‘पृथ्वीको ब्रह्मनाल’ बन्दै सहर

मानिसहरु ‘पृथ्वी–सहर’ सम्बन्ध विश्लेषण गर्न गलत तथ्य र साँघुरा तर्कको सहारा लिन्छन् । तर, सहरको घोरविरोधी वा घोर समर्थक मात्रै बनेर ‘पृथ्वी–सहर’ सम्बन्ध बुझ्न सकिन्न ।
राम गुरुङ

मान्छेको अर्थतन्त्रमा ‘सहर’ घुसेको झन्डै ६,५२० वर्ष भयो । गएको ७०० वर्षदेखि सहर सुख र समृद्धिको विम्ब बनेको छ । जागिर खाने, व्यापार/व्यवसाय गर्ने र सम्पत्ति कमाउँदै त्यसको उपभोग गर्नेबाहेक अहिलेका लागि सहरको अर्को विकल्प छैन । गाउँमै बस्नेले पनि आफ्ना चीजबीज सहरमा बेचेर सुख आर्जन गर्ने प्रयत्न गरिरहेका छन् ।

मान्छे, जनावर वा पर्यावरण, कुनै न कुनै हिसाबमा सहरसँग जोडिएकै छन् । तर, थुप्रिँदै गएको ढुंगामाटो, सिमेन्ट, गिट्टी, बालुवा, इँटा वा फलामले भने सहरलाई पृथ्वीको जीवन सेलाउने ब्रह्मनालजस्तो बनाउँदै छ ।

अहिले पृथ्वीको केन्द्र नै सहर हो । हावापानी, माटो, पशुपन्छी सबै सहरतिरै खिचिएका छन् । यसलाई प्रविधि र सूचनाले ऊर्जा दिएको छ । गएको दुई पुस्तामा सहरी जीवन मानवीय इतिहासमै लोभलाग्दो र अत्याधुनिक पनि बनेको छ । तर, सहरले पृथ्वीलाई जसरी भोगचलन गरिरहेको छ, त्यो पृथ्वीकै भविष्यमाथि प्रश्न उठ्ने खालको छ । सहरबारे चर्चा गर्दा मान्छेहरू बाँडिन्छन् । ‘पृथ्वी–सहर’ सम्बन्ध विश्लेषण गर्न गलत तथ्य र साँघुरा तर्कको सहारा लिन्छन् । तर, सहरको घोर विरोधी वा समर्थक मात्रै बनेर ‘पृथ्वी–सहर’ सम्बन्ध बुझ्न सकिन्न ।

सहरको परिक्रमा

आजका धेरैजसो सहर एउटै पुर्खाबाट जन्मिए । त्यो पुर्खा इसापूर्व ४५०० को अरेबियन पठार (अहिलेको सिरिया र टर्की) को मेसोपोटामिया सहर थियो । करिब ३,९४२ वर्षअघि नै छालाका टायरवाला चारपांग्रे गाडा बनाउने यो सहरको प्रगति लोभलाग्दो थियो । यसले खेती र व्यापार गर्‍यो । त्यसपछि मानिसमा सम्पत्ति र सुखको तिर्खा बढ्यो । लाखौं वर्ष लामो मान्छे र पृथ्वीको सम्बन्ध फेरियो । पृथ्वी मान्छेको अधीनमा गयो । खनिज तथा पर्यावरणको प्रयोग मानिसले आफू बाँच्न मात्रै गरेन, मान्छेले यसलाई निजी सम्पत्ति थुपार्ने स्रोत पनि बनाए ।

यातायात र सञ्चारको विकास भएको थिएन । यसले गर्दा मेसोपोटामियाको सहरी नक्कललाई पृथ्वी परिक्रमा गर्न करिब साढे चार हजार वर्ष लाग्यो । तथापि गाडामै सीमित व्यापार भने पालडुंगा (सेलबोट) चढेर विश्वभर पुग्न थालिसकेको थियो । पोर्तुगाली क्याप्टेन इस्तिभाओ गमेजले मेसोपोटामियाको युरोपियन नस्ललाई ३,००० वर्षपछि सन् १५२५ मा अमेरिकाको न्युयोर्क पुर्‍याउँदा, त्यहाँका आदिवासी अद्यापि जमिनमाथि खनजोत गर्दै थिए । पोर्तुगाली सम्राट् जोन तेस्रोको नाफाको भोकले पोर्तुगाली व्यापार न्युयोर्कसम्म पुगेको थियो । व्यापारले न्युयोर्कलाई उत्तरी गोलार्द्धको केन्द्र बनायो । अहिले न्युयोर्क १०० वर्षभित्रै विश्व–वित्तीय सत्ताको बादशाह भइसकेको छ ।

महाभारतमा द्वारका, अयोध्या तथा भुवनेश्वरजस्ता प्रख्यात सहर नभएका होइनन् । नेपालमै पनि तिलौराकोट वा कान्तिपुरजस्ता समृद्ध सहर थिए । तर, दक्षिण एसियामा युरोपियन ढर्राको सहर आइपुग्न भने झन्डै २,८३४ वर्ष लाग्यो । सन् १६८६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले कलकत्तामा व्यापार सुरु गरेपछि नै आधुनिक (?) सहर एसिया पसेको हो । चन्द्रशमशेरले सन् १९२२ मा नेपाल ल्याएको गाडी र जुद्धशमशेरले सन् १९३६ मा विराटनगरमा खोलेको जुटमिललाई पछ्याउने हो भने मेसोपोटामियाको सहरी रवाफ नेपाल आइपुग्न करिब ३,१७० वर्ष लाग्यो । हजारौं वर्षमा नेपाल आइपुगेको युरोपियन ढर्राको सहर, गएको ३० वर्षमा दक्षिण एसियामै सबैभन्दा छिटो विस्तार भइरहेको छ ।

व्यापारभित्र पृथ्वी

उत्पादन, वितरण र उपभोगको त्रिवेणी नै सहर हो । यसले मानिसलाई सुख नै दिएको छ । सहरमा बस्ने धेरैको उन्नति पनि भएको छ । सहर अत्यन्तै छिटोछिटो बन्दै छ । यसको निर्माणमा जे प्रयोग भएको छ, त्यो (फलाम, तेल आदि) मान्छेले उत्पत्ति गर्न सक्ने खालका होइनन् । पृथ्वीमाथि निर्भर यी कुराको प्रयोग मुख्यतः किनबेचमा अल्झिएका छन् ।

मेसोपोटामियाले विश्वलाई नाफा के हो सिकायो । झन्डै २,९२२ वर्षपछि युरोप पुगेको व्यापारको स्वादले दुनियाँका सहर नाफामय बने । नाफाले पृथ्वीको ढुंगामाटो र वनपाखा सबै खोतल्न थाल्यो । कोइला र फलामका खानी पृथ्वीको तलतिर पसे । खानीहरू यति गहिरा भए, कोइला निकाल्न खानीभित्र पसेका मजदुर नै बाहिर फर्केनन् । ती खानीभित्रै जमेको पानीमा डुबेर मरे । तैपनि तिनले निकालेका कोइला र फलामले पृथ्वीका सयौं कारखाना चलिरहे ।

खानीमा सामान्य औजार प्रयोग हुन्थे । विशिष्ट प्रविधि र औजार नहुँदा खानीभित्र जम्ने पानीले खानी पुरिरहन्थे । मागअनुसारका फलाम वा कोइलाको आपूर्ति भएन । तर, जब सन् १६८० मा स्पेनका थोमस सेभरीले खानीबाट पानी तान्ने बाफ–इन्जिन बनाइदिए, पृथ्वीको इतिहासले नै कोल्टे फेर्‍यो । पृथ्वीमाथि कष्ट आइलाग्यो । सहरको समृद्धि नै पृथ्वीभित्र खनिने खानीमाथि उभियो । पृथ्वी भत्काउँदै सहर बन्न थाले । लाखौं वर्षमा बनेका खनिज, सयौं वर्षमा हुर्केका जंगल, केही दकशमै खपत भए । सन् १८०४ मा बाफ–इन्जिनलाई रेलमा जोडियो । कोइलाको धूवाँले रेल र पानीजहाज चल्न थाले । बाफ–इन्जिन बनेको १२० वर्षमै लन्डन र बेइजिङ व्यापारले जोडियो । युरोपियन व्यापार पृथ्वीको तीन चौथाइ भागमा पुग्यो ।

सत्रौं शताब्दीयताको ३०० वर्षमा सहर व्यापारमा खुम्चिएन । पृथ्वीमा भएका कोइलादेखि जंगली जनावरसम्म उपभोग गर्ने थलो बन्यो । सहरमा बस्नु, घर बनाउनु मान्छेका लागि प्रगति र प्रतिष्ठाका विषय भए । यसले सिमेन्ट, फलाम, तेल वा कोइला मात्र होइन सुनचाँदीको उत्खनन पनि बढायो । यो नै पृथ्वीमाथि भइरहेको बेलगाम सहरी दोहनको शृंखला हो । सहरको टाउको र पुच्छर नै आर्थिक वृद्धिले जोडेको छ, जसलाई सजिलै बुझिन्न । तर, अलिकति घोत्लिने हो भने यो छर्लंग देखिन्छ । सहरमा जे भइरहेका छन्, ती सबै मानिसलाई ‘अरू–केही–चीज’ थप्न उक्साउने खालको छ । जागिरेले तलब र व्यापारीले नाफा थप्न चाहन्छन् । उद्योगीले अरू थप उत्पादन गर्न खोज्लान् । हो, यस्तै अरू केही गरौं वा थपौं भन्ने होडले नै करिब ६०० वर्षदेखि सहरका हातखुट्टा तन्किरहेका छन्, जसले पृथ्वीको ज्यान बिगारेको छ ।

जब मान्छेले सम्पत्ति वा सुख थप्छ सामान्यतः त्यो नै आर्थिक वृद्धि हो । तर, मानिसले जे–जति थपेको छ, त्यो सबै मान्छेको एक्लो मिहिनेत वा आविष्कारले मात्रै होइन । ती आविष्कारलाई पृथ्वीका खानी, पानी, ढुंगा–माटो, वनजंगल र पशुपन्छीले अकाट्य साथ दिएको छ । मान्छेको आवश्यकताको सूची लामो छ । ठूला घर, गाडी, धेरै बैंक ब्यालेन्स खोज्नु सहरको विशेषता हो । यसले सहरको महत्त्व झनै चुलिएको हो । बढ्दो घरबास र जनसंख्याले घर, गाडी र बाटोको माग पनि बढेको छ । बढेको मागले पृथ्वीको दोहनलाई ऊर्जा दिएको छ । सहरमा भइरहेको फलाम, सिमेन्ट, बालुवा आदिको खपत सहरी इतिहासमै उच्च विन्दुमा पुगेको छ, जसको मूल स्रोत पृथ्वी हो । तर, यसका सीमा छन्, जसलाई अनन्त उत्खनन गर्न सकिन्न ।

पृथ्वी खन्दै पुरिँदै छ सहर

भौतिक विज्ञान र इन्जिनियरिङमा मानिसको अभूतपूर्व चमत्कार सहरकेन्द्रित छन् । लामा फलामे पुल, हजारौं हवाइजहाज, हजारौं रेल गुड्ने रेल–वे र रेल, सानासाना छडीमा अडिएका असंख्य विशाल भवन आदिले मानिसलाई ‘सुखी’ बनाएको छ । अद्भुत भनिएका भौतिक विज्ञान वा चामत्कारिक भनिएका विविध इन्जिनियरिङ– सबैको खुट्टा पृथ्वीमा पाइने जैविक इन्धन, पानी, ढुंगामाटो र फलाममा उभिएको छ । यसको मूल लक्ष्य नै सहरको समृद्धिमा ठोक्किन्छ ।

पृथ्वीमा भएका खनिज (फलाम, तेल, वा अन्य), ती केही वर्षमा बनेका होइनन् । न ती खनिज मान्छेले बनाएको हो । यी त हजारौं/लाखौं वर्षमा बनेका हुन् । अस्ट्रेलियाको ह्याम्स्ले प्रदेशमा गरिएको अध्ययन (२०१४) ले एक टन फलाम बन्न कम्तीमा पच्चीस सय वर्ष लाग्ने तथ्य निकालेको छ । तर, अहिले विश्वमा एकै दिन करिब १४ करोड मेट्रिक टनसम्म फलाम खपत भइरहेको छ । सन् १९५३ यताको ६७ वर्षमा सहर बनाउन मात्रै झन्डै ४ खर्ब मेट्रिक टन फलाम खर्च भयो ।

वर्ल्ड स्टिल एसोसिएसन (२०१९) का अनुसार, सन् २००४ यता सहरलाई बर्सेनि करिब १६ अर्ब मेट्रिकटन फलाम चाहिन्छ । अब पृथ्वीमा लगभग २ खर्ब मेट्रिकटन फलाम बाँकी छ । यही गतिमा खपत भइरहे अबको २० वर्षमा पृथ्वीमा भएको फलाम करिब सकिनेछ । तर, पृथ्वीमा अझै झन्डै ४० प्रतिशत जनसंख्यालाई सहरमा बसाउनै बाँकी छ ।

तेलकै कुरा गरौं । सहर मात्रै बढेको छैन, सवारीसाधनको माग र चापमा पनि उस्तै वृद्धि भएको छ । हरेक दिन विश्वलाई ९ करोड ब्यारेल तेल चाहिन्छ । यो पहिलेको भन्दा ४४ प्रतिशतले बढी हो । बर्सेनि ३६ अर्ब ब्यारेल तेल खपत भइरहँदा, अब १६ खर्ब ब्यारेल तेल पनि बाँकी छैन । यसले मुस्किलले अबको ३७ वर्ष जति धान्ला । यसपछिको अवस्था के होला भन्न सकिन्न ।

इन्टरनेसनल इनर्जी एजेन्सी (२०१९) ले भन्छ— सहर बनाउन र यसलाई अन्य भूगोलसँग जोड्न बर्सेनि ३९ अर्ब १७ करोड मेट्रिकटन सिमेन्ट चाहिन्छ । यति सिमेन्ट बनाउन हरेक वर्ष करिब ४२ अर्ब मेट्रिकटन क्लिंकर (विशेष प्रकारको ढुंगामाटो) पृथ्वीबाट निकालिन्छ । सिमेन्ट एसोसिएसन (२०१७) लाई आधार मान्दा नेपालमै पनि सन् २०२३ सम्ममा सिमेन्टको खपत बर्सेनि १० करोड टनमाथि पुग्ने अनुमान छ । निर्माणमा चाहिने अन्य सामग्रीको आधिकारिक तथ्यांक नै छैन ।

बढ्दो जनसंख्याले सहरिया घरमा उपभोग गरिने फर्निचरको माग चुलिएको छ । फर्निचरका लागि जंगल व्यापक फाँडिएका छन् । फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेसन (२०१८) का अनुसार, फर्निचर बनाउन लगभग १४ अर्ब क्युबिक मिटर काठ खपत भइसकेको छ । एउटा रूखबाट मुस्किलले २५ क्युबिक मिटर काठ निस्कन्छ । फर्निचरकै लागि बर्सेनि करिब ५५ लाख रूख ढालिन्छन् । विश्वमा बर्सेनि ७० वर्गकिलोमिटर र दैनिक करिब २०० वर्गमिटर वनजंगल मासिइरहेका छन् ।

पृथ्वीबाट गरिने उत्खनन ट्यांकीमा पानी भरेजस्तो होइन, जसलाई रित्तिएपछि भर्न सकिन्छ । सहर बनाउने काम बढेसँगै फलाम, इँटा वा बालुवाको खपत बढेको छ । पृथ्वी पनि रित्तिँदै छ । सहरले गरिरहेको अत्यासलाग्दो खपत मान्छे वा पृथ्वी, कसैको दिगो हितमा छैन । पछिल्ला दशकमा भएका खपत छोटो समयमा छिट्टै भइरहेका छन्, यसले पृथ्वीलाई क्षतविक्षत पार्दै छ । प्रकाशित : जेष्ठ २४, २०७७ १०:५४

प्रतिक्रिया
पठाउनुहोस्

पालनहारलाई नमस्कार

पृथ्वीको प्रकृति र वातावरणको कुरा गर्दा हामी अक्सर रुखबिरूवा र हरियालीको चर्चा गर्दछौं । रुखलाई नै प्रकृति भन्ने सम्झन्छौं । रुखको त्यो स्वरुपमा उसका स्वभावहरुलाई प्रकृति भनेर बुझ्नुपर्छ ।
तीर्थबहादुर श्रेष्ठ

कोरोना विषाणुको महामारीले विश्वभरिका मानिस एउटा असामान्य परिस्थितिको सामनामा जुटेका छन् । ज्यादै असहज र असामान्य परिस्थितिको बीचमा एउटा अति नै सामान्य लाग्ने नारा लिएर विश्व वातावरण दिवस (जुन ५) हामीमाझ आइपुगेको छ । यो वर्षको नाराले बोल्छ, ‘प्रकृतिका लागि समय’ अर्थात् ‘टाइम फर नेचर’ । हामीले प्रकृतिलाई समय दिन सकेनौं । हाम्रो समय प्रकृतिकै विनाशमा खर्च भइरहेको छ ।

फलस्वरूप जलवायु परिवर्तन, जैविक विविधतालगायत जीवनका आधारभूत प्राकृतिक स्रोत र साधनहरूको ह्रास र हालमा आएर कोभिड–१९ को महाव्याधीबाट मानव जाति स्तब्ध छ । अब प्रकृतितिर फर्कनुबाहेक अरू विकल्प छैन भन्ने सोच–विचार अधिक मानिसमा पलाउन थालेको छ । तर, प्रकृतिलाई कसरी बुझ्ने र प्रकृतिसम्मत विकासको बाटोमा कसरी फर्कने भन्ने कुरा ज्यादै जटिल हुन आउँछ ।

पृथ्वीको प्रकृति र वातावरणको कुरा गर्दा हामी अक्सर रूखबिरुवा र हरियालीको चर्चा गर्दछौं । रूखलाई नै प्रकृति भन्ने सम्झन्छौं । रूखको त्यो स्वरूपमा उसका स्वभावहरूलाई प्रकृति भनेर बुझ्नुपर्छ । रूखले हामीलाई छहारी दिन्छ । त्यो उसको प्रकृृति हो । हरिया पातले हामीलाई सास फेर्न अक्सिजन वायु दिन्छ । हामीले उत्सर्जन गरेको कार्बन डाइअक्साइड वायु सोसेर लिन्छ । त्यो उसको प्रकृति हो । हरिया पातले सूर्यको प्रकाशको सहायतामा खाद्यवस्तु निर्माण गर्छ । त्यो पनि रूखको प्रकृति हो । वास्तवमा पृथ्वीभरका सबै प्राणीका लागि खाद्यवस्तुको आधार बिरुवाहरूको हरियालीबाट प्राप्त हुने हो । त्यो पालनहार प्रकृतिलाई हामीले भुल्नु हुँदैन । तिनका अतिरिक्त पानीको वर्षा गराउने, जमिनलाई रसिलो राख्नेलगायत विभिन्न पशुपक्षी, कीटपतंगलाई सुरक्षित बासस्थानको व्यवस्था गर्ने आदि रूखका प्रकृतिलाई हामीले सम्मान गर्ने र समय दिने कुरालाई उपरोक्त नाराले इंगित गर्दछ । प्रकृतिलाई समय दिनु भनेको पृथ्वीको जल, स्थल, वायु, आकाश र प्रकाशलगायत यहाँका जीवमण्डलको कल्याणमा समय दिनु हो ।

पृथ्वीको स्वरूपलाई नियाल्यौं भने यसको बाहिरी सतह ५० करोड ९७ लाख वर्गकिलोमिटर नापिन्छ । त्यसको ७१ प्रतिशत सतही भाग सागर, महासागर र समुद्रले ओगटेको देखिन्छ । जमिनको भूभाग मात्र २९ प्रतिशत पर्न आउँछ । गत वर्ष सन् २०१९ को एउटा अन्तर्राष्ट्रिय विज्ञ समूहको प्रतिवेदनअनुसार पृथ्वीको भूखण्डमा रहेको ७५ प्रतिशत भूभागलाई मानवीय क्रियाकलापले तिनको प्राकृतिक स्वरूपलाई बदलेर अन्य प्रयोजनमा ल्याउने काम भएको छ । त्यस्तै जलखण्डको ६६ प्रतिशतमा विभिन्न प्रदूषण र प्रयोजनका कारण नकारात्मक प्रभाव परेको छ । नैरक्षिक प्रदेशका उष्ण वन क्षेत्रबाट सन् २०१० र सन् २०१५ को ५ वर्षभित्र ३ करोड २० लाख हेक्टर वन विनाश भएको छ । स्मरण गर्नुपर्छ कि ब्राजिलको यस्तो वन क्षेत्रको २ वर्गकिलोमिटर क्षेत्रमा ३०० विभिन्न प्रजातिका वृक्ष भेटिन्छन् । यस्तै गरेर विश्वका सिमसार क्षेत्रमध्ये ८५ प्रतिशत नष्ट भएको अनुमान छ । सिमसारहरू जलचर, नभचर र स्थलचर सबै प्राणीहरूको संगमस्थल पनि हो । जैविक विविधताको दृष्टिले तिनको प्रकृति अद्वितीय हुन्छ ।

विश्वमा मानव ज्ञानले भेट्टाएका जीव वनस्पति प्रजातिको संख्या १५ लाखको हाराहारीमा छ । तीमध्ये मानिस स्वयं पनि एक प्रजाति हो । तिनै मानिसको क्रियाकलापबाट प्रत्येक दिन सयौं अन्य जीवप्राणीहरू लोप हुन थालेका छन् । आउँदो १० वर्षभित्र १० लाख अरू प्रजाति लोप हुने खतरामा पुगेको छ । जैविक विविधताको यस्तो ह्रास हुनुबाट पृथ्वीको प्रकृतिमा फेरबदल हुने कुरा नकार्न सकिन्न ।

मानव क्रियाकलापको अर्को वितण्डा वातावरण प्रदूषण र जलवायु परिवर्तन अझ टड्कारो बनेको छ । पृथ्वीको तापमान दिनदिनै बढ्दो छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेअनुरूप पृथ्वी सतहको औसत तापमानलाई औद्योगिक विकासको प्रारम्भ अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिने सहमति भएको थियो । विश्वमा सबै औद्योगिक राष्ट्रहरूले आफ्नो उद्योग, व्यापार र आर्थिक विकासको ढाँचामा आमूल परिवर्तन नगरी त्यो लक्ष्य पूरा हुँदैन । र, त्यसमा अमेरिकाले साथ दिएको अवस्था छैन । चीनले भने आफ्नो नीतिमा परिवर्तन ल्याउँदो छ । संसारभरि गुड्ने विद्युतीय कारको ४५ प्रतिशत चीनमा गुड्ने गरेको छ । त्यस्तै विद्युतीय बसको त ९९ प्रतिशत अंश चीनले ओगटेको छ । नेपालको सन्दर्भमा भने हालै जारी भएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीसाधनमा करको भार बढाइदिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा हेर्ने हो भने नेपाल सरकार प्रकृतिलाई समय र साथ दिने काममा उदासीन देखिन्छ ।

प्रकृतिमाथि मानवको दानवीय प्रहार रोक्न असफल रहेको अवस्थामा कोरोना विषाणुको अनायास उद्भव भएबाट विश्वको वातावरणीय प्रकृतिमा सकारात्मक प्रभाव पर्न थालेको केही उदाहरणहरू उजागर हुँदै छन् । कलकारखाना, उद्योगधन्दा तथा यातायातका साधनहरूमा इन्धन खपत न्यून हुन थालेकाले हावा स्वच्छ बन्ने क्रममा छ । मानिसहरू ‘लकडाउन’ को बन्दाबन्दीले वन र हरियाली क्षेत्रको पुनरावृत्तिलाई बल पुगेको छ । ध्वनि प्रदूषण न्यून छ । पशुपक्षीहरू सहरबजारमा पनि निर्बाध चलखेल गर्न थालेका छन् । सामुद्रिक तटहरूमा जलप्राणीहरू सलबलाउन थालेका छन् । समग्रमा भन्नुपर्दा प्रकृतिले मुहार फेर्ने समय पाएको छ । तर कतिन्जेल ?

संसारभरका मानिसहरूलाई कोरोना विषाणुले गर्दा आफ्नो जीवनशैलीमा नयाँ परिवर्तन गर्नुपर्ने अवस्था खडा भएको छ । हाम्रो नेपालमा पनि यस राष्ट्रको भूस्वरूप र प्रकृतिअनुसार गाउँ र बस्तीहरूको पुनःसंरचना गर्नुपर्ने बाध्यता हाम्रासामु छ । विश्व खाद्य कार्यक्रमलगायत खाद्य, कृषि एवं आर्थिक व्यवस्थाका विज्ञहरूबाट खाद्य संकटको चेतावनीहरू आउन थालेका छन् । किनभने हाम्रा आर्थिक स्रोतका मुहानहरू सुक्न थाले । भारतलगायत विश्वका थुप्रै देशहरूका काम र माम वा ख्याति र सम्मानको खोजीमा गएका नेपाली युवाहरू घर फर्कने क्रम जारी छ । उनीहरूको स्वास्थ्य सुरक्षा र उनीहरूका कारण भित्रिने संक्रमणको रोकथाम अहिले ठूलो चुनौती बनेको छ । त्यसभन्दा ठूलो र दीर्घकालीन चुनौती उनीहरूलाई काम, माम र सम्मानका साथ पुनःस्थापन गर्नु हुन आउँछ । अधिकांश नेपालीले अब महसुस गर्न थालेका छन् कि हाम्रो अबको जीवन आधार आफ्नै भूमिमा खोज्नुपर्छ र खेतीपाती एवं कृषि नै एउटा अपरिहार्य विकल्प बन्ने स्थिति बनेको छ । तसर्थ यो बेला हाम्रो कृषि पारिस्थितिकीय प्रणालीतिर घोत्लिनुपर्छ ।

हाम्रो समथर तराई मधेस एवं पर्वतीय परिवेशमा सम्पूर्ण विश्वका विभिन्न जनवायु प्रतिविम्बित छ र विश्वका प्रायः सबै प्रकारका अन्नबाली, दलहन, फलफूल, तरकारी, जडीबुटीलगायत पशुपक्षी नेपालको माटोमा खेती गर्न सकिन्छ । जलाशयमा माछाखेती गर्न सकिन्छ । यो वर्ष विश्व वातावरण दिवसको नाराले हाम्रो परम्परागत सोचअनुरूप ‘उत्तम खेती, मध्यम व्यापार र निर्घृण चाकरी (सेवा)’ भन्ने उक्तिलाई स्मरण गराउँछ । वर्तमान नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र (चाकरी) विशेष गरेर वैदेशिक रोजगार एवं पर्यटन सेवाले सबैभन्दा ठूलो हिस्सा ‘उत्तम स्थान’ ओगटेको छ भने कृषि क्षेत्र निर्घृण अवस्थामा कायम छ । चामल, दाल, गहुँ, मकैजस्ता दैनिक उपभोग्य खाद्यसामग्री पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । अहिले कोभिड–१९ को प्रभावले गर्दा वैदेशिक रोजगारीमा गएका युवा शक्तिको ठूलो जमात (लगभग ४५ लाख) तथा प्रतिवर्ष यत्तिकै थपिने अर्को चार–पाँच लाख युवा शक्ति काम र मामको खोजीमा नेपालभित्रै भौंतारिने स्थिति खडा भएको छ । देशभित्र उद्योग, वाणिज्य, पर्यटन एवं यातायात आदि व्यवसायमा लागेका श्रमशक्ति पनि बेरोजगार हुन थालेका छन् । यस अवस्थामा पहिलो कदम पारिवारिक वा सामुदायिक आत्मनिर्भरतातिर नै चाल्नुपर्ने हुन्छ । त्यसका लागि आफ्नो स्थानविशेषको प्राकृतिक स्रोतसाधन तथा परम्परागत ज्ञान र सीपको सहायता निकै उपयोगी हुन्छ ।

कृषि विकासको सन्दर्भमा नेपालले पहिलेदेखि अपनाई आएको अवधारणाअनुसार तराई मधेसमा अन्न बाली, पहाडमा फलफूल र हिमाली क्षेत्रमा पशुपालनमा जोड दिने हो । हावापानीको दृष्टिले तराई भावर क्षेत्र उष्ण कटिबन्धमा पर्न आउँछ । यो क्षेत्रको उचाइ समुद्र सतहबाट १००० मिटरसम्म भेट्छ । तर, यो उष्ण कटिबन्ध भएका जिल्लाको संख्या ६८ पुग्न आउँछ (काठमाडौं, ललितपुर, भक्तपुर, हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङलाई छोडेर) । तनहुँ जिल्लाको ८० प्रतिशतले उष्ण हावापानी भेट्छ । डडेलधुरा जिल्लाको २५ प्रतिशत र संखुवासभाको १० प्रतिशत भूभाग पनि उष्ण प्रदेशभित्र पर्छ । तसर्थ यी क्षेत्रमा तराई मधेसकै कृषिबाली विस्तार गर्न सकिन्छ । तसर्थ कृषि व्यवसाय र विकासका लागि प्रत्येक जिल्लामा त्यहाँको स्थानविशेषअनुसार विशेषतः उचाइको आधारमा धरातलअनुसार काम हुनुपर्छ । यस्तो अवधारणा अवलम्बन गरेमा हाम्रो नेपाल भुइँदेखि ५ तला उठेको घरमा हिउँको छानो भएको भवनको रूपमा देखा पर्छ । त्यस भवनको उत्तरी मोहडामा बार्दलीझैं भोट प्रदेश कायम हुन्छ । त्यस घरमा सबै नेपाली र हाल घर फर्केका सबै परदेशी छोराछोरी अटाउनेछन् । र, पेट पाल्न कतै कुनै समस्या हुँदैन किनभने नेपाल उर्वरा छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×