कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामा वसन्ती सपना

नारायणी देवकोटा

१४ वर्षदेखि मेरो मस्तिष्कमा एउटा फन्टुस सपनाले ढकमक्क फुल्दै महकपूर्ण बास्ना छोडिरहन्छ । यो सपना इँटाइँटा मिलेर बनेको घरजस्तो छ । मलाई लोभ्याउने यो सपना हरेक वर्ष काठमाडौंका सडकपेटीमा नीला फूलहरू झर्न थाल्दा वा लेकका डाँडाहरू विभिन्न रङका गुराँसले ढकमक्क ढाक्न थाल्दा बढी आउने गर्छ । 

कोरोनामा वसन्ती सपना

पहिलोपटक यो सपना मेरो दिमागमा नागार्जुनको जंगलको बीच बाटोमा हिँड्दै गर्दा फुलेको थियो । त्यसको एक वर्षपछि त्यो सपना लाँकुरी भन्ज्याङको उकालोमा फेरि ढकमक्क परेर फुलेपछि मैले मेरी एक जना साथीलाई सुनाएकी थिएँ । उनले भनेकी थिइन्, ‘तपाईं यहीबारेमा लेख्नू न ।’ त्यो बेला मलाई लाग्थ्यो, लेख्ने, सार्वजनिक रूपमा बहस गर्ने त ठूल्ठूला कुरामा पो हो । ठूल्ठूला कुरा अर्थात् राजनीति, दर्शनशास्त्र र अर्थशास्त्र वा यी तिनै कुरा मिसिएको साहित्यजस्ता विषयमा । मेरो मनमा मुस्कुराउने सपना ती ठूला कुरामा फिट हुने खालको लाग्दैनथ्यो, आज पनि लाग्दैन । तैपनि म उक्त सपनाको बारेमा लेख्न चाहन्छु ।

यो सपनाको पहिलो इँटा चौध वर्षअगाडि जोडिएको थियो । ठमेलको सरस्वती क्याम्पसदेखि नागार्जुनको जंगलमा रहेको ओशो तपोवन जाँदै थियैँ, हिँड्दै । बीचमा जंगल पुगेपछि लाग्यो, ‘यो ठाउँमा सुन्तला खेती गर्ने हो भने अबको दस वर्षमा त काठमाडौंलाई पुग्ने सुन्तला फल्थ्यो होला ।’ साथीहरूलाई उक्त कुरा सुनाएपछि हामीले यसैबारे एक घण्टा जति कुरा गर्‍यौं । त्यसको एक वर्षपछि लाँकुरी भन्ज्याङको उकालोमा अमलाका दाना हो वा अंगेरी हो खाँदै गर्दा मनमा लाग्यो, ‘यो सार्वजनिक जंगलको उकालाका दुई छेउमा फलफूलका रूखहरू (नास्पाती, सुन्तला, अम्बा, आरुबखडा, रूख अमला, लप्सी वा काफल नै) भएको भए, उकालोमा चढ्ने यात्रीले कत्ति खाँदा हुन् । ती फल काँचै भए पनि कति मिठा लाग्दा हुन् ।’ मैले उक्त कुरा भनेपछि नै हो साथीले ‘लेखमा उतार्न’ भनेको ।

उक्त सपना यात्रामा हुँदा टिपेर खाने फलसँग मात्रै सम्बन्धित थियो । बिस्तारै त्यसले हाँगाबिँगा फैलाउन थाल्यो । महोत्तरीमा एउटा अनुसन्धानका क्रममा जाँदा भित्री गाउँमा फलेको सैजुन देखेपछि एक जना सहकर्मीले ‘मागेर लैजाऊँ, भरे होटलमा पकाएर यसको स्वाद चखाउँछु’ भन्नुभयो । स्थानीयहरूले ‘उक्त रूखधनी त्यहाँ नभएका कारण यस्सै दिन नमिल्ने’ भन्न थाले । हामीले जेठ महिनाको घाम खाँदै दुई घण्टा कुरेपछि रूखवाला मानिस आए र टिपिदिए । त्यो सैजुन हाम्रा लागि पैसा तिरेको होटलमा आफैंले पकाएर खाने विशिष्ट खान्गी भयो । जलेश्वरबाट फर्कंदै गर्दा मनमा लाग्यो, यो सडकका दुवै किनारामा सैजुनका रूख रोपिदिएका भए सैजुनप्रेमीहरूलाई कत्ति राहत मिल्दो हो ।

दुई वर्षअगाडि एक जना दिदीले सिप्लिकानको अचार दिँदै भन्नुभयो, ‘वर्षमा एकपटक सिप्लिकानको तरकारी वा अचार खाए गति परिन्छ रे ।’ गाउँमा आमाहरूले कहिलेकाहीं सिप्लिकान पकाउने भए पनि काठमाडौंमा त्यो पाइन्छ भन्ने थाहा थिएन र सोधेँ, ‘कहाँ किन्नुभयो ?’ उहाँले मलाई मध्यबानेश्वरको कुनै गल्लीमा सिप्लिकानको बोट रहेको बताउनुभयो । पछि थाहा भयो, कसैको कम्पाउन्डभित्रको उक्त बोट बाटो फराकिलो पार्दा बाहिर आइपुगेछ । दिदीले दिएको अचार खाएर गति पर्दै गर्दा लाग्यो, ‘बाटो छेउमा धुपीका रूख रोप्नुभन्दा सिप्लिकान, कोइरालो, काभ्रोका रूख रोप्दा पनि त हुँदो हो ।’

केही महिनाअगाडि हामी पन्चासेको जंगलमा हिँड्दै थियौं, बाटोमा एउटा ओखर भेटियो । घना जंगलको बीच बाटोमा ओखर भेटेपछि सोच्यौँ, ‘यतै कतै ओखरको बोट होला ।’ काठमाडौंमा म छ सात सयको एक किलो ओखर किन्छु, जुन चीन र अमेरिकाबाट आउँछ भन्छन् व्यापारीहरू । जंगलछेउमा घर भएकी भाउजूसँग त्यहाँ ओखर हुन्छ कि हुन्न होला भनेर कुरा गर्‍यौं । जंगलभित्र कुनै विदेशी संस्थाले पैयुँका बोट निकै लगाएको रहेछ । स्थानीयले बुझेअनुसार पैयुँको फूल उक्त संस्था भएको देशको राष्ट्रिय फूल रहेछ । अनि हामीले पैयुँका बिरुवासँगै ओखरका बिरुवा रोपिदिएको भए स्थानीय मानिसको पोषणमा कत्ति सुधार हुँदो हो भन्ने गफ गरेर उकालो काट्यौँ ।

यस्ता किस्साका इँटा धेरै छन्, जसलाई एकीकरण गर्ने काम ट्वीटरको भित्तो हुँदै आएका केही फोटोले गर्‍यो । धोबीखोलाको धमिलो पानीमाथि ढकमक्क फुलेका फूलहरूको फोटो एक जना साथीले पोस्ट गर्नुभएपछि मैले कपी गरेर आफ्नो कम्प्युटरमा पेस्ट गरेँ । र, सयौंपटक हेरेँ । हेरेर मन नभरिएपछि मैले फेरि पोस्ट गरेँ ट्वीटरमा । केही दिनअगाडि मात्र कसैले ट्वीटरमा विदेशको कुनै विश्वविद्यालयको फोटो राखेर भनेका थिए, ‘अहिले यसरी पैयुँका बिरुवा रोप्ने हो भने त नेपालका विभिन्न शैक्षिक संस्थाका चौर पनि केही वर्षमा यस्तै हुने थिए ।’ फूल कसलाई मन पर्दैन ? यति बेला काठमाडौंका सडक किनारमा फुलेका फूलहरूले बेलाबेला केकेसँग रिसाएर, दिक्क परेर हिँडेका दिनमा पनि मन उज्यालो बनाइदिन्छन् ।

धोबीखोलाका किनारमा फुलेका फूल ल्यापटपको स्क्रिनमा हेर्दै गर्दा दिमागमा नेपालमा आयात हुने फूलको तथ्यांक आइरह्यो । फल पनि हुने, फूल पनि हुने धेरै वनस्पति मनमा आइरहे । म वनस्पतिशास्त्रकी विद्यार्थी होइन । कहाँ कस्तो रूख सर्छ, त्यसमा कति पानी, कति बालुवा, कति तापक्रम, कति माटो र माटोका प्रकार चाहिन्छ भन्ने म जान्दिनँ । तर, मैले जान्दिनँ भन्दैमा मेरो मनको यो फन्टुस सपना हटेर जाँदैन ।

बरु उक्त सपनाले फूलबुट्टा भरिरहन्छ । अनि मनमा लागिरहन्छ— रोपौँ न फूल पनि फुल्ने फल पनि फल्ने, फूल, पालुवा वा कोपिला खान मिल्ने रूखहरूका बिरुवाहरू साना-ठूला मार्ग र राजमार्गको छेउछाउमा, विद्यालय र विश्वविद्यालयका चौरका छेउछाउमा, मन्दिर वा सार्वजनिक चौरहरूमा । हरेक वर्ष सरकारी वृक्षरोपण हुन्छ । उक्त दिन रोप्ने बिरुवामा अलिकति परिवर्तन गरिदिऊँ र रोपौँ हिमाली भेगमा स्याउ, आरु, ओखर, कागजी बदामका रूखहरू । पहाडमा सुन्तला, कागती, अम्बा, आरु, आरुबखडा, नास्पाती, तिजु, एभोकाडो, अमला, लप्सी । तराईमा आँप, कुसुम, सरिफा, नरिवल, कागती, रूखकटहर, बेलका बिरुवाहरू ।

मैले यो लेख्दै गर्दा कसैले ट्वीटरमा कन्यामको फोटो पोस्ट गर्नुभएको छ । इलामका डाँडामा चियाका बोट लगाउन हुन्छ भने कुनै जिल्लाको डाँडाभरि सुन्तला वा ओखरका रूख लगाउँदा केही हानि त हुन्न होला नि ? फलहरूका बोटसँगै रोपिदिऊँ बाह्रमासे वा मौसमी फूलका बिरुवाहरू वा जंगली फलका बिरुवाहरू । काफल, ऐंसेलु, चुत्रो, तिजु, बयर, कुसुम, दमौराका रूख खोज्न जंगलकै भित्र जानुपर्छ भन्ने के छ र ? वा काउरो, ठोट्ने, कोइरालो, सिप्लिकान, सैजुनजस्ता अचार बनाउने वा ‘गति परिने’ कुरा ‘जस्सरी पनि ल्याइदेऊ है’ भनेर पसलेलाई सिजनपिच्छे अनुनय-विनय गर्नैपर्छ भन्ने पो के छ र ?

राजनीतिक विश्लेषक झलक सुवेदीले अल्जाइमरले गालेका आफ्ना बुवाले अरूका घरका फूल टिपेर ल्याउने गरेको र बाले फूल टिपेको घरका मानिसले के भन्लान् भन्ने डर लाग्ने गरेको लेख्नुभएको छ । बाटोका छेउमा फूलहरू फुल्न थाले भने साना छोरा-छोरी वा वृद्ध बुवा-आमाले एक थुंगो फूल टिपेकै कारण डराउनुपर्दैनथ्यो होला हामी कोही । यात्रा गर्ने क्रममा गाडी बिग्रँदा वा लामा-लामा जाममा पर्दा पन्ध्र रुपैयाँको चाउचाउलाई तीस रुपैयामा किनेर खाने बाध्यता हुँदैनथ्यो होला । अस्ति कोरोनाको बन्दाबन्दीमा धेरै मानिसले सडकैसडक लामो दूरीको यात्रा गर्नुभयो । उक्त यात्रा गर्नेहरू कति जना भोकले आकुलव्याकुल हुनुहुन्थ्यो । बाटो छेउमा अलिअलि खान मिल्ने फलफूलका रूख भएका भए सायद काँचै भए पनि खानुहुन्थ्यो होला ।

कोरोनाको कहर चल्दै गर्दा अहिले खाद्य सुरक्षाको बारेमा बहस चलिरहेको छ । र, साथमा चलेको छ कृषि क्रान्तिका कुरा । ‘अन्नबालीको उब्जनीले मात्रै जीवन धान्न नसकेर नै नेपालीहरू दूरदूरका देशमा गएका हुन्’ भन्ने सवाल बलियो रूपमा उठ्दै छ । ‘अन्न नफले पनि फलफूल त फल्छ होला नि’ भन्ने पनि आइरहन्छ मनमा । दुई महिनामा मनसुन सुरु हुनेछ, रूख हुर्कंदै गए भने कस्तो होला ? जंगलमा दुई-चार दाना काफल वा ऐंसेलु वा कटुस देख्दा रमाउने हाम्रो मन त्यसबेला कति रमाउँदो हो ? चरा, महुरी र पुतलीहरू कति आउँदा हुन् ? कल्पना मात्रैले पनि मेरो मन यत्तिकै फुरुक्क परिरहन्छ । सपना देख्दैमा वा कल्पना गर्दैमा के जान्छ र ? यसै पनि राजनीति, समाज र क्रान्तिका नामका ज्यानको बलि चढाएका धेरैका सपना ‘फन्टुस सपना’ जस्तै भएका छन् यतिबेला ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?