कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारी र भारत

स्याबास ज्योति ! धन्य छौ सोनु !!
हरि अधिकारी

काठमाडौँ — कोरोना भाइरसको महामारीले विश्वका अरू भूभागमा बस्ने जनताहरूलाई के कस्तो पाठ पढाएको छ त्यसको खुलासा बिस्तारै हुँदै जाला । हामी दक्षिण एसियाबासी त्यसमा पनि भारतीय नागरिकहरूलाई भने यो वैश्विक व्याधिले धेरै कुरा सिकाएको छ ।

कोरोना महामारी र भारत

पृथ्वीको पूर्वी गोलार्द्धको यस भेगका, सत्ताको चमकदमकले उजालिएका धेरै अनुहारहरूबाट भद्रता र सुसंस्कारको मखुण्डो उत्रिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलगायत उपमहाद्विपका धेरै नेताले पद र पैसाका जोरमा निर्माण गरेको आफ्नो महानताको काल्पनिक किल्ला तासको महलझैँ गर्ल्याम्गुर्लुम् ढलेको अनुभव गरेको हुनु पर्दछ यतिबेला ।

जनादेशबाट व्यापक शक्ति सञ्चय गर्न सफल भएका भारतीय प्रधानमन्त्री मोदीले गत ६ वर्षको अवधिमा करोडौं रूपैयाँ खर्च गरेर एक आदर्श जननेता र कल्पनाशील शासकको जुन छवि निर्माण गरेका थिए, कोरोना व्याधिको बबण्डरले त्यसलाई नितान्त नक्कली साबित गरिदिएको छ । उनको त्यो सुग्घर छवि पूरै ध्वस्त भएको छ । यस प्रसङ्गमा सन् २०१४ बाट शुरू भएको उनको शासनमा देशमा आइपर्ने जटिल समस्याको वास्तविक चित्रण सहितको जानकारी उनीसम्म पुर्‍याउने र सही निर्णय लिने प्रक्रियालाई सघाउने खालको संयन्त्र बनाउन सकिएको रहेनछ भन्ने तीतो सत्य पनि उजागर भएको छ ।

कोरोना महाव्याधिसँग लड्ने सन्दर्भमा मोदीले नेतृत्व गरेको केन्द्रीय सरकार मात्र होइन सत्ताशीन दल भारतीय जनता पार्टीको शासन भएका गुजरात, कर्नाटक, उत्तर प्रदेश, उत्तराखण्ड, हरियाणा र बिहारका राज्य सरकारहरू पनि कमजोर साबित भएका छन् । केन्द्र र राज्य सरकारका बीच केन्द्रले राज्यलाई दिने अनुदान रकमलाई लिएर खिचलो चलेको त छँदैछ पछिल्लोपटक एक राज्यबाट अर्कोमा जान चाहने प्रवासी मजदुरहरूको परिवहन व्यवस्थापनलाई लिएर पनि यिनका बीच जिम्मेवारीबाट पन्छिने होडबाजी चलेको छ । केन्द्र र राज्य सरकारहरूको खिचातानी चल्दै गर्दा फैलिएको अव्यवस्थाले अहिलेसम्म दूरदेहातका आफ्ना घर जान चाहने ४० दिनको लकडाउनले हरितन्नम् भएका लाखौं मध्ये ३ सय जना भन्दा बढी मजदुरहरूको मृत्यु भइसकेको छ । केही दर्जन हतभागहरूले रेलको बोगीले किच्चिएर ज्यान गुमाएका छन् भने केही दर्जन ट्रक दुर्घटनाको चपेटामा परेका छन् ।

भाजपाको सरकार भएका कर्नाटक, गुजरात र हरियाणाबाट आ-आफ्ना घर फर्किन चाहने प्रवासी मजदुरहरूका लागि ती राज्य सरकारहरूले परिवहनको कुनै सहायता स्किम नल्याएको मात्र होइन, पैदल नै भएपनि घरतिरको बाटो लाग्न कम्मर कसेर सडकमा निस्केका ती गरीबहरूका लागि खानेकुराको त कुरै छोडौँ पानीसम्मको ब्यवस्था नगरेर हदैसम्मको अमानवीय ब्यवहार गरेका छन् । गुजरात, कर्नाटक र हरियाणाजस्ता औद्योगिक राज्यहरूको प्रगतिको मेरूदण्डका रूपमा रहेका मजदुरहरूको दुखको समयमा ती राज्य सरकारहरूले प्रदर्शन गरेको यस प्रकारको करुणाहीनता निन्दनीय छ । यसले भारतीय जनता पार्टीमाथि अम्बानी र अडानीजस्ता मुठ्ठीभर महाधनाढ्यहरूको हितमा काम गर्ने दलालहरूको समूह भनी जुन आरोप लगाइने गरेको छ त्यो आरोपलाई केही हदसम्म सत्यापन गरेको छ ।

यस सन्दर्भमा प्रधानमन्त्री मोदीका विश्वासप्राप्त कार्यकर्ता एवं भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रवासी मजदुरहरूको दुखकष्टप्रति प्रदर्शन गरेको निर्मम कोटीको निरपेक्षताले त सबैलाई स्तब्ध बनाएको छ । यसले उनको अन्तर्यमा जमेर बसेको भारतका करोडौं दीनहीन जनताको गरीबी र त्यसले पैदा गरेको विवशताप्रतिको क्रूर संवेदनहीनतालाई पनि छताछुल्ल पारेको छ । योगीले आफ्नो राज्यमा कोरोना महामारीविरुद्धको अभियानलाई यति बेवास्ताका साथ चलाएका छन् राज्यका स्वास्थ्यकर्मीहरूले भोग्नु परिरहेको पीपीईको कमी भारतका अन्य कुनै राज्यमा भन्दा निक्कै नै बढी छ । भेन्टिलेटरको उपलब्धताका हिसाबले पनि उत्तर प्रदेश अरू राज्यका तुलनामा धेरै पछाडि देखिन्छ ।

सबैभन्दा पछिल्लो एउटा घटनाले त योगीको अमानवीय सोचलाई यसरी उदाङ्गो पारेको छ यसका कारण उनको सर्वत्र थु: थु: भएको छ । घटना यस्तो छ: प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी महामन्त्री प्रियंका गान्धीले एउटा चिठी लेखेर योगीजीसँग पैदलै आआफ्ना घर जान हिँडेका प्रवासी मजदूरहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउनका लागि आफ्नो पार्टीले उपलब्ध गराउन खोजेका १ हजार बसहरू चलाउने अनुमति मागिन् । योगीको अफिसले पहिलो दिन त्यस कुराको स्वीकृति दियो तर तेस्रो दिन अनेक अडंगा लगाउँदै कांग्रेसले उपलब्ध गराएका बसहरू चल्न नदिने प्रपञ्च खडा गर्‍यो । राज्य प्रशासनले भन्यो- 'कांग्रेसले १ हजार बस चलाउछु भनेर ८७९ वटा मात्रै रीत पुगेका बस ल्याएर बोर्डरमा खडा गरेकोले अनुमति दिन सकिँदैन ।'

लालाबालालाई लिएर दूररदेहातका घरसम्म पुग्न भनी नाङ्गा खुट्टा हिँडिरहेका, भोका र थकित प्रवासी मजदूरहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउनका लागि आफूले पनि कुनै व्यवस्था नगर्ने र प्रतिपक्षले अगाडि बढाएको सहयोगको हातलाई पनि झड्कारेर पन्छाउने मुख्यमन्त्री योगीको यो निर्दयी व्यवहार सर्वत्र निन्दित बन्न पुगेको छ । सन् २०१७ मा भएको राज्य विधान सभाको चुनावबाट बलियो बहुमतका साथ उत्तर प्रदेशको सत्ता सम्हाल्न पुगेका गोरखपुर मठका महन्त आदित्यनाथको कार्यकाल अत्यन्त विवादित छ । यस अवधिलाई इतिहासले कुनै सकारात्मक उपलब्धिका लागि नभएर अल्पसंख्यक मुसलमानहरूमाथि भएको लगातारको प्रताडना, फरक विचार राख्ने बौद्धिक समूहमाथि गरिएका असंख्य पुलिस कार्बाही, मुद्दा-मामिला र राज्यका स्रोत र साधनको हिन्दुवादी एजेण्डाका हकमा गरिएको चरम् दुरुपयोगका लागि सम्झिने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ महामारीले भारतको जस्केलामा टेकेदेखि नै गल्ती गर्दै आएको देखिन्छ । सारा स्थितिको सही आकलन गरेर ठीकठीक प्राथमिकता निर्धारण गरी कोरोना व्याधिको सामना गर्ने अल्प र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सकेको भए आज भारतमा न त कोरोना महामारीको यस्तो विस्तार हुन्थ्यो न त आन्तरिक प्रवासीहरूको स्थानान्तरणको प्रक्रियाले नै यस्तो त्राशद रूप लिने थियो । कोरोना महामारी भारत प्रवेशका सुरुवाती दिनहरूमा सरकारको ध्यान कि त मध्य प्रदेशमा चलिरहेको कांग्रेसको सरकार गिराउनमा केन्द्रित थियो कि भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत सत्कारमा ।

स्थितिले खतरनाक मोड लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल डिस्ट्यान्सिङ र लकडाउनको घोषणा गरे जुन वास्तवमा आवश्यक नै भइसकेको थियो । तर जम्माजम्मी ४ घण्टाको समय दिएर लकडाउनको घोषणा गरेकोले मानिसहरूले न त चाहिने जति रसदपानीको व्यवस्था गर्न सके नत भोलिको लागि कुनै जोहो नै हुन सक्यो । लकडाउनलाई ४ पटकसम्म लम्ब्याउँनु पर्ने स्थिति आएपछि त त्यो नै करोडौं जनताको घाँटीमा लागेको सुर्केनी बन्न पुग्यो । घरमै थन्किएका करोडौँ बेरोजगार भएका दैनिक ज्यालामा जीवन मानिसहरूलाई बँचाउने कुनै स्किम सरकारसँग थिएन । न त सरकारले कुनै राम्रो अंकको राहत प्याकेजको नै घोषणा गर्न सक्यो । प्रधानमन्त्री मोदीले यस्तै विपदाको अवस्थाका लागि भनेर खडा गरिएको एउटा कोष हुँदाहुँदै प्रम केयर फण्डको नाममा अर्को ढुकुटी पनि बनाउने घोषणा गरे । त्यसमा केही अर्ब रूपैयाँ जम्मा भएको समाचार पनि सुनिएको छ । तर भोकभोकै मर्न लागेका जनताको केयरका लागि त्यसबाट एक चवन्नी पनि खर्च भएको थाहा हुन सकेको छैन ।

तीस दिनको लकडाउनपछि पनि काम धन्दा सुचारु हुने कुनै सम्भावना नभएपछि उत्तर र उत्तरपूर्वी भारतका गाउँ देहातबाट मुम्बई, दिल्ली, हैदरावाद, बेङ्गलुरु, अहमदावाद, जस्ता ठूला सहरहरूमा रोजगारीका लागि पुगेका लाखौँलाख मजदूरहरू गाउँ फर्कने ध्याउन्नामा लागे । अनि सुरू भयो भारतीय उपमहाद्विपमा यस युगको सबैभन्दा ठूलो मानवीय स्थानान्तरण । सन् १९४७ को भारत विभाजनमा भएको स्थानान्तरण हिंस्रक भएकाले त्यसको त्राशदी भयानक थियो तर अहिलेको आन्तरिक स्थानान्तरण अर्को कोणबाट हेर्दा त्यत्तिकै कहालिलाग्दो छ । भारतका कर्ताधर्ताहरूका लागि यो स्थिति लज्जास्पद छ र यसलाई त्यस देशको विकासको मोडेल पूर्णत: असफल भएको कुराको ज्वलन्त दृष्टान्तको रूपमा लिनुपर्ने हुन्छ ।

कोरोना महामारीले भारतीय समाजको वास्तविक रूपको दर्शन गराइदिएको छ । भारतमा कहीँ कतै वैभव पनि बढेको होला तर त्यहाँ आम मान्छे त पूरै हरिकङ्गाल पो भइसकेको रहेछ । एक महिना काम छुट्ने बित्तिकै करोडौं मानिसहरू भोकभोकै मर्ने अवस्थामा ओर्लनुपर्ने राष्ट्रिय अर्थतन्त्रलाई के भन्ने ? न कुनै वचत, न संकटकालीन कोष, न जुरुक्क उठेर कतै जान सकिने साधन, न आफ्नो जीवनमा सन्तोष न त सन्तानलाई सुरक्षित भविष्य दिन सकिने अवस्था । स्वतन्त्रताको ७३औँ वर्षमा हिँडिरहेको देशका करोडौँ सर्वसाधारणको यस्तो सर्वहारा चाला ? महात्मा गान्धीले परिकल्पना गरेको सर्वोदय इतिहासको कुनै कण्टेनरमा फ्याँकिएको छ ?

प्रवासी मजदुरहरूको महान् स्थानान्तरणको क्रममा केही सुखद परिदृश्य पनि देख्न पाइयो जसले भारतीय समाजमा मानवता र आपसी सद्भाव मरिसकेको छैन भन्ने सुखानुभूति गराएको छ । पैदलै घरतिर पाइला बढाइरहेका भोका प्यासा मान्छेहरूलाई सडकछेउ तिरका गाउँले र कस्बाई जनताले खाना, पानी र रात बिताउने ठाउँको प्रबन्ध गरिदिएर उनीहरूको चहर्‍याइरहेको घाउमा मल्हम लगाउने चेष्टा गरेका छन् । यस प्रसङ्गमा सबैभन्दा उल्लेख्य उपकारी काम गरेका छन् हिन्दी र दक्षिण भारतीय चलचित्र जगतका विख्यात कलाकार सोनु सुदले । सोनुले आफ्नै खर्चमा सय्यौं बस भाडामा लिएर मुम्बईबाट बिहार तथा उत्तर प्रदेश जान चाहने मजदूरहरूलाई पुर्‍याउने व्यवस्था गरेका छन् । यो लेख तयार गर्दासम्म सोनुले करीब १५ हजार मजदुरहरूलाई गन्तव्यसम्म पुर्‍याइसकेका छन् । सोनुले यो सेवा अन्तिमसम्म जारी राख्ने जनाएका छन् ।

अर्कोतिर दिल्ली नजिक गाजियावादमा बिजुली रिक्सा चलाएर जीविका चलाइरहेका तर अहिले दुर्घटनामा परी अस्वस्थ रिक्सा-ड्राइभर मोहन पासवानकी १५ वर्षीया छोरी ज्योति पासवानले बिरामी बाबुलाई क्यारियरमा राखी साइकल चलाएर १२ सय किलोमिटर टाढा बिहारको दरभङ्गा जिल्लासम्म पुर्‍याई हिम्मतको र शारीरिक क्षमताको अद्भूत उदाहरण कायम गरेकी छिन् । दुर्घटनामा परी घाइते भएपछि बेरोजगार भएका मोहन पासवान आर्थिक कारणले गाजियावाद छोड्नै पर्ने अवस्थामा पुगेका थिए तर उनीसँग कुनै गाडी पाए पनि आफ्नो गाउँसम्मको भाडा तिर्ने पैसा थिएन । त्यतिबेला ज्योतिले हिम्मत देखाइन् । ५ सयमा सेकेण्ड ह्याण्ड साइकल किनियो । ज्योतिले बडो धैर्य र आँटका साथ त्यो पुरानो साइकल चलाएर बिरामी बाबुलाई गाउँमा उतारी छोडिन् ।

स्याबास ज्योति ! धन्य छौ सोनु !!

प्रकाशित : जेष्ठ १४, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?