नवराज, प्रेम र जात- विविधा - कान्तिपुर समाचार

नवराज, प्रेम र जात

जातिवाद र जातीयता फरक कुरा हुन् । शिक्षाभन्दा ज्ञान माथि हुन्छ । ज्ञानभन्दा माथि विवेक हुन्छ । विवेकलाई महान् र गतिशील बनाउने व्यवहारले हो ।
रामगोपाल आशुतोष

काठमाडौँ — एकातर्फ कोरोनाले संसार कहरमा छ । देशले हामीलाई बन्दाबन्दीमा राखेको छ । अर्कोतर्फ नवराज हत्याको शोक छ । युट्युब र अनलाइन भ्यूज बढाउन अनेक उपाय गरिरहेका छन् । प्रहरी प्रशासन यसरी मौन छ कि मानौं केही भएकै छैन ।

हामी के चाहन्छौं प्रेम कि युद्ध ? मानिस बाँच्ने प्रमुख आधार के हो ? ब्रेड कि ब्रेन । मानव सभ्यताको विकासका लागि के अपरिहार्य छ, मानवीयता कि जातीयता ? के खराब सोचले सुन्दर विचार जन्माउन सक्छ ? के रोगी मानिसले स्वस्थ विचार गर्न सक्छ ? के रोगी विचारका मान्छेको व्यवहार समानताको पक्षमा हुन्छ ? मैले पहिले पनि भनेको थिएँ, नवराज र साथीहरूको हत्यापछि भेरीमा बगाइएको हो । हत्या लुकाउन भेरीमा ज्यान बचाउन हाम्फालेको हल्ला चलाएको हो । लासको प्रकृतिले स्पष्ट बोल्यो ।

के प्रेम गर्नु नवराजको अपराध हो ? के समाज वा कानुनका कुनै किताबमा प्रेम अपराध हो भनिएको छ ? नवराज दलित वर्गमा जन्मनु अपराध हो ? कि दलितको कोखमा जन्मिनु अपराध हो भनेर संविधानमा उल्लेख छ ? दलित, गरिब र किनाराका मानिसले प्रश्न गर्न सक्दैनन् । के त्यो संविधानतः कसुर हो ? के शान्तिका लागि मौन बस्नु र कथित ठालुहरूको अन्याय सहेर अहिंसावादी बन्नु अपराध हो ?

सबैखाले विभेदको जिम्मेवार राज्यसत्ता हो । सत्ताले विभेद स्विकारेको छैन । बरु संरक्षण गरेको छ । प्रवर्द्धनका निमित्त खर्बौं रकम अनुदानमा खर्च गर्छ । राज्य विभेदको बेञ्चमा बसेर न्याय हुँदैन । विभेदकारी नै न्यायाधीश भइरहेसम्म विभेद अन्त्य हुन्छ भन्नु दिवास्वप्न हो । धर्म र समाजको ठेक्का लिएकाले किन विभेदको अन्त्य चाहला र !

यो घटनाबाट कसले के बुझ्ने ? के उच्च भनिएकाहरू हत्या गर्नै जन्मिएका हुन् भनेर बुझ्ने ? दलित भनिएकाहरू मर्नै जन्मिएका हुन् भनेर बुझ्ने कि नयाँ नेपालमा एक जातिले हत्या गर्न पाउने छुट कायमै छ भन्ने बुझ्ने ? देशसित जवाफ छैन । बरु तर्क छन् । तर्क त बेवकुफहरूको पनि हतियार हो । तर्कको जगमा उभिएको व्यवस्था कहिल्यै न्यायिक भएको इतिहास छैन । यो देशमा त्यसो त आडम्बरीले गर्नेजस्तो कुनै गुण छैन भन्न पनि मिल्दैन । तर्कको मूल धर्म भनेको कुतर्क नगर्नु हो । हो, आडम्बरीहरू अहिले तर्कको नाममा कुतर्क गरिरहेका छन् । 'देशमा अब जातीयता छैन, हाम्रा पितापुर्खाले गरे हामीले गरेका छैनौं । हामीलाई पेले प्रतिवाद गर्छौं' जस्ता अतिक्रमणकारी तर्क फेसबुकभरि छरपस्ट छन् । यथास्तितिवादीहरू नै 'सोच बदलौं'जस्ता कुतर्क गरिरहेका छन् । सोच होइन व्यवहार बदल्ने हो । जातको ढोंगबाट निस्केर समानताको व्यावहारिक धरातलमा सहआस्त्विक जीवन बाँच्ने हो । अरूलाई बाँच्न दिने हो । कि त अर्को युद्धको लागि तयार हुने हो ।

नवराज विक कुनै राजनीतिक वा सामाजिक हैसियतप्राप्त युवा थिएनन् । हुन्थे त अहिले हत्याराहरूमाथि कारबाही सुरु भइसक्थ्यो । आफूलाई न्याय र सुशासनका मसिहा भन्नेहरूले चूँसम्म गरेका छैनन् ।

अँ, बाँकी पाँच जना साथीहरूको चर्चा किन भएन त ? फेसबुकमा केही प्रश्न यस्ता पनि छन् । प्रश्न नाजायज होइन । तिनीहरूको मृत्युको कुनै मूल्य छैन ? छ । अवश्य छ । तिनीहरूको नाम ती मित्रको कोटीमा राखिने छन्, जो मित्रताका लागि दिलोज्यान दिन्छन् ।

मेरा पनि चार-पाँच साथी छन् । किशोरवयमा निकै साथ दिए । कसैसँग फाइट पर्दा ज्यान दिएर मेरो पक्षमा लडे । मलाई जिताए । घरबाट भाग्दा घरमा राखेर खाना खुवाए । कोठामा सुताए । आमा र बुवाजस्तो आमाबुवा भेटाए । आपत्‌मा साथ दिए । खेल्दा सँगै खेले । हिँड्दा सँगै हिँडे । लड्दा उठाए । मभन्दा प्रायः पाँच-सात वर्षले जेठा तिनीहरूले बिहे गरे, म पढाइमा लागेँ । समय बदलियो । तिनीहरू बदलिएनन् । म अहिले उनीहरूसँग भौतिक रूपमा टाढा छु । तर, मानसिक रूपमा सँगै । अबका पुस्ताले मित्रताको उदाहरण दिँदा शोले फिल्मका जय र वीरुको जोडीजस्तो होइन ‘नवराजका साथीजस्ता’ भनेर दिनेछन् ।

संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामा त विभेद हुन्छ नेपालमा विभेद र दमन हुनु स्वाभाविक हो । तर्क यस्ता पनि छन् । नेपाल र अमेरिका दुवैमा ढोंगीहरू विभेद र दमन गर्छन् । संसारलाई मानव अधिकारको पाठ पढाउने अमेरिकामा रंगभेदको डरलाग्दो स्थिति छ । र, नेपालमा खोक्रो राष्ट्रवादका नाममा जात, दल, वर्ग र भाषिक विभेदको लाजमर्दो स्थिति छ ।

यसको मूल जरा मनुवाद हो भन्छन् । र, मनुवादको उपस्थिति निकै डरलाग्दो छ । लाग्छ, मनु अझै जिउँदै छ र अहिलेको शासनप्रमुख पनि उही नै हो । उनीहरू विभेद छैन भन्छन् । विभेद नभएको कुनै तहतप्का छैन । किनभने विभेदकारीहरू आजको मितिसम्म दण्डित भएको इतिहास छैन । बरु राज्यद्वारा संरक्षित/संगठित छन् ।

अमेरिका र युरोपका अश्वेतहरूबाट सिक्नुपर्ने कुरा धेरै छन् । रोजा पार्क्सदेखि मार्टिन लुथर किङ र अफ्रिकी क्रान्तिकारी नेता नेल्सन मन्डेलाको युद्ध नेपालका वर्गीय दमनमा परेका सबैलाई आदर्श हुन सक्छ । हालै श्वेत प्रहरीको घृणा र दमनका कारण मृत्युवरण गरेका जर्ज फ्लोएडसम्म र त्यसपछि अमेरिकाविरुद्ध उठेका आवाज । विकसित हिंसात्मक गतिविधिबाट नेपालका दमितले धेरै सिक्नु जरुरी छ । अरूका लागि धेरै लड्यौं । अब आफ्नो लागि लड्नु जरुरी छ । पद, पैसा र पावरको राजनीति गर्नेको भरमा पर्ने हो भने मुक्ति र समता सम्भव छैन ।

छुवाछुतविरुद्धको लडाइँ अरू जाति वा वर्गबाट सम्भव हुँदैन । अमेरिकाका अश्वेत जर्ज फ्लोएडको हत्याले सिंगो अमेरिका हल्लिरहेको छ । शासकहरू लुक्न थालेका छन् । तर, नेपालमा झुटो हल्ला फैलाएर घटनालाई अन्तै मोड्न प्रपञ्च रचिँदै छ ।

हामी लुकेर वार गरिरहेका छौं । कोरोनाको डर छ । त्योभन्दा बढी हामी दल र दलीय सिद्धान्तको वशमा छौं । सत्ताले जनताले कुनै पनि बेला गर्न सक्ने विद्रोहबाट त्रसित भएर सैनिकलाई सडकमा उतारिसकेको अवस्था हो । कति लज्जास्पद र हास्यास्पद !

यता जातीयताका पुजारीहरू अनेक तर्कले अन्यायमा परेकाको घाउमा नुनखुर्सानी छरिरहेका छन् । अनेक कुतर्क दिएर विभेद र हत्या जायज भएको ठहर गरिरहेका छन् । सामाजिक परिवर्तन र समताका लागि क्रान्ति गरेको भनिएको पार्टीबाट दलित, गरिब र क्रान्तिको पक्षमा जनप्रतिनिधि बनेकाले विभेद गर्लान् भनेर कसैले चिताएका होलान् त ?

फेसबुकमा सीमित लडाइँले कोहीकसैले न्याय पाउनेवाला छैनन् । समानता वा जातीय, वर्गीय छुवाछुत र दमनविरुद्ध सडकमा नउत्रिने र बौद्धिक लडाइँ नलड्ने हो भने मुक्ति सम्भव छैन । अरूले ल्याइदिएको समानता फेरि लुटिन सक्छ । जस्तै माओवादी आन्दोलनले दिन्छु र ल्याउँछु भनेको रूपान्तरण, जातीय, वर्गीय दलन र दमनबाट उन्मुक्ति कसरी अभिजातवर्ग कै दबाबमा तुहाइयो ! सबैलाई थाहा छ ।

नवराजको हत्याको मूल कारण परम्परागत वर्ण र वर्ग व्यवस्था हो । अर्को कारण दमितहरू सधैं सहेर बस्ने भएर हो । जसलाई कर्मकाण्डी भाषामा मिलेर बसेको भनिन्छ । जबसम्म सहनेछौं तबसम्म दमन हुनेछ । जबसम्म चुप बस्नेछौं तबसम्म मुख थुन्नेछन् । जात सबैका छन् । जातिवाद र जातीयता फरक कुरा हुन् । शिक्षाभन्दा ज्ञान माथि हुन्छ । ज्ञानभन्दा माथि विवेक हुन्छ । विवेकलाई महान् र गतिशील बनाउने व्यवहारले हो ।

नेपालमा शिक्षित कविहरू छन् । प्राज्ञ छन् । लेखकहरू छन् । कर्मचारी, प्रहरी, सैनिक, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति छन् । तिनका आमाबुवाले व्यवहार सिकाएका छैनन् । विरोधका लागि विरोध गर्नेहरूबाट पनि केही हुन्न् । मतलबको व्यापार गर्नेहरू ढोँगी हुन् । मौका पाउनासाथ क्लब बदल्न सक्छन् । बरु, म विभेद गर्दिनँ विभेद सहन्न भन्ने प्रतिबद्धता जनाउनुपर्ने हो । रामायणका पात्र सबरीको उदाहरण दिएर नथाक्ने र शास्त्रमा विभेद नभएको तर्क दिन नलजाउने पात्रहरू अनेकौं छन् । दलित नारीको यौनिरस चल्ने तर स्वास्नी बनाउन नमिल्ने जातका ठालुहरू अनेकौं छन् । तिनैका छोराछोरी विभेदको अन्त्य भयो भनेर थाक्दैनन् ।

रामायणका पात्र बालीले रावणलाई पटकपटक युद्धमा परास्त गरेका थिए । सीता हरेर लंका पुर्‍याएपछि रामले बालीलाई प्रयोग गर्न सक्थे । र, युद्ध जित्न सक्थे । तर, गरेनन् । सुग्रीवको साथ सहयोग लिएर रावणबध गर्ने निर्णय लिए । र, बाली–सुग्रीव दाजुभाइको युद्धमा बालीको बध गरे । किन ?

प्रश्नको उत्तर सिधा छ । रामलाई राम्ररी थाहा थियो बाली निकै शक्तिशाली छ र रावणलाई निमेषमा परास्त गर्न सक्छ । कथंकदाचित बालीको साथले युद्ध जितेकै भए पनि इतिहासले रामलाई धिक्कार्थ्यो । उनलाई थाहा थियो कि एक पतित व्यक्ति जसले आफ्नै सहोदर भाइको स्वास्नीलाई अपहरण गरी बन्धक बनाएर जबरजस्ती स्वास्नी तुल्याउन खोज्ने परस्त्री गमनकारी, अत्याचारी र अनैतिकको सहयोगले युद्ध जित्नुभन्दा नैतिक र इमानदार सुग्रीवको साथमा युद्ध जित्दा महान् ठहरिन्थ्यो । त्यसैले अन्याय, अत्याचार, दमन र हत्याराको साथसहयोगी र सहगोत्री भनेर साथमा रहनुभन्दा इमानदार, न्याय र सुशासनको पक्षधर भएर देशमा व्याप्त विभेद, दमन र विसंगत वर्ग व्यवस्थाको अन्त्यका लागि लड्नु उत्तम हो । यसले देशमा सुशासन, अमनचैन, देशभक्ति भावन र द्रुत समृद्धिमा सहयोग गर्छ ।

अन्त्यमा, विभेदकारी जातिसँग लड्न चेतना, बुद्धि, वर्गीय एकता र आर्थिक समृद्धि चाहिन्छ । त्याग, बलिदान र उन्मुक्तिप्रति प्रतिबद्ध हुनुपर्छ । दस, बीस, सय, दुई सय वर्ष लाग्ला; लागोस् ।

जाग र लम्क

आफ्नो लागि आफैं लड ।

मुक्ति सजिलै मिल्दैन

नलडी अधिकार पाइँदैन ।

प्रकाशित : जेष्ठ २९, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्‍चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्‍ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।

सरकारका प्रवक्ता खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताए । 'आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेका हौं', प्रवक्ता खतिवडाले भने । उनले आर्थिक वर्ष अन्त्यको समय भएकोले धेरै काम गर्नु पर्ने भएकोले सहज गराउन परेको बताए ।

यसका साथै सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन लागु गरेको सरकारले कोरोना भाइरसका संक्रमित कम भएको ठाउँमा क्रमशः लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यो पनि

प्रकाशित : जेष्ठ २९, २०७७ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×