कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालनहारलाई नमस्कार

पृथ्वीको प्रकृति र वातावरणको कुरा गर्दा हामी अक्सर रुखबिरूवा र हरियालीको चर्चा गर्दछौं । रुखलाई नै प्रकृति भन्ने सम्झन्छौं । रुखको त्यो स्वरुपमा उसका स्वभावहरुलाई प्रकृति भनेर बुझ्नुपर्छ ।

कोरोना विषाणुको महामारीले विश्वभरिका मानिस एउटा असामान्य परिस्थितिको सामनामा जुटेका छन् । ज्यादै असहज र असामान्य परिस्थितिको बीचमा एउटा अति नै सामान्य लाग्ने नारा लिएर विश्व वातावरण दिवस (जुन ५) हामीमाझ आइपुगेको छ । यो वर्षको नाराले बोल्छ, ‘प्रकृतिका लागि समय’ अर्थात् ‘टाइम फर नेचर’ । हामीले प्रकृतिलाई समय दिन सकेनौं । हाम्रो समय प्रकृतिकै विनाशमा खर्च भइरहेको छ ।

पालनहारलाई नमस्कार

फलस्वरूप जलवायु परिवर्तन, जैविक विविधतालगायत जीवनका आधारभूत प्राकृतिक स्रोत र साधनहरूको ह्रास र हालमा आएर कोभिड–१९ को महाव्याधीबाट मानव जाति स्तब्ध छ । अब प्रकृतितिर फर्कनुबाहेक अरू विकल्प छैन भन्ने सोच–विचार अधिक मानिसमा पलाउन थालेको छ । तर, प्रकृतिलाई कसरी बुझ्ने र प्रकृतिसम्मत विकासको बाटोमा कसरी फर्कने भन्ने कुरा ज्यादै जटिल हुन आउँछ ।

पृथ्वीको प्रकृति र वातावरणको कुरा गर्दा हामी अक्सर रूखबिरुवा र हरियालीको चर्चा गर्दछौं । रूखलाई नै प्रकृति भन्ने सम्झन्छौं । रूखको त्यो स्वरूपमा उसका स्वभावहरूलाई प्रकृति भनेर बुझ्नुपर्छ । रूखले हामीलाई छहारी दिन्छ । त्यो उसको प्रकृृति हो । हरिया पातले हामीलाई सास फेर्न अक्सिजन वायु दिन्छ । हामीले उत्सर्जन गरेको कार्बन डाइअक्साइड वायु सोसेर लिन्छ । त्यो उसको प्रकृति हो । हरिया पातले सूर्यको प्रकाशको सहायतामा खाद्यवस्तु निर्माण गर्छ । त्यो पनि रूखको प्रकृति हो । वास्तवमा पृथ्वीभरका सबै प्राणीका लागि खाद्यवस्तुको आधार बिरुवाहरूको हरियालीबाट प्राप्त हुने हो । त्यो पालनहार प्रकृतिलाई हामीले भुल्नु हुँदैन । तिनका अतिरिक्त पानीको वर्षा गराउने, जमिनलाई रसिलो राख्नेलगायत विभिन्न पशुपक्षी, कीटपतंगलाई सुरक्षित बासस्थानको व्यवस्था गर्ने आदि रूखका प्रकृतिलाई हामीले सम्मान गर्ने र समय दिने कुरालाई उपरोक्त नाराले इंगित गर्दछ । प्रकृतिलाई समय दिनु भनेको पृथ्वीको जल, स्थल, वायु, आकाश र प्रकाशलगायत यहाँका जीवमण्डलको कल्याणमा समय दिनु हो ।

पृथ्वीको स्वरूपलाई नियाल्यौं भने यसको बाहिरी सतह ५० करोड ९७ लाख वर्गकिलोमिटर नापिन्छ । त्यसको ७१ प्रतिशत सतही भाग सागर, महासागर र समुद्रले ओगटेको देखिन्छ । जमिनको भूभाग मात्र २९ प्रतिशत पर्न आउँछ । गत वर्ष सन् २०१९ को एउटा अन्तर्राष्ट्रिय विज्ञ समूहको प्रतिवेदनअनुसार पृथ्वीको भूखण्डमा रहेको ७५ प्रतिशत भूभागलाई मानवीय क्रियाकलापले तिनको प्राकृतिक स्वरूपलाई बदलेर अन्य प्रयोजनमा ल्याउने काम भएको छ । त्यस्तै जलखण्डको ६६ प्रतिशतमा विभिन्न प्रदूषण र प्रयोजनका कारण नकारात्मक प्रभाव परेको छ । नैरक्षिक प्रदेशका उष्ण वन क्षेत्रबाट सन् २०१० र सन् २०१५ को ५ वर्षभित्र ३ करोड २० लाख हेक्टर वन विनाश भएको छ । स्मरण गर्नुपर्छ कि ब्राजिलको यस्तो वन क्षेत्रको २ वर्गकिलोमिटर क्षेत्रमा ३०० विभिन्न प्रजातिका वृक्ष भेटिन्छन् । यस्तै गरेर विश्वका सिमसार क्षेत्रमध्ये ८५ प्रतिशत नष्ट भएको अनुमान छ । सिमसारहरू जलचर, नभचर र स्थलचर सबै प्राणीहरूको संगमस्थल पनि हो । जैविक विविधताको दृष्टिले तिनको प्रकृति अद्वितीय हुन्छ ।

विश्वमा मानव ज्ञानले भेट्टाएका जीव वनस्पति प्रजातिको संख्या १५ लाखको हाराहारीमा छ । तीमध्ये मानिस स्वयं पनि एक प्रजाति हो । तिनै मानिसको क्रियाकलापबाट प्रत्येक दिन सयौं अन्य जीवप्राणीहरू लोप हुन थालेका छन् । आउँदो १० वर्षभित्र १० लाख अरू प्रजाति लोप हुने खतरामा पुगेको छ । जैविक विविधताको यस्तो ह्रास हुनुबाट पृथ्वीको प्रकृतिमा फेरबदल हुने कुरा नकार्न सकिन्न ।

मानव क्रियाकलापको अर्को वितण्डा वातावरण प्रदूषण र जलवायु परिवर्तन अझ टड्कारो बनेको छ । पृथ्वीको तापमान दिनदिनै बढ्दो छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेअनुरूप पृथ्वी सतहको औसत तापमानलाई औद्योगिक विकासको प्रारम्भ अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिने सहमति भएको थियो । विश्वमा सबै औद्योगिक राष्ट्रहरूले आफ्नो उद्योग, व्यापार र आर्थिक विकासको ढाँचामा आमूल परिवर्तन नगरी त्यो लक्ष्य पूरा हुँदैन । र, त्यसमा अमेरिकाले साथ दिएको अवस्था छैन । चीनले भने आफ्नो नीतिमा परिवर्तन ल्याउँदो छ । संसारभरि गुड्ने विद्युतीय कारको ४५ प्रतिशत चीनमा गुड्ने गरेको छ । त्यस्तै विद्युतीय बसको त ९९ प्रतिशत अंश चीनले ओगटेको छ । नेपालको सन्दर्भमा भने हालै जारी भएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीसाधनमा करको भार बढाइदिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा हेर्ने हो भने नेपाल सरकार प्रकृतिलाई समय र साथ दिने काममा उदासीन देखिन्छ ।

प्रकृतिमाथि मानवको दानवीय प्रहार रोक्न असफल रहेको अवस्थामा कोरोना विषाणुको अनायास उद्भव भएबाट विश्वको वातावरणीय प्रकृतिमा सकारात्मक प्रभाव पर्न थालेको केही उदाहरणहरू उजागर हुँदै छन् । कलकारखाना, उद्योगधन्दा तथा यातायातका साधनहरूमा इन्धन खपत न्यून हुन थालेकाले हावा स्वच्छ बन्ने क्रममा छ । मानिसहरू ‘लकडाउन’ को बन्दाबन्दीले वन र हरियाली क्षेत्रको पुनरावृत्तिलाई बल पुगेको छ । ध्वनि प्रदूषण न्यून छ । पशुपक्षीहरू सहरबजारमा पनि निर्बाध चलखेल गर्न थालेका छन् । सामुद्रिक तटहरूमा जलप्राणीहरू सलबलाउन थालेका छन् । समग्रमा भन्नुपर्दा प्रकृतिले मुहार फेर्ने समय पाएको छ । तर कतिन्जेल ?

संसारभरका मानिसहरूलाई कोरोना विषाणुले गर्दा आफ्नो जीवनशैलीमा नयाँ परिवर्तन गर्नुपर्ने अवस्था खडा भएको छ । हाम्रो नेपालमा पनि यस राष्ट्रको भूस्वरूप र प्रकृतिअनुसार गाउँ र बस्तीहरूको पुनःसंरचना गर्नुपर्ने बाध्यता हाम्रासामु छ । विश्व खाद्य कार्यक्रमलगायत खाद्य, कृषि एवं आर्थिक व्यवस्थाका विज्ञहरूबाट खाद्य संकटको चेतावनीहरू आउन थालेका छन् । किनभने हाम्रा आर्थिक स्रोतका मुहानहरू सुक्न थाले । भारतलगायत विश्वका थुप्रै देशहरूका काम र माम वा ख्याति र सम्मानको खोजीमा गएका नेपाली युवाहरू घर फर्कने क्रम जारी छ । उनीहरूको स्वास्थ्य सुरक्षा र उनीहरूका कारण भित्रिने संक्रमणको रोकथाम अहिले ठूलो चुनौती बनेको छ । त्यसभन्दा ठूलो र दीर्घकालीन चुनौती उनीहरूलाई काम, माम र सम्मानका साथ पुनःस्थापन गर्नु हुन आउँछ । अधिकांश नेपालीले अब महसुस गर्न थालेका छन् कि हाम्रो अबको जीवन आधार आफ्नै भूमिमा खोज्नुपर्छ र खेतीपाती एवं कृषि नै एउटा अपरिहार्य विकल्प बन्ने स्थिति बनेको छ । तसर्थ यो बेला हाम्रो कृषि पारिस्थितिकीय प्रणालीतिर घोत्लिनुपर्छ ।

हाम्रो समथर तराई मधेस एवं पर्वतीय परिवेशमा सम्पूर्ण विश्वका विभिन्न जनवायु प्रतिविम्बित छ र विश्वका प्रायः सबै प्रकारका अन्नबाली, दलहन, फलफूल, तरकारी, जडीबुटीलगायत पशुपक्षी नेपालको माटोमा खेती गर्न सकिन्छ । जलाशयमा माछाखेती गर्न सकिन्छ । यो वर्ष विश्व वातावरण दिवसको नाराले हाम्रो परम्परागत सोचअनुरूप ‘उत्तम खेती, मध्यम व्यापार र निर्घृण चाकरी (सेवा)’ भन्ने उक्तिलाई स्मरण गराउँछ । वर्तमान नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र (चाकरी) विशेष गरेर वैदेशिक रोजगार एवं पर्यटन सेवाले सबैभन्दा ठूलो हिस्सा ‘उत्तम स्थान’ ओगटेको छ भने कृषि क्षेत्र निर्घृण अवस्थामा कायम छ । चामल, दाल, गहुँ, मकैजस्ता दैनिक उपभोग्य खाद्यसामग्री पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । अहिले कोभिड–१९ को प्रभावले गर्दा वैदेशिक रोजगारीमा गएका युवा शक्तिको ठूलो जमात (लगभग ४५ लाख) तथा प्रतिवर्ष यत्तिकै थपिने अर्को चार–पाँच लाख युवा शक्ति काम र मामको खोजीमा नेपालभित्रै भौंतारिने स्थिति खडा भएको छ । देशभित्र उद्योग, वाणिज्य, पर्यटन एवं यातायात आदि व्यवसायमा लागेका श्रमशक्ति पनि बेरोजगार हुन थालेका छन् । यस अवस्थामा पहिलो कदम पारिवारिक वा सामुदायिक आत्मनिर्भरतातिर नै चाल्नुपर्ने हुन्छ । त्यसका लागि आफ्नो स्थानविशेषको प्राकृतिक स्रोतसाधन तथा परम्परागत ज्ञान र सीपको सहायता निकै उपयोगी हुन्छ ।

कृषि विकासको सन्दर्भमा नेपालले पहिलेदेखि अपनाई आएको अवधारणाअनुसार तराई मधेसमा अन्न बाली, पहाडमा फलफूल र हिमाली क्षेत्रमा पशुपालनमा जोड दिने हो । हावापानीको दृष्टिले तराई भावर क्षेत्र उष्ण कटिबन्धमा पर्न आउँछ । यो क्षेत्रको उचाइ समुद्र सतहबाट १००० मिटरसम्म भेट्छ । तर, यो उष्ण कटिबन्ध भएका जिल्लाको संख्या ६८ पुग्न आउँछ (काठमाडौं, ललितपुर, भक्तपुर, हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङलाई छोडेर) । तनहुँ जिल्लाको ८० प्रतिशतले उष्ण हावापानी भेट्छ । डडेलधुरा जिल्लाको २५ प्रतिशत र संखुवासभाको १० प्रतिशत भूभाग पनि उष्ण प्रदेशभित्र पर्छ । तसर्थ यी क्षेत्रमा तराई मधेसकै कृषिबाली विस्तार गर्न सकिन्छ । तसर्थ कृषि व्यवसाय र विकासका लागि प्रत्येक जिल्लामा त्यहाँको स्थानविशेषअनुसार विशेषतः उचाइको आधारमा धरातलअनुसार काम हुनुपर्छ । यस्तो अवधारणा अवलम्बन गरेमा हाम्रो नेपाल भुइँदेखि ५ तला उठेको घरमा हिउँको छानो भएको भवनको रूपमा देखा पर्छ । त्यस भवनको उत्तरी मोहडामा बार्दलीझैं भोट प्रदेश कायम हुन्छ । त्यस घरमा सबै नेपाली र हाल घर फर्केका सबै परदेशी छोराछोरी अटाउनेछन् । र, पेट पाल्न कतै कुनै समस्या हुँदैन किनभने नेपाल उर्वरा छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?