रथाबाट पीडित हुन परेको सुनिएको छैन । तर चिरकालदेखि चल्दै आएको छुवाछुत भने सुधारवादी भनिएका चन्द्रशमशेर मात्रै होइन, कुनै राणाशासकले हटाउन आवश्यक ठानेनन् । सामाजिक चलन सुधार्नु त परको कुरा, मुलुकी ऐनमा भएको छुवाछुतजन्य कानुनलाई पनि कुनै शासकले चलाएनन् । त्यस बेलासम्म कथित उच्च जातकाले तल्लो जातकीसँग वा तल्लो जातकाले उच्च जातकीसँग विवाह गरे कस्तो दण्ड दिने भन्ने प्रावधान थिए ।

धेरैपछि, २०२० सालमा मुलुकी ऐन संशोधन हुँदा विजातीय विवाहमा दण्ड दिने काम बन्द गरियो । यसले कानुनी रूपमा छुवाछुतको अन्त्य गरे पनि त्यसलाई वर्जित भने गरेन । किनभने छुवाछुत गर्नेलाई दण्डको विधान त्यसमा थिएन । फलतः कानुनले सबै जाति एकै हुन् भन्ने र समाजले चाहिँ त्यसको वास्ता नगर्ने क्रम चलिरह्यो । जनसंख्याको एउटा ठूलो तप्काले सामाजिक वञ्चना र एक्लोपन खेपिरह्यो ।

तोडेबापत दण्डको व्यवस्था नभएको कानुन विधिशास्त्रीय मान्यताका दृष्टिले कानुन होइन, एक नैतिक नियमजस्तो मात्र हो जसको पालना गरे वा नगरे पनि कर्तालाई कुनै भारवहन गर्नुपर्दैन ।

बुद्धवाणी छ– हीन मनोग्रन्थिले नै श्रेष्ठताको दाबी गर्छ । अध्यात्मले भन्ने गरेको यस्तो हीनता ग्रन्थिलाई आधुनिक मनोविज्ञानले ‘इन्फेरिअरिटी कम्प्लेक्स’ अर्थात् लघुताभास भन्ने गरेको छ । यस्तो हीनताभाव हुनेहरू अवचेतन रूपमा आफूभन्दा कमजोरमाथि कुनै न कुनै ढंगले सदा हाबी हुने प्रयत्नमा हुन्छन् । यसको पत्तो भने सचेत मनलाई हुँदैन । पूर्ण रूपले जागरण नभएसम्म हरेक मनुष्य कुनै न कुनै हीनता ग्रन्थिले ग्रस्त नै रहन्छ । जति धेरै हीनता ग्रन्थि व्यक्तिमा हुन्छ उति धेरै श्रेष्ठ हुने प्रयत्न उसले गर्छ । जात–व्यवस्थाका आधारमा हुने छुवाछुत यही हीनता ग्रन्थिको एक सामूहिक अभिव्यक्ति हो । सामूहिक चेतन वा अवचेतनलाई फ्रायडले सुपर इगो अर्थात् अति अहम्को नाम दिए । अति अहम्ले वैयक्तिक अहम्लाई नियन्त्रण र निर्देश गरिरहेको हुन्छ । जसलाई हामी समाज, परम्परा र संस्कार भन्छौं, ती अति अहम्कै उपज हुन् । अति अहम् अक्सर अति हीनता ग्रन्थिले तयार पारेको एक विशिष्ट मनोभाव हो । यसले लघुताभासबाट उत्पन्न मनोवेदनालाई कम गर्ने उद्देश्य राख्छ । आफ्ना देशका खेलाडीले विदेशमा गई खेल जित्दा खुसीले उफ्रनु, आफ्नो भाषा गैरभाषिक सम्प्रदायले बोलेको सुन्दा राम्रो लाग्नु वा आफ्नो टोल छिमेकी टोलभन्दा अब्बल छ भनेर कसैले तारिफ गर्दा आनन्दित हुनु अति अहम्कै अभिव्यक्ति हो । हामीले ऋतिक रोशनले नेपाल मन पर्दैन भन्दा ठूलै आन्दोलन गर्‍यौं, नेपाली मूलका प्रशान्त तामाङलाई दिलोज्यान दिएर भोटिङ गरी ‘इन्डियन आइडल’ जिताएरै छाड्यौं, भर्खरै दिवेश पोखरेल अमेरिकन आइडलका विभिन्न चरणमा छनोटमा पर्दै जाँदा खुसीले उफ्रियौं । यी हाम्रो सामूहिक अहम्मा आएको सुखद वा दुःखद विचलनका प्रतिक्रिया हुन् ।

जातिप्रथा र छुवाछुत त्यस्तै एक सामूहिक अवचेतनले खडा गरेको सांस्कृतिक रिवाज हो जसको जगमा सामूहिक हीनता ग्रन्थि छ । जसरी अँध्यारोविना उज्यालोको अस्तित्व छुट्ट्याउन सकिन्न, गरिबीको उपस्थितिबिना सम्पन्नताको परिचय खुट्टिँदैन त्यसरी नै कसैलाई तल्लो जातको करार नगरी आफूलाई माथिल्लो जातको भन्न सकिन्न । यही हीनता ग्रन्थिले वर्णव्यवस्थालाई जन्म दियो, जातिप्रथाको सुरुवात गरायो र छुत–अछुतमा मनुष्यताको चिर–विभाजन गर्‍यो ।

जति विवेक खुल्दै जान्छ, हीनता ग्रन्थिको अवचेतन हिस्सा पनि घट्दै जान्छ । परिणामतः कसैप्रति पक्षपातपूर्ण व्यवहार वा मानवीयताको कसीमा छुवाछुतजस्तो नीच काम यस्तो मनुष्यबाट हुन सक्दैन । त्यसैले एक सचेत, शिक्षित र सुसंस्कृत मानिसबाट न्यायपूर्ण व्यवहारको अपेक्षा ज्यादा गरिन्छ ।

यसरी हेर्दा आफूलाई उच्च र अरूलाई नीच भनी जातका आधारमा भएको सामाजिक विभाजन र विभेदको आधार नै अविवेक हो अर्थात् हीनतापूर्ण विचार हो ।

जुनसुकै कालखण्डमा पनि कुनै न कुनै तहको हीनताभावले मानिसहरू ग्रस्त भइरहने हुँदा श्रेष्ठताको दावा गर्ने केही कल्पित आधारको खोजी पनि भइरहेकै हुन्छ । जात व्यवस्था जन्मँदै प्राप्त एक आधार हुन पुग्यो हाम्रो सन्दर्भमा । त्यसैले दलितबाहेक कसैले पनि यसको विरोधमा आन्दोलन गरेको कहीँ–कतै थाहा छैन । किनभने गैरदलितका लागि जात व्यवस्था अति अहम्को एक तुष्टि हो । कथित उच्च जातको मानिस केही हुन सकेनछ भने पनि समाजमा तल्लो जातका असंख्य मानिसका अघिल्तिर आफूलाई श्रेष्ठ अनुभव गर्ने आधार फेला पार्छ । त्यसैले आफ्नो एक विशेषाधिकारका रूपमा रहेको जातिप्रथालाई अमान्य घोषित गर्ने कुनै तातो कुनै पनि गैरदलित समुदायलाई लाग्दैन । विवेक जागेको व्यक्तिविशेषले यस्तो अमानवीय कर्मको विरोध गर्नु र केही हदसम्म यसविरुद्धका कदममा साथ दिनु बेग्लै कुरा हो । तर कुनै पनि गैरदलित समुदाय दलित–मुक्तिको आन्दोलनमा सहभागी हुनेछैन किनभने समुदायस्तरमा सामूहिक हीनताभावको अन्त्य त कहिले पनि सम्भव छैन । यही तथ्यलाई उजागर गर्न अम्बेडकर भन्ने गर्थे– ‘जात एक रोग हो जसबाट मुक्त हुन माथिल्लो जातकाहरू कहिल्यै चाहँदैनन् ।’

त्यसो हुँदा अशिक्षा, गरिबी र पछौटेपन भएको समाजमा छुवाछुतजस्ता कुप्रथाको जरो बढी बलिष्ठ हुन्छ किनभने यस्तो समाजका मानिसमा हीनता ग्रन्थि ज्यादा हुन्छ । पढेलेखेका, देशदुनियाँ देखेका र समृद्धिको एक स्तर छोएका मानिसमा छुवाछुतको भावना एक अपठित, दरिद्र वा गाउँ छाडेर कहीँ नगएको मानिसको अपेक्षामा कम हुनाको कारण यही हो । किनभने आफूलाई श्रेष्ठ साबित गर्ने जीवनका अरू क्षेत्रहरू भएका मानिसका लागि अब अरू कसैलाई पानी नचल्ने बनाएर आफू विशेष हुँ भन्ने अनुभव गर्नाको जरुरतै पर्दैन । दलितहरूमाझ पनि एकआपसमा हुने छुवाछुत यही हीनता ग्रन्थिकै परिणति हो ।

प्रधानमन्त्रीको रिस मन्त्रीले सचिवलाई, सचिवले अधिकृतलाई, अधिकृतले सुब्बालाई र सुब्बाले कार्यालय सहयोगीलाई पोखेपछि कार्यालय सहयोगीले घर गएर त्यो रिस आफ्नी पत्नीमा र पत्नीले चाहिँ बच्चाको गालामा पोखेजस्तै ब्राह्मण, क्षत्री र वैश्यले आफूमाथि गरेको विभेदबाट जन्मिन पुगेको हीनता ग्रन्थिको पीडालाई कम गर्न दलितबीच पनि आफूभन्दा कमजोर अवस्थाको अर्को दलितलाई छोइछिटो गर्ने चलन बस्न गयो ।

छुवाछुतविरोधी अभियानलाई वर्णव्यवस्थाका माथिल्लो तप्काबाट आउने जवाफ के हो भने ‘पहिले आफूआफूबीचको छुवाछुत अन्त्य गर अनि हामीकहाँ पानी चलाउन आऊ ।’ यसो भन्नु त आफ्नो हीनता ग्रन्थिलाई लुकाउन अति अहम्को तुष्टि आउने आधार जोखाइराख्नु हो । यस्तो समाज न स्वस्थ हुन सक्छ न न्यायपूर्ण । हाम्रो यो अति अहम्ले बारम्बार जघन्य अपराधहरू भइरहेका छन् ।

पछौटेपन ज्यादा भएको समाजमा हीनता ग्रन्थि पनि ज्यादा हुने हुनाले छुवाछुत सक्रिय तहमा छ जहाँ दलितलाई मन्दिर पस्न दिइँदैन, सार्वजनिक स्थलमै छोइछिटो गरिन्छ र यस्तोमा दलितलाई एक–दुई लबेटा लाउनुलाई मात्रै होइन, मारेर नदीमा फालिनुलाई कुनै ठूलो कुरा मानिन्न । अलिक उन्नत समाजमा छुवाछुत निष्क्रिय छ जहाँ प्रत्यक्ष रूपमा छुवाछुतको व्यवहार गरिन्न तर बिहा गर्दा, सामाजिक सम्बन्धहरूको विकास गर्दा वा पारिवारिक घुलमिल गर्दा चाहिँ आफ्नै जातकासँग गरिन्छ । हाम्रो मध्यमवर्गीय समाज यही चरित्रको छ । दलितप्रति सहानुभूति उसमा छैन, न्यायपूर्ण समाज स्थापनाको कुनै सरोकार यसले राख्दैन तर कानुनको राडारमा आउने गरी कसैमाथि देखिने विभेद पनि गर्दैन । समाजलाई चलायमान् बनाउने पेसाकर्मीहरू वकिल, कर्मचारी, पत्रकार, डाक्टर, न्यायाधीश, नेता इत्यादि यही वर्गले जन्माउँछ जसमा दलित समुदायको प्रतिनिधित्व आरक्षणका तहमा हुने संवैधानिक व्यवस्था यो समाजका मानिसलाई चित्त बुझेको छैन । तर पनि सक्रिय तहको भेदभाव भने यो वर्गले गर्दैन । न दलितमाथिको अन्यायको विरोध नै गर्छ ।

सामूहिक हीनताभावका कारण हुन गएको भयंकर अपराधको पछिल्लो शृंखला रुकुम हत्याकाण्ड र अंगिरा पासीको मृत्युमा यो वर्गले मौनधारण गर्नुको अर्थ पनि यही हो । किनभने आफूमाथि परेको घटना होइन र आफ्ना जातका मानिस पनि यसमा परेका होइनन् भन्ने प्रस्ट बोधका साथ यो वर्ग बसेको छ । चकलेटमा कर घटाएर किताबमा चाहिँ किन कर लगाइरहेका छन् अर्थमन्त्री भन्नेबारे जति पनि बोल्न सक्ने यो वर्ग दलितहरू बलात्कृत हुँदा र मारिँदाचाहिँ नदेखेजस्तो गर्छ । बरु यो वर्गका लागि रुकुम हत्याकाण्डमा मारिएका नवराज विकहरू ‘छोरी लछार्न हुल बाँधेर आउनेको प्रतिकारमा भएको भागदौडले भेरीमा खस्दा ज्यान गुमाउन पुगेका अल्लारे ठिटा’ भन्दा बढी केही होइनन् र तिनमाथि कुनै जातीय दुर्व्यवहार भएको थियो भन्नु मनगढन्ते कथा रच्नु हो । यो सूक्ष्म रूपमा तर्कको बैसाखीमा लडखडाउँदै गरेको हीनता ग्रन्थिकै अभिव्यक्ति हो ।

आफ्नो बाउ मरेजस्तो अर्काको बाउ मरेको हुन्न भन्ने उखान यसै वर्गको चरित्र चित्रण गर्न बनेको हुनुपर्छ । नियममा अपवाद पनि हुन्छ भनेजस्तो यही वर्गमा फराकिलो चिन्तन परम्पराको सुरुवात गर्ने छिटपुट व्यक्ति पनि देखिन थालेका छन् जसले रुकुम घटनाको विरोध गरे र न्यायको बाटो नथुनियोस् भनी आवाज उठाए । सापेक्षतामा यी विरल मानिसहरू हीनता ग्रन्थिबाट मुक्त हुने अवस्थामा पुगेका जागृत जीवात हुन् जसको परिभाषामा मान्छेको कुनै जात छैन ।

न्यायको कुनै कसीमा नजँच्ने छुवाछुतजस्तो प्रथा अहिले पनि रहिरहनु, मानिसहरू मारिई नै राख्नु र यो केवल दलितहरूकै सरोकारको विषय हो भनेजस्तो गरी समाजको ठूलो तप्काले अनदेखा गरिरहनुले हामी अझै पनि सामूहिक हीनताको ग्रन्थिबाट परिचालित छौं भन्ने नै देखिन्छ । होइन भने अत्याचारलाई अत्याचारकै रूपमा देख्न नसक्ने गरी हाम्रो चेतनाको दुर्बलताले निरन्तरता किन पाइरहेछ ?

क्वान्टम फिजिक्स भन्छ, ‘पदार्थलाई टुक्र्याउँदै जाँदा त्यहाँ खँदिलो केही छैन, मात्रै विद्युतीय तरंग छ ।’ शास्त्र भन्छ, ‘समस्त प्राणी ईश्वरका सन्तान हुन् ।’ डार्विन भन्छन्, ‘हामी उद्विकासका अनेक चरण पार गर्दै बाँदरबाट मानिस भएका हौं ।’ यसरी दार्शनिक र वैज्ञानिक दृष्टिले हेर्दा जातिप्रथाले आश्रय पाउने कुनै ठाउँ फेला पर्दैन । तर पनि छुवाछुत भने नेपाली समाजको तल्लो एकाइसम्मै व्याप्त छ किनभने हीनता ग्रन्थि तल्लै एकाइसम्म व्याप्त छ ।

समाजका सारा मानिस जागरूक भएपछि छुवाछुत आफैं अन्त्य हुन्छ भनेर कुर्न थाल्यो भने अझै पनि अंगिरा पासीहरू बलात्कृत भई नै रहन्छन्, नवराज विकहरू मारिएर भेरीमा फालिई नै रहन्छन् । यसलाई हटाउने तत्कालको बलियो उपाय भनेको कानुनको बलियो कार्यान्वयन गर्ने । किनभने कानुनले अहिले छुवाछुतलाई दण्डनीय मानेको छ । तर, दण्ड भने छुवाछुत गर्नेहरूले विरलै पाएका छन् । जुन व्यवहार दण्डित र निन्दित हुन्छ त्यो पटकपटक दोहोर्‍याउने काम मनुष्यले गर्दैन । जुन पटकपटक दोहोरिन्न त्यो बानीका रूपमा रहन्न । जो बानीका रूपमा छैन त्यो प्रचलनका रूपमा पनि रहन्न । त्यसो हुँदा रुकुम–काण्ड हालसम्मकै एक ‘लिट्मस टेस्ट’ हो, छुवाछुतविरुद्धको आन्दोलनकै । रन्थनिएको सामूहिक हीनता ग्रन्थिबाट यसलाई एक सामान्य घटनाका रूपमा फासफुस पार्ने प्रयत्न बाक्लै रूपमा भएका छन् । पत्रकारदेखि सरकारी वकिलसम्म र प्रहरीदेखि उच्चतहका नेतासम्मले बोली र व्यवहारबाट अति अहम्ले निर्देश गरेको ढाँचा पछ्याइरहेका छन् ।

न्यायालय, प्रहरी प्रशासन र सरकार कहीँ पनि हस्तक्षेपकारी उपस्थिति नभएका मानिसले यो देशमा न्याय पाउँछन् कि पाउन्नन् ? यो पनि यही मुद्दाले देखाउनेछ ।

छुवाछुतविरुद्धको अर्को प्रभावकारी कदम भनेको जीवनमा आमजागरणको अवस्था ल्याउनु हो । धेरै गन्थन–मन्थन गर्नै पर्दैन, जीवनमा एक करुणापूर्ण दृष्टिको उदय नै काफी छ, विभेद र अन्यायलाई हटाउन । किनभने छुवाछुत र न्याय–अन्यायको अस्तिव केवल हाम्रो मगजमा छ । मनमा भएका भाव नै हाम्रा धारणा र व्यवहारका रूपमा प्रकट हुन्छन् । त्यसो हुनाले हामी जति होसपूर्ण हुन्छौं, उति संवेदनशील । अनि जति संवेदनशील हुन्छौं, उति अरूको मर्मलाई बुझ्न सक्छौं, देख्न सक्छौं र कुनै गडबडी भए हटाउन पनि अघि सर्ने अभिप्रेरणा जाग्दछ । यो जागरण हामीमा छ कि छैन भनेर जाँच्ने एक सरल विधि छ । नवराज र उसका साथीहरूलाई सम्झनुस् र एक क्षण आँखा चिम्लनुस् । अनि सोध्नुस् आफैंलाई– जीवनको कुनै भव्यता देख्नै नपाई भेरीमा बगाइएका यी केटाहरूको चीत्कारले तपाईंलाई अलिकति पनि छोयो कि नाइँ ? छोयो भने यो भावलाई बढाउनुस् । छोएन भने आफैंलाई हेर्नुस् र हीनता ग्रन्थि कहाँ छ खोज्नुस् ताकि त्यसलाई निकाल्न सकियोस् । ताकि अरूको दुःखलाई पनि देख्न सकियोस् । ताकि सबै मानिस एकै हुन् झन्ने सरल सत्यलाई अँगाल्न सकियोस् ।

@bodhighanashyam

प्रकाशित : जेष्ठ ३१, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?